(१)
विगत चालीस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भू–भाग पुँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोवियत सङ्घको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान ऐतिहासिक यथार्थतामा फेरिएको छ । यो महान ऐतिहासिक यर्थाथता पुँजीवादी तथा सामन्ती दासत्व विरुद्ध विद्रोह गर्न सबै मुलुकहरूका शोषित र श्रमजीवी जनतालाई निरन्तर आव्हान हो । अतः बेलायत, फ्रान्स र अमेरिकाका पुँजीवादी शासकवर्गहरूले सोवियत सङ्घको विरुद्ध हिटलरी फासिष्टवादलाई जन्माए र प्रत्यक्ष रूपले दोस्रो विश्वयुद्धको लागि बाटो बनाइदिए तर दोस्रो विश्व–युद्धको फलस्वरूप, सोवियत सङ्घ ध्वस्त नभएको मात्र होइन, बरु पूर्वी तथा दक्षिणपूर्वी युरोपका कैयन मुलुकहरूले आपूmलाई पुँजीवादी–साम्राज्यवादी कैदबाट मुक्त पारेर समाजवादी विश्वको सीमानालाई विस्तारित पारे । दोस्रो विश्वयुद्धको फलस्वरूप, अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले ठूलो फड्को मारेको छ र औपनिवेशिक जनताहरूले खुल्ला सशस्त्र विद्रोहको बाटो लिएका छन् । यसरी विश्व पुँजीवादका मोर्चा र पृष्ठभाग गंभीर खतरामा परेका छन् ।
दक्षिणपूर्वी एशियामा चलिरहेको क्रान्तिकारी लहर हाम्रो प्यारो मुलुक नेपालमा पनि पुगेको छ । एउटा युग– पुरानो सामन्ती अत्याचारलाई हाँक दिँदै नेपालको मजदुरवर्ग पहिलोपल्ट मार्च १९४७ मा संग्राममा प्रवेश ग¥यो । विराटनगर जुट तथा कपडा मिलहरूका मजदुरहरूले बाँच्नलायक ज्याला र काम गर्ने राम्रो अवस्थाको लागि हडताल गरे । गुप्त रूपमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको मजदुर यूनियनले त्यसको नेतृत्व ग¥यो । भारतको विश्वासघाती समाजवादी नेता र निस्कासित राणाद्वारा समर्थित नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूले हडतालप्रति विश्वासघात गरे । हडतालको छाल राजधानीमा पनि फैलियो । काठमाडौँमा बिजुली तथा टक्सार विभागका सरकारी कर्मचारी र बैँक तथा अस्पतालका कर्मचारीहरूले त्यस्तै मागहरू राखेर हडताल गरे । हडतालीहरू कति दृढ थिए भने सरकार तलब बढाउन र राशन दिन बाध्य भयो । काठमाडौँ उपत्यकाभित्र मात्र तलब वृद्धि र अन्न खरीद सुविधाहरू सीमित भए पनि नेपालका सम्पूर्ण जनताले त्यसलाई आफ्नै विजयको रूपमा लिए र आफ्ना अधिकारहरूको सुरक्षार्थ जनसङ्घर्षको खाँचोलाई बुझे ।
(२)
१३८५ देखिन् सामन्ती निरंकुशहरूले नेपालमा शासन गर्दैछन् । यी शताब्दीहरूको क्रममा भएका परिर्वतनहरूले राणाहरूको निरंकुशतालाई मात्र बलियो पारेका छन् । नेपालका केही भागमा पुँजीवादी उत्पादन–प्रणाली लागू भए पनि अझसम्म सामन्ती उत्पादन–प्रणाली र प्रशासनको निर्णायक प्रभाव रहेको छ ।
मुलुकमा अझसम्म आत्मनिर्भर प्राकृतिक अर्थतन्त्रको प्रभुत्व छ, तर यो मर्दो रूपमा छ । किसानहरूले आफ्नो खाद्यान्न मात्र होइन, आपूmले उपयोग गर्न धेरैजसो चीज आफै पैदा गर्छन् । राणा, जमीन्दार, द्वारे, ठालु र मुखियाहरूले किसानहरूबाट उठाएको तिरो आफ्नै व्यक्तिगत मोजमज्जामा खर्च गर्छन् । पहिले उक्त तिरोलाई चीजहरूको विनिमयमा प्रयोग गरिन्नथ्यो । अहिले सामन्ती परजीवीहरूले त्यस्तो प्रणाली लागू गरेका छन् तापनि त्यसको अझसम्म निर्णायक प्रभाव रहेको छैन ।
