मोहन वैद्य ‘किरण’
१– माक्र्सवादका प्रणेता कार्ल माक्र्स (१८१८–१८८३) को द्विशतवार्षिकी समारोह विश्वका विभिन्न देशहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउने काम सम्पन्न भएका छन्् । माक्र्सको द्विशतवार्षिकी मनाउनुको वास्तविक अर्थ र उद्देश्य माक्र्सका सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक तथा क्रान्तिसम्बन्धी शिक्षा तथा योगदानहरूको संस्मरण तथा आत्मसातीकरण गर्दै संसारलाई बुझ्न र मुख्यतः बदल्नका लागि सचेत तथा योजनाबद्ध ढङ्गले अगाडि बढ्नु हो ।
२– कार्ल माक्र्सले आफ्ना अनन्य सहयोगी तथा सहयोद्धा फेडरिक एङ्गेल्स (१८२०–१८९५) का साथमा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका क्षेत्रमा तमामखाले अवैज्ञानिक चिन्तन, प्रवृत्ति तथा मान्यताका विरुद्ध सैद्धान्तिक सङ्घर्ष चलाउँदै विश्व–सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय र सिङ्गो मानव जातिको क्रान्ति र मुक्तिको सिद्धान्तका रूपमा माक्र्सवादको स्थापना तथा प्रतिपादन गर्नुभयो । यो विश्वको इतिहासमा एक अद्वितीय तथा महान् युगान्तकारी कदम थियो ।
३– माक्र्सवादको जन्म पँुजीवादी युग र सर्वहारा क्रान्तिको बिहानीको ऐतिहासिक अवधिमा भएको थियो । त्यस बेला कम्युनिस्ट पार्टीको घोषणापत्र र पेरिस कम्युनसम्बन्धी विषयमा विश्व ऐतिहासिक महत्वका दस्ताबेजहरू तयार पारिएका थिए र तिनले समाजवादी क्रान्ति सम्पन्न गर्दै साम्यवादको लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढ्नका लागि सैद्धान्तिक पथप्रदर्शन गरेका थिए ।
४– माक्र्सवादका तीन सङ्घटक अङ्ग छन्् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्सवादी दर्शन हो । यो सबैखाले आदर्शवाद तथा अधिभूतवादका विरुद्ध वैज्ञानिक भौतिकवादका पक्षमा रहेको छ । माक्र्सको राजनीतिक अर्थशास्त्र उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना, सामाजिक सत्ता र सामाजिक चेतना, उत्पीडक र उत्पीडित वर्गका बीचको सङ्घर्ष, मूल्यको श्रम सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित छ ।
माक्र्सको समाजवाद वैज्ञानिक समाजवाद हो । यो वर्ग, वर्गसङ्घर्ष, बलप्रयोगको मान्यता, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादको सिद्धान्तमा आधारित छ । माक्र्सवाद सर्वहाराको क्रान्ति र मुक्तिको सिद्धान्त हो । यसले विश्वलाई बुझ्ने मात्र होइन, मुख्यतः बदल्ने कुरामा जोड दिन्छ ।
५– माक्र्सवादले वर्गसङ्घर्ष र सामाजिक जीवनको हरियो धर्तीमा प्रयोगको माग गर्दछ । माक्र्सवाद एउटा विज्ञान हो र विज्ञान प्रयोगसित अभिन्न रूपमा गाँसिएको छ । आफ्नो जीवनकालमा माक्र्स र एङ्गेल्सले माक्र्सवादको प्रतिपादनका साथै प्रयोगमा समेत विशेष ध्यान दिनुभयो । त्यसपछि माक्र्सवादको प्रयोग र विकासमा लेनिनको उल्लेखनीय भूमिका रह्यो । लेनिनले रुसी धर्तीमा माक्र्सवादको प्रयोग गर्नुभयो । फलतः १९१७ अक्टोबरमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसले विश्वलाई झकझक्यायो र संसारका विभिन्न देशहरूमा रुसी समाजवादी क्रान्तिको प्रभाव प¥यो ।
