पुष्पलाल र माक्र्सवादी विश्वविद्यालयको बहस

– हरिबोल गजुरेल

रामेछापका युवा कम्युनिस्ट नेता अशोक सुवेदीले सहिद गङ्गालाल र कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको जन्मथलो रामेछापको भँगेरी गाउँमा मलाई लिएर जानुभयो । पुष्पलाल र गङ्गालालको सालिकमा श्रद्धाञ्जली अर्पण गरेपछि म भावुक हुन पुगेँ । एउटै ढुङ्गामा कुँदिएको दाजु–भाइको सानो सालिक आठवटा इँट बिच्छ्याएर भुइँमा राखिएको थियो । मैले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता बोध गरेँ । तीतो यथार्थ उजागर गर्न बाध्य भएँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक र राणा शासनविरुद्धको सङ्घर्षका अग्रज क. पुष्पलालको जन्मथलो भँगेरीमा अशोक सुवेदीको ध्यान जानु तर राजनीतिक परिवर्तनपछि प्रधानमन्त्री भएका कम्युनिस्ट नेताहरू मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओलीको ध्यान नजानु विडम्बना मान्नुपर्छ । यसैगरी राणा शासनविरोधी सङ्घर्षका अग्रज बीपी कोइरालाको पुख्र्यौली थलो दुम्जा (सिन्धुली) को अवस्था पनि भँगेरीको भन्दा पृथक् छैन । नेपाली काङ्ग्रेसका नेताहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद–सुशील कोइराला र शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भैसक्दा पनि दुम्जामा कसैको ध्यान नजानु अझ ठूलो विडम्बना हो । जनताको मनोविज्ञानअनुरूप राष्ट्रको ऐतिहासिक गौरव कायम राख्न र संरक्षण गर्न नसक्ने पार्टी र नेताहरूलाई जनताले कसरी ठेगान लगाउँछन् भन्ने कुरा जेनजी आन्दोलनले उजागर गरिसकेको छ । २०८२ सालको सङ्घीय निर्वाचनमार्फत जनताले हामीलाई सबक सिकाइसकेका छन् । यसबाट सबैले शिक्षा लिँदा राम्रो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पुष्पलालको जन्मथलो भँगेरी र बीपीको पुख्र्यौली थलो दुम्जामा उद्यानसहित स्मारक निर्माण गर्ने ऐतिहासिक र दूरगामी महत्वको निर्णय मन्त्रीपरिषद्ले ग¥यो । नेपाल सरकारले भँगेरीमा ५० रोपनी र दुम्जामा ८० रोपनी जग्गा अधिकरण गरेर सुखद शुभारम्भ ग¥यो । राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय महत्व राख्ने यी दुई पर्यटकीय स्थल बहुबर्से योजनाअन्तर्गत निर्माणाधीन अवस्थामा छन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डको ध्यान खिच्न सफल यो पङ्क्तिकार र शिक्षाविद् विद्यानाथ कोइरालाको संयुक्त पहल तथा वरिष्ठ पत्रकार एवम् माओवादी नेता महेश्वर दाहालको ऐक्यबद्धताले एउटा ऐतिहासिक मिसन साकार भएकोमा गौरवानुभूति भएको छ । मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनमा तत्परता देखाउनुहुने तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा र सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलाई बिर्सन मिल्दैन । यस महान् कार्यको शुभारम्भ गर्न प्रेरणादायी भूमिका निर्वाह गर्ने कमरेड अशोक सुवेदीलगायत प्रत्यक्ष र परोक्ष भूमिका निर्वाह गर्नुहुने सबै महानुभावहरूलाई स्मरण गर्दछु । यस सन्दर्भमा पछिल्लो समय अशोक सुवेदीले यो महाअभियानलाई अन्तर्राष्ट्रियकरण गर्न र कम्युनिस्ट आन्दोलनको अनुसन्धान गर्न भँगेरीलाई केन्द्रमा राखेर पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको अवधारणा अगाडि सारेर गरिरहनुभएको प्रयास सराहनीय छ । यो चुनौतीपूर्ण कामको अवधारणा अघि सार्नुभएकोमा अभियन्ता अशोक सुवेदीलाई विशेष धन्यवाद छ । नेतृत्वको अकर्मण्यताका कारण रक्षात्मक अवस्थाबाट गुज्रँदै विघटनको सँघारमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि यो कोसेढुङ्गा हुनेछ । यो निकै जटिल र चुनौतीपूर्ण कार्य भएकाले प्रारम्भमा यसलाई अनुसन्धान केन्द्रका रूपमा स्थापना गरेर काम अगाडि बढाउन सुझाव दिन चाहन्छु ।

