पुष्पलालका योगदान र मार्क्सवादी विश्वविद्यालय

युवराज ज्ञवाली

०२७–२८ सालतिर हामी कलेजमा अध्ययन गर्दा पुष्पलाललाई नेपाली कम्युनिस्ट आन्दोलनका लेनिन भन्ने गथ्र्यौं किनकि लेनिनका दाजु अलेक्ज्यान्डर क्रान्तिकारी राजनीतिमा सक्रिय भएका कारण रुसका तत्कालीन निरङ्कुश शासक जार अलेक्सान्ड तृतीयले उनलाई मृत्युदण्ड दिएका कारणले त्यसबाट अत्यन्त दुःखी र आक्रोशित भएर लेनिनले रुसबाट जारशाही शासनलाई समाप्त पार्ने प्रतिज्ञा गरेका थिए । यद्यपि लेनिनमा सानैदेखि जारको निरङ्कुश व्यवस्थाबारे जानकारी नभएको होइन तर दाजुको हत्याले उनलाई अघि बढ्न पे्ररित ग¥यो । जारशाहीलाई कसरी समाप्त पार्ने र त्यसपछि कस्तो व्यवस्था ल्याउने भन्नेबारे अस्पष्टता रहेको अवस्थामा उनले कार्ल माक्र्सका रचनाहरू अध्ययन गर्ने अवसर प्राप्त गरे । त्यसले उनलाई माक्र्सवादी बनायो । अन्ततः लेनिनकै अगुवाइमा सन् १९१७ अक्टुबरमा विश्वमा पहिलोपटक महान् समाजवादी क्रान्ति सम्पन्न भयो ।

नेपाल पनि रुसजस्तै सामन्ती निरङ्कुश जहानियाँ शासनको अत्याचारमा पिल्सिएको थियो । त्यसबेला राणाशासनको शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध बोल्ने, लेख्ने, प्रचार–प्रसार गर्ने, सङ्गठित हुने, आन्दोलन गर्ने, दल खोल्ने, चुनाव लड्नेजस्ता कुनै पनि मौलिक हक–अधिकारहरू थिएनन् । आमजनता राणा शासकका दासजस्तै थिए । उनीहरूले गरेका अन्याय, अत्याचारका विरुद्ध कसैले बोल्ने, लेख्ने काम ग¥यो भने जेल जानु र कुटाइ खानु सामान्य कुरा थियो भने त्यसबापत मृत्युदण्डको सजाय भोग्नुपर्ने बाध्यता थियो । तर जतिसुकै दमन र अत्याचार भए पनि ढिलो–चाँडो जनताले त्यसको विरोध, प्रतिवाद र प्रतिरोध अनिवार्य रूपमा गर्छन् । संसारको आजसम्मको समाज विकासको इतिहासले यो कुरा प्रमाणित गरेको छ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय वस्तुगत परिस्थितिका कारणले नेपाली जनतामा नयाँ किसिमको जागरणको युग सुरु भयो । यसै क्रममा १९९७ साल माघमा राणा शासकले शुक्रराज शास्त्री, गङ्गालाल, धर्मभक्त माथेमा र दशरथ चन्दसहित चारजनालाई फाँसीको सजाय दियो । उनीहरूलाई नेपाल प्रजापरिषद् नामको पार्टीको प्रचार–प्रसार गरेको आरोप लागेको थियो ।

गङ्गालाल दरबार हाईस्कुलबाट पहिलो श्रेणीमा एस.एल.सी. पास गरेपछि त्रिचन्द्र कलेजमा आई.एस.सी.मा पढ्दै थिए । उनी राजनीतिक रूपमा पनि अध्ययनशील र सचेत युवा थिए । अध्ययनकै क्रममा उनले नागरिक अधिकार समितिको आयोजनामा काठमाडौँको इन्द्रचोकमा भएको जनसभामा भाषण गरेका थिए । यसैलाई आधार बनाएर उनलाई माघ १५ गते सेन्ट्रल जेलबाट विष्णुमतीको किनारमा तत्कालीन जर्नेल नरशमशेरको आदेशमा त्रूmर यातनापछि, गङ्गालालले उनीहरूले भनेबमोजिम गर्न नमानेपछि गोली हानेर हत्या गरे । हत्या भएको अघिल्लो दिन गङ्गालालका बुबा भक्तलाललाई परिवारसहित भेट गर्न बोलाइएको थियो । बुबासँगै १४ वर्षका पुष्पलाल पनि दाजुलाई भेट्न सेन्ट्रल जेल गए । गङ्गालालले आपूm राणाशासनको अन्त्य गरी जनताको मुक्तिको बाटोमा अघि बढेको भए पनि आफ्नो लक्ष्य पूरा गर्न नपाई संसारबाट बिदा लिन लागेको अवस्थामा माइला अब तिमीले यो काम पूरा गर्नु भन्ने भावना व्यक्त गरे । अर्को दिन गङ्गालालको हत्यापछि उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका पुष्पलालले दाजुको सपना पूरा गर्न जीवनभर समर्पित भएर लाग्ने प्रतिज्ञा गरेका थिए ।

