– अशोक सुवेदी
१) सन्दर्भ
यो वर्ष (विसं २०८१) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको जन्मशताब्दी वर्ष हो । देशमा क्रियाशील पुष्पलालको विचारका अनुयायी पार्टी, सङ्घसङ्गठन र संस्थाहरूले कमरेड पुष्पलालको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा विभिन्न कोणबाट चर्चा–परिचर्चा गरिरहेका छन् । कमरेड पुष्पलालका बारेमा चर्चा, छलफल र परिचर्चा गर्नेहरू उहाँको विचारका सच्चा अनुयायीहरू मात्र छैनन् । त्यसमा कतिपयले उहाँसँगको सहकार्यका आधारमा, कतिपयले इमानदारी तथा सदिच्छापूर्वक पनि उहाँलाई सम्झिरहेका छन् । कम्युनिस्ट नामधारी राजनीतिक पार्टीले भन्दा बढी पुष्पलाल जन्मशताब्दी समारोह, पुष्पलाल अध्ययन समाज र पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलाललाई बढी सम्झिएको देखिएको छ । विकृतिका रूपमा एमाले, एसलगायत संसद्वादीहरूले त पार्टी कार्यालयहरूतिर टाँग्ने झन्डामा नै पुष्पलालको तस्बिरलाई मनमोहन र मदन भण्डारीको तस्बिरसँगै राख्ने गरेको देखिन्छ । पुष्पलालका विचार र व्यवहार परित्याग गर्ने तर पुष्पलालका तस्बिर र नाउँहरूप्रतिको मोह त्याग्न नसक्ने नेपालका संसद्वादी, संशोधनवादीहरूको एउटा रोगजस्तै भएको छ ।
पुष्पलाललाई सम्झिइटोपल्नेहरूमा उहाँले प्रस्ताव गर्नुभएको मालेमावादी विचार परित्याग गरिसकेकाहरू पनि छन् अर्थात् रूपमा, नाममा, लोगोमा पुष्पलाल देखाए पनि तिनको विचार, कार्यदिशा, नीति, कार्यक्रम पुष्पलालले नेपाली जनताको दुस्मनका रूपमा संश्लेषण गरेका नवऔपनिवेशिक दलाल पुँजीवादी संसदीय व्यवस्थाका रक्षक र भारतीय विस्तारवाद तथा अमेरिकीलगायत विश्वसाम्राज्यवादका पक्षधरहरू पनि छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले भन्दा अझ उच्च स्वरमा तिनले क. पुष्पलालको नाम लिइरहेको पनि सुनिन्छ तर असली अर्थमा उनीहरू पुष्पलालका क्रान्तिकारी विचार, नीति, कार्यक्रम र व्यवहार लागू गर्नका लागि होइन, पुष्पलाललाई बिकाउ माल वा लोगो बनाएर व्यापार गर्ने उद्देश्यमा लिप्त छन् । त्यसैले पुष्पलालका क्रान्तिकारी दर्शन, विचार, आदर्श, नीति र कार्यक्रमलाई नेपाली श्रमिक वर्गको मुक्तिका पक्षमा इमानदारी साथ लगाउने मालेमावादीहरूले नै हृदयङ्गम गर्नुपर्छ र उहाँको जन्मशताब्दीका सन्दर्भमा उहाँलाई माक्र्सवादी ढङ्गले सम्झिने, विचारविमर्श गर्ने र संश्लेषण गर्ने काम गर्नुपर्छ । यही जिम्मेवारी बहन गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालले कमरेड पुष्पलाललाई नेपालका एक सच्चा मालेमावादी क्रान्तिकारी कम्युनिस्ट नेताका रूपमा मूल्याङ्कन गर्दै उहाँको बहुआयामिक व्यक्तित्वमाथि विचारगोष्ठी गर्ने निर्णय गरेको छ । उहाँका वैचारिक–कार्यक्रमिक सीमाहरूको पनि सिर्जनात्मक वा माक्र्सवादी समीक्षा हुनु आवश्यक छ । त्यसले क्रान्तिकारीहरूलाई अझ निखारिने अवसर प्रदान गर्दछ ।
श्रमिक कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठकको निर्णयको फलस्वरूप आज हामी अवधारणापत्रसहित यो विचारगोष्ठीमा सहभागी भएका छौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर निरङ्कुश, जहानियाँ राणाशासनविरोधी सङ्घर्षका क्रममा आफ्नै परिवारबाट विद्रोह र बलिदानको गौरवशाली इतिहास बोकेका क. पुष्पलालले समग्र जीवन नेपाल र नेपाली श्रमिक उत्पीडित जनताको मुक्तिका लागि लगाउनुभयो । रामेछाप जिल्ला हालको रामेछाप नगरपालिका वडा नं. ८ भँगेरीमा बुबा भक्तलाल र आमा तुल्सीमायाका माइला छोराका रूपमा १९८१ साल असार १५ गते जन्मिएका पुष्पलाल सहोदर दाजु गङ्गालाल श्रेष्ठलाई क्रूर जहानिया राणा शासकहरूले निरङ्कुश सत्ता उल्ट्याएर प्रजातन्त्र स्थापना गर्ने विप्लवमा लागेको बहानामा १९९७ साल माघ १५ गते राती काठमाडौँ शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएपछि विद्रोही विचार र राजनीतिप्रति आकर्षित हुनुभएको थियो । यद्यपि बाल्यकालमै उहाँको सङ्गत तत्कालीन निरङ्कुश सत्ताविरुद्ध क्रियाशील विद्रोहीहरूसँग थियो ।
२) पृष्ठभूमि
समग्र मानवसभ्यताको इतिहास उत्पादनका लागि सङ्घर्ष (जीवनसङ्घर्ष) र वर्गसङ्घर्षबाट अघि बढेर यहाँसम्म आइपुगेको हो । नेपाली समाज पनि विश्वमानवसभ्यताको एक कडी हो र यहाँ पनि उत्पादनका लागि प्रकृतिसँगको सङ्घर्ष र स्वतन्त्रता, समानता र सबैखाले देशी–विदेशी शोषण, उत्पीडन र बन्धनबाट मुक्तिका लागि सचेत–असचेत, सङ्गठित–असङ्गठित, आन्दोलन, सङ्घर्ष, विद्रोह, क्रान्ति र युद्ध (समग्रमा वर्गयुद्ध) का माध्यमबाट अघि बढेको छ । नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र स्वतन्त्रताका लागि गरेका शृङ्खलाबद्ध सङ्घर्षहरूको सुव्यवस्थित, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी कोणबाट अध्ययन, उत्खनन, व्याख्या, विश्लेषण र संश्लेषण गर्दै त्यसलाई वैचारिक रूपमा वर्गसङ्घर्षको अर्को उचाइ दिने श्रेय नेपालमा माक्र्सवादका प्रचारक, कम्युनिस्ट घोषणापत्रका अनुवादक, नेकपाका संस्थापक, नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रका लेखक कमरेड पुष्पलाललाई जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा स्वच्छ, प्रस्ट, निर्भीक, इमानदार र उच्च व्यक्तित्व भएकाले कमरेड पुष्पलालको जन्मशताब्दी मनाउनु र उहाँका अमर योगदानहरूलाई स्थापित गर्नु आवश्यक छ र त्यसका लागि अवसरवादी, संशोधनवादी, सुधारवादी, संसद्वादीहरूले दुरुपयोग गरिरहेको अवस्थाबाट कमरेड पुष्पलालको विरासत क्रान्तिकारीहरूले आफ्नो हातमा लिनु आवश्यक छ ।
पुष्पलाल सामन्ती, निरङ्कुश, जहानिया राणाशासनको उत्कर्ष समयमा दुर्गम पहाड रामेछापमा जन्मिनुभयो । बाल्यावस्था रामेछाप, ओखलढुङ्गा र सिन्धुपाल्चोकका श्रमिक, उत्पीडित, मेहनती किसान समुदायका बीचमा व्यतित गरेर श्रमिक जनताको जीवन नजिकबाट नियाल्ने अवसर पाउनुभयो । उहाँ किशोरावस्था लाग्दानलाग्दै आँखैअगाडि जेठा दाजु गङ्गालाल श्रेष्ठसहितका क्रान्तिकारीहरूलाई राणा शासकहरूले राज्यविप्लवको अभियोगमा मृत्युदण्ड दिए । बलिदान हुनुअघि गङ्गालालले भाइ पुष्पलाललाई निरङ्कुश राणा शासनका विरुद्ध अन्तिम समयसम्म लड्न र विजय प्राप्त गरेरै छोड्न प्रेरित गर्नुभयो । त्यसपछि उहाँ पनि विद्रोहीहरूको सङ्गत हुँदै कम्युनिस्टको सङ्गतमा पुग्नुभयो । कम्युनिस्ट पार्टी स्थापना गर्दै कम्युनिस्ट बन्नुभयो र वैचारिक, राजनीतिक आन्दोलनको अगुवाइ गर्नुभयो । विभिन्न घातप्रतिघात झेलेर पनि उहाँ जीवनभर कहिल्यै थाक्नुभएन । बारम्बार सत्ता र बाह्य शक्तिको दमन, निरन्तर कम्युनिस्ट पार्टीभित्र घुसपैठ, संशोधनवाद, सुधारवाद, सामन्ती दरबारिया शक्तिहरूको आक्रमण, अनर्गल प्रचार, बदख्वाइँ… यो सबै अवस्था क. पुष्पलालले सहनुभयो, पचाउनुभयो, धैर्यसाथ सामना गर्नुभयो र टुटफुट, विभाजन, संशोधनवादी–सुधारवादी भ्रष्टीकरणबाट पार्टी–आन्दोलनलाई जोगाउनुभयो । घुसपैठिया र अवसरवादीहरूले निहित स्वार्थका लागि पार्टी विभाजन गराए पनि उहाँ निरन्तर पार्टी एकताका पक्षमा, क्रान्तिकारी ध्रुवीकरण र क्रान्तिका पक्षमा लागिरहनुभयो । त्यसैले क. पुष्पलाल नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनका पनि एक सतिसाल साबित हुनुभयो । उहाँद्वारा प्रतिपादित विचार, उहाँले अघिसारेका नीति, कार्यक्रमहरू नेपालको श्रमिक सर्वहारा वर्गका पक्षमा भएका र जनताको मुक्तियात्रा अझै जारी रहेकाले पुष्पलाल नेपालको श्रमिक सर्वहारा वर्गका महान् दार्शनिक र नेता हुनुहुन्छ ।