माक्र्सवादको सफल प्रयोग र विकासका बीचबाट लेनिनवाद जन्मियो । चीनमा माओ त्सेतुङले माक्र्सवाद–लेनिनवादको सफल प्रयोग गर्दै १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । दोस्रो विश्वयुद्धको प्रक्रिया र त्यसपछि विश्वका विभिन्न देशहरूमा सर्वहारा वर्गको नेतृत्वमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न हुँदै गए । चीनमा माओको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति (१९६६–१९७६) गरियो । विश्वक्रान्तिमा भारी उथलपुथल पैदा भयो । यसै क्रममा माक्र्सवाद–लेनिनवादको प्रयोग र विकासका बीचबाट माक्र्सवाद–लेनिनवाद–माओवाद जन्मियो ।
६– क्रान्ति एक निरन्तर प्रक्रिया हो । क्रान्तिले अनेकौँ प्रतिक्रान्तिका बीचबाट पूर्णता प्राप्त गर्दछ । रुसमा स्टालिनको निधनपछि १९५४ मा ख्रुस्चोभको नेतृत्वमा प्रतिक्रान्ति भई पँुजीवादको पुनः स्थापना गरियो । चीनमा पनि माओको निधनपछि तेङको नेतृत्वमा १९७६ मा प्रतिक्रान्ति भई पँुजीवादको पुनः स्थापना गर्ने काम भए । विश्व–सर्वहारा क्रान्तिले गम्भीर धक्का खान पुग्यो । रुसमा पुँजीवादको पुनः स्थापनापश्चात् माओले चीनमा त्यसो नहोस् भनेर महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गर्नुभएको थियो । परन्तु त्यसले पूर्णता प्राप्त गर्न सकेन ।
७– प्रतिक्रान्तिको यो प्रक्रिया र नाम मात्रकै भए पनि सोभियत सङ्घको पतनपश्चात् विश्वका सारा प्रतिक्रियावादीहरू समाजवाद असफल भयो भन्दै चिच्याउन थाले । सारा अवसरवादीहरू रुन्चे स्वरमा क्रान्तिकारी माक्र्सवादीहरूलाई सराप्दै गुन्गुनाउन थाले । प्रतिक्रान्तिबारे प्रतिक्रियावादी, संशोधनवादी र क्रान्तिकारी माक्र्सवादीहरूका तर्फबाट विभिन्न प्रतिक्रिया तथा धारणाहरू अभिव्यक्त गर्ने काम भए ।
८– प्रतिक्रियावादीहरू एकातिर सर्वहारावर्गीय नेतृत्वको समाजवादी व्यवस्थालाई कम्युनिस्टहरूको एकदलीय अधिनायकवाद भनेर विरोध गर्दछन्् भने अर्काेतिर समाजवादको असफलता, साम्यवादको अन्त्य तथा उदारवादी संसदीय लोकतन्त्रलाई चिरञ्जीवी बताउँछन्् । वस्तुतः सर्वहारावर्गीय नेतृत्वको समाजवाद कम्युनिस्टहरूको एकदलीय व्यवस्था नभई सर्वहारा वर्गको अधिनायकत्व हो । यो कुरा कम्युनिस्टहरू लुकाउँदैनन् । परन्तु अर्काेतिर के कुरा पनि सत्य हो भने पुँजीवादीहरूले भन्ने गरेको संसदीय व्यवस्था वा उदारवादी लोकतन्त्र पनि पँुजीपति वर्गको अधिनायकत्व हो । वर्गसमाजमा राज्यव्यवस्था अधिनायकत्वमा आधारित हुन्छ ।
यहाँ प्रश्न अधिनायकत्वको होइन, मुख्यतः कुन वर्गले कुन वर्गमाथि अधिनायकत्व लागू गर्ने भन्ने प्रश्न हो । पुँजीपतिहरू ढाँटछल गरी लोकतन्त्रका नाममा आफ्नो अधिनायकत्वलाई चिरञ्जीवी बनाउन खोज्दछन्् । परन्तु कम्युनिस्टहरू स्पष्ट भाषामा सर्वहारा अधिनायकत्वलाई सङ्क्रमणकालीन व्यवस्था बताउँदै तथा सर्वहारा जनवादको अभ्यास गर्दै सबैखाले वर्गीय राज्यसत्ता एवम् अधिनायकत्वको अन्त्य गरी साम्यवाद स्थापना गर्न चाहन्छन्् ।