धेरैजसो जमीन सामन्ती शासकवर्ग, अर्थात राणा साहेबज्यु, घरानियाँ, जमीन्दार र गुरुज्यूहरूको मालिकत्वमा रहेको छ । किसानहरूको मालिकत्वमा ज्यादै थोरै जमीन छ, वा छँदै छैन । किसानहरूले आफ्नै ज्यावल प्रयोग गरेर आफ्ना मालिकहरूको जमीन जोत्छन् र ती मालिकहरूको लोभ पूरा गर्न आफ्नो बालीको तीन–चौथाई हिस्सा बुझाउँछन् । १९२४ मा दासप्रथाको उन्मूलन भए पनि अझसम्म घृणित खालको शारीरिक दण्ड दिने चलन छँदैछ । अझसम्म सामन्ती मालिकहरूले १५ दिनसम्म किसानहरूलाई थुन्ने कानूनी अधिकार पाएका छन् । वास्तवमा किसानहरूको स्थिति भूदासको भन्दा राम्रो छैन ।
किसानहरूले समस्त राणाहरू र सामन्ती मालिकहरूद्वारा गरिने शोषणको असह्य भार बोक्नु परेका छन् र त्यसका साथै नजराना, कर तथा बेगारी दिएर सम्पूर्ण सामन्ती नोकरशाही र जनविरोधी सरकारी सेनालाई पनि कायम राख्नुपरेको छ ।
मल्ल वंशको शासनकालमा नेपालमा धेरैजना सामन्तहरूले शासन चलाउँथे, तर १७६९ देखिन्, पृथ्वीनारायण शाहको पालादेखिन् नेपाल राजाहरू र तिनका सामन्ती पिट्ठुहरूद्वारा शासित एक केन्द्रीकृत सामन्ती निरंकुश राज्य बनेको छ ।
नेपाली किसानहरूले कुनै पनि व्यक्तिगत शारीरिक वा राजनीतिक स्वतन्त्रताको उपभोग न पहिले गरेका थिए, न अहिले गर्न पाएका छन् । सामन्ती शासक गुटद्वारा गरिएको कठोरतम रूपको शोषण तथा उत्पीडनको कारणले गर्दा नेपालको सामाजिक व्यवस्था शताब्दीयौँदेखिन् प्रायः गतिहीन रहेको छ ।
‘कोत पर्व’ को रूपमा परिचित बल–प्रयोगद्वारा सत्ता–अपहरणबाट राणाहरू सत्तामा आउने बित्तिकै, विदेशी साम्राज्यवादीहरूले नेपालमा छिटो आफ्नो प्रभाव बढाउन थाले । यो कतिसम्म बढेको छ भने आज नेपाल वास्तवमा साम्राज्यवादीहरूको अर्ध–उपनिवेश रहेको छ । त्यसबेलादेखिन् नेपाल ब्रिटिश साम्राज्यवादीहरूका लागि भरौटेहरू भर्ति गर्ने एक मुख्य थलो बनेको छ र महाराणा त्यसको मुख्य दलाल रहेको छ । आज पनि भारतको पुँजीवादी नेहरू सरकारले ब्रिटिश साम्राज्यवादीहरूलाई ब्रिटिश उपनिवेशहरूको मुक्ति सङ्घर्षलाई दबाउन भोका युवा किसानहरूमध्यबाट हजारौँ सिपाही भर्ति गर्न दिइरहेको छ । ब्रिटिश एकाधिकारी पुँजीको नाफाको रक्षा गर्न, अपराधी महाराणाले गरीब नेपाली युवकहरूको जीवन र रगतको बिक्री गरिरहेको छ ।
यसका अतिरिक्त वाल स्ट्रीटका एजेन्टहरूले नेपालमा प्रभुत्व जमाएका छन् र उनीहरू हाम्रो पवित्र भूमिमा सोवियत–विरोधी सैनिक अड्डाहरू बनाउने योजना बनाउनमा व्यस्त छन् । भारतीय पुँजीपतिहरू पनि नेपालमा आफ्नो शोषणका जालहरू फैलाउँदै छन् । नेपालमा जनवादी आन्दोलनको उठ्दो लहरको विरुद्ध आफ्नो स्थितिलाई बलियो पार्न महाराणाले उक्त सबै विदेशी शोषकहरूलाई निम्त्याइरहेको छ । कुन कुरो स्पष्ट छ भने जो शासक अङ्ग्रेज–अमेरिकी साम्राज्यवाद र भारतीय पिछलग्गूहरूको दलाल मात्र बनेको छ उसले भोको जनताको एउटा पनि समस्या हल गर्न सक्दैन । उसले जनताका समस्याहरूलाई बढाउन र चर्काउन मात्र सक्छ र वास्तवमा अहिले उसले यस्तै गर्दै छ ।
यस्तो भयानक थिचोमिचोको विरुद्ध नेपाली जनता आन्दोलित भएका छन् । पुँजीवादी उत्पादन–प्रणालीको स्थापनाले गर्दा आधुनिक समाजको सबभन्दा क्रान्तिकारी वर्ग, मजदुरवर्गको जन्म हुँदै छ । घृणित महाराणाको विरुद्ध प्रजातान्त्रिक अधिकारहरूका लागि ऐतिहासिक हड्ताल–संग्रामहरूमा नेपालको मजदुरवर्गले आफ्नो क्रान्तिकारी गुणको प्रदर्शन गरिसकेको छ । नेपालको इतिहासमा सर्वप्रथम जनताले राजनीतिक अधिकारहरूको माग गरेर काठमाडौँका सडकमा प्रदर्शन गरे । फेरि, नेपालको जीवनमा पहिलोपल्ट विद्यार्थीहरूले शिक्षण संस्थाहरूभित्र राजनीतिक सभाहरू गरे र उनीहरू नागरिक अधिकारहरूको मागलाई बुलन्द गर्दै सडक प्रदर्शनमा उत्रे । उक्त आन्दोलनलाई निर्ममतापूर्वक दबाइयो, तर पनि शासकवर्गले बाध्य भएर नागरिक अधिकारहरू दिने र राजबन्दीहरू छाड्ने कबुल गर्नुपरेको थियो । लडाकु जनताले यसलाई ठीक रूपमा महाराणा र उनको गूटको कमजोरीको स्वीकारोक्ति र आफ्नो बढ्दो तागतको प्रमाण ठानेका छन् ।