३.आरम्भ
क. पुष्पलालको बहुआयामिक व्यक्तित्वका सम्बन्धमा मुख्यतः तीन पक्षबाट समग्र अध्ययन, विश्लेषण, संश्लेषण र मूल्याङ्कन गर्नु उचित हुने देखिन्छ ः
१) वैयक्तिक जीवन र जीवनी, व्यक्तित्व र कृतित्वसँग सम्बन्धित ऐतिहासिक पक्ष र तथ्यगत तथ्याङ्कहरूको अध्ययन ।
२) वैचारिक–दार्शनिक–राजनीतिक–सामाजिक–सांस्कृतिक–आर्थिक–कूटनीतिक दृष्टिकोणसम्बन्धी पाटा र पक्षहरूको माक्र्सवादी ढङ्गबाट इमानदारीपूर्वक अध्ययन, विश्लेषण र संश्लेषण ।
३) दार्शनिक, वैचारिक, राजनीतिक, सांस्कृतिकलगायत दृष्टिकोण, कार्यदिशा र कार्यक्रमहरूको इमानदारीपूर्वक सिर्जनशील तरिकाले लागू गर्नु ।
तर यो सङ्क्षिप्त अवधारणापत्रमा नेकपाका संस्थापक महासचिव क. पुष्पलालका बारेमा सङ्क्षिप्त प्रकाश पार्ने प्रयास मात्र गरिएको छ । यो अवधारणा लम्बेतान व्याख्याका लागि नभएर क. पुष्पलाललाई आँखीझ्यालबाट चियाउने प्रयास हो र नेपालको कम्युनिस्ट आन्दोलनका क्रान्तिकारी मालेमावादी विश्वदृष्टिकोण निर्माणकर्ता क. पुष्पलाललाई बुझ्ने र लागू गर्ने मालेमावादी प्रयास हो ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुअघि उहाँ एक क्रान्तिकारी प्रजातन्त्रवादीका रूपमा सङ्गठित हुनुहुन्थ्यो । खड्गमान सिंहद्वारा स्थापित प्रचण्ड गोरखाबाट प्रभावित र १९९३ सालमा टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, चूडाप्रसाद शर्मा, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गणेशमान सिंह, गङ्गालाल श्रेष्ठ (दाजु) सहितले स्थापना गरेको प्रजा परिषद्का संस्थापक नेता, नीति, कार्यक्रम र गतिविधिबाट प्रभावित र दीक्षित पुष्पलालको १९९८ सालमा नेपाल प्रजातन्त्र सङ्घ स्थापना गर्नमा ठूलो भूमिका थियो । उहाँले प्रजातन्त्र सङ्घको परेड गीत यसप्रकार तयार पार्नुभएको थियो र यो गीत पछि नेपाल कम्युनिस्ट पार्टीको गीतका रूपमा पारित भएको थियो ः
पहाड–पर्वत खोला–नाला जग्गा जमिन सबको
मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको
नाश गरौँ यो राणाशाही, ध्वस्त गरौँ यो तानाशाही
जाऔँ क्रान्ति गरौँ, अब क्रान्ति गरौँ ।
(स्रोत ः पुष्पलाल स्मृति अङ्क २०५२ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रको आमुखसहित)
निरङ्कुश राणाशासनको अन्त्यका लागि गठित नेपाली राष्ट्रिय काङ्ग्रेसमा निर्वाचित भएर केन्द्रीय कार्यालयको सचिव (मन्त्री) हुनुभएका पुष्पलाल काङ्ग्रेस आफैँ सामन्तवादको पक्षपोषक र भारतीय विस्तारवाद (नवउदारवादी पुँजीवाद) पक्षधर शक्ति भएकाले उसबाट सामन्तवादी व्यवस्थाको अन्त्य हुन नसक्ने निष्कर्ष निकाल्दै कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित हुनुभयो । भारतीय भूमिमा रहँदा तत्कालीन कम्युनिस्ट नेताहरू दार्जिलिङका रत्नलाल ब्राह्मण, त्रिपुराका नृपेन्द्र चक्रवर्तीलगायतको सङ्गत र प्रेरणाले पुष्पलाल माक्र्सवादतर्फ आकर्षित हुनुभएको थियो ।
उहाँ क्रमशः पुँजीवादी प्रजातन्त्रवादीबाट वैज्ञानिक साम्यवादका पक्षको नेतृत्व गर्ने स्थानमा रूपान्तरण हुनुभयो । फलस्वरूप विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको ‘नयाँ जनवादी क्रान्ति’ नामक पुस्तकका साथै माक्र्स–एङ्गेल्सद्वारा तयार पारिएको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ २००५ सालमै नेपाली भाषामा अनुवाद गरेर प्रकाशन र वितरण गर्नुभयो । कम्युनिस्ट घोषणापत्र र माओको पुस्तकको अनुवाद, प्रकाशन र वितरणले नेपालको बौद्धिक क्षेत्रमा वैज्ञानिक समाजवादी विचारधाराको प्रवेश हुनुका साथै नेपालको इतिहास, जनताको जनवादी सङ्घर्षलाई ऐतिहासिक भौतिकवादका आधारमा हेर्ने, अध्ययन गर्ने क्रमको आरम्भ भयो र समाजका अन्तरविरोधहरू चिन्नुका साथै नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने वैचारिक, सैद्धान्तिक पृष्ठभूमि र आधार तयार भयो ।
यसबीचमा पुष्पलालले नेपालका कम्युनिस्ट पक्षधरहरू, भारतका कम्युनिस्ट र समाजवाद पक्षधर नेताहरू, नेपालमा काङ्ग्रेसभित्रका विद्रोहीहरूसँग व्यापक भेटघाट र छलफल चलाउनुभयो । यसले कम्युनिस्ट पार्टी निर्माणको अपरिहार्यताबारे एउटा वातावरण निर्माण ग¥यो ।
त्यसै क्रममा २२ अप्रिल १९४९ मा भारत कलकत्ताको श्यामबजारअन्तर्गत सरकारी टोलालेनको एउटा बङ्गालीको घरमा बसी पुष्पलालले निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीसहित चारजनाको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो । उहाँ महामन्त्रीमा चुनिनुभयो । पुष्पलालद्वारा लिखित नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र पर्चा पनि त्यहीँ सुनाई अनुमोदन गरिएको थियो ।
(निरञ्जन गोविन्द वैद्य, पुष्पलाल स्मृति अङ्क, २०५२, पृ. ११६) ।
मोतीदेवी पार्टी घोषणापछि आइपुगेकाले उहाँ संस्थापक हो र होइन भन्नेबारेमा विवाद नै छ ।
नेकपा स्थापना र कम्युनिस्ट घोषणापत्रको प्रकाशन नेपालको राजनीतिक आन्दोलनको कोसेढुङ्गा थियो । यसले नेपालको सामाजिक–राजनीतिक–आर्थिक–सांस्कृतिक अन्तरविरोधहरू र माक्र्सवादी ढङ्गबाट वर्गविश्लेषण गर्नुका साथै सुस्पष्ट विश्वदृष्टिकोण निर्माण ग¥यो र नेपाललाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक घोषणा गर्दै सामन्तवादी उत्पादन सम्बन्ध र साम्राज्यवादी–विस्तारवादी शोषण–दमन र उत्पीडनका विरुद्ध मालेमालाई पथप्रदर्शक सिद्धान्त मान्दै नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय ग¥यो । यसपछि नेपालको कम्युनिस्ट आन्दोलनले सामन्तवादविरोधी–साम्राज्यवादविरोधी चरित्रधारण ग¥यो । १५ सेप्टेम्बर १९४९ मा प्रकाशित नेकपाको घोषणापत्र नेपाली सर्वहारा वर्गको पहिलो माक्र्सवादी दर्शन र साहित्य थियो । यसले सम्पूर्ण जनवादी आन्दोलनलाई नयाँ दिशाबोध प्रदान गर्ने पहिलो दार्शनिक–वैचारिक हतियार दियो ।
(कृष्णदास श्रेष्ठ, पुष्पलाल स्मृति अङ्क, २०५२, पृ. १२६)
पुष्पलालले कतिपय विचारहरू पार्टीका बैठक, सम्मेलन, प्लेनम र भेलाबाट पारित दस्ताबेजका रूपमा र कतिपय धारणाहरू पार्टी प्रकाशनमार्फत सार्वजनिक गर्नुभयो । पुष्पलालले माओद्वारा प्रस्तुत तथा चिनियाँ जनवादी क्रान्तिमा लागू गरिएको माक्र्सवाद–लेनिनवाद (तथा माओ विचारधारासहित) मा आधारित जनवादी क्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्नेमा जोड दिनुभयो । नयाँ जनवादी सत्ता प्राप्त गर्न चुनावी वा संसद्वादी बाटो नभएर वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्षको बाटो अनिवार्य हुने संश्लेषण गर्नुभयो । उहाँले मजदुर तथा गरिब किसानको नेतृत्वमा सञ्चालित जनयुद्ध वा जनक्रान्तिबाट मात्र जनसत्ता स्थापना हुनेमा जोड दिनुभयो । नयाँ जनवादी क्रान्तिको कार्यदिशा, नीति र कार्यक्रम प्रस्तुत गर्दै उहाँले यो क्रान्ति मूलतः कृषि वा किसान क्रान्ति भएकाले यसको प्रधान पक्ष ग्रामीण, दीर्घकालीन र जनताको बल प्रयोग वा सशस्त्र नै हुन जाने प्रस्ट पार्नुभयो । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न भूमिको मालिक भूमिमै उत्पादनको काम गर्ने किसान हुनुपर्ने क्रान्तिकारी भूमिसुधारको कार्यक्रम प्रस्तुत गर्नुभयो । आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिँदै उहाँले संयुक्त जनसत्ताका लागि पार्टी एकताका साथै जनवर्गहरूसँग संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने, प्रधान दुस्मनका विरुद्ध लड्न तयार हुने सहायक दु्स्मनलाई छोटो समयको सहकार्यका लागि कार्यगत एकतामा ल्याउनुपर्ने र सच्चा जनवादी समूह र व्यक्तिहरूलाई लामो समयसम्मको संयुक्त मोर्चामा ल्याउनुपर्ने बताउनुभयो । सामन्तवाद, विस्तारवाद, साम्राज्यवादलाई हराएर नयाँ जनवादी गणतन्त्र स्थापना गर्न दुस्मन सत्ताका लागि भाडामा लडिरहेका आम श्रमिक जनसमुदायका छोरा सुरक्षाकर्मी अर्थात् सेना, प्रहरी, कर्मचारीतन्त्र, उद्योगी–व्यवसायी, व्यापारी, बुद्धिजीवीको हिस्सालाई हात लिएर न्यायप्रेमी क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय ऐक्यबद्धतासमेत निर्माण गर्ने बताउनुभयो ।