दाजुको सहादतपछि आफ्नो प्रतिज्ञा पूरा गर्ने क्रममा उनी सुरुमा प्रजापरिषद्को माध्यमबाट राणा शासनको अन्त्यको सङ्घर्षमा अघि बढे । तर त्यो पार्टीबाट जनताको वास्तविक मुक्ति सम्भव नदेखेपछि नेपाली राष्ट्रिय काङ्गे्रसमा सक्रिय भए । उक्त पार्टीले पुष्पलालको अध्ययन, सक्रियता र परिपक्वतालाई देखेर पार्टीको सचिवको जिम्मेवारी दियो । त्यो पार्टी मूलतः भारतीय नेताहरूको योजना र निर्देशनमा चल्ने गरेको पुष्पलाललाई अनुभूति भयो । उनी राणा शासनको अन्त्य मात्रै नभएर नेपाली समाजमा रहेको सामन्ती शोषणकै अन्त्य चाहन्थे । उपर्युक्त दुईवटा पार्टीमा काम गर्ने क्रममा उनले विश्वका लोकतान्त्रिक आन्दोलन, समाजवादी आन्दोलन, भारतमा चलेको अङ्गे्रजविरोधी स्वतन्त्रता आन्दोलन, त्यहाँका विभिन्न राजनीतिक पार्टीहरूका गतिविधिबारे जानकारी प्राप्त गरे । अध्ययनले उनलाई राजनीतिक, वैचारिक रूपमा परिपक्व बनाउँदै लग्यो । नेपाली राष्ट्रिय काङ्गे्रसभित्र बी.पी. कोइराला र डा. डिल्लीरमण रेग्मी दुई नेताबीचको अन्तर्विरोधले पनि पुष्पलालमा नवीन सोच र चेतनाको विकास गर्नमा उत्पे्ररित गरिरहेको थियो ।

नेपाली राष्ट्रिय काङ्गे्रसको सचिव भएको बेला उनी प्रायः कलकत्तामै बस्ने गर्दथे । त्यस क्रममा उनले भारतका विभिन्न नेताहरूसँग भेटघाट र छलफल गर्ने, भारतका विभिन्न पार्टीका नीति र विचार अध्ययन गर्ने, त्यही समयमा रुसको समाजवादी क्रान्ति, चीनको जनवादी क्रान्ति, भारतमा कम्युनिस्ट आन्दोलनको विकास, विश्वका विभिन्न देशका क्रान्ति र परिवर्तनबारे जान्नेबुझ्ने अवसर प्राप्त गरे । त्यसै क्रममा उनलाई भारतीय कम्युनिस्ट पार्टीका नृपेन्द्र चक्रवर्ती, रतनलाल ब्राह्मणलगायत नेताहरूसँग छलफल गर्ने मौका मिल्यो । अन्ततः उनी नेपाली राष्ट्रिय काङ्गे्रसबाट पनि साँचो अर्थमा नेपाली जनताको मुक्ति र समृद्धि सम्भव छैन भन्ने निष्कर्षमा पुगे । त्योसँगै नेपालमा कम्युनिस्ट पार्टी गठन गरेर राणाशाहीको अन्त्यसँगै देशबाट सामन्तवादी शोषणको अन्त्य गर्ने, जनवादी क्रान्तिसँगै समाजवादको दिशातर्फ अघि बढ्ने दृष्टिकोणको विकास भयो । त्यसका लागि व्यवस्थित वैचारिक दस्तावेजको आवश्यकता महसुस भयो । उनले सर्वप्रथम माक्र्स–एङ्गेल्सद्वारा रचित विश्वको पहिलो कम्युनिस्ट घोषणापत्र हिन्दी भाषाबाट नेपालीमा उल्था गरी विभिन्न व्यक्तिसँग आर्थिक सङ्कलन गरेर त्यसलाई प्रकाशित गरे । विभिन्न व्यक्तिहरूले उक्त घोषणापत्रको अध्ययन गरे । उक्त घोषणापत्रको गहन अध्ययन, त्यसको अनुवाद र प्रचार–प्रसार गर्ने क्रममा नै नेपालमा कम्युनिस्ट पार्टीको गठन र त्यसका लागि नेपाली क्रान्तिको ठोस विशेषतामा आधारित नीति–विचारसहितको दस्तावेज तयार पार्नुपर्ने आवश्यकता महसुस हुँदै गयो । उपर्युक्त पृष्ठभूमिका सन्दर्भमा कमरेड पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र नेपाल राष्ट्रकै लागि निम्न रूपमा केही ऐतिहासिक र विशिष्ट योगदान गरेको कुरा स्पष्ट छ ः