(३)
दोस्रो विश्वयुद्धको अन्त्यदेखिन् सम्पूर्ण संसार दुई शिविरमा विभाजित भएको छ— अमेरिकी तथा ब्रिटिश एकाधिकार पुँजीद्वारा नेतृत्व गरिएको साम्राज्यवाद, प्रतिक्रियावाद तथा युद्धको शिविर र सोवियत सङ्घद्वारा नेतृत्व गरिएको साम्राज्यवाद–विरोध, जनवाद तथा शान्तिको शिविर । अङ्ग्रेज–अमेरिकी साम्राज्यवादी युद्धखोरहरूले संसारभर प्रत्येक मुलुकभित्र जनवादी शक्तिहरूको उठ्दो लहरको विरुद्ध प्रतिक्रियावादीहरूलाई सक्रिय रूपले सहयोग गरिरहेका छन् र उपनिवेशहरूको विरुद्ध आक्रमणकारी युद्ध चलाइरहेका छन् । आसन्न पुँजीवादी संकटबाट उम्कने र अमानवीय शोषणको आफ्नो टाटपल्टेको पुँजीवादी व्यवस्थालाई जोगाउने उद्देश्यले, तिनीहरूले सोवियत सङ्घ र लोक जनवादी राज्यहरूको विरुद्ध तेस्रो विश्वयुद्ध भड्काउन हतारमा तयारी गर्दै छन् । नेपालका शासक गुटहरूले साम्राज्यवादी पुँजीवाद र युद्धको यस शिविरलाई खुल्ला रूपमा साथ दिएका छन् र आज प्रतिक्रियावादका इमान्दार चाकरको रूपमा काम गर्दै छन् । आफ्नो जालसाजी प्रचारयन्त्रको व्यापक प्रयोग गरेर राणाहरूले जनतालाई के विश्वास दिलाउन खोज्दै छन् भने बेलायत, अमेरिका र भारतसित भएको उनीहरूको विश्वासघाती गठबन्धनले हाम्रा जनताका लागि शान्ति–सुख ल्याउनेछ ।
स्वर्गीय प्रधानमन्त्री पद्म शमशेर राणाले कतिसम्म पनि भनेका छन् भने नेपालमा प्रजातन्त्र स्थापना भइसकेको छ । वर्तमान मोहन शमशेर राणाले आधुनिक राज्यको रूपमा नेपालको निर्माण गर्न एक पंचवर्षीय योजनाको घोषणा समेत गरेका छन् । तर यी आँखामा छारो हाल्ने कुरा मात्र हुन् । वास्तवमा, राणाहरूको तरीका अमेरिकी युद्धखोरहरूको सेवामा नेपाललाई युद्ध अखडा बनाउन दिने तरीका हो, ब्रिटिश साम्राज्यवादको रक्षामा नेपालको मानवशक्ति प्रदान गर्ने तरीका हो र नेपालको व्यापार तथा वाणिज्यलाई भारतीय पुँजीपतिवर्ग र त्यसको नेहरू सरकारको सेवामा सुम्पने तरीका हो । महाराणासित सन्धि गरेर केही अमेरिकी व्यापारिक संस्थाहरूले आगामी तीस वर्षका लागि पश्चिम नेपालका केही भागहरूलाई आफ्नो नियन्त्रणमा लिइसकेका नै छन् । काठमाडौँस्थित अमेरिकी मिशनले हाम्रो मुलुकलाई आफ्नो उपनिवेशमा परिणत गर्न जोडतोडले काम गर्दैछ ।
१८५७ देखिन् नेपालको मानवशक्तिको उपयोग गरिआएका ब्रिटिश साम्राज्यवादीहरू पनि यस निन्दनीय काममा त्यतिकै संलग्न छन् । ब्रिटिश, भारतीय र नेपाल सरकारहरूका बीच नोभेम्बर १९४७ मा काठमाडौँमा हस्ताक्षर भएको सन्धिको एउटा धारा निम्न प्रकारको छ ः–
‘भारतीय सरकारले कुन कुरोलाई सकारेको छ भने भारत वा नेपालको कुनै ठाउँमा अर्को भर्तिकेन्द्र नबनेसम्म ब्रिटिश सरकारले पहिले झैँ गोरखपुर र घुमका भर्तिकेन्द्रहरूको प्रयोग गर्नेछ ।’
उपरोक्त एउटै धाराले नेहरू सरकार र महाराणा सरकारको ‘तटस्थ’ तथा ‘स्वाधीनता’ सम्बन्धी कथालाई धुजाधुजा पारिदिएको छ । फेरि, सो धाराले कुन नांगो सत्यलाई प्रमाणित गरेको छ भने नेहरू सरकार र नेपाल सरकार दुवै प्रतिकृयावाद तथा युद्धको साम्राज्यवादी शिविरका सक्रिय सहभागी तथा चाकर हुन् ।