क. पुष्पलालले नेकपामाथि भएका चौतर्फी हमलाको दृढतापूर्वक सामना गर्नुभयो । मालेमाको आत्मसातीकरण, नेपाली समाजको ठोस अध्ययन तथा वैज्ञानिक विश्लेषण, देश र जनताप्रति समर्पण, निष्ठा, त्याग, जिम्मेवारीबोध र तमाम कठिनाइको सामना गर्ने र सुझबुझपूर्वक प्रतिरोध गर्ने क्षमताका कारण नै उहाँ श्रमिक सर्वहारा वर्गका इमानदार नेताका रूपमा स्थापित हुनुभयो ।
पुष्पलालले जनताका हकअधिकारविरुद्ध सैन्य बलद्वारा सुरक्षित सामन्ती सत्ता जनताले बलपूर्वक सञ्चालन गर्ने मालेमावादी क्रान्तिबाट मात्र ढल्ने निष्कर्ष निकाल्नुभयो । उहाँले यसका लागि जनता सशस्त्र बन्नुपर्ने नीति निर्माण गर्नुभयो । सर्वहारा मजदुर वर्गको नेतृत्वमा सामन्तवादी उत्पीडनमा परेका किसानलगायत शोषितदमित जनवर्गहरूको नेतृत्वमा नेपालमा विद्यमान सामन्तवादी राज्यसत्ता, त्यसलाई पक्षपोषण गर्ने साम्राज्यवाद र विस्तारवाद (भारतीय एकाधिकार पुँजीवाद) का विरुद्ध सङ्घर्ष गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवाद स्थापना गरी साम्यवादतर्फ अघि बढ्ने कार्यदिशा स्पष्ट गर्नुभयो । नेपालमा माक्र्सवाद प्रवेश गराउने र जनतालाई वर्गसङ्घर्षबाटै सत्ता प्राप्त हुने विचार सिकाउने पुष्पलाल महान् माक्र्सवादी गुरु, विचारक, अध्येता, चिन्तक र कुशल सङ्गठक हुनुहुन्थ्यो । जनवर्गहरूलाई सङ्गठित गर्न, माक्र्सवादी विचार पुस्तकबाट झुप्राछाप्रा र श्रमिक वर्गसम्म पु¥याउन उहाँले अथक मेहनत गर्नुभयो ।
पुष्पलालको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राणा–राजा–काङ्ग्रेस त्रिपक्षीय दिल्ली सम्झौताको सशक्त विरोध गर्दै सामन्तवाद, विस्तारवाद (भारतीय एकाधिकार पुँजीवाद) र अङ्ग्रेज–अमेरिकी साम्राज्यवादका विरुद्ध मालेमावादी विश्वदृष्टिकोण स्पष्ट पारी आन्दोलन सार्वजनिक ग¥यो ।
कमरेड पुष्पलालले मजदुर, किसान, महिला, संस्कृतिकर्मी, बुद्धिजीवी, सञ्चार, कूटनीतिक, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग÷भाइचारासम्बन्धी नीति र कार्यक्रमहरू पनि प्रस्तुत गर्नुभयो । फलस्वरूप पार्टी जनस्तरसम्म झाङ्गियो र एउटा वैकल्पिक क्रान्तिकारी शक्तिका रूपमा स्थापित भयो ।
क. पुष्पलाल सदैव क्रान्तिकारी रहनुभयो । स्वाभाविक रूपमा निरङ्कुश सत्ताविरुद्ध लड्ने र सिङ्गो कम्युनिस्ट पार्टीको नेतृत्वले निर्वाह गर्नुपर्ने भूमिका उहाँले कुशलतापूर्वक निर्वाह गर्नुभयो । उहाँद्वारा प्रस्तुत र पारित नयाँ जनवादी क्रान्तिको कार्यदिशा उल्ट्याएर आफूलाई अल्पमतमा पार्ने संशोधनवादी–आत्मसमर्पणवादीहरूका संशोधनवादी, दरबारपरस्त नीति, कार्यक्रम र षड्यन्त्रहरूका विरुद्ध कमरेड पुष्पलाल निरन्तर लडिरहनुभयो । सामन्तवादी सत्ताविरुद्धको वैचारिक सङ्घर्ष, क्रान्तिकारी विचार र झन्डाको रक्षाका लागि भएका आन्तरिक सङ्घर्षकै कारण उहाँले सत्ताविरुद्ध बलप्रयोगको सिद्धान्त र कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न सक्नुभएन तर पनि यस क्षेत्रमा उहाँ निरन्तर लागिरहनुभयो । कम्युनिस्ट पार्टी स्थापना गर्दा घोषणापत्रमा उल्लिखित सामन्तवाद, विस्तारवाद, साम्राज्यवादको अन्त्य गरी मजदुर–किसानको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद निर्माण गर्दै साम्यवादी समाज स्थापना गर्ने अभियानमा उहाँ निरन्तर लागिरहनुभयो । कमरेड पुष्पलालले प्रथम महाधिवेशनबाटै आफूलाई हटाई नेतृत्व हत्याउने र क्रान्तिकारी कार्यदिशालाई संशोधनवादी–अवसरवादी धारतर्फ मोड्ने मनमोहन अधिकारी (कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाइमाग्न राजाको कदम स्वीकार्न तयार रहेको भन्दै बिन्तीपत्र हाल्ने), कम्युनिस्ट पार्टीको सम्पूर्ण कार्यक्रम र दस्ताबेज दरबारमा बुझाउने र राजा महेन्द्रको सैनिक कूलाई समर्थन गर्ने राजावादी केशरजङ्ग रायमाझी, सुधारवादी–संशोधनवादी कार्यदिशा र कार्यक्रमका पक्षधर तुल्सीलाल अमात्यलगायत संशोधनवादीहरूसँग निरन्तर र निर्मम सङ्घर्ष गरी पार्टीको क्रान्तिकारी नीति र कार्यदिशाको रक्षा गर्नुभयो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको व्याख्या गर्दै नेपालमा माक्र्सवाद–लेनिनवाद–माओ विचारधारालाई नेपालको वर्गसङ्घर्षको सार्वभौम सिन्द्धान्त स्वीकार गर्दै सम्भवतः वर्गसङ्घर्षका लागि सर्वप्रथम माओवाद र जनयुद्ध शब्दको प्रयोग र प्रस्ताव गर्नुभयो ।
(नेपालमा कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास र पुष्पलाल छानिएका रचनाहरू भाग ३, पृ. १०१) ।
४) नयाँ जनवादी क्रान्ति र जनवादी सत्तामा जोड
मालेमावादी नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रस्तुत गर्दै क. पुष्पलालले क्रान्तिको आधारभूत वर्ग मजदुर वर्गको नेतृत्वमा किसानको महत्वपूर्ण सहभागितामा उत्पीडित जनवर्गहरूसहित क्रान्ति सम्पन्न हुने खाका पेस गर्नुभयो । मजदुर सङ्घर्ष, किसान सङ्घर्ष उठाउँदै उहाँले विद्यार्थी, महिला, संस्कृतिकर्मी, बुद्धिजीवी, सञ्चारकर्मीहरूलाई सङ्गठित र आन्दोलित गर्दै जनताको आन्दोलनसँग जोड्नुभयो । अन्तर्राष्ट्रिय माक्र्सवादी साहित्यको प्रचारमा नेपालमा माक्र्सवादी साहित्य, कला–संस्कृतिको निर्माणमा जोड दिनुभयो । नयाँ जनवादी–समाजवादी संस्कृति निर्माणमा उहाँले जोड दिनुभयो । नयाँ जनवादी सरकारको अर्थनीति, कूटनीति, संस्कृति, साहित्यलगायत क्षेत्रमा उहाँले ठोस खाकाहरू प्रस्तुत गर्नुभयो ।
कमरेड पुष्पलालले कमरेड लेनिनको नेतृत्वमा रुसमा सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्ति, सोभियत समाजवाद र चिनियाँ नयाँ जनवादी क्रान्ति तथा माओ विचारको पक्षधरता, समर्थनका साथै देशीविदेशी संशोधनवादको विरोध गर्नुभयो । नेपाली समाजको माक्र्सवादी वर्गविश्लेषण गरी नेपाली समाज अर्धसामन्ती, अर्धऔपनिवेशिक रहेको निष्कर्ष निकाल्दै नेपाली जनतालाई शोषण गर्ने सामन्तवाद, (राणा–राजा–पञ्च), काङ्ग्रेस, दलाल पुँजीवाद, भारतीय विस्तारवाद तथा शासकहरू, अमेरिकी साम्राज्यवादका विरुद्ध नेपाली जनताले कम्युनिस्ट पार्टीको लालझन्डामा गोलबद्ध भई सम्झौताहीन सङ्घर्ष गर्ने कार्यदिशा, योजना र कार्यक्रमहरू बनाउनुभयो । नेपाली काङ्ग्रेसको भारतीय विस्तारवाद र साम्राज्यवादपरस्त नीतिको उहाँले सधैँ सशक्त विरोध गर्नुभयो ।
क. पुष्पलालले नेकपाको स्थापनालगत्तै जारी नेकपाको घोषणापत्रमै नयाँ जनवादी क्रान्तिको खाका प्रस्ताव गर्नुभएको थियो र जनवादी सत्ताको कार्यभार उल्लेख गर्नुभएको थियो । ती कार्यभार यसप्रकार रहेका छन् ः