९– संशोधनवादीहरू सोभियत रुसलगायत देशहरूमा समाजवादको असफलताको प्रमुख कारण कम्युनिस्टहरूद्वारा जनवादको अभ्यासमा गल्ती–कमजोरी हुनु हो भन्दछन्् र यसका लागि स्टालिनमाथि गम्भीर प्रकृतिका आरोपहरू लगाउँछन्् । वस्तुतः सोभियत रुसलगायत देशहरूमा समाजवादको असफलताका पछाडि जनवादको अभ्यासमा कमी होइन, मुख्यतः सर्वहारा वर्गीय अधिनायकत्वलाई राम्रोसित लागू गर्न नसक्नु हो । यद्यपि स्टालिनमा पछिल्लो कालमा रुसी समाजका अन्तरविरोधहरूलाई ठीकसित ठम्याउने र तिनको समाधान गर्ने काममा कतिपय गल्तीकमजोरीहरू अवश्यै भए परन्तु अन्ततः उहाँ महान् माक्र्सवादी–लेनिनवादी नै हुनुहुन्थ्यो ।
माओद्वारा स्टालिनमा ३० प्रतिशत दुर्बल र ७० प्रतिशत सबल पक्ष रहेका छन्् भनेर जुन मूल्याङ्कन गरियो त्यो वैज्ञानिक नै रहेको छ ।
१०– क्रान्तिकारी कम्युनिस्टहरूका दृष्टिमा प्रतिक्रान्तिका वस्तुगत र आत्मगत दुई प्रकारका कारण हुने गर्दछन्् । पराजित प्रतिक्रियावादीद्वारा पुँजीवादको पुनः स्थापनाका निम्ति अत्यधिक कसरत गरिनु, समाजवादी समाजमा विद्यमान लघु उत्पादन पुँजीवादको पुनः स्थापनाका लागि मूल आधार तथा स्रोत बन्नु, साम्राज्यवादद्वारा सम्बन्धित देश र पुँजीवादीपन्थीहरूलाई सहयोग गरिनु र सम्बन्धित देशको कम्युनिस्ट पार्टीभित्रै संशोधनवाद पैदा हुनु आदि प्रतिक्रान्तिका वस्तुगत कारण बनेका हुन्छन्् ।
प्रतिक्रान्तिका आत्मगत कारणका रूपमा क्रान्तिकारीहरूद्वारा समाजमा विद्यमान अन्तरविरोध तथा प्रतिक्रान्तिका बीजहरूलाई पहिचान गर्ने र तिनको हल गर्ने काममा पर्याप्त भूमिका निर्वाह नगरिनु र क्रान्तिकारीहरूको शक्तिलाई सुदृढ तथा प्रतिक्रान्तिकारीहरूलाई कमजोर तुल्याउने कार्यमा आवश्यक पहल नगरिनु आदिलाई लिन सकिन्छ । प्रतिक्रान्तिका उक्त वस्तुगत तथा आत्मगत कारणहरूमा कुनै बेला कसैको प्रमुख भूमिका हुने भए पनि अन्ततः वस्तुगत कारणकै निर्णायक भूमिका हुने गर्दछ ।
समाजवादी कालमा सर्वहारा वर्गको अन्तिम विजयका लागि दीर्घकालीन अवधि आवश्यक हुने र कुनै मुलुक विशेषमा क्रान्तिको जितको सुनिश्चितताका लागि अन्ततः विश्वक्रान्तिकै विजय अपेक्षित रहने गर्दछ । यी विषयबारे लेनिन र माओले राम्रो प्रकाश पार्दै आउनुभएको छ ।
११– प्रतिक्रियावादीहरू के ठान्ने गर्दछन्् भने समाजवादी सत्ताहरू एकपटक असफल भएपछि तिनले कहिल्यै पनि पुनः विजय हासिल गर्न सक्तैनन् र त्यो असफलता माक्र्सवादकै सैद्धान्तिक असफलता हो । यो नितान्त गलत कुरा हो । क्रान्तिले जितहारका अनेकौँ शृङ्खलाहरूका बीचबाट अन्तिम विजय हासिल गर्दछ । इतिहासमा विभिन्न मुलुकहरूका पुँजीवादी क्रान्ति पनि अनेकौँ हारहरूको सामना गर्दै अगाडि बढेका देखिन्छन्् । यस सन्दर्भमा माओको भनाइ विशेष ध्यान दिन योग्य छ ।