१. कम्युनिस्ट पार्टीको स्थापना
०७ सालभन्दा पहिले नेपालमा चलेको १०४ बर्से निरङ्कुश सामन्ती जहानियाँ राणाशासनको कालमा जनताका तमाम मौलिक हकअधिकारको के कुरा, सानो कोठामा २–४ जना बसेर छलफल गर्न पनि नपाउने जुन किसिमको अवस्था थियो, त्यसको विरोधमा गोप्य रूपमा विभिन्न सङ्घ–संस्था, समाज सुधारका कार्यक्रमहरूसँगै माक्र्सवादी अध्ययन मण्डल, पहिलो गोप्य रूपमा नेपाल प्रजापरिषद्को स्थापनासँगै भारतमै नेपाली राष्ट्रिय काङ्गे्रसको स्थापना भएको थियो ।

पुरानो व्यवस्थालाई भत्काएर नयाँ प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नका लागि पनि निश्चित सिद्धान्त र उद्देश्य भएको सङ्गठित शक्तिको अनिवार्यता हुन्छ । त्यस किसिमको शक्तिको सही परिचालनका लागि कुशल नेतृत्वको आवश्यकता पर्छ । त्यस किसिमको सङ्गठित शक्तिको योजना र आह्वानमा व्यापक जनपरिचालन र सशक्त जनआन्दोलनको आवश्यकता पर्छ । नेपालमा त्यसबेला केही प्रजातन्त्रवादी र सुधारवादी पार्टीहरू गठन भएर विभिन्न गतिविधि अघि बढाएका थिए । तर राणाशासनको अन्त्य र केही सीमित सुधारका कामहरू गरेर मात्र आम नेपाली जनता र अत्यन्त पछौटे अवस्थामा रहेको नेपाली समाजको आवश्यकताअनुरूपको परिवर्तन सम्भव थिएन । त्यसका लागि समाजको क्रान्तिकारी परिवर्तनको उद्देश्य अपनाएको सशक्त पार्टीको आवश्यकता थियो । विदेशमा कार्यरत र अध्ययनरत कतिपय व्यक्तिहरू तथा देशभित्रै पनि कतिपय व्यक्तिहरू सानै सङ्ख्यामा भए पनि समाजवादी विचारबाट प्रभावित भएर यो देशमा केही गरौँ भन्ने मान्यतामा उभिएका थिए । तर त्यसबेलाको विकट परिस्थितिमा एकले अर्कासँग सम्पर्क गर्ने, आपसी छलफल र विचारविमर्श गर्दै अघि बढ्नु निकै कठिन र चुनौतीपूर्ण काम थियो । तर कमरेड पुष्पलालको अगुवाइमा भारत कलकत्ताको श्यामबजार भन्ने साँगुरो गल्लीको एउटा सानो घरको कोठामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्य गरी जम्मा ४ जनाले नेपालमा कम्युनिस्ट पार्टी गठन गर्ने र पार्टीको व्यापक सङ्गठन निर्माण, परिचालन गर्दै राणाशासनबाट समेत देशलाई मुक्त गर्ने महान् सपना देख्न पुगे । उक्त बैठक जारी रहेकै बेला काठमाडौँबाट मोतीदेवी पुग्नुभयो । चारैजनाले सल्लाह र सहमति गरेर उहाँलाई समेत पार्टी स्थापना गर्ने टिममा सामेल गर्ने निर्णय गर्नुभयो । पार्टी गठनसँगै आम नेपाली जनतालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अपिल जारी गर्ने निर्णयसमेत गर्नुभयो । त्यस्तै देशव्यापी रूपमा सङ्गठन निर्माण गर्ने, देश–विदेशमा रहेका माक्र्सवादी विचारसँग नजिक भएका साथीहरूसँग सम्पर्क गरी पार्टीमा सामेल गर्दै अघि बढ्ने निर्णय गरे । पुष्पलालको अगुवाइमा भएको यो एउटा महान् र ऐतिहासिक कामको सुरुआत थियो ।