१) सामन्तवादी निरङ्कुश राजसत्ता र विदेशी शोषणको जुवालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने ।
२) मजदुर, पसिना चुहाउने किसान र शोषित तथा दलित निम्नमध्यमवर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने । अंग्रेज–अमेरिकन साम्राज्यवादीहरू र तिनका भारतीय कठपुतलीहरूसँग नाता तोडी सबै जातिको स्वतन्त्रता र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग नाता जोड्ने ।
३) सर्वसाधारण जनतालाई पूर्ण स्वतन्त्रता, प्रजातन्त्र र मूल आर्थिक अधिकारहरू इत्यादिको सुरक्षा (ग्यारेन्टी) दिने विधान बनाउने । यो विधान वालिग मताधिकारमा आधारित हुनेछ ।
विशेष अधिकार, जाति–पाति र साम्प्रदायिक भेदभावहरूलाई ऐन–कानूनद्वारा खतम गरिदिने र यस्ता ऐन–कानूनहरूका विरुद्ध जानेहरूलाई ऐन–कानूनद्वारा सजाय गर्ने ।
४) एक कौडी पनि हर्जाना नदिईकन जमिन्दारी तथा सामन्तवादी शोषणका सम्पूर्ण प्रथाहरूलाई निर्मूल पारिदिने र (उनीहरूको) जग्गा–जमीन, खेतबारी, हलो, कुटो, कोदालो र फाली चलाउने र मच्चाउने (अर्थात् जमीनमा श्रम गरेर मात्र जीविका चलाउने– पुस्तक सम्पादक) किसानहरूलाई भागबण्डा गरिदिने । गाउँ–देहातका कर्जा र ब्याजखोर–प्रथालाई हटाइदिने । खेतालाहरू (खेत–मजदूरहरू)– लाई बाँच्नयोग्य ज्याला दिने ।
५) यातायात, बैंक, चिया बगान, खानी र उद्योगधन्दामा लगाइएका विदेशी पूँजीहरू राज्यद्वारा जफत गर्ने र यिनीहरूसित सम्बन्धित कुराहरूको राष्ट्रियकरण गर्ने ।
६) ठूला–ठूला उद्योगधन्दाहरू, ठूला बैंकहरू र इन्स्योरेन्स कम्पनीहरूलाई राष्ट्रियकरण गर्ने । संस्थानहरूमा मजदूरहरूद्वारा नियन्त्रण गरिने कुराको ग्यारेन्टी दिने, मजदूरहरूलाई जिउन–योग्य ज्याला दिने । दिनमा आठ घण्टाको कार्यकाल लागू गर्ने ।
७) ठूला–ठूला पूँजीपतिहरूलाई उद्योगधन्दाहरूको खासखास ठाउँबाट हटाउन र देशका आर्थिक स्रोतहरूलाई विकसित तथा समृद्ध तुल्याउनका निम्ति एउटा आर्थिक योजना बनाउने ।
८) दमनकारी सम्पूर्ण ऐन, कानून, सनद, सवाल बरखास्त गर्ने ।
९) नोकरशाही (भाइभारदारशाही) शासन–प्रथा खतम गर्ने र त्यसको सट्टामा जन–समितिहरूको देखरेखमा रोजिएका प्रतिनिधिहरूलाई हाकिम (अफिसर) नियुक्त गर्ने ।
१०) सर्वसाधारण जनतालाई हातहतियार दिने र जनताको प्रजातन्त्रीय फौजको गठन गर्ने ।
११) बिनाफिसमा सबैलाई पढ्ने अधिकार दिने र प्राथमिक शिक्षा अनिवार्य रूपले चालू गर्ने ।
१२) महिलाहरूलाई समान प्रजातन्त्रीय अधिकार वा हक दिने ।
पुष्पलाल, नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, पृ. ४६–४७ ।
राणाहरूसँग सझौता होइन, क्रान्ति ! क्रान्ति !! क्रान्ति !!! ऐ. पृ ३९ ।
‘नयाँ जनवादी कार्यक्रम नेपाली क्रान्तिको एक मात्र मूल बाटो’ शीर्षक दस्ताबेज (गोरखपुर सम्मेलनद्वारा पारित) मा साम्राज्यवादविरुद्धको आक्रामक युद्धमा अझै जोड दिँदै क. पुष्पलाल लेख्नुहुन्छ ः
…अतः यी सबै अन्तर्विरोधहरूले सामान्य रूपले विश्वपूँजीवादलाई झन्झन् कमजोर पार्दै लैजाने छ तापनि अब साम्राज्यवादीबीचको एकताको बिन्दू समाप्त भयो, साम्राज्यवादी शक्ति विश्व समाजवादी शक्तिको तुलनामा कमजोर छ भनी अब आर्थिक प्रतियोगिताद्वारा साम्राज्यवादी शक्तिलाई परास्त गर्न सकिन्छ र शान्तिपूर्ण तरिकाले समाजवादमा पनि संक्रमण गर्न सकिन्छ भनी सोच्नु ठूलो सैद्धान्तिक भट्काव हुनेछ । यस्तो सोचाइ आजका आधुनिक संशोधनवादीहरूको सोचाई हो । माक्र्सवाद–लेनिनवादले हामीलाई यही शिक्षा दिन्छ कि जबसम्म साम्राज्यवाद कायम रहन्छ तबसम्म आक्रामक युद्धको संभावना रहिनैरहन्छ । आज विश्व शक्तिमा साम्राज्यवाद, समाजवादी शक्तिको तुलनामा कमजोर देखिएता पनि, साम्राज्यवादी शक्तिले हार मानेको छैन ।
मूल स्रोत ः नयाँ जनवादी कार्यक्रम, (सहायक स्रोत ः पुष्पलाल छानिएका रचना भाग १, पृ. ८५, पुष्पलाल स्मृति प्रतिठान, २०५३)
सामन्ती शासनव्यवस्थालाई चकनाचुर गर । विदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको प्रभाव र घेरादेखि अलग होऊ । मजदुर–किसानको शासन खडा गर । यस शासनमा धनी, साम्राज्यवादी र प्रतिक्रियावादीहरूका दलालहरू बाहेक सबै शोषित जनतालाई हिस्सा देऊ । सोभियत रुस, द. पू. युरोपका नवप्रजातन्त्रहरू र आजाद चीनसँग राजनैतिक सम्बन्ध खडा गर । समाजवादको लक्ष्य राखी शासन चलाऊ । यसैलाई नव प्रजातन्त्र (ल्भध म्झयअचबअथ) भन्दछन् । द. पू. युरोप र आजाद चीनमा जस्तै शासन छ हामीलाई पनि त्यही चाहिन्छ । अतएवः ‘नव प्रजातन्त्र जिन्दावाद ! पर्चा नं. १, (क), २००६ वैशाख १२ गते, संगठक समिति नेपाल कम्युनिष्ट पार्टी ।
नेपालका हरेक खालका सामन्तवादी सत्ता, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादविरुद्ध क. पुष्पलाल आजीवन निरन्तर रूपमा वैचारिक रूपले लडिरहनुभयो । उहाँले भन्नुभयो ः आज अमेरिकी साम्राज्यवाद सबभन्दा युद्धपिपासु र आतंककारीको रूपमा देखापरेको छ । ऐ. पृ. ८५
साम्राज्यवादी हाउगुजी देखाएर क्रान्तिबाट भाग्न वा लुक्न खोज्ने अवसरवादी, संशोधनवादीहरूको भ्रम र जालको भन्डाफोर गर्दै क. पुष्पलाल भन्नुहुन्छ ः साम्राज्यवादीहरूको स्वभावमा पनि परिवर्तन देखी, समाजवादमा संक्रमण शान्तिपूर्ण रूपले पनि सम्भव हुनसक्छ भनी वर्ग संघर्षलाई उदासिन बनाउन पुग्दछन् । … साम्राज्यवादको साथै संशोधनवाद आजको विश्व कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ खतरा थपिन आएको छ । नवसंशोधनवाद कम्युनिष्ट भेषमा आई कम्युनिष्ट आन्दोलनलाई नै डण्डापार्ने कार्य गर्ने भएको हुनाले यो झन् भयंकर छ । पुष्पलाल छानिएका रचना भाग १, पृ. ८७ ।
पार्टी स्थापनाकालमा नेपाल कम्युनिस्ट पार्टीले जनवर्गका बारेमा लिएका नीति र कार्यक्रमबारे चर्चा गर्दै क. पुष्पलाल लेख्नुहुन्छ ः पार्टीले एक कार्यक्रम प्रस्तुत ग¥यो जसमा किसानलाई जमिन वितरण गर्ने, सरकारी कर्मचारी र मजदुरहरूको तलब र ज्याला बाँच्न लाईक स्तरमा बृद्धि गर्ने, नेपालबाट विदेशी एकाधिकार पूँजीलाई खतम गर्ने, जनताको शिक्षाको निम्ति व्यापक रूपमा स्कूल कलेजको प्रबन्ध गर्ने, देशमा बिद्यमान गरिबी, भोकमरी र बेरोजगारीलाई हटाउने र समस्त असमान सन्धिहरू रद्दगरी स्वतन्त्र मैत्री शान्तिको बैदेशिक नीति अपनाउने उद्देश्य उल्लेखित थियो ।
…सामन्तीहरूको भकारी तथा बोरा फोरी भोका जनताबीच वितरण गर्ने, सामन्तीहरूको जग्गा खोसी जोताहाहरूमा वितरण गर्ने, सामन्तहरूलाई जनअदालतमा मुद्दाचलाई डण्डकुण्ड गर्ने, जाली तमसुक च्यात्ने आदि कार्य हुन थाल्यो । – ऐ पृ. ८९ ।
संविधानसभाको निर्वाचन नगराउनका लागि राजाले बनाएको षड्यन्त्रमा परी नेपाली काङ्ग्रेससँगै कम्युनिस्ट पार्टीको तत्कालीन नेतृत्वले लिएको गलत निर्णयका बारेमा क. पुष्पलाल भन्नुहुन्छ ः
…रायमाझीको नेतृत्वमा पनपिरहेको कम्युनिष्ट पार्टीको संशोधनवादी नेतृत्वले संविधानसभाको चुनावको निम्ति सङ्घर्ष संचालन गर्नुसट्टा उनीहरूले पनि देशको सामन्ती प्रतिक्रियावादी नेतासँग मिली खुला रूपले प्रचार गर्न थाले कि ‘राजा संसद्को पनि चुनाव नगराउने पक्षमा भएको हुँदा हामीले संविधानसभाको कुरा नउठाई संसद्कै चुनाव गराउनमा जोड दिनुपर्छ । ऐ. पृ. ९४