माओ के भन्नुहुन्छ भने सङ्घर्षका क्रममा प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने शक्तिहरू कहिलेकहीँ उनीहरूका विचार सही नभएकाले होइन, सङ्घर्षमा संलग्न शक्तिहरूको सन्तुलनमा केही समयका निम्ति प्रतिक्रियावादी शक्तिसरह क्रान्तिकारीहरू शक्तिशाली नभएकाले पराजित हुन पुग्दछन््, अस्थायी रूपमा उनीहरूले पराजय भोग्नु परे पनि अन्ततः तिनले विजय प्राप्त गर्नु अवश्यम्भावी छ । यसरी के स्पष्ट हुन्छ भने समाजवादी सत्ताहरू असफल भए पनि त्यो अस्थायी असफलता हो र अन्ततः सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदायको विजय अपरिहार्य छ ।
१२– माक्र्सवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले वैज्ञानिक र सर्वशक्तिमान रहेको छ । दर्शनका क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा मूल्यको श्रम तथा अतिरिक्त मूल्यको सिद्धान्त, समाजवादका क्षेत्रमा वर्ग, वर्गसङ्घर्ष, सर्वहारावर्गीय अधिनायकत्व एवम् राज्यसत्ताको विलोपीकरण अर्थात् साम्यवादमा आधारित प्रस्थापना ऐतिहासिक र तार्किक दुवै दृष्टिले वैज्ञानिक र सङ्गतिपूर्ण रहेका छन्् ।
परन्तु, यसको विपरीत ध्रुव पुँजीवाद अर्थात् साम्राज्यवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले अवैज्ञानिक र असङ्गतिपूर्ण रहेको छ । आज यसले इतिहास, विचारधारा, मानिस र यथार्थ सबैको अन्त्यको घोषणा गर्ने उत्तरआधुनिकतावादलाई आफ्नो सैद्धान्तिक आधार बनाएको छ । दर्शनका क्षेत्रमा यसले शून्यवाद, अतर्कबुद्धिवाद, बहुलवाद र सारसङ्ग्रहवादमा आधारित अधिभूतवादी तथा आदर्शवादी चिन्तनलाई अँगालेको छ ।
अर्थशास्त्रका क्षेत्रमा यो एकाधिकारी पुँजीवाद, बहुराष्ट्रिय कम्पनीहरूको सञ्जाल, पुँजीको सङ्केन्द्रण तथा वित्तीयकरण, मुनाफावाद र आर्थिक सङ्कटको उम्कनै नसक्ने भयावह चक्रव्यूहमा फसेको छ । राजनीतिक क्षेत्रमा यसले लोकतन्त्रको मायावी भ्रमजाल सृष्टि गरेर बहुसङ्ख्यक जनसमुदायमाथि अल्पसङ्ख्यक अभिजात वर्गको अधिनायकवाद थोपर्दै आएको छ । यसले फलाको हाल्ने गरेका स्वतन्त्रता, समानता र भ्रातृत्वका नाराहरू हात्तीका देखाउने दाँत सिवाय अरू केही होइनन् भन्ने कुरा प्रमाणित भइसकेको छ । यसको अन्तिम परिणति फासिवाद हो ।
आज भूमण्डलीकृत साम्राज्यवाद नवउदारवादी खुला अर्थतन्त्र र संरक्षणवादको भीषण सङ्घर्षका बीचबाट नवफासिवादतर्फ धकेलिइरहेको छ । तसर्थ सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले माक्र्सवादको भविष्य समुज्ज्वल र एकाधिकार पुँजीवादको भविष्य अन्धकारमय रहेको छ । तसर्थ वर्तमान युगमा सबैखाले समस्या तथा अन्तरविरोधहरू समाधान गर्ने सामथ्र्य माक्र्सवादमै सन्निहित छ र माक्र्सवादको सान्दर्भिकता अझै बढेर गएको छ ।
१३– माओले सबैखाले प्रतिक्रियावाद र साम्राज्यवादलाई तत्कालीन तथा कार्यनीतिका दृष्टिले साँच्चैका बाघ र दीर्घकालीन तथा रणनीतिक दृष्टिले कागजी बाघ बताउनुभएको थियो । यो कुरा वर्तमान सन्दर्भमा पनि सत्य हो । आज साम्राज्यवाद बहुराष्ट्रिय कम्पनी र भूमण्डलीकृत स्वरूपको नयाँ कलेवरमा पुँजीको वित्तीयकरणको चरम अवस्थामा अभिव्यक्त भएको छ । त्यसले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व व्यापार सङ्गठनको बाहुपासमा विश्वलाई लपेट्न खोजे पनि आज त्यो नवउदारवाद र संरक्षणवादका बीचको सङ्घर्ष र भयावह व्यापारयुद्धमा फस्दै गएको छ ।