(२) विचार निर्धारणको विषय
कमरेड पुष्पलालले पार्टी गठनसँगै अपिल प्रसारणको बेला नेपाली नागरिकका मौलिक हकअधिकारका विषयमा सङ्घर्ष गर्ने कुरा उल्लेख गर्दै समाजवादको लक्ष्यमा पुग्ने विचार अघि सार्नुभयो । ०८ सालको प्रथम सम्मेलनमा पुग्दा माक्र्सवाद–लेनिनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्ने, नेपालजस्तो अविकसित र सामन्ती उत्पादन प्रणालीको बलियो पकड भएको, केही उद्योगधन्दा र व्यापार–व्यवसायको विकाससँगै पुँजीवादी उत्पादन प्रणालीको प्रारम्भिक सुरुआत भएको अवस्थामा सिधै समाजवादी क्रान्ति गर्नु सम्भव नभएकाले त्यस्तो अवस्थामा समाजवादको आधार निर्माणका लागि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने निष्कर्ष निकाल्नुभयो । उपर्युक्त विचार र दृष्टिकोण कार्ल माक्र्स, लेनिन, माओ त्सेतुङजस्ता नेताहरूद्वारा प्रतिपादन गरिएको भए पनि ती विचारहरू नेपाली विशेषतामा आवश्यक र उपयुक्त रहेको निष्कर्षमा पुग्नु पनि आफैँमा अत्यन्त महŒवपूर्ण योगदान थियो ।

(३) सङ्घर्षको स्वरूपका बारेमा
कमरेड पुष्पलालले ०७ सालको राणाशासन विरोधी सङ्घर्षमा, कम्युनिस्ट पार्टी सानो र कमजोर अवस्थामै रहेको भए पनि निरङ्कुश शासनका विरुद्ध काङ्गे्रसलगायत अन्य तमाम पार्टी, सङ्घ–संस्था र व्यक्तिहरूसँग मिलेर संयुक्त शान्तिपूर्ण आन्दोलन अघि बढाउनुका साथै स्थिति र आवश्यकताअनुसार सशस्त्र सङ्घर्ष र विद्रोहसमेत गर्नुपर्ने नीति अघि सार्नुभयो ।

०१७ सालमा राजा महेन्द्रले संसद्को विघटन गरी पार्टीमाथि प्रतिबन्ध लगाएपछि त्यसबेला नेपाली काङ्गे्रसका नेता बी.पी. कोइरालालाई भेटेर राजाको उक्त कदमका विरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । तर बी.पी. कोइराला कम्युनिस्टसँग मिलेर आन्दोलन गर्न तयार भएनन् । ०२५ सालमा बाध्यताको अवस्थामा अलग पार्टी गठन गरेपछि पनि पुष्पलालले निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्ने नीति अघि सार्नुभएको थियो । तर आवश्यक परे सशस्त्र सङ्घर्ष गर्नका लागि पनि तयार हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।

(४) तात्कालीक कार्यनीतिक नाराको सवालमा
०७ सालको क्रान्तिभन्दा पहिले नागरिक स्वतन्त्रताका लागि सङ्घर्ष गर्ने अपिल जारी गरेका पुष्पलालले ०७ सालको क्रान्तिपछि संविधानसभाको निर्वाचन गर्ने विषयमै जोड दिँदै आउनुभयो किनकि नेपालमा नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढाउने काममा जनताले आफ्नो संविधान आफैँ निर्माण गर्ने विषय थियो । राजा महेन्द्रले पार्टीहरूसँग सल्लाह नै नगरी षड्यन्त्रपूर्ण तरिकाले संविधानसभाको विषयलाई पन्छाएर अचानक संसद्को निर्वाचन गर्ने घोषणा गरे । त्यसबेला पुष्पलालले बी.पी. कोइरालालाई भेटेर संसद्को निर्वाचन होइन, संविधानसभाको निर्वाचनका लागि संयुक्त प्रयास गरौँ भन्दा उनले अब राजाले घोषणा गरिहाले, त्यसैमा टेकेर अघि बढौँ भन्ने विचार व्यक्त गरे । नेपाली काङ्गेस नै संसद्को निर्वाचनमा जाने भएपछि त्यसलाई छाडेर एक्लै कम्युनिस्ट पार्टीले संविधानसभाका विषयमा अडिनु वस्तुसंगत नहुने भएकाले राजाबाट भएको धोखाको भण्डाफोर गर्दै संसद्को निर्वाचनमा जाने निर्णय भयो । त्यस्तै राजा महेन्द्रले ०१७ सालको काण्ड गरेपछि ०२५ सालको तेस्रो सम्मेलनबाट पुष्पलालले निरङ्कुश व्यवस्थाका विरुद्ध नेपाली काङ्गे्रसलगायत राजनीतिक पार्टीहरू मिलेर संयुक्त जनआन्दोलन अघि बढाउने कार्यनीतिमाथि जोड दिनुभयो । त्यसका लागि उहाँले बारम्बार काङ्गे्रसका नेताहरूसँग प्रस्ताव राखे पनि उनीहरू तयार भएनन् ।