क. पुष्पलालले आफू पार्टीको मूल नेतृत्वमा हुँदा होस् वा षड्यन्त्रपूर्वक आफूलाई महामन्त्रीबाट हटाएर संशोधनवादीहरूले पार्टी कब्जा गरेको अवस्थामा होस्, निरन्तर मजदुर, किसानको मुक्ति र नयाँ जनवादी क्रान्तिकै पक्षमा कार्यक्रमहरू निर्माण गरी प्रस्तुत गर्नुभयो ः
जबसम्म किसानलाई जमीनको वास्तविक मालिक बनाइन्न तबसम्म आर्थिक विकासमा द्रूततर गति ल्याउन सकिन्न र भूमिबाट निश्क्रिय पूँजी र जनसंख्याको भार झिकी अर्थव्यवस्थाको अन्य क्षेत्रमा लागूगर्न सकिन्न । न त कृषि उत्पादनमा नै अधिकतम बृद्धि गर्न सकिनेछ । ऐ. (पञ्चायती व्यवस्थाको लेखाजोखा), पृ. १०३ ।
त्यसैगरी उहाँले भन्नुभयो ः हाम्रो क्रान्तिका तीन प्रमुख लक्ष्यछन् । प्रथमतः सामन्ती भूमि व्यवस्था समाप्त गरी किसानलाई जमिनको मालिक बनाउँने, दोश्रो देशको अर्थतन्त्रलाई विदेशी पूँजीको प्रभावबाट मुक्तगरी स्वतन्त्र अर्थव्यवस्थाको निर्माण गर्ने तथा तेस्रो देशमा साधारण जनसमुदायमाथि थोपरिएको प्रत्यक्ष वा अप्रत्यक्ष सामन्ती हुकुमी व्यवस्थालाई समाप्त गरी नयाँ जनवादी प्रजातन्त्र स्थापना गर्ने । ऐ. (राष्ट्रिय आन्दोलनको दिशा), पृ. १०६ ।
उहाँले जनवादी क्रान्तिको खाका कोर्दै भन्नुभयो ः
हाम्रा राष्ट्रिय अनुभवहरूले स्पष्ट गर्दछन् कि देशको सामन्ती व्यवस्थाको विरोधमा पूँजीपति वर्ग, मध्यम वर्ग, किसान, मजदुर इत्यादि भएता पनि मूल अन्तर्विरोध सामन्त वर्ग र किसान एवं पूँजीपति वर्गबीच नभै सामन्त वर्ग र किसान वर्गबीच रहन गएको छ । सामन्तविरोधी क्रान्तिलाई सफलीभूत पार्न जबसम्म सबैभन्दा क्रान्तिकारी वर्गको नेतृत्वमा मौजुदा अन्तर्विरोधलाई लगी मूल शत्रु वर्गको विरोधमा समस्त विरोधी वर्ग तथा सामाजिक अंगहरूलाई उतारेर बढाउँदै लगेर मात्र त्यस वर्गको विनास गर्न सकिन्छ । सो कार्य मजदुर वर्गको नेतृत्वमा मजदुर–किसान एकता कायम गरेर मात्र सम्पन्न हुन सक्नेछ । जबसम्म यो कार्य गरिनेछैन, सामन्त वर्गसँग रहेको अन्य वर्गहरूको अन्तर्विरोधलाई सामन्त विरोधी क्रान्तिमा प्रयोग गर्न सकिने छैन र क्रान्ति पनि सम्पन्न हुन सक्नेछैन । … अतः नेपालको सामन्तवादलाई समाप्त गर्न, साम्राज्यवाद तथा विदेशी पूँजीको प्रभुत्वलाई समाप्त गरी कृषि क्रान्ति सम्पन्न गर्ने जनवादी क्रान्तिको नेतृत्व गर्ने अभिारा आज इतिहासले मजदुर वर्गको काँधमा राखिदिएको छ । … यसरी हाम्रो देशको यस ऐतिहासिक स्थितिमा मजदुर वर्गको नेतृत्वमा हुने यो क्रान्तिको उद्देश्य जनवादी क्रान्ति हु्नेछ । ऐ. पृ. १११ ।
नयाँ जनवादी क्रान्ति र त्यसले निर्माण गर्ने सत्ताचरित्रको व्याख्या गर्दै क. पुष्पलाल भन्नुहुन्छ ः
जबसम्म नेपालको माटोबाट सामन्ती शोषण व्यवस्था र यसलाई आड तथा भरोसा दिई शोषण कार्यमा हिस्सेदार भइरहेको विदेशी पूँजीवाद, खास गरेर भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई समूल नष्ट गरिँदैन तबसम्म नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थिति पनि खतम हुन सक्तैन । अतः आजको हाम्रो क्रान्तिको लक्ष्य १) नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षा गर्ने किल्लाको रूपमा काम गरिरहेको शाही पञ्चायती राज्ययन्त्रलाई समूल नष्ट गर्नु तथा २) विदेशी एकाधिकार पूँजीवाद, खास गरी भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई खतम गर्नु हो । तसर्थ आजको नेपालको क्रान्तिको चरित्र सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी हो । यो क्रान्ति सर्वहारा क्रान्ति नभै मजदुर वर्गको नेतृत्वमा किसान–मजदुर एकताको आधारमा सम्पूर्ण क्रान्तिकारी वर्गहरूलाई एकताबद्ध गर्दै चलाइने पूँजीवादी जनवादी क्रान्ति हो । नेपालको राष्ट्रिय आन्दोलनको शिक्षाले साबित गर्दछ कि आजको नयाँ ऐतिहासिक युगमा चलाइने सामन्त विरोधी तथा साम्राज्यवाद विरोधी जनवादी क्रान्तिको नेतृत्व नेपालको पूँजीवादी वर्गले गर्न सक्दैन । मजदुर वर्ग नै सबैभन्दा वैज्ञानिक क्रान्तिकारी तथा माक्र्सवाद–लेनिनवादले लैस भएको हुँदा आजको नयाँ ऐतिहासिक युगमा र अझै नेपालको आजको विशिष्ट ऐतिहासिक स्थितिमा यस्तो क्रान्तिको नेतृत्व मजदुर वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्न सक्तछ । फेरि नयाँ जनवादी क्रान्ति भएता पनि यो आजको हाम्रो नयाँ युगमा विश्व साम्राज्यवादको पूर्ण पतन र समाजवादको विश्वव्यापी विजयको युगमा, एक नयाँ विशिष्ट ऐतिहासिक स्थितिमा हुने हुँदा र यसले नेपालको माटोबाट सामन्तवाद र साम्राज्यवादलाई समूल नष्ट गर्ने हुँदा यो नेपालको मजदुर वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर–किसान एकाताको आधारमा सम्पन्न हुनेछ । अतः यस नयाँ विशेषताले गर्दा, यो पुरानो खालको पूँजीवादी जनवादी क्रान्ति नभै नयाँ किसिमका पूँजीवादी जनवादी क्रान्ति हुनेछ । यसले नेपालबाट सामन्तवाद तथा साम्राज्यवादलाई खतम गरी अर्थात् नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थितिलाई खतम गरी जनवादी अर्थतन्त्रको निर्माणद्वारा समाजवादी संक्रमणको पृष्ठभूमि तयार पार्नेछ । नयाँ जनवादी प्रजातन्त्र न त युरोप तथा अमेरिकामा प्रचलित पुँजीवादी वर्गको अधिनायकत्वमा स्थापित पुरानो खालको जनवादी प्रजातान्त्रिक व्यवस्था हो, न त समाजवादी देशमा सर्वहारा वर्गको अधिनायकत्वमा स्थापित समाजवादी व्यवस्था जस्तो नै । यो मजदुर वर्गद्वारा नेतृत्व गरिएको र मजदुर–किसान अधिनायकत्वमा स्थापित जनवादी गणतन्त्र हो । वस्तुतः यो औपनिवेशिक तथा अर्धऔपनिवेशिक देशमा क्रान्ति चलाई समाजवादमा संक्रमण गर्ने अन्तरिम अवधिको जनवादी प्रजातान्त्रिक व्यवस्था हो । अतः यस्तो जनवादी क्रान्तिकारी सरकारमा नयाँ जनवादी क्रन्तिमा भाग लिने सम्पूर्ण क्रान्तिकारी तथा जनसमुदायहरूको प्रतिनिधित्व रहने छ । मजदुर वर्गको नेतृत्वमा गठित यस्तो संयुक्त क्रान्तिकारी सरकारको क्रान्तिविरोधी तत्वमाथि अधिनायकत्व रहने छ । जनताको अधिनायकत्व भएको मजदुर वर्गको नेतृत्वमा गठित यस्तो सरकारले देशमा सदियौँदेखि लादिएको साम्राज्यवादी शोषण तथा सामन्ती अवशेषलाई समूल नष्ट गर्नेछ । ऐ. (नयाँ जनवादी कार्यक्रम– हाम्रो क्रान्तिको लक्ष्य), पृ. ११२–११३ ।
क. पुष्पलाल नेपाली समाज र तत्कालीन सत्ताको चित्रण गर्दै अगाडि भन्नुहुन्छ ः यो पञ्चायती व्यवस्था सामन्त वर्गको वर्गीय राज्यसत्ता अर्थात् सामन्ती अधिनायकत्व हो । तसर्थ नेपाल कम्युनिस्ट पार्टी यस सामन्ती वर्गीय सत्तालाई खतम गरी देशमा सर्वहारा वर्गको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी वर्ग तथा जनसमुदायको संयुक्त अधिनायकत्वमा यौटा यस्तो जनवादी गणतन्त्रीय राज्यसत्ता कायम गर्नेछ जसले देशमा सामन्ती व्यवस्थालाई समूल नष्ट गर्नेछ, साम्राज्यवादलाई राष्ट्रिय जीवनबाट लखेटी विदेशी पूँजीलाई राष्ट्रियकरण गर्नेछ र राष्ट्रिय पूँजीलाई नियोजित किसिमले विकास गर्न दिई समाजवादी संक्रमणको निम्ति बाटो खोल्नेछ । ऐ. पृ. ११४ ।
५) नयाँ जनवादी साहित्य, कला र संस्कृतिका सम्बन्धमा
क. पुष्पलालले मालेमावादी विचार, सिद्धान्त र सङ्गठनका विविध पाटा र पक्षहरूमा विचार र कार्यक्रम निर्माण गर्नुभएको छ । उहाँले जनवादी राज्यसत्ताका साथै अर्थनीति, संस्कृति, कूटनीतिका विषयमा लेख्नुभएको छ । संस्कृति र नयाँ जनवादी संस्कृतिका साथै जनवादी क्रान्तिका लागि मालेमावादी लेखक–कलाकारहरूको दायित्वबारे उहाँले धेरै चर्चा गर्नुभएको छ । उहाँका केही भनाइ हेरौँ ः