यस सन्दर्भमा केही रोचक तथ्यहरू प्रस्तुत गर्न अनुमति चाहन्छु ः

(१) पुष्पलाल र बीपीको नाम लिएर कहिल्यै नथाक्ने तर उहाँहरूको आदर्शलाई लत्याउँदै हिँड्ने मानिस सच्चा कम्युनिस्ट र लोकतन्त्रवादी हुन सक्दैन । यस्तै अवसरवादी प्रवृत्ति नेपालको कम्युनिस्ट र पुँजीवादी आन्दोलनमा हाबी हुनु दुर्भाग्य हो । यो टिप्पणी कसैलाई तितो लाग्न सक्छ तर यथार्थ हो । आज देशले यतिका लामो समय बितिसक्दा पनि काँचुली नफेर्नुको मूल कारण यही नै हो भन्दा अतिशयोक्ति नहोला ।

(२) राजतन्त्र र निरङ्कुश पञ्चायती शासनविरुद्ध सतिसालझैँ उभिएका पुष्पलालप्रति कतिपय नेताहरूको कुप्रभावमा परेर जेजस्ता निष्कर्ष निकालियो, त्यो नितान्त गलत थियो । अवसरवादी नेताहरूको भ्रममा परी केही समय यसप्रकारको नितान्त गलत कार्यमा संलग्न हुनु आत्मालोचनाको विषय भएको छ । कम्युनिस्ट आन्दोलनका आत्मसमर्पणवादी र संशोधनवादी नेताहरूविरुद्ध स्थापना कालदेखि जीवनको अन्तिम क्षणसम्म लडेका पुष्पलाललाई गद्दार भन्नुभित्रको अन्तर्यमा के थियो, उजागर गर्नु आवश्यक छ । आफूलाई अब्बल क्रान्तिकारी भन्न रुचाउने नेताहरूबाट कसैलाई खुसी पार्न पञ्चायतविरुद्ध र गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिएका कमरेड पुष्पलाललाई अपमानित गरियो । तर अहिले जेजस्तो नियति देख्नु र भोग्नु परे पनि त्यस बेला पुष्पलालका विचारलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह गरेका मुख्यतः प्रचण्ड र मदन भण्डारीको सकारात्मक पक्षलाई भुल्न मिल्दैन ।

(३) दाजु अलेक्जेन्डरको जारशाहीबाट भएको हत्याले लेनिनको बाल्यकालमा परेको प्रभाव र सहिद गङ्गालालको राणशाहीद्वारा गरिएको हत्याले पुष्पलालको जीवनले लिएको नयाँ मोडमा समानता देखिन्छ । दुवै नेता कम्युनिस्ट आन्दोलनमा सरिक हुन पुगेको प्रधान र निमित्त कारण एउटै हुन गयो । दाजुको हत्या घटनाका निमित्त कारण हुन्, प्रधान कारण हो सत्यको खोजी । प्रधान र निमित्त कारण एक ठाउँमा नजुटी घटना घट्दैन । यी दुवै कारण क्रान्तिकारी हुन् । यही दरो जगमा निर्मित उहाँहरूको व्यक्तित्वका कारण दुवै नेता कहिल्यै नअस्ताउने ताराजस्तै हुनुभयो । कम्युनिस्ट आन्दोलनमा लाग्ने प्रायः सबै सत्यको खोजीमा लागेका हुन्छन् । तर कतिपय कम्युनिस्ट आन्दोलनमा सहभागी हुनेहरूको प्रधान कारण नै निजी स्वार्थकेन्द्रित हुँदा स्वार्थ पूरा भएपछि अन्ततः अवसरवादी हुन पुगेको तितो यथार्थको हामीले वर्तमानमा सामना गर्नु परिरहेको छ । यसले नेतृत्वको वर्तमानलाई नियाल्न र निष्कर्षमा पुग्न बहसको ढोका खोलिदिएको छ । यसप्रकारको सूक्ष्मदर्शक यन्त्रले नियाल्दा को कुन कारणले कम्युनिस्ट हुन्छ र ऊ जीवनपर्यन्त सिद्धान्त र सोहीअनुसारको व्यवहार, कार्यशैली र आचरण अवलम्बन गर्न सक्छ वा सक्दैन भन्ने कुराको आकलन गर्न सकिन्छ ।