(५) नेपाली समाजको अन्तर्विरोध र त्यसको समाधान सम्बन्धमा
क. पुष्पलालले नेपाली समाजमा विद्यमान विभिन्नखाले अन्तर्विरोधको विश्लेषण गरेर त्यसको समाधानका बारेमा सही किसिमको रणनीति र कार्यनीतिबारे स्पष्ट विश्लेषण गर्नुभएको थियो । पुष्पलालको त्यो विश्लेषण त्यो बेलादेखि आजसम्मको अभ्यासमा सही प्रमाणित हुँदै आएको छ ।

पुष्पलालले त्यसबेला नेपाली समाजलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाका रूपमा विश्लेषण गर्नुभयो । यहाँ एकातिर सामन्ती उत्पादन प्रणालीको बाहुल्य थियो भने अर्कोतिर दलाल तथा नोकरशाही पुँजीवादी उत्पादन सम्बन्ध क्रमशः बढ्दो अवस्थामा थियो । नेपाली जनतामाथि उपर्युक्त दुवैखाले वर्गीय शोषण, दमन र उत्पीडन कायम थियो । यसरी वर्गीय रूपमा एकातिर सामन्तवाद र दलाल तथा नोकरशाही पुँजीवाद र आम नेपाली जनताबीचको अन्तर्विरोध प्रमुख वर्गीय अन्तर्विरोधका रूपमा रहेको थियो । नेपाली राजनीतिमा लामो समयदेखि सामन्तवाद र दलाल नोकरशाही पुँजीवादी वर्गको प्रतिनिधित्व गर्ने वर्गले राज्यसत्ता सञ्चालन ग¥यो । राजतन्त्रको कालमा राजाले त्यसको नेतृत्व गर्दै आए । पुष्पलालले राज्यसत्ताको नेतृत्व गरेको राजशाहीका विरुद्ध मजदुर–किसानदेखि धनी किसान, राष्ट्रिय पुँजीपति वर्ग र तमाम प्रगतिशील प्रजातन्त्र पक्षधर राजनीतिक शक्तिहरूसँग संयुक्त मोर्चा कायम गरी सङ्घर्ष गर्नुपर्ने धारणा अघि सार्नुभयो । आम नेपाली जनतामाथिको शोषणको अन्त्य र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि दलाल तथा नोकरशाही पुँजीवादले अर्थतन्त्रमा कायम गरेको नियन्त्रणको अन्त्य गर्नुपर्ने आवश्यकता थियो भने किसानमाथिको शोषणको अन्त्यका लागि सामन्ती उत्पादन प्रणालीको अन्त्य, कृषिको वैज्ञानिकीकरण र आधुनिकीकरणसँगै ‘जमिन जोत्नेको’ नारालाई कार्यान्वयन गर्ने विषयमा जोड दिनुभयो ।

वर्गीय रूपमा नेपाली काङ्गे्रसले उदार सामन्त वर्ग र दलाल तथा नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने भए पनि निरङ्कुश अनुदारवादी राजतन्त्रात्मक व्यवस्थाको अन्त्यका लागि राजनीतिक रूपमा नेपाली काङ्गे्रससँग सहकार्य गरेर जनताका मौलिक हकअधिकार स्थापित गरेर तत्कालीन राजनीतिक अन्तर्विरोधको हल गर्ने नीति अपनाउनुभएको थियो ।