कुनै एक अमुक समाजको आर्थिक र राजनीतिक स्थितिबाट उत्पन्न हुने मानसिक गतिविधिलाई त्यस समाजको मानसिक गतिविधि अर्थात् संस्कृति भनिन्छ ।
पुष्पलाल छानिएका रचना भाग ३, (नयाँ जनवादी संस्कृति) पृ. ९९ ।
अहिले हाम्रो क्रान्तिको चरण सर्वहारा वा समाजवादी नभै सामन्तवाद तथा साम्राज्यवाद विरोधी नयाँ जनवादी भएको हुँदा आजको हाम्रो संस्कृति नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी उत्साह र प्रेरणा दिने र जनवादी आर्थिक तथा राजनीतिक व्यवस्थाको पक्षमा मत जाहेर गर्ने खालको हुनु पर्दछ । क्रान्तिका मित्रशक्तिहरूमा क्रान्तिकारी उत्साह भर्ने तथा विरोधीहरूप्रति घृणा उत्पन्न गर्ने खालको हुनुपर्दछ । ऐ. पृ. १२४ ।
आजका प्रत्येक क्रान्तिकारी साहित्यकार र कलाकारले नेपालको भोको–नांगो, कालो–मैलो र शोषित–पीडित वर्गका मुक्तिको राजनीति बुझ्नै पर्दछ अनि आफ्ना साहित्य र कलाजस्ता सम्पूर्ण संस्कृतिका अंगहरूलाई त्यस वर्गीय चेतनाले (सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी सांस्कृतिक चेतनाले) लैस पारी आफ्ना दुस्मनहरूसँग लड्ने सशक्त हतियारको रूपमा तयार गर्नै पर्दछ । हामीले विश्वका क्रान्तिकारी जनताको अनुभवको अध्ययन गरी साहित्य र कलालाई क्रान्तिको निम्ति बढीभन्दा बढी सशक्त र उपयोगी कसरी बनाउन सकिन्छ भन्ने कुरामा प्रयास गर्नु पर्दछ । ‘साहित्य र कला मनोरञ्जनका विषय मात्र हुन्, यी काल्पनिक र बसिबियाँलो गर्ने कुरा हुन्, राजनीतिदेखि बिलकुल अलग कुरा हुन् इत्यादि रूपमा फटाहा शोषक वर्गले फिँजाएको जाल तुरुन्तै च्यात्नुपर्छ र साहित्य र कला आदि संस्कृतिका अंगहरूलाई निर्विवाद रूपले क्रान्तिका साधनको रूपमा प्रयोग गर्नुपछ । ऐ. पृ. १०७ ।
हामी समाजवादी संस्कृतिको पक्षमा हुँदाहुँदै पनि तत्काल त्यसलाई हाम्रो संस्कृतिको प्रधान अंगको रूपमा विकास गर्ने कुरा गर्दैनौँ । अहिले हामी क्रान्तिको चरण सर्वहारा वा समाजवादी नभै सामन्तवाद तथा साम्राज्यवाद विरोधी नयाँ जनवादी भएको हुँदा आजको हाम्रो संस्कृति नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी उत्साह र प्रेरणा दिने र जनवादी आर्थिक तथा राजनीतिक व्यवस्थाका पक्षमा मत जाहेर गर्ने खालको हुनुपर्दछ । क्रान्तिका मित्र शक्तिहरूमा क्रान्तिकारी उत्साह भर्ने तथा विरोधीहरूप्रति घृणा उत्पन्न गर्ने खालको हुनुपर्दछ । एक शब्दमा भन्ने हो भने आजको हाम्रो संस्कृतिको सार राष्ट्रिय स्वरूप तथा जनवादी क्रान्तिकारी गुदी भएको हुनुपर्दछ । ऐ., नयाँ जनवादी कार्यक्रम पृष्ठ ४८ बाट गरिएको उद्धरण, पृ. १५० ।
नयाँ जनवादी संस्कृतिका सन्दर्भमा क. पुष्पलालले बारम्बार माओलाई सम्झिनुभएको छ । उहाँ माओको भनाइ यसरी उद्धरण गर्नुहुन्छ ः
क्रान्तिकारी संस्कृति बहुसंख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनुभन्दा अघि विचारधारात्मक रूपले भूमि तयार पार्छ र यो क्रान्तिको बेलामा व्यापक क्रान्तिकारी मोर्चा महत्वपूर्ण, साँच्चै आवश्यक सङ्घर्षशील एक मोर्चा हो ।
माओ, नौलो जनवादबारे ।
क्रान्तिकारी आचरण नै जनवादी लेखक कलाकारहरूको मुख्य चिनारी हो । लेखक कलाकारहरूको काम र आचरण एकै नाश हुँदैन या हुने आवश्यकता छैन भन्ने प्रतिक्रियावादी धारणालाई कत्ति छूट दिइनु हुँदैन । जनवादी लेखक कलाकारभित्र जनवादी क्रान्तिकारी आचरण हुनैपर्छ ।
ऐ. पृ. १५३ ।आजको नयाँ संस्कृतिको चरित्र हुनुपर्छ– फुट र अनेकताको ठाउँमा एकता, निराशाको सट्टा आशा, पलायनको सट्टा क्रान्तिकारिता, व्यक्तिवादी दया र करुणाको सट्टा सामूहिक समवेदना, व्यक्तिगत प्रेमको सट्टा सामूहिक प्रेम, व्यक्ति सुधारको सट्टा वातावरण सुधार, व्यक्तिको अनुशरणको सट्टा सिद्धान्तको अनुशरण, व्यक्तिको नाम र इज्जतको सट्टा क्रान्तिकारी, जनवादी शक्तिको संगठन र सफलता ।
ऐ. पृ. १५९ ।
नयाँ जनवादी क्रान्तिमार्फत नेपालमा जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना हुनेमा कमरेड पुष्पलाल विश्वस्त हुनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो– … यो (साम्यवाद) त अवश्यंभावी वा नआई नछोड्ने वस्तु हो । प्रकृतिको नियम नै उच्चस्तरतिर परिवर्तन हुने हो । यो परिवर्तनको नियमअनुसार … आदिम साम्यवादी समाजपछि दास समाज, दास समाजपछि सामन्तवाद, सामन्तवादपछि पुँजीवादी (वा नयाँ जनवादी) समाज, पुँजीवादी (वा नयाँ जनवादी) समाजपछि समाजवादी समाज आउँछ । … समाजवादपछि आउने साम्यवादी समाज हाम्रो देशमा पनि आउने अवश्यंभावी छ । प्रा. माणिकलाल श्रेष्ठ, पुष्पलाल स्मृति अङ्क, २०५२, (नेपालभाषा पत्रिकाका लागि २०१५ साल भदौमा फत्तेबहादुर सिंहसँगको अन्तरवार्ता) ।
रुसमा महान् स्टालिनको निधनपछि सोभियत समाजवादी सत्तामा ख्रुस्चोभद्वारा संशोधनवादी सङ्क्रमण भयो । ख्रुस्चोभले माक्र्सवाद–लेनिनवादविरोधी संशोधनवादी नीति अँगाल्यो । पछि त्यसका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीले चलाएको वैचारिक सङ्घर्षलाई महाविवादका रूपमा लिइयो भयो । कमरेड पुष्पलालले चिनियाँ जनवादी क्रान्ति अर्थात् कमरेड माओको दीर्घकालीन जनयुद्ध र नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्ति पूरा गर्ने नीतिको पक्षपोषण गर्नुभयो । माओ विचारधाराप्रति कमरेड पुष्पलाल कति धेरै प्रतिबद्ध हुनुभयो भने नेकपाको सदस्य बन्नका लागि रुसी आधुनिक संशोधनवादको विरोध गर्ने र चीनको कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादको शुद्धताका लागि पेस गरेको २५ सूत्रीय कार्यक्रमको समर्थन गर्नुपर्ने सर्त मान्नुपर्ने प्रस्ताव गर्नुभयो । माओ विचारलाई कमरेड पुष्पलालले नै माक्र्सवाद–लेनिनवादको उचाइमा उठाउने प्रस्ताव गर्नुभयो र त्यसै अनुसारका कार्यदिशा, कार्ययोजनाहरू निर्माण गर्नुभयो । ‘उहाँले माओ विचार’ लाई माक्र्सवाद–लेनिनवादसरह निर्देशक सिद्धान्तका रूपमा मान्नुपर्नेमा जोड दिनुभयो । कृष्णदास ऐ. पृ. १२८ ।
माक्र्स–एङ्गेल्स लिखित विश्व सर्वहारा वर्गको पहिलो माक्र्सवादी दर्शन कम्युनिस्ट घोषणापत्रको गहन अध्ययन गर्नुभएका पुष्पलालले जसरी कम्युनिस्ट घोषणापत्र लेख्दा माक्र्स एङ्गेल्सले समग्र पुँजीवादी युरोप, अमेरिका, अर्धसामन्त तथा अर्धऔपनिवेशिक एसियाका देशहरू र विश्वको अन्तरविरोध र अवस्थाहरूको सूक्ष्म अध्ययन गरी ती अन्तरविरोधहरूका आधारमा वर्गसङ्घर्षको कडी सर्वहारा वर्गको बल प्रयोगको सिद्धान्त पत्ता लगाउनुभएको थियो, त्यसरी नै पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र, पहिलो पर्चा र त्यसपछिका दस्ताबेजहरू तयार गर्दा नेपाली समाजका अन्तरविरोधहरूको गहन अध्ययन गर्नुका साथै भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको नेपाल र संसारका श्रमिक सर्वहारा वर्ग र कमजोर देशका शासकहरूमाथिको दमन, उत्पीडन, थिचोमिचोको सूक्ष्म र गहन अध्ययन गर्नुभएको थियो । उहाँले कोर्नुभएको क्रान्तिको खाकाले नै नेपालका श्रमिक सर्वहारा वर्गलाई सामन्तवाद, दलाल पुँजीवाद, विस्तारवाद, साम्राज्यवाद र नवऔपनिवेशिक दलाल संसदीय व्यवस्थाका विरुद्ध सिर्जनशील क्रान्तिकारी कार्यदिशाहरू विकास गरी लड्ने ऊर्जा र विचारहरू निर्माण गर्ने ढोका खुलिरहेको छ ।