हो, आज साम्राज्यवाद रूपमा शक्तिशाली देखिन्छ परन्तु सारमा त्यो दिन–प्रतिदिन कमजोर बन्दै गएको छ । त्यसैगरी रूपमा आज विश्व–सर्वहारा वर्ग र कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा छ तर सारमा त्यो समुज्ज्वल भविष्यले युक्त छ । सच्चा माक्र्सवादीहरूले रूप मात्र होइन, मुख्यतः सारतत्वमाथि ध्यान दिनु पर्दछ ।
१४– माओको निधन र समाजवादी देशहरूमा पँुजीवादको पुनः स्थापनापश्चात् विश्वका विभिन्न देशका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरूले विश्व–सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्तलाई माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा संश्लेषण गरेर क्रान्तिको प्रक्रियालाई अघि बढाउने काम गरे । यसै क्रममा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको गठन भयो । फिलिपिन्स, पेरू, भारत, नेपाललगायत देशहरूमा जनयुद्ध विकसित हुँदै गए । यसबाट विश्वमा क्रान्ति र उत्साहको नयाँ लहर पैदा भयो । परन्तु केही समयपछि जनयुद्धमा संलग्न तत्कालीन नेकपा (माओवादी) को मुख्य नेतृत्वपङ्क्तिमा गम्भीर प्रकारको दक्षिणपन्थी अवसरवाद पैदा भयो र महान् जनयुद्धले गम्भीर धक्का खायो ।
यसैबीच अमेरिकाको आर.सी.पी.को नेतृत्वले नयाँ संश्लेषणका रूपमा विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र माक्र्सवाद–लेनिनवाद–माओवादमाथि गम्भीर सैद्धान्तिक प्रहार गर्दै उत्तरमाक्र्सवादको बाटो पकड्यो । फलतः क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन विघटित अवस्थामा पुग्यो र पुनः विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा स ङ्गठनहरूले नयाँ अन्तर्राष्ट्रिय गठनका लागि आवश्यक पहल गरिरहेका छन्् । आज पनि एसिया, अफ्रिका र दक्षिणअमेरिकामा मूल प्रवृत्तिका रूपमा क्रान्ति जारी छ । विकसित देशहरूमा पनि क्रान्ति नयाँ ढङ्गले सङ्गठित बन्दै गइरहेको छ ।
१५– आज माक्र्सवादका विरुद्ध विभिन्न रूपका प्रतिक्रियावाद मात्र होइन, संशोधनवाद पनि लागिपरेका छन्् । आज एकथरी संशोधनवादीहरूले खुला रूपमा नवउदारवाद तथा संसद्वादको पक्षपोषण र अर्काथरी संशोधनवादीहरूले विज्ञान तथा प्रविधिको विकासले मानिसलाई होइन, प्रविधिलाई प्रमुख बनाइदियो भन्दै माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तका विरुद्ध पुँजीवादकै पुर्पक्ष गर्न गइरहेका छन्् । आज क्रान्तिका लागि संशोधनवादका विरुद्ध वैचारिक सङ्घर्ष गर्न जरुरी छ । साथै यहाँनेर कुन कुरामा पनि ध्यान दिन जरुरी छ भने प्रविधिको विकास उत्पादक शक्तिको विकास पनि हो । यसले एकातिर कार्यदिशालाई समृद्ध तुल्याउने माग गर्दछ भने अर्कोतिर उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्धमा क्रान्तिको आवश्यकतालाई पनि औँल्याउँछ ।
१६– उक्त सबै विषयहरूमा आवश्यक दृष्टिपात गर्दै हामीले नेपाली क्रान्तिका साथै विश्वक्रान्तिका कार्यभारबारे पनि विशेष ध्यान दिन जरुरी छ । यस सन्दर्भमा उल्लेखनीय विषय मूलतः यी हुन् ः