(६) नेपाली राष्ट्रियताको सवालमा
०७ सालको क्रान्तिपछि राजा, राणा र काङ्गे्रस मिलेर चालु आन्दोलनलाई बीचैमा रोक्नका लागि जवाहरलाल नेहरूको सुझाव–सल्लाहका आधारमा दिल्लीमा गएर सम्झौता गरेका थिए । क. पुष्पलालले उक्त सम्झौतालाई नेपाली जनताको आफ्ना हकअधिकारका लागि चलाएको आन्दोलनमाथि गम्भीर धोका भएको ठहर गर्दै त्यसको विरोध गर्नुभयो र त्यसका विरुद्ध आन्दोलनको आह्वानसमेत गर्नुभयो । सोहीबमोजिम तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले ‘दिल्ली सम्झौता धोका हो’ भन्ने नारा लगाउँदै आन्दोलनको अगुवाइ गरेको थियो । त्यस्तै कोसी एवम् गण्डक सम्झौताको विरोध, तत्कालीन सरकारले नेपालमा भारतको घ्यू आयात गर्ने सम्झौता गरेको कारणले ‘डाल्डा घ्यू पैठारी’ विरोधी सङ्घर्ष गरेको थियो । कमरेड पुष्पलालले भारतीय एकाधिकार पुँजीवादको नेपाली अर्थतन्त्रमाथिको नियन्त्रणको विरोध गर्दै त्यसविरुद्ध स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने र देशलाई सम्भव भएसम्मको विषयमा आत्मनिर्भर बनाउनु पर्ने विषयमा जोड दिनुभएको थियो । हाम्रो देश जति बढी आत्मनिर्भर हुन्छ त्यति नै हाम्रो राष्ट्रियताको विषय सुरक्षित हुन्छ भन्ने उहाँको विचार थियो । यसरी पुष्पलाल क्रान्तिकारी नेता मात्र नभएर एकजना सच्चा राष्ट्रवादी र देशभक्त नेता पनि हुनुहुन्थ्यो ।

(७) विविध
उपयुक्त महŒवपूर्ण विषयसँगै कमरेड पुष्पलालले पार्टी निर्माणको काम अघि बढाउने क्रममा आम किसान जनताका बीचमा बढीभन्दा बढी सङ्गठन विस्तार गर्ने, उनीहरूलाई अखिल नेपाल किसान सङ्घमा सङ्गठित र किसानका हकअधिकारका आन्दोलनमा क्रियाशील बनाएर पार्टीमा सङ्गठित गर्दै अघि बढ्नुपर्ने विषयमा जोड दिँदै ‘पार्टीलाई किसानको बीचमा बसोबास गराऊ’ भन्ने नारा अघि सार्नुभएको थियो ।

त्यस्तै जनजातिहरू, दलितहरूका बीचमा पनि उत्तिकै ध्यान दिएर उनीहरूलाई पार्टीको नेतृत्व तहसम्म उठाउने, महिलाहरूलाई राजनीतिमा सक्रिय बनाउने विषयमा आफ्नो विचारलाई प्रस्तुत गर्नुभएको छ ।

पुष्पलाल आफैँ पार्टीको सर्वोच्च नेता हुनुहुन्थ्यो र उहाँको आफ्नै गौरवपूर्ण इतिहास थियो । तर उहाँले पार्टीमा ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भन्ने कुरामा जोड दिनुभयो । पार्टीमा व्यक्तिवाद हावी हुनु भनेको सामन्तवादी चिन्तन र प्रवृत्ति बढाउने तरिका हो । हरेक नेता र कार्यकर्ता नीति, विधि र पार्टीको अधीनमा चल्नुपर्छ । पार्टी कार्यकर्ता नेतालाई महान् ठानेर, नेताको अन्धभक्त भएर हिँड्नु हुँदैन । नेता जतिसुकै ठूलो भए पनि त्यसको विधिसम्मत तरिकाले आलोचना गर्नुपर्छ र उनका गल्ती सच्याउनुपर्छ भन्ने पुष्पलालको दृष्टिकोण थियो । उहाँ ‘सादा जीवन उच्च विचार’ का पक्षपाती हुनुहुन्थ्यो । बाँचुन्जेल उहाँको जीवन कठोर सङ्घर्ष, आर्थिक अभाव र दुःखमा बित्यो । तर उहाँ यो देश र नेपाली जनतालाई महान् योगदान गरेर संसारबाट बिदा हुनुभयो ।

कमरेड पुष्पलालले कम्युनिस्ट पार्टी र माक्र्सवादी विचारधाराका आधारमा जुन किसिमको योगदान गर्नुभयो त्यसलाई युगौँयुगसम्म नेपाली भूमिमा जीवित राख्न र त्यसबाट नेपाली समाजलाई प्रशिक्षित गर्नका लागि विभिन्न समयमा कतिपय व्यक्तित्वहरू र संस्थाहरूले पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको स्थापना गर्नुपर्ने विषय उठाउँदै आएका छन् । तर त्यो प्रयास आवश्यक मात्रामा प्रभावकारी बन्न सकेको छैन ।