संशोधनवादीहरूले सामन्ती राजतन्त्रात्मक पञ्चायती व्यवस्था ढालेर नयाँ सत्ता स्थापना गर्ने सन्दर्भमा नेपाली काङ्ग्रेससँग संयुक्त मोर्चा निर्माणका लागि गर्नुभएको प्रस्तावलाई लिएर उहाँमाथि अराजनीतिक प्रहारसम्म गरेका छन् । मोहनविक्रम सिंहले त चौथो महाधिवेशनको केन्द्रीय समितिमा पारित गराएरै पुष्पलाललाई ‘गद्दार’ जस्तो निकृष्ट शब्द प्रयोग गरी पुस्तक लेखेका थिए । यद्यपि उनले त्यो भनाइ पचासको दशकमा आएर सच्याए तर त्यसले पुष्पलालका सीमित कमजोरीहरूलाई माक्र्सवादी–लेनिनवादी वा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी कोणबाट सच्याउन सहयोग पुग्ने दृष्टिकोणबाट नभएर मनोगतवादी, आग्रही र सङ्कीर्णतावादी, ध्वंशात्मक ढङ्गबाट गरेका थिए भन्ने पचासको दशकको अन्तिममा आएर झनै प्रमाणित भयो । व्यक्तित्वको टक्कर वा पुष्पलालको अन्तर्राष्ट्रिय व्यक्तित्व र छविबाट आत्मश्लाघा भएर पनि एमबीलगायत कतिपय पात्रले उहाँमाथि अस्वाभाविक लाञ्छनाहरू लगाएको पाइन्छ तर पुष्पलालको विराट् र बहुआयामिक व्यक्तित्वका अगाडि ती लाञ्छनाहरू हात्ती लम्किँदैछ, कुकुर भुक्दैछ साबित भए ।
६) सिद्धान्त र व्यवहारमा जोड
क. पुष्पलाल माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा÷माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्नुहुन्थ्यो । त्यसैले उहाँले यो विचारलाई पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा स्थापित गराउनु्भयो । उहाँले भन्नुभयो ः माक्र्सवाद–लेनिनवाद तथा माओको विचारधाराअनुसार आजसम्मको पार्टीको व्यवहारको सिंहावलोकन गरीशिक्षा निकाल्नु पर्दछ । माक्र्सवाद–लेनिनवाद तथा माओको विचारधारालाई समर्थन गरी देशकाल, परिस्थिति अनुरूप बनाउने एक मात्र कसौटी व्यवहार नै हो । पुष्पलाल, नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, पृ. ४
नेपाल कम्युनिस्ट पार्टी सामन्ती, अर्धसामन्ती तथा अर्धऔपनिवेशिक नेपाली समाजलाई ध्वंश गरी नयाँ जनवादी समाजको गठन गरी नेपालमा समाजवादी तथा साम्यवादी समाजको निर्माण गर्न चाहन्छ । ऐ. पृ. ५
…नेपाली जनताको दुस्मन केवल नेपालको सामन्ती राणा मात्र होइन, वास्तवमा यी सामन्ती राणाहरूलाई टेवा दिने भारतीय पुँजीपति र विश्वप्रतिक्रियावादीका नेता आंग्ल–अमेरिकन साम्राज्यवाद पनि हो । यस कुरालाई हाम्रा नेपाली काङ्ग्रेसहरू अस्वीकार मात्र गर्दैनन्, खुल्लमुखुल्ला मजदुर वर्गको विरोध पनि गर्दछन् । यस विषयमा म के भनूँ ? केवल नेपालमा अत्यन्त प्रचलित भएको उखान मात्र भनेर टुंग्याउँदछु– ‘कस्ता–कस्ता कहाँ गए मुसाको छोरा देवान –मन्त्री) ।’ अनूदित कम्युनिस्ट घोषणापत्रको भूमिका, ऐ. पृ. ३१ ।
७) बलप्रयोग र जनवादी–समाजवादी सत्तामा जोड
पुष्पलाल सधैँ बलप्रयोगबाट मात्र सत्ता परिवर्तन हुने र सामन्ती सत्तामा जनताको विजय हुनेमा विश्वस्त हुनुहुन्थ्यो । उहाँले कतै पनि सुधारवाद र संशोधनवादको पक्षपोषण गर्नुभएको छैन । उहाँ भन्नुहुन्छ ः नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी लडाइँ हो । यसकारण यो लडाइँ अहिंसात्मकसम्म मात्र सीमित हुनु हुँदैन । हरेक टोल, सहर, हरेक गाउँ र हरेक जिल्ला, हरेक स्कुल– कलेज र हरेक कलकारखानाहरूमा नागरिक स्वतन्त्रताका क्रान्तिकारी समितिहरू बनाऊ । राणाशाहीको जनविरोधी नीतिको खुल्लमखुल्ला बहिष्कार गर । सभा र प्रदर्शन गर । ठाउँठाउँ कब्जा गरी आफ्नो ऐन–कानुन जारी गर । नेकपा स्थापनापछि जारी अपिल, ऐ. प. ३७–३८ ।
मुख्य अन्तरविरोधलाई छुट्ट्याई मुख्य शत्रुलाई छुट्ट्याउनु र आजको स्थितिमा मजदुर वर्गसँग सामान्य अन्तरविरोध राख्ने वर्ग तथा वर्गीय स्तरहरूलाई पनि क्रान्तिको पक्षमा तान्न कार्यनीतिको सही संचालन गर्न सक्नुमा नै क्रान्तिको विजय भर पर्दछ । … नेपालबाट सामन्तवाद र साम्राज्यवादलाई खतम गरी नयाँ जनवादी व्यवस्थाको स्थापना गर्ने हाम्रो लक्ष्य हो । दीर्घकालीन सशस्त्र किसान क्रान्तिको सञ्चालन बिना यस्तो व्यवस्थाको स्थापना हुन सक्तैन । ऐ. (कार्यक्रमलाई प्राप्त गर्ने बाटो), पृ. १४६ ।
आजको हाम्रो मुख्य दुश्मन सामन्तवाद, साम्राज्यवाद र भारतीय पूँजीवाद हो । सामन्तीशाही अधिनायकवादी पञ्चायती व्यवस्था यसको रक्षाको किल्ला हो । आजको स्थितिमा यो नै साझा दुश्मनको रूपमा देखापरेको छ । अतः सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थासँग अन्तरविरोध राख्ने समस्त वर्ग तथा वर्गीय स्तरहरूसँग एकता कायम गर्ने र मुख्य रूपले आफ्नो सम्पूर्ण शक्ति पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन उठाउनमा लगाउने कार्यनीति हुनुपर्छ । ऐ. पृ.१४७ ।
८) वैदेशिक नीति/कूटनीति
क. पुष्पलालले जनवादी सत्तामा वैदेशिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा धेरै चर्चा गर्नुभएको छ । केही उदाहरण हेरौँ ः हाम्रो वैदेशिक नीति साम्राज्यवाद, प्रतिक्रियावाद तथा सामन्तवादका विरुद्ध हुनेछ र जनवाद, विश्वशान्ति, राष्ट्रिय मुक्ति संग्राम, सर्वहारा क्रान्ति तथा समाजवादका पक्षमा हुनेछ । यसका निम्ति क्रान्तिकारी जनवादी सरकारले १) नेपालको राष्ट्रिय स्वार्थको विपरीत र असमानताका आधारमा नेपालसित भएका सम्पूर्ण सन्धिहरू खारेज गर्नेछ । २) हाम्रोभन्दा भिन्न सामाजिक व्यवस्था भएका देशहरूसँग शान्तिपूर्ण सहअस्तित्वको आधारमा सम्बन्ध कायम गर्नेछ । आफ्ना छिमेकी राष्ट्र भारत र पाकिस्तानसँग मतभेद देखापर्न आएमा परस्परको फाइदालाई ध्यानमा राखी शान्तिपूर्ण तरिकाले विवादहरूको हल गर्नेछ र तनावपूर्ण स्थिति उत्पन्न नहोस् भन्नका निम्ति अनाक्रमण सन्धिसम्म पनि गर्नेछ । ४) अफ्रो एसियाली राष्ट्रहरूको बीचमा बढीसेबढी एकता बढाउनको निम्ति पञ्चशीलको आधारमा राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धहरू बढाउनेछ । ५) साम्राज्यवादी युद्धको विरुद्ध, विश्वशान्तिको निम्ति सक्रिय नीति अपनाउनेछ । ६) समाजवादी, जनवादी तथा शान्तिगामी राष्ट्रहरूसँग विशेष रूपले सहयोगको नीति अपनाउनेछ । ७) सम्पूर्ण फौजी सन्धि तथा विदेशी फौजी अखडाहरू खत्तम गर्ने, विदेशी भूमिबाट गोर्खाफौजलाई नेपालमा फिर्ता बोलाउने र आम निशस्त्रीकरणको मागगर्नेछ तथा ८) जनवादी क्रान्ति, राष्ट्रिय मुक्ति संग्राम तथा साम्राज्यवादविरोधी सङ्घर्षमा लागेका जनतालाई नैतिक तथा भौतिक सबै प्रकारको सहयोग तथा समर्थन दिनेछ र साम्राज्यवादी र प्रतिक्रियावादी हस्तक्षेप तथा शोषणको विरोधमा सङ्घर्ष गर्ने कुनै पनि देशका क्रान्तिकारीहरूलाई आफ्नो देशमा सरण दिनेछ । … नेपालको जनवादी क्रान्तिकारी सरकारले तत्देशीय सरकारहरूसित घनिष्ट सम्पर्क स्थापित गरी प्रवासी नेपालीहरूको हक र हितलाई रक्षागर्न हरसम्भव कोशिस गर्नेछ । ऐ. पृ. १२७–१२८ ।
…परम्परागत मैत्रीमा खलल पु¥याई नेपाललाई साम्यवादी चीनको विरुद्ध युद्ध–अखडामा परिणत गर्न अमेरिकी साम्राज्यवाद, भारतीय एकाधिकार पूँजीवाद, हिन्दु साम्प्रदायिक शक्ति र नेपालका प्रतिक्रियावादी शक्तिहरू संयुक्त रूपले कोशिस गर्दैछन् । नेपाललाई साम्यवादविरोधी अखाडामा परिणत गर्नको निम्ति सबैभन्दा पहिले भारतीय र नेपाली जनताको अधिकारलाई खतम गर्ने प्रयास हुँदै आएको छ । अतः जनवादी क्रान्तिकारी सरकारले नेपाल र भारतको जनवादी आन्दोलनमा सामन्जस्यता स्थापित गर्नको निम्ति हर प्रयत्न गर्ने छ र भारतीय जनतासित आफ्नो परम्परागत मैत्रीलाई सुदृढ गर्नको निम्ति प्रयत्न गर्नेछ । ऐ. पृ.१२८ ।