पहिलो ः पथप्रदर्शक सिद्धान्त । क्रान्तिको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो र यसलाई हामीले राम्रोसित आत्मसात गर्नु पर्दछ । माओवाद र माओ विचारबारे विद्यमान मतभेदबारे पनि छलफल चलाउन सकिन्छ ।
दोस्रो ः क्रान्तिको मूल कार्यदिशा । अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा मूलतः नवऔपनिवेशिक अवस्थामा रहेको दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय उत्पीडनमा परेको र आन्तरिक रूपमा दलाल तथा नोकरशाही पुँजीवाद र बाह्य रूपमा साम्राज्यवाद तथा विस्तारवादद्वारा शोषित, उत्पीडित एवम् हस्तक्षेपित रहिआएको नेपाली समाजका सन्दर्भमा नयाँ जनवादी क्रान्ति नै अपरिहार्य रहेको छ । नयाँ जनवाद समाजवादकै अभिन्न अङ्ग हो र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर नै समाजवादी क्रान्तिको दिशामा जान सकिन्छ । हामीले यसैअनुरूप सङ्घर्षको कार्यदिशा र बाटो पनि निर्धारित गर्नुपर्दछ । क्रान्तिका लागि बलप्रयोग अनिवार्य छ । यी विषयमा पनि छलफल चलाउनु पर्दछ ।
तेस्रो ः संयुक्त मोर्चा । क्रान्तिका लागि क्रान्तिकारी संयुक्त मोर्चा आवश्यक पर्दछ । यो मोर्चा एकातिर क्रान्तिकारी तथा प्रगतिशील राजनीतिक दल र अर्कोतिर वर्गीय, जातीय, लैङ्गिक आधारमा पनि निर्माण गर्नु पर्दछ । यो मोर्चा नबन्दासम्म मुद्दा मिल्ने शक्तिहरूसँग कार्यगत एकता गर्न जरुरी हुन्छ ।
चौथो ः नयाँ ढङ्गको एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशाका आधारमा निर्मित नयाँ ढङ्गको कम्युनिस्ट पार्टीको निर्माण अनिवार्य रूपमा आवश्यक छ । आज हामीले सच्चा कम्युनिस्ट पार्टी तथा समूह र व्यक्तित्वहरूलाई एकताबद्ध गर्न जरुरी छ ।
पाँचौँ ः सर्वहारा अन्तर्राष्ट्रियतावाद । कम्युनिस्ट पार्टीका साथै सिङ्गो कम्युनिस्ट आन्दोलन सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित हुन्छ ।
तसर्थ हामीले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई मालेमावादका आधारमा नयाँ ढङ्गले पुनः सङ्गठित तुल्याउन र अर्कोतिर साम्राज्यवादविरोधी संयुक्त मोर्चा निर्माण गर्न अति जरुरी छ ।
कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूका बीच यी विषयबारे बिनापूर्वाग्रह आवश्यक छलफल चलाउन र सही निष्कर्षमा पुग्नका लागि हामीले विशेष पहल तथा प्रयत्न गर्नु पर्दछ । यस सन्दर्भमा एकता, सङ्घर्ष र रूपान्तरणको द्वन्द्ववादलाई आत्मसात गर्न जरुरी छ ।
१७– माक्र्सको द्विशतवार्षिकी मनाउनु र माक्र्सका सैद्धान्तिक तथा व्यावहारिक शिक्षा एवम् योगदानहरूको संस्मरण गर्नुको वास्तविक अर्थ र औचित्य कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका बीचबाट क्रान्तिको प्रक्रियालाई निरन्तर अगाडि बढाउनु नै हो ।
विश्वक्रान्ति र नेपाली क्रान्तिको पनि ऐतिहासिक शिक्षा यही हो । यसबारे हामीले विशेष रूपमा सचेत तथा गम्भीर बन्दै पुनः प्रतिबद्धता जाहेर गर्न जरुरी छ ।
(५ मई २०१९ मा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) द्वारा आयोजित विचार–गोष्ठीमा प्रस्तुत कार्यपत्रमा आधारित)