नेपाली समाज अहिले पनि वस्तुगत परिस्थिति, आम नेपाली जनताको आवश्यकता र चाहनाका आधारमा भन्दा बढी मनोगत चाहना र भावनाका आधारमा चल्दै आएको छ । अहिले पनि समाजमा पछौटेपन, भाग्यवादी सोच, पूर्वजन्म र पुनर्जन्मको दृष्टिकोणले समाजमा जरो गाडेको छ । उद्योगधन्दा, व्यापार र पुँजीको विकास केही मात्रामा बढेको भए पनि आम जनताको आवश्यकताभन्दा निश्चित सानो सङ्ख्याको माथिल्लो वर्गको हितलाई ध्यानमा राखेर सिङ्गो मुलुकको अर्थतन्त्र चलायमान भएको पाइन्छ । समाजमा चरम रूपमा विकृति बढेको छ । देशभक्तिको भावना, श्रमिक वर्गप्रतिको माया र सद्भाव, अन्यायमा पर्ने जनताप्रतिको सेवाभाव अत्यन्त कमजोर पर्दै गएको छ । समाजमा आत्मकेन्द्रित व्यक्तिवाद चरम रूपमा बढेको छ । नेपालमा मध्यम वर्गको सङ्ख्या बढ्दै गएको, गरिबीको सङ्ख्या मूलतः विपे्रषणका कारणले घट्दै गरेको भए पनि धनी र गरिबबीचको खाडल भने बढ्दै गरेको अवस्था छ । भ्रष्टाचार चरम रूपमा बढेको छ । त्यस्तै नैतिकता, मानवीय संवेदनशीलता निरन्तर कमजोर बन्दै गएको छ । यी यस्ता तमाम समस्याको समाधानका लागि प्रारम्भिक तहदेखि नै शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो छ । त्यसका लागि पनि माथिल्लो तहमै गहन अध्ययन, अनुसन्धान गर्ने र देशका उपर्युक्त तमाम समस्या समाधानको उपायको खोजी गर्ने उद्देश्यले पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापना गर्ने विषयमा व्यापक विचार–विमर्शको आवश्यकता छ ।

अहिलेसम्म हाम्रो देशमा पूर्वराजा त्रिभुवनका नाममा गठन भएको केन्द्रीय विश्वविद्यालयले अनेक विषयमा देशका युवाहरूलाई प्रशिक्षित गर्ने काम गर्दै आएको छ । त्यस्तै संस्कृत शिक्षालाई कायम राख्न र अघि बढाउन संस्कृत विश्वविद्यालयको सञ्चालन हुँदै आएको छ । त्यस्तै बौद्ध विश्वविद्यालय, राजा महर्षि जनक विश्वविद्यालय, योगमाया विश्वविद्यालय, विभिन्न प्रदेश स्तरमा प्रादेशिक विश्वविद्यालयहरूसँगै विश्वेश्वरप्रसाद कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारी, पुष्पलाल आदि नेता तथा व्यक्तित्वहरूका नाममा विभिन्न संस्थान, प्रतिष्ठान, कलेजहरू स्थापना गरिएका छन् तर आधुनिक विश्वको सबैभन्दा समुन्नत सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सको नामका रूपमा मात्र होइन, उनका विचार र सिद्धान्तको गहन खोज, अध्ययन र अनुसन्धान गर्ने विषयलाई प्राथमिकतामा राखेर नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख संस्थापक नेता पुष्पलालको सम्मानस्वरूप पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको परिकल्पना गरिएको छ ।

विश्वविद्यालय भन्नाले त्यसमा स्वाभाविक रूपमा विविध विषयहरूको अध्ययन–अध्यापनको केन्द्रका रूपमा बुझ्ने गरिएको छ । तर तमामखाले विषयसहित ऐच्छिक रूपमै भए पनि माक्र्स र माक्र्सवादीहरूसँग सम्बन्धित तमाम विद्वान्हरूको योगदानका बारेमा समेत अध्ययन–अध्यापन गर्ने यो विश्वविद्यालयको मौलिक विशेषता हुनुपर्छ भन्ने यो आलेखको प्रमुख उद्देश्य रहेको छ ।

नेपाली समाजमा वामपन्थी विचारधाराको निकै ठूलो प्रभाव छ । यसलाई कमजोर पार्नका लागि सामन्ती र पुँजीवादी शक्तिहरूले अनेक प्रयत्नहरू गर्दै आएका छन् । नेपालमा ०६ सालमा कम्युनिस्ट पार्टीको स्थापना कालदेखि नै माक्र्सवादी विचारले तमाम सामन्तवादी र पुँजीवादी दृष्टिकोणका विरुद्ध निरन्तर वैचारिक सङ्घर्ष गर्दै आएको छ । तर यतिबेला सैद्धान्तिक–वैचारिक विषयलाई राजनीतिक विषयले छायामा पार्दै आएको पाइन्छ । राजनीतिक विषयमा प्रमुख रूपले जुनसुकै तरिकाबाट भए पनि सत्ताको कुर्सीमा पुग्ने र यथास्थितिमा रमाउने प्रवृत्ति अत्यन्त खतरनाक रूपमा बढ्दै छ । यसले जनताको सेवाभन्दा व्यक्तिविशेषको स्वार्थ र महŒवाकाङ्क्षालाई ह्वात्तै बढाएको छ । यसरी राजनीति नै विकृत भएको छ । राजनीति भनेको जनताको सेवा गर्ने विषय बन्नुपर्नेमा नाफा कमाउने व्यापारमा परिणत हुँदैछ । स्वास्थ्य र शैक्षिक संस्थाहरूको तीव्र व्यापारीकरण त्यसको ज्वलन्त उदाहरण हो ।