९ . नेपाली कम्युनिस्ट आन्दोलनमा ‘माओवाद’ र ‘जनयुद्ध’ शब्दका सम्भवतः प्रथम प्रयोगकर्ता
क. पुष्पलालले नयाँ जनवादी क्रान्तिको कार्यदिशा र कार्यक्रम निर्माण गर्ने सन्दर्भमा माक्र्सवाद–लेनिनवादसँगै माओ विचारधाराको प्रयोग गर्नुभएको छ र कतिपय सन्दर्भमा माओवाद र जनयुद्ध शब्दावलीको पनि प्रयोग गर्नुभएको छ ः
हामीले अध्यक्ष माओको विचारधारा भनेको के हो भन्ने कुरा सबभन्दा पहिले बुझ्नु परेको छ र यसैअनुसार नेपालको वास्तविक वस्तुस्थितिमा काम गरेर जानु परेको छ । अतः आज माओको विचारधारालाई मान्ने भन्दा–भन्दै पनि एकले अर्कोलाई माओवादी मान्न इन्कार गर्ने र आफू एकले मात्र माओको विचारलाई बुझ्ने भनी गौरव गर्ने जुन मनोवृत्ति आज माओवादीहरूका बीचमा देखापरेको छ, त्यसले के माग गर्दछ ? त्यसले स्पष्ट रूपले यही माग गर्दछ कि नेपालमा अध्यक्ष माओको विचारलाई मान्ने जति पनि संगठित वा असंगठित कम्युनिष्टहरू छन् सबैका प्रतिनिधिहरू एकै ठाउँमा भेला भै माओको विचारलाई सबभन्दा पहिले बुझ्ने कोशिस गर्नु पर्दछ । माओको विचारलाई मान्ने भन्दैमा सब सही छन् भन्न सकिन्न । माओलाई हामीले आफ्नो किसिमले बुझेर हुँदैन, माक्र्सवाद–लेनिनवाद अनुसार बुझ्नुपर्दछ । ऐ. पृ. १४८
विभिन्न उवड–खावड खुड्किलाहरूबाट गुज्रँदै आएको इतिहासले आज नेपाली जनतालाई एउटा ठूलो विप्लव र आमूल परिवर्तनको ढोकानिर पु¥याउँदैछ । आज हामी जता हेरौँ– चाहे किसानको छट्पटीमा, चाहे विद्यार्थीको आक्रोशमा, चाहे सिपाहीहरूको उकुसमुकसमा, चाहे निम्नवर्गीय बुद्धिजीवीहरूका छलफलमा, चाहे मजदूरहरूका असन्तोषमा, चाहे नारीहरूका स्वरहरूमा, चाहे लेखक–कलाकारका उद्गारहरूमा, चाहे सुकुम्बासी–सर्वहाराहरूको आह र चित्कारमा र चाहे अरू जुनसुकै क्षेत्रमा हेरौँ– सामन्तवाद र साम्राज्यवादका विरुद्ध क्रान्ति, मुक्ति, प्रगति, समानता र स्वतन्त्रताका उर्लंदा आकांक्षाहरू छर्लंग देखा पर्न लागिरहेछन् र यसबाट स्पष्ट हुन्छ कि नेपालमा एउटा ठूलो क्रान्ति र परिवर्तन अवश्यम्भावी छ । तर इतिहासबाट सवक लिएर हामीले राम्ररी बुझ्नैपर्छ कि त्यो क्रान्ति र परिवर्तन जनताको निष्क्रिय कामना र असंगठित असन्तोषबाट कदापि सम्भव छैन । त्यसका लागि आवश्यक छ ठूलो योजना, तैयारी, संगठन, अनुशासन, त्याग, तपस्या, बलिदान र रक्तपातपूर्ण एउटा ऐतिहासिक जनयुद्ध । तर अब हुने यो जनयुद्ध भ्रम, अन्योल र अस्पष्ट उद्देश्यका निम्ति नहोस्, हामीलाई लहैलहैमा भेडा बाख्रा, तित्रा र बट्टाई झैँ लडाएर अरु कसैले आफ्नो दुनो नसोझ्याओस् र हाम्रा रगतले भिजेको बलिवेदीमाथि अरू कसैले पनि महल नउठाओस् । त्यसको निम्ति आज प्रत्येक क्रान्ति र परिवर्तनका इच्छुकहरूले सचेत हुनैपर्छ । पुष्पलाल छानिएका रचना भाग ३,, (नयाँ जनवादी संस्कृति), पृ. १०१ ।
१०) सीमा
क. पुष्पलालका केही नगण्य सीमा पनि थिए तर अवसरवादी–संशोधनवादीहरूले त्यसैलाई मूल मन्त्र बनाउने गरेको पाइन्छ । पार्टी प्रतिबन्ध फुकुवा गर्न तत्कालीन महामन्त्री मनमोहन अधिकारीले राजालाई बिन्तीपत्र हालेको र संशोधनवादी–सुधारवादी, गद्दारीको बाटो हिँडेको सन्दर्भलाई पुष्पलालले धेरै चर्चा नगरेको र साङ्केतिक रूपमा मात्र उठाएको देखिन्छ । संविधानसभाविरुद्ध राजा, काङ्ग्रेस र संशोधनवादीहरूले षड्यन्त्र गरे पनि २०१५ सालको संसदीय चुनावलाई स्वीकार गरेको सन्दर्भलाई आज अवसरवादी र संशोधनवादीहरूले त्यसैलाई नजिर बनाउने गरेका छन् । नेपाली काङ्ग्रेसलाई सामन्ती निरङ्कुश सत्ताविरुद्धको सङ्घर्षमा कार्यगत एकताका लागि गरेको आह्वानलाई लिएरै संशोधनवादी तथा अवसरवादीहरूले क. पुष्पलाललाई काङ्ग्रेसपरस्तको आरोप लगाएर गद्दारसमेत भने तर नेपाली काङ्ग्रेसले बीपी जीवित होउन्जेल कहिल्यै कम्युनिस्ट पार्टीसँग त्यस किसिमको मोर्चाको प्रस्ताव गरेन ।
माओ विचारधारा, नयाँ जनवादी क्रान्तिको कार्यदिशा, कार्यक्रम निर्माण, माओवाद शब्दावलीको प्रयोग गरे पनि कमरेड पुष्पलालले बल प्रयोगको मालेमावादी सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्न सक्नुभएन÷पाउनुभएन । जनतालाई सशस्त्र पार्ने, जनसेना निर्माण गर्ने, अवैध सङ्घर्ष वा क्रान्ति वा युद्ध (जनयुद्ध) आरम्भ गरी कार्यदिशाअनुरूपको सत्ता निर्माण गर्न भने सक्नुभएन । त्यसका पछाडि धेरै कारणहरू थिए । संशोधनवाद, अवसरवाद, आत्मसमर्पणवाद, गुटगत संकीर्णताहरूसँग निरन्तरको सङ्घर्ष, उल्झन र वैधानिक आन्दोलनमै उहाँको जीवनकाल व्यतित भयो । ११) श्रमिक कम्युनिस्ट पार्टी क्रान्तिकारी आन्दोलनको विरासत
पुष्पलालले प्रस्ताव गर्नुभएका विचार, राजनीति, कार्ययोजना र कार्यक्रमहरू उहाँपछि निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलन, नेकपा (माओवादी) ले २०५२ सालदेखि आरम्भ गरेको जनयुद्ध, २०६२–०६३ मा भएको संयुक्त जनआन्दोलन, २०७२ सालदेखि नेकपाको नेतृत्वमा आरम्भ भएको एकीकृत जनक्रान्तिका क्रममा आंशिक रूपमा प्रयोगमा आए पनि हरेक आन्दोलन, युद्ध र क्रान्तिमा मूल नेतृत्वको गद्दारी, पलायन र दुस्मन वर्गसँगको सम्झौताका कारण पूरा हुन सकेनन् । समाजको बदलिँदो चरित्र र अन्तरविरोध, विकसित चेतना र प्रविधिमा पुष्पलालका विचारहरूले पनि विकासको माग गरेका छन् । नेकपाको स्थापनाको ७५ वर्षपछि सामन्तवाद, दलाल पुँजीवाद, साम्राज्यवाद, सबैखाले अवसरवाद, संशोधनवाद–छद्म संशोधनवाद, अकर्मण्यतावादहरूसँग जुध्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालको स्थापना भएको छ । यो क. पुष्पलालकै स्पिरिटको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । विकसित र परिवर्तित समाजका बारेमा यो पार्टीले राष्टिय सम्मेलनका लागि प्रस्ताव गरेका यी विषयहरूले नेपालमा क्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवादी जनक्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवाद–साम्यवादतर्फ अगाडि बढ्ने विश्वास गर्न सकिन्छ ः
निरन्तर क्रान्ति भनेको पुस्ता र दरपुस्ताले गर्ने मात्र होइन, एउटा क्रान्तिलाई नयाँ क्रान्तिले पछ्याउनु हो । क्रान्ति सिकेर गर्ने कसैको मनोगत इच्छा र रहर होइन, गरेर सिक्ने विज्ञान र कला पनि हो । क्रान्ति रहर र बाध्यता नभएर देश, श्रमिक वर्ग र जनताप्रतिको महान् दायित्व हो । आमनेपाली जनताको उज्यालो भविष्य र सुखी जीवनको उत्कृष्ट चाहना पूरा गर्नु क्रान्तिको मूल लक्ष्य हो । मुलुकको लामो इतिहासमा क्रान्तिको लक्ष्य पूरा हुनसकेको छैन । क्रान्तिको दायित्व पहाडभन्दा गह्रौँ छ । क्रान्ति कठिन कार्य हो । क्रान्ति फलामे पर्खालको भन्ज्याङमा धावा बोल्नुजस्तै हो । क्रान्ति एउटा उत्सव हो । क्रान्ति नै हाम्रो जीवन र भविष्य हो । आज क्रान्ति आवश्यक मात्र होइन, अनिवार्य एवम् सम्भव छ । क्रान्ति पुस्तौँपुस्ताले गरिरहने निरन्तर प्रक्रिया मात्र होइन, महान् माओले भनेझैँ ‘एउटा क्रान्तिलाई अर्को क्रान्तिले पछ्याउँछ, क्रान्ति निरन्तर चल्छ ।’ आज क्रान्तिको निरन्तरता मात्र होइन, निर्णायक विजय युगीन आवश्यकता हो । त्यसका खातिर आजको नवीन युगमा क्रान्तिको वैज्ञानिक कार्यदिशा, रणनीति, कार्यनीति, कार्ययोजना, कार्यक्रम निर्माण र दृढतापूर्वक एवम् कुशलतापूर्वक कार्यान्वयन जरुरी छ । क्रान्तिकारी गतिशीलता र सिर्