नेपाली जनताको दुर्भाग्य यतिमा मात्र सीमित रहेको छैन । नयाँ दिल्लीमा आफ्नो सरकारको संरक्षण तथा निर्देशन पाएका भारतीय ठूलो बन्दव्यापारले एउटा ठूलो युद्धमा नेपालको ढोका ‘खोलिरहेको’ छ । विडला, सिन्घानीया र चौधरियाले नेपालमा जूट, कपडा र चीनी मिलहरू खोलेका छन् । नेहरू सरकार आफैले कोशी योजना लिएको छ । आज नेपालमा लगानी गरिएको पुँजीको अधिकांश हिस्सा भारतीय पुँजीपतिहरूको छ । यी भारतीय पुँजीवादी लुटेराहरू नेपालका सस्तो श्रम र प्राकृतिक साधनस्रोतहरूको शोषणमा लागेका छन्, र उनीहरूको उद्देश्य आफ्नै थैली भर्नु हो र नेपालको औद्योगिकरण गर्नु होइन, किनभने उनीहरू औद्योगिकरण गर्न अनिच्छुक मात्र होइन, असमर्थ पनि छन् । यसरी नेपाली जनता दोहोरो शोषणको जाँतोमुनि पिसिँदै छन्— सामन्ती शोषणलाई पुँजीवादी शोषणले टेवा दिंदै छ । आफ्नो प्राकृतिक अर्थतन्त्रको स्थितिबाट छुट्टिएर नेपाल अचानक विश्व पँुजीवादी अर्थतन्त्रको आँधीमा पर्न गएको छ र आसन्न संकटको खतरनाक समाघातमा परेर काँपिरहेको र टुटिरहेको छ । यसबाट नेपाली जनताको मुक्ति होइन, विनाश हुनेछ ।
त्यसैले, नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ । त्यो बाटो हो— विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई पुरैसित खतम पार्नु र मजदुरवर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्नु, अर्थात् यस्तो राज्यव्यवस्था स्थापना गर्नु, जसमा जनता राष्ट्रको सम्पत्तिका मालिक हुनेछन् र उनीहरूले त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन् । विजयी समाजवादको देश सोवियत सङ्घको अनुभव र पूर्वी यूरोपका लोक जनवादी राज्यहरू, नयाँ चीन, उत्तर कोरिया तथा औपनिवेशिक जनताको अघि बढिरहेका दस्ताहरूको अनुभवहरूले नेपाली जनतालाई दिन प्रतिदिन यस गौरवपूर्ण सङ्घर्षमा प्रेरणा दिँदै छन्, किनभने तिनले सर्वत्र उत्पीडित जनतालाई प्रेरणा दिन्छन् ।
सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी अधिकारलाई खतम पार्न सङ्घर्षमा मजदुरवर्गले अग्रणी भूमिका खेल्नुपरेको छ, र यो इतिहासले त्यसको काँधमा हालिदिएको कार्यभार हो । आज संख्यामा थोरै भए पनि, नेपालको मजदुरवर्ग, पुँजीवादी शोषण तीब्र हुँदै गएको सिलसिलामा, दिन प्रतिदिन संख्यात्मक र राजनीतिक दृष्टिले बलियो हुँदै छ ।
सोवियत सङ्घको कम्युनिस्ट पार्टी (बो) को इतिहासमा कमरेड स्टालिनले भन्नुभएको छ ः–
‘त्यसैले, हामीले आफ्नो कार्यदिशाको आधार समाजका त्यस्ता अङ्गहरूलाई बनाउनु हुन्न जो अहिले प्रमुख शक्ति रहे तापनि विकसित भइरहेका छैनन् । बरु हामीले त्यस्ता अङ्गहरूलाई आफ्नो आधार बनाउनुपर्छ, जो अहिले प्रमुख शक्ति नरहे तापनि विकसित भइरहेका हुन्छन् र जसको सामु भविष्य छ ।
नेपालमा विकासशील वर्ग–सङ्घर्षप्रति यस्तो द्वन्द्वात्मक–भौतिकवादी दृष्टिकोणको मद्दतबाट मात्र क्रान्तिकारीहरूले सही रणनीतिको प्रतिपादन गर्न र त्यसलाई माक्र्स–एङ्गेल्स–लेनिन–स्टालिनको अजेय झन्डामुनि विजयसम्म बढाउन सक्नेछन् ।
(४)
हामी नेपालका मजदुर, किसान, सिपाही, श्रमजीवी, मध्यम वर्गहरू र सारा प्रजातन्त्रप्रेमी जनतालाई के अपील गर्छौं भने उनीहरू सामन्ती एकतन्त्रवादको विरुद्ध र आफ्ना सबै प्रिय आकांक्षाहरूको सिद्धीकरणका लागि एउटा साझा मोर्चामा एकगठ होऊन् । हामीलाई कुन कुरामा पूर्ण विश्वास छ भने जनवादी शक्तिहरू तलका जनवादी कार्यक्रमको आधारमा ठोसरूपले एकगठ हुन सक्छन् ः–
ज्ञ. सामन्ती एकतन्त्रशाही तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधीनता ।