(४) संस्थापक नेता पुष्पलालले पार्टीमा आफ्नै सहयात्रीले गरेका अपमान र जालझेलका विरुद्ध धैर्यपूर्वक लामो समय सङ्घर्ष गरेर आफ्नो क्षमता र इमानदारीको पुष्टि गर्नुभयो । पुष्पलालको धैर्य अति नै अनुकरणीय छ । यसबाट शिक्षा लिएर अगाडिको बाटो तय गर्न अथक् प्रयास गरिरहनुपर्छ । बोक्ने सामथ्र्य हुँदासम्म भारी बिसाउनु हुन्न भन्ने पुष्पलालको आदर्श विज्ञानसम्मत छ । यो वैचारिक मान्यतामा हामी दृढ रहनैपर्छ । समाजवादी कार्यभार पूरा गर्नुपर्ने आवश्यकता र जिम्मेवारीबोधले वर्तमान सन्दर्भमा सबै सापेक्षिक क्रान्तिकारीहरूले यस्तै अनुभूति गरेको हुनुपर्छ । कमरेड पुष्पलालले मुख्यतः क्यारियरिस्टविरुद्ध निरन्तर सङ्घर्ष गरेर जीवनको उत्तराद्र्धमा नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धार निर्माण गर्नुभयो । दीर्घकालीन जनयुद्धको बाटोबाट जनवादी क्रान्ति सम्पन्न गर्ने, पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न कम्युनिस्ट र काङ्ग्रेसबीच सहकार्य र मोर्चा निर्माण र गणतन्त्र प्राप्तिका लागि बुर्जुवा लोकतान्त्रिक र जनवादी कम्युनिस्टहरू मिल्नु आवश्यक छ भन्ने उहाँले अघि सार्नुभएको लाइनको सहीपना पुष्टि भैसकेको छ ।

(५) २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनपछि विघटनमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न क. पुष्पलालले २०२५ सालमा गोरखपुर सम्मेलन गरेर क्रान्तिकारी दिशा दिएपछि युवाहरू आकर्षित भए । मदन भण्डारी र प्रचण्ड यसका ज्वलन्त उदाहरण हुन् । यतिखेर कतिपय पात्रको विश्वसनियतामाथि गम्भीर प्रश्न उठे पनि त्यतिखेर नेपालको कम्युनिस्ट आन्दोलन राष्ट्रब्यापी मात्र होइन, अन्तर्राष्ट्रियकरण गर्न यिनीहरूले निर्वाह गरेको भूमिकालाई भने न्यूनीकरण गर्न मिल्दैन । यतिखेर बरालिएको कम्युनिस्ट आन्दोलनलाई ठीक ट्र्याकमा ल्याउन बचेखुचेका क्रान्तिकारीहरूले पुष्पलालले झैँ नयाँ युवालाई आकर्षित गर्न सक्नुपर्छ ।

(६) कमरेड पुष्पलालमा धैर्य अद्वितीय थियो । संस्थापक महासचिव पुष्पलालले निरन्तर पार्टीमा लामो समय अपमानित हुनुप¥यो । कतिपय नेताहरूले गद्दार भन्न पनि भ्याए । तर धैर्यपूर्वक समालिँदै नेपालको कम्युनिस्ट आन्दोलनलाई जीवनपर्यन्त अगाडि बढाइरहनुभयो । अहिले पनि नेपालको कम्युनिस्ट आन्दोलन उहाँले निर्माण गर्नुभएको मजबुत जगमा टेकेर क्रान्तिकारी दिशामा अगाडि बढ्न बल गरिरहेको छ । २०८१ साल माघमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकबाट अवसरवादी धार (राइट) मा हिँडिरहेको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धार (लेफ्ट) मा हिँडाउन गरिरहेको प्रयासलाई नेतृत्वले पूर्णविराम लगाएको वर्तमान सन्दर्भमा यो अबरोधलाई चिर्न बचेखुचेका क्रान्तिकारीहरूले सापेक्षिक रूपमा कम प्रदूषित युवाहरू र नयाँ फ्रेस युवाहरूलाई आकर्षित गरेर समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सक्ने परिवेश निर्माण गर्न सक्नुपर्छ ।

(७) पुष्पलालको जीवनशैली सरलताले भरिएको अद्वितीय थियो– सादा जीवन, उच्च विचार । उहाँमा पारिवारिक दबाब झेल्न सक्ने सामथ्र्य प्रचुर थियो । उहाँको जीवनका कतिपय प्रसङ्ग किंवदन्ती बनेका छन् । हो चि मिन्ह, चे ग्वेभारा र चिनियाँ योद्धा चाङ स त, ऋषिराज देवकोटा ‘आजाद’ र सिन्धुलीका सन्दर्भमा एस.बी.राईका किंवदन्ती रोचक र हृदयस्पर्शी छन् । नेपालका हाइफाई ‘कम्युनिस्टहरू’ ले ‘सभ्य’ र शालीन हुने नाममा सामन्ती र बुर्जुवा मान्यता, जीवनशैली र आचरणलाई आदर्शका रूपमा प्रस्तुत गर्दै पुष्पलाललाई खिल्ली उडाइरहेको परिदृश्यले जनता आज पनि आजित छन् । यसप्रकारका प्रवत्तिविरुद्ध विजय प्राप्त गर्न कमरेड पुष्पलालका विचार, व्यवहार, कार्यशैली र आचरणलाई अनुसरण गर्दै क्रान्तिकारी कोणबाट बहस चलाउन आवश्यक छ । यो नै बचे–खुचेका क्रान्तिकारीहरूको प्रमुख कार्यभार हो ।

१ फागुन, २०८१

(पुनर्लेखन २०८३-१-२३ गते)