पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले नेपालका सम्पूर्ण वामपन्थी, कम्युनिस्ट र मार्क्सवाद पक्षधर शक्तिलाई एउटै मार्क्सवादी-लेनिनवादी-माओवादी शिक्षा प्रदान गर्ने भएको छ । विश्वविद्यालयले काठमाडौँमा आयोजना गरेको आफ्नो डिजिटल मुखपत्र pushpalalmarxistuniversity.com सार्वजनिक कार्यक्रममा यस्तो धारणा सार्वजनिक गरेको हो ।

विश्वविद्यालयले नेपालमा क्रियाशील सम्पूर्ण गैरसंसदीय र संसद्वादी कम्युनिस्ट, वामपन्थी पार्टीका नेताहरू सहभागी गराएर अब कम्युनिस्टहरू रुपान्तरित हुने एउटै सूत्र साझा मार्क्सवादी शिक्षा र कार्यक्रम रहेको अवधारणा पनि सार्वजनिक गरेको छ । जनयुद्ध, जनक्रान्ति, जनआन्दोलनका सहिद तथा बेपत्ता मानिसका परिवारका सदस्यहरूले पुष्पलाल मार्क्सिस्ट युनिभर्सिटी डटकम नामको अनलाइन शुभारम्भ गर्दा कम्युनिस्ट पार्टीका नेताहरूले आफूहरू रुपान्तरित र एकत्रित हुन तयार रहेको प्रतिबद्धता प्रकट गरेका थिए ।



यसरी प्रतिबद्धता व्यक्त गर्ने र रुपान्तरित हुन सुझाव दिनेहरूमा माओवादी नेता हरिबोल गजुरेल ‘शीतलकुमार’, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, वामपन्थी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, वरिष्ठ अधिवक्ता तथा जनयुद्धका बेपत्ता योद्धा विपीन भण्डारीका बुबा एकराज भण्डारी, प्रगतिवादी समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, एमाले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, एमाले युवानेत्री तथा माणिक लामा प्रतिष्ठानकी उपाध्यक्ष नवीना लामा, समाजवादी कम्युनिस्ट पार्टी नेपालका सदस्य माधव गौतमलगायत वक्ता थिए । आयोजक संस्थाले माक्र्सवाद नभएर पार्टी र तिनका नेताहरू असफल भएकाले देश र जनताले सङ्कटको सामना गर्नुपरेको र यसको समाधानका लागि एउटै माक्र्सवादको अध्ययन र प्रयोग गर्नुपर्ने विषयमा अवधारणा प्रस्तुत गरेको थियो । सार्वजनिक गरिएको अनलाइन विश्वविद्यालयको एउटा अङ्ग रहेको आयोजकको भनाइ छ । विश्वविद्यालयले एउटै मालेमावादी शिक्षा प्रदान गर्ने र माक्र्सवादी दर्शन र विचारको प्रवद्र्धन गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।



अनलाइन सार्वजनिकीकरण तथा नेपालको वामपन्थी आन्दोलनको अवस्था र यसको दिशा विषयक कार्यक्रममा झापा विद्रोहका नायक सीपी मैनालीदेखि जनयुद्ध आरम्भकर्तामध्येका दुई नेता हरिबोल गजुरेल र देव गुरुङले अब कम्युनिस्ट अआन्दोलनलाई अर्को कार्यक्रमसहित अघि बढाउन इमानदार नेता र सही पाठ्यक्रमले अगुवाइ गर्नुपर्ने धारणा राखेका थिए भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओलीले झापा विद्रोहदेखि जनयुद्धसम्मका मुख्य नेताले विचार र कार्यक्रमप्रति गद्दारी गरेकाले वैज्ञानिक समाजवाद स्थापना हुन नसकेको र यसका लागि दलाल पुँजी र त्यसको रक्षक सत्तामाथि सर्वहारा अधिनायकत्व लागू हुनुपर्ने बताएका थिए । कतिपय वक्ताले भने अब कम्युनिस्ट आन्दोलन विघटित भइसकेकाले पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले छरिएर रहेका कम्युनिस्ट पार्टीहरूलाई एकै थलोमा ल्याएर लक्ष्यसम्म पु¥याउने विश्वास व्यक्त गरेका थिए । उनीहरूले वामपन्थी आन्दोलन सशक्त रहेको र चुनावी परिणामलाई आधार मानेर हरेस खानु नहुने सुझाव पनि दिएका थिए ।
जनयुद्धका सहिद–बेपत्ता परिवारका सदस्यहरू हेमन्तप्रकाश ओली सुदर्शन, सरला रेग्मी, एकराज भण्डारी, बिन्दु तामाङ र धर्बिन्द्र विकले अनलाइन शुभारम्भ गरेका थिए । विश्वविद्यालयले यसअघि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय नामको ग्रन्थ प्रकाशन गरिसकेको छ ।



अनलाइनको सम्पादक÷प्रकाशकका रूपमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयका परिकल्पनाकार अशोक सुवेदी रहेका छन् भने सम्पादन समूहमा ग्राफिक डिजाइनर अग्निराज पौडेल ‘अराप’, वेब डेभलपर चूडामणि श्रेष्ठ ‘मञ्जिल’, आईटीबाट धर्बिन्द्र विक, जनवर्गबाट समाजवादी युवा सङ्गठन नेपालका आकाश कार्की, सञ्चारका तिलक बयक ‘सूर्य’, महिलाकी सीता गौतम र मजदुरकी सुजाता रोका छन् ।



पुष्पलाल माक्र्सवादी विश्वविद्यालय प्रमुख आयोजक तथा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान र माणिक लामा प्रतिष्ठान सहआयोजक रहेको कार्यक्रममा विश्वविद्यलयका प्रमुख सुवेदीले संस्थाको अवधारणा राखेका थिए भने माणिक लामा प्रतिष्ठानकी संरक्षक सोनी लामाले माक्र्सवादी विश्वविद्यालय कम्युनिस्ट पार्टीहरूको सहकार्यको थलो रहेको बताएकी थिइन् ।