द्द. मजदुर, श्रमजीवी किसान र उत्पीडित निम्न–पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने जनवादी सरकार, जुन अङ्ग्रेजी–अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरूसित सहयोगका विरोधी हुन्छ र जसले शान्ति तथा सबै जातिहरूको स्वतन्त्रताको लागि क्रियाशील रहेका जनवादी राज्यहरूसित सहयोग गर्दछ ।
घ. बालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता र आधारभूत आर्थिक अधिकारहरूको ग्यारेण्टी गर्दछ । विशेषाधिकारहरू र जातपात, नस्ल र जातिको आधारमा गरिने भेदभावलाई कानूनद्वारा खतम पारिनेछ र त्यसको उल्लंघनलाई कानूनद्वारा दण्डनीय पारिनेछ ।
द्ध. विनामुआवजा जमीन्दारी प्रथा र सबै खालका सामन्ती शोषणको उन्मूलन र जोताहाहरूमा जमीनको वितरण । ग्रामीण ऋण खतम गर्नु । कृषि मजदुरहरूलाई जीवनयोग्य ज्याला ।
छ. बैँक, औद्योगिक तथा यातायात व्यवसाय, वगान, खानी, आदिमा लगाइएको विदेशी पुँजी राज्यद्वारा जब्त गर्नु र ती व्यवसायहरूको राष्ट्रियकरण गर्नु ।
ट. ठुलठुला उद्योगहरू, बैँकहरू र विमा कम्पनीहरूको राष्ट्रियकरण, मजदुर नियन्त्रणको ग्यारण्टी, न्यूनतम जीवनयोग्य ज्याला, आठ घण्टा कामको दिन आदि ।
ठ. मुलुकको साधनस्रोतहरूको विकास गर्न आर्थिक योजना र मुख्य–मुख्य आर्थिक केन्द्रहरूबाट ठुलो व्यापारीलाई हटाउनु, निजी उद्योगहरूको नाफामाथि नियन्त्रण ।
ड. सबै दमनकारी कानूनहरू खारेज गर्नु ।
ढ. नोकरशाहीको उन्मूलन र निर्वाचित अधिकारीहरूसहितको र जन–समितिहरूद्वारा निर्देशित प्रशासन ।
ज्ञण्. आम जनतालाई सशस्त्र पार्नु र जनताको जनवादी सेना स्थापना गर्नु ।
ज्ञज्ञ. स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार ।
ज्ञद्द. महिलाहरूलाई समान प्रजातान्त्रिक अधिकारहरू ।
जनवादी मोर्चा र यसको निर्माण गर्न नेपाल कम्युनिस्ट पार्टीले नेपालका विश्वासघाती राजनीतिक पार्टी तथा नेताहरूको विरुद्ध दृढरूपमा सङ्घर्ष गर्नुपर्छ र जनताका भूmठा मित्रहरूलाई निर्ममतापूर्वक उदांग र एकलो पार्नुपर्छ । जति हदसम्म विगार्नेहरूको विरुद्ध सङ्घर्ष चलाई तिनलाई परास्त गरिन्छ, त्यति हदसम्म नै नेपालमा जन–सङ्घर्षले वास्तविक क्रान्तिकारी वेग प्राप्त गर्नेछ ।
नेपाली राष्ट्रिय कांग्रेस (रेग्मी गूट र कोइराला गूट) र तथाकथित प्रजातन्त्र कांग्रेसले नेपाली जनताका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितहरूप्रति विश्वासघात मात्र गरेका होइनन्, तर नेपालको सामन्ती निरंकुशतावादसित, भारतका प्रतिक्रियावादी पुँजीवादी नेहरू सरकारसित र अङ्ग्रेज–अमेरिकी युद्धखोरहरूसित सहयोग गर्ने निर्लज्ज नीतिको निरन्तर अनुसरण गरिरहेका छन् । आफ्ना मुखपत्र र भाषणहरूमा उनीहरूले सोवियत सङ्घ, गौरवशाली चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको चिनियाँ जनताको महान विजय, मलाया, भियतनाम, श्याम तथा इण्डोनेशियाको विरुद्ध विषालु बदनामीहरू ओकलिरहेका छन् । उनीहरूको भनाइ अनुसार, महाराणाको घृणित सरकार नेपालका श्रमजीवी जनताको साझा शत्रु होइन । उनीहरूको भनाइ अनुसार, कम्युनिज्म र कम्युनिस्टहरू नेपालका लागि मुख्य खतरा हुन् र उनीहरू कम्युनिज्म विरुद्ध आफ्नो ‘पवित्र अभियान’ मा महाराणाको रक्तरंजित हातसित हात मिलाउन समेत इच्छुक छन् । कम्युनिज्मको विरुद्ध उनीहरूको पाखण्डी घृणामा मौलिक कुरा केही पनि छैन । यो त संसारभरका जन–शत्रुहरूको सुपरिचित तथा दिवालिया नीति हो । कम्युनिज्म–विरोधलाई आवरण बनाएर उनीहरू आफ्नो अपराधपूर्ण निहित स्वार्थको रक्षा गर्न शोषित जनताको विरुद्ध लड्ने गर्छन् ।
उदयमान मध्यम वर्गको सानो तहको प्रतिनिधत्व गर्ने रेग्मी र खुद आफै सामन्ती मालिक रहेका असन्तुष्ट राणाहरू श्रमजीवी जनताको शोषणलाई खतम पार्नमा बिलकूल चासो राख्दैनन् । उनीहरू विद्यमान सत्तासित सम्झौता गर्न चाहन्छन् र जनताको रगत चुस्नमा उचित हिस्सा प्राप्त गर्न मात्र उत्सुक छन् । आफ्नो खराब उद्देश्य सिद्ध गर्नका लागि, उनीहरू जनताको वास्तविक असन्तोषसित खेलवाड गर्छन्, विरोधको टोपी लगाउँछन् र नक्कली वीरता देखाउँछन् । तर उनीहरू सधैँभरि आम जनताको क्रान्तिकारी शक्ति र अग्रसरतालाई रोक्न भगीरथ कोशिश गर्दछन् । तर जब जन–असन्तोषले सारा छेकबारलाई भत्काउन लागेको हुन्छ, अनि यी वाग्बहुल वीरहरू अहानिकर सत्याग्रह सङ्घर्ष चलाउँछन् र सो सङ्घर्षले आम क्रान्तिकारी चरित्र लिन थाल्ने वित्तिकै उनीहरू सङ्घर्षरत जनताको पीठपछाडि सङ्घर्षलाई फिर्ता लिन्छन् र महाराणासित गर्हित सम्झौता गर्छन् । उनीहरूले हालसालै मात्र यसो गरेका छन् ।
कम्युनिस्टहरू श्रमजीवी जनताको सङ्घर्षका सबभन्दा सझौताहीन समर्थक हुन् । त्यसैले, स्वभावतः यी गद्दारहरू कम्युनिस्टहरूको विरुद्ध आफ्नो मुख्य हमलालाई केन्द्रित पार्छन् । शोषित जनताप्रतिको विश्वासघात र शासक वर्गहरूप्रतिको अधीनस्थतालाई लुकाउन उनीहरूले ‘तेस्रो पार्टी’ को भूmठो नारा उठाएका छन् । अङ्ग्रेज–अमेरिकी एकाधिकारी पुँजीको नेतृत्वमा रहेको पुँजीवादका शिविर र सोवियत सङ्घ तथा अन्तर्राष्ट्रिय मजदुरवर्गको नेतृत्व रहेको समाजवादको शिविरमा स्पष्ट रूपले विभाजित संसारमा कुनै ‘तेस्रो बाटो’, कुनै ‘मध्यम मार्ग’ को नीति हुन सक्दैन । उपयुक्त दुई शिविर, दुई बाटोमा एउटा सबैले चुन्नुपर्छ । ‘तेस्रो बाटो’ को नारा प्रतिक्रियावादीसितको गठबन्धन र विश्वासघाती अनुहारलाई लुकाउन प्रयोग गरिएको राजनीतिक छद्मभेष हो । नेहरूको ‘तेस्रो बाटो’ यसको एउटा घिनलाग्दो प्रमाण हो ।
नेहरूले ‘तेस्रो बाटो’ बाट थालनी गरेर केही महिनाभित्रै उनी साम्राज्यवादी–सामन्ती गठबन्धनको शिविरमा, अङ्ग्रेज– अमेरिकी युद्धखोरहरूको शिविरमा सामेल हुन पुगे । ‘तेस्रो बाटो’ को अनिवार्य गन्तव्य स्थान त्यही हो । यो अन्तर्राष्ट्रिय सामाजिक–जनवादको घृणित झण्डा हो, मजदुरवर्गप्रति विश्वासघातको झण्डा हो ।
हामी नेपालका प्रजातन्त्रवादी जनतालाई के आव्हान गछौँ भने उनीहरू झुठा मित्रहरूबाट, उक्त नक्कली प्रजातन्त्रवादीहरूबाट सतर्क होऊन् र उनीहरूले सोवियत सङ्घद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवाद–विरोधी शिविरको पक्षमा दरो अडान लेऊन् र लोक जनवादको लागि सम्झौताहीन सङ्घर्षलाई अघि बढाउन् ।
शोषित, पद्दलित जनताका पङ्क्तिमा रहेका दाजुभाई दिदीबहिनीहरू हो !
संसारका सङ्घर्षरत जनताका नेता समाजवादी सोवियत सङ्घको विरुद्ध हाम्रो पवित्र मातृभूमिलाई साम्राज्यवादी युद्ध–अखाडामा फेर्ने अपराधी योजनालाई विफल पार्न दृढ रूपमा सङ्घर्ष गर्नुहोस् । नेपालका श्रमजीवी जनताले कहिले पनि सोवियत सङ्घको विरुद्ध सङ्घर्ष गर्नेछैनन्, आफ्नो वर्गीय दाजुभाइहरूको विरुद्ध कहिले पनि हात उठाउने छैनन् ।
विदेशमा साम्राज्यवादी डकैतीको रक्षार्थ रगत बगाउन इन्कार गर्नोस् । नेपालका गरीब जनताले अरू मुलुकहरूका गरीब जनताको शोषण गर्नमा साम्राज्यवादी उपनिवेशवादीहरूलाई किन मद्दत गर्ने ? नेपालका गरीब जनताले हाम्रो मुलुक र हाम्रै जनतामाथि आधिपत्य जमाइरहेका उही अङ्ग्रेज–अमेरिकी साम्राज्यवादीहरूलाई बलियो पार्न आफ्नो जीवनको बलिदान किन गर्ने ? बर्मा, मलाया र अन्य दक्षिण–एशियाली मुलुकहरूको मुक्ति सङ्घर्ष विरुद्ध लड्न इन्कार गर्नोस्, किनभने ती मुलुकहरूका जनताहरू पनि उही मागहरूका लागि र उही शोषकवर्गहरूको विरुद्ध लडिरहेका छन्, जुन मागका लागि र जुन शोषकवर्गको विरुद्ध यहाँ नेपालका जनता लडिरहेका छन् । शोषितहरूको विरुद्ध होइन, शोषकहरूको विरुद्ध लड्न कम्मर कस्नुहोस् । आफ्नै दाजुभाइहरूतिर होइन, सर्वसाधारण जनताको शत्रुहरूतिर आफ्नो बन्दुक सोझ्याउनुहोस् । आफ्नो दाजुभाइको विरुद्ध लड्नु भनेको आफ्नै दासत्वलाई बलियो पार्नु हो ।
घृणित महाराणा र उनका अधिकृतहरूको आदेशमा आफ्नो मुलुकको आफ्नै जनतालाई दबाउन दृढतापूर्वक इन्कार गर्नुहोस् । महाराणा र उनका साँगुरो शासक गुटले तपाईंहरूलाई तपाईंको जग्गाको हकबाट वंचित पारेका छन्, तपाईंहरू र तपाईंहरूका नातेदारहरूलाई भोकको मुखमा झोसेका छन्, र अनि, तपाईंहरूको अति गरीबीबाट फाइदा उठाएर आफ्नो सशस्त्र चाकरको रूपमा तपाईंहरूलाई भर्ति गरिरहेका छन् र विदेशी साम्राज्यवादीहरूलाई भरौटेको रूपमा तपाईंहरूको वेचबिखन गरिरहेका छन् । सेनामा तपाइहरूको जीवन एक सतत अपमान हो । आफ्नै भोको दाजु–भाइ तथा दिदी–बहिनीहरूलाई गोली हान्न इन्कार गर्नुहोस्, थिचाहा र शोषकहरूतर्फ आफ्नो संगीन सोझयाउनुहोस् र आफना सङ्घर्षरत जनताको पक्ष लिनुहोस । यो नै मुक्तिको बाटो, सम्मानको बाटो, जीवनको बाटो हो ।
नेपालका मजदुरहरू हो ! तपाईंहरूले मार्च १९४७ का आफ्ना पहिला हडताल–संग्रामहरूको बेलामा नै आफ्नो झन्डा, विश्व सर्वहारा वर्गको अन्तर्राष्ट्रिय एकताको झन्डालाई उठाउनु भएको छ । निस्कासित राणाहरू र भारतको समाजवादी नेताद्वारा समर्थित कांग्रेसी नेताहरूले तपाईंहरूको वर्ग शत्रुसितको पहिलो मुठभेडप्रति विश्वासघात गरे पनि, त्यो मुलुकभर फैलियो । कांग्रेसी गद्दारहरूले औपचारिकरूपले हडताल बन्द गर्ने घोषणा गरिसकेपछि पनि, राजधानीमा विभिन्न विभागका सरकारी कर्मचारीहरूले बाँच्नयोग्य ज्याला र कामको राम्रो अवस्थाको लागि हड्ताल गरे । अब एकताबद्ध तागतद्वारा आफ्नो सङ्घर्षलाई अघि बढाउनका लागि, सबै जिल्लाहरूबाट प्रतिनिधिहरू राखी आफ्नो स्वतन्त्र मजदुर सङ्घहरू गठन गर्नुहोस् र उक्त जीवन्त मागहरूको तत्काल पूर्तिका लागि, बाँच्नयोग्य ज्याला, आठ घण्टा कामको दिन, कामको राम्रो अवस्था, सेवाको सुरक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहरूको निम्ति मुफ्त शिक्षा, मजदुरसङ्घीय अधिकारहरूको कार्यान्वयनको लागि आफ्ना शक्तिहरूको परिचालन गर्नुहोस् ।
मजदुर साथीहरू हो ! एकता, सङ्गठन र सङ्घर्षमा हाम्रो तागत रहेको छ । नयाँ नेपाल र प्रजातान्त्रिक जीवन–पद्धतिको निर्माणका लागि लाल झन्डाको नेतृत्वमा नयाँ संग्रामहरूतर्फ अघि बढ्नुहोस् ।
नेपालका श्रमजीवी किसानहरू हो ! वर्तमान सामन्ती व्यवस्थाको विरुद्ध कठोर सम्झौताहीन सङ्घर्षबाट नै तपाईंहरूको मुक्ति हुनेछ । यस गौरवशाली सङ्घर्षमा तपाईंहरू न कमजोर हुनुहुन्छ, न एकलो । तपाईंहरू मुलुकमा अत्यधिक बहुसंख्यामा हुनुहुन्छ । वीरतापूर्ण मजदुरवर्ग यस सङ्घर्षको अघिल्लो मोर्चामा उभिएको छ र नेपाल, भारत, पाकिस्तान तथा समस्त विश्वका सबै प्रजातान्त्रिक शक्तिहरू तपाईंहरूको साथमा छन् । लाल झन्डाको नेतृत्वमा मुलुकव्यापी स्तरमा आफ्नो स्वतन्त्र जन सङ्गठन बनाउनुहोस् र तलका मागहरू पूरा गर्न दृढ सङ्घर्ष चलाउनुहोस् !
ज्ञ. जमीन जोत्नेलाई देऊ ।
द्द. खेत मजदुरहरूमा पर्ती जग्गा वितरण गर ।
घ. गैर–कानुनी नजराना तथा बेठ–बेगारी खारेज गर ।
द्ध. तेभाग तत्काल लागू गर ।
छ. खेत मजदुरहरूका लागि बाँच्नयोग्य ज्याला ।
ट. पूर्ण नागरिक स्वतन्त्रता ।
नेपालका विद्यार्थी तथा जनवादी युवाहरू हो ! नेपालको पहिलो राष्ट्रिय सङ्घर्षमा तपाईंहरूले गौरवशाली भूमिका खेल्नुभएको छ र प्रशस्त रगत बगाउनुभएको छ । युवा गंगालालको अमर शहीद–प्राप्तिले तपाईंहरू धेरैजनालाई नयाँ संग्राम र नयाँ बलिदानको निम्ति अभिप्रेरित गरेको छ । १९३० का एकजना वीर श्री खड्गमान अझसम्म आफ्नो आंगमा सिक्री र नेलसहित जेलमा सडिरहनुभएको छ । दैनिक परिपक्व संग्रामहरूद्वारा उक्त परम्परालाई अरू उचाइमा उठाउने समय आएको छ र आव्हान गरिएको छ । आजसम्म तपाईंहरूको स्वतन्त्र लडाकू जन–सङ्गठन नहुँदा विश्वासघाती र अवसरवादीहरूले तपाईंहरूलाई मझधारमा अलपत्र छोड्ने मौका पाएका छन् । त्यसैले तलका मागहरूको लागि लड्न आफ्नो स्वतन्त्र, लडाकू, प्रजातान्त्रिक जन–सङ्गठन बनाउन अघि बढनुहोस् ।
ज्ञ. सर्वसाधारण जनताका लागि पूर्ण प्रजातान्त्रिक अधिकारहरू ।
द्द. प्रजातान्त्रिक शिक्षा प्रणाली, मुफ्त अनिवार्य प्राथमिक शिक्षा, उच्च स्तरमा सस्तो शिक्षा ।
घ. पूर्ण प्राज्ञिक अधिकार ।
द्ध. सच्चा स्वाधीनता, प्रजातन्त्र र शान्तिका लागि ।
नेपालको श्रमजीवी महिलाहरू हो ! हामी तपाईंहरूको बढ्दो सङ्घर्ष र जुझारूपनको स्वागत गर्दछौँ । मार्च १९४७ मा विराटनगर जुट तथा कपडा मिलहरूमा श्रमजीवी महिलाहरूले काँधमा काँध मिलाएर लडेका छन् । त्यही सालमा महिलाहरूले, महाराणाको सशस्त्र आतंकलाई हाँक दिंदै, राजनीतिक नाराहरू लगाएर काठमाडौँका सडकहरूमा प्रदर्शन गरेका छन् । जनआक्रोशको बढ्दो स्तरदेखि डराएर, राणा सरकारले बाध्य भई नगरपालिकीय प्रशासन जनताको हातमा सुम्पनु प¥यो । तर निर्वाचनमा महिलाहरूलाई मतदान गर्ने अधिकारबाट वंचित पारियो । नेपालका श्रमजीवी महिलाहरूले चुपचाप सहेर बस्न इन्कार गरे । एउटा प्रतिनिधिमण्डल बनाएर उनीहरू प्रधानमन्त्रीको निवासस्थानतर्फ गए । त्यसबाट तपाईंहरूको लड्ने तथा अधिकार प्राप्त गर्ने अठोट देखिएको छ । सामाजिक, आर्थिक तथा राजनीतिक तेहोरो थिचोमिचोको विरुद्ध लड्न आफ्नो महिला सङ्घ गठन गर्नुहोस् । तलका मागहरू उठाउनुहोस् र सम्झौताहीन सङ्घर्षद्वारा त्यसलाई टेवा दिनुहोस् ।
ज्ञ. समान कामको लागि समान तलब ।
द्द. राष्ट्रिय जीवनका सबै क्षेत्रमा समान अधिकारहरू ।
घ. सुत्केरी सुविधा र केटाकेटीहरूका लागि सुरक्षित जीवन ।
द्ध. निःशुल्क शिक्षा ।
छ. विदेशमा साम्राज्यवादी सेनाहरूमा रहेका हाम्रा छोरा र लोग्नेहरू फिर्ता देऊ ।
ट. स्वतन्त्र, लोक जनवादी नेपाल ।
अतः नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने र त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आपूmलाई समर्पित गर्छ । यसलाई सो बाटोबाट जस्तोसुकै आतङ्क वा भूmटो प्रचारले पनि विचलित पार्न सक्नेछैन । अन्य पुँजीवादी तथा निम्नपुँजीवादी पार्टीहरूले पहिले जनताप्रति विश्वासघात गरेका छन् र पछि पनि गर्दै रहनेछन् । तर नेपाल कम्युनिस्ट पार्टी, मजदुर वर्गको पार्टी, माक्र्सवाद– लेनिनवादको पार्टीले आँधीबेहरीमा जनताको साथ दिनेछ र यसले सच्चा स्वतन्त्रता तथा लोक जनवादका लागि सङ्घर्षको अघिल्लो पङ्क्तिमा उभिई लड्दै रहने प्रतिज्ञा गर्छ । कम्युनिस्ट पार्टी शोषकहरूलाई ठोक्ने जनताको मुड्की हो । तसर्थ हामी मजदुरवर्ग र भूमिहीन तथा गरिब किसानहरूका सर्वोत्तम छोराछोरीहरूलाई र जनवादी विद्यार्थी, युवा तथा महिलाहरूलाई नेपाल कम्युनिस्ट पार्टीका जुझारु पङ्क्तिहरूमा सामेल हुन आह्वान गर्दछौँ किनभने एउटा बलियो, जनकम्युनिस्ट पार्टीले मात्र जनताको जनवादी क्रान्तिलाई विजयसम्म अघि बढाउन सक्छ ।
