अनिल शर्मा
जीवन र जगत्को विकासका नियमहरूको भौतिकवादी अध्ययन गर्ने दर्शन ‘माक्र्सवाद’ हो । यसलाई द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दर्शन पनि भन्ने गरिन्छ । वैयक्तिक जीवन र समाजलाई वस्तुपरक तरिकाले बुझ्न र लागू गर्न यसको व्यवस्थित अध्ययन अनिवार्य छ ।
दर्शन आफैँमा भौतिकवादी शक्ति होइन । तर दर्शन जनताको चेतनामा प्रवेश गरेपछि त्यो भौतिक शक्तिमा बदलिन्छ । त्यसैले माओ त्सेतुङले दर्शनलाई बुद्धिजीवीहरूका बीचमा सीमित नगरेर जनतासम्म (तल्लो तहका मजदुर किसानसम्म) पु¥याउनुपर्ने बताउनुभएको थियो । चेतनाले समृद्ध चिनियाँ किसानले पछौटे चीनलाई आजको स्थितिमा पु¥याएका हुन् । तसर्थ माक्र्सवादी विश्वविद्यालयले त्यो कामलाई व्यवस्थित गर्न सक्छ । पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दीका अवसरमा पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समिति तथा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको अवधारणाका सम्बन्धमा रामेछापमा बृहत् छलफल तथा बहस गरेर यो अवधारणा पारित गर्नु अत्यन्त दीर्घकालीन महŒवको विषय हो । आयोजक धन्यवादका पात्र छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा विभिन्न कम्युनिस्ट पार्टीहरूले स्कुलिङका रूपमा आआफ्नो पार्टी स्तरमा माक्र्सवादका साथै पार्टी कार्यदिशासँग सम्बन्धित विषयको अध्ययन गराइरहेका छन् । हामीले पनि पाठ्यक्रम बनाएर माक्र्सवादको अध्ययन गराइरहेका छौँ । पार्टीका प्रकाशनहरूका माध्यमबाट पनि माक्र्सवादको अध्ययन र प्रचारका काम भइरहेका छन् । यसका लागि अर्घाखाँचीमा भवन निर्माणको प्रक्रियामा छ । माक्र्सवाद अध्ययनका लागि पुस्तकालयहरू पनि सञ्चालनमा छन् । यी सबै कामको एकद्वार प्रणालीका माध्यमबाट र एकीकृत स्तरमा सञ्चालन र नेतृत्व गर्नसक्ने संस्था र अझ विश्वविद्यालयकै प्रस्ताव प्रस्तुत हुनु धेरै राम्रो विषय हो । यो काम नेकपाका संस्थापक महासचिव पुष्पलालका नामबाट प्रस्तावित हुनु अझै राम्रो हो । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयका फाइदाहरूमध्ये एउटा ‘साझा सहमति’ को आधार पनि हुन सक्छ ।
पुष्पलालको अन्तर्राष्ट्रिय भूमिका र प्रभाव कति छ भन्दा नेपाली कम्युनिस्ट आन्दोलन हो । वस्तुलाई अतिशयोक्ति र न्यूनीकरण दुवैले बिगार्छ । विश्वकम्युनिस्ट आन्दोलनको एउटा टुकडी (अंश) हुनुको नाताले यसको अन्तर्राष्ट्रिय आयाम छ । तर हरेक देशका आफ्नै पुष्पलालहरू छन् र हुन्छन् । नेपाली बहुल व बाक्लो बस्तीमा यसका शाखाहरू बन्न सक्छन् । यसरी बुझ्नु वस्तुवादी र वैज्ञानिक हुन्छ ।
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयलाई दर्शन र राजनीतिमा मात्र नभएर प्रविधि, अनुसन्धान र उत्पादनसँग पनि जोडेर लग्नुपर्छ । जनशक्ति छनोट, आर्थिक व्यवस्थापन र पाठ्यक्रम निर्माण प्राविधिक विषय हो । यसका लागि देशभित्रकै विज्ञ समूह गठन गर्नुपर्छ । आफूलाई लाग्ने विषय त छन् तर विज्ञहरूको सल्लाह, सुझाव लिएर उनीहरूको जिम्मा छोड्नु उचित हुन्छ । मैले २० वर्षअघि नै यिनै संस्थाको आयोजनमा पुष्पलाल–गङ्गालाल जन्मस्थल भँगेरीमा भएको एक सन्देशमूलक वैचारिक कार्यक्रममा यस क्षेत्रलाई ‘नेपालका कम्युनिस्टहरूको मक्कामदिना बनाउन सकिन्छ र त्यो गर्नुपर्छ’ भनेको थिएँ । बीस वर्षपछि यसले केही आकार ग्रहण गर्न लागेकोमा खुसी पनि लागेको छ ।
देश र स्थानविशेषका आआफ्नै आदर्श हुन्छन् । आदर्शबिम्ब नभई इतिहास हुँदैन र इतिहासबिना वर्तमान हुँदैन । पुष्पलालको आदर्शको प्रचारले कम्युनिस्ट आन्दोलनको प्रचार पनि गर्छ । त्यस अर्थमा हाम्रो वर्गको सेवा गर्दछु । तसर्थ रामेछाप जिल्लामा नै त्यो काम गर्नु आपत्ति मान्नु पर्दैन ।
विश्वविद्यालय स्थापना गर्ने, व्यवस्थित अध्ययन गर्ने आदत समाजमा छैन । नेताहरू लेखपढ गर्दैनन् । पठन संस्कृतिका विरुद्धमा मदन भण्डारी, केपी वली हुँदै प्रचण्डसम्म उभिएका छन् । त्यसका विरुद्ध वा प्रतिध्रुवीय संस्कृतिका विरुद्ध उभिनुपर्छ । साझा विषयमा खुकुला मोर्चा, सङ्गठनहरू, मञ्चहरू वा अभियानहरू चाहिन्छन् तर वर्गसँग भन्दा मित्रहरूसँग, बाहिरभन्दा भित्रै लड्न रमाउने प्रवृत्ति बढेको समयमा यो अभियान महŒवपूर्ण भएर पनि चुनौतीपूर्ण भने छ । नेताहरूले, पार्टीहरूले व्यवहारद्वारा त्यसलाई हटाउन सक्छन् । पहल लिन सक्छन् । सङ्गठित प्रयत्न प्रभावकारी हुन्छ । त्यसका लागि पहलकारी संस्थाहरू र मित्रहरूलाई धन्यवाद छ । यस काममा मेरातर्फबाट शुभेच्छा रहनेछ । प्रयत्न गरौँ, सफलता कहिले प्राप्त हुन्छ, त्यो पृथक् विषय हो । सही कामका लागि निरन्तर प्रयत्न जारी राख्नुपर्छ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हुनुहुन्छ ।)