नेपाली समाजमा वामपन्थी माक्र्सवादी नेता, विद्वान् र बुद्धिजीवीहरूले दशकौँदेखि समाजमा वैज्ञानिक चेतनाको विकास गर्ने उद्देश्यले निकै धेरै ग्रन्थहरू र अनेकौँ लेखरचनाहरू प्रकाशित गर्दै समाजको महŒवपूर्ण पङ्क्तिलाई प्रशिक्षित गर्दै आएका छन् । तर त्यो सङ्गठित र व्यवस्थित हुन सकेको छैन । विभिन्न वामपन्थी पार्टीहरूले पार्टीभित्र स्कुल सञ्चालन गरेको भए पनि त्यो माक्र्सवादको गहन अध्ययन, विश्लेषण, त्यसको सिर्जनशीलता र आजको परिवर्तित विश्वपरिस्थितिमा त्यसको विकास र प्रयोगजस्ता विषयमा भन्दा राजनीतिक सत्ता प्राप्तिको विषयमै केन्द्रित भएको पाइन्छ । त्यो पार्टीहरूले आफ्नो आवश्यकता र स्वयम् जनताको पनि आवश्यकता हो । तर मूल विषय कमजोर बन्दै गयो भने केवल सत्ता प्राप्तिको विषयले मात्र देशमा समतामूलक, न्यायपूर्ण र समृद्ध समाजवादको लक्ष्य पूरा हुँदैन ।

पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापनाकै सन्दर्भमा रामेछाप जिल्लाको, गङ्गालाल–पुष्पलालको जन्मस्थल भँगेरी भन्ने ठाउँमा स्थानीय जनता र सरकारको प्रयत्नमा ५२ रोपनी जमिन अधिग्रहण गरी पुष्पलाल–गङ्गालाल उद्यान स्थापना गरिएको छ । त्यहाँका जनताले त्यो ठाउँलाई महŒवपूर्ण पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कार्यालयदेखि विभिन्न सरकारी निकायमा पत्राचार तथा विभिन्न मागहरू प्रस्तुत गरेका छन् । त्यस्तै नेपालमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापना गर्ने विषयमा रुस, चीनलगायत विभिन्न देशमा पुगेर त्यहाँका राजनीतिक पार्टी र विद्वान् बुद्धिजीवीहरूसँग विचार–विमर्श गरेको र उनीहरूले यस्तो कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वविद्यालयजस्तो महŒवपूर्ण संस्थाको स्थापना र सञ्चालन गर्न सजिलो विषय नभए पनि लाखौँ नेपाली जनता वामपन्थी विचारप्रति आकर्षित भएको, नेपालमा जनताबाट निर्वाचित भएका कम्युनिस्ट पार्टीका विभिन्न नेताहरू पटक–पटक प्रधानमन्त्री भएर कहिले एकल त कहिले संयुक्त सरकार सञ्चालन गरी आएको पृष्ठभूमिका कारणले पनि यो विचारलाई नेपाली धर्तीमा युगौँयुगसम्म स्थापित गर्नका लागि पनि यस किसिमको उच्चस्तरीय शैक्षिक संस्था स्थापना गर्नेतर्फ विशेषतः आपूmलाई माक्र्सवादी र पुष्पलालको अनुयायी भएको ठान्ने व्यक्तित्वहरूले यो विषयलाई मूर्त रूप दिनको लागि अघि बढ्नु आवश्यक देखिन्छ । यस किसिमको संस्था रामेछापमै स्थापना गर्ने वा देशको अन्य कुनै उपयुक्त स्थानमा गर्ने यसबारे राम्रो विचारविमर्शपछि अन्तिम निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ । पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापनाको पहल गर्ने कमरेड अशोक सुवेदीको प्रयास र क्रियाशीलता सराहनीय छ ।

२ साउन, २०८२
(लेखक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का उपाध्यक्ष हुनुहुन्छ ।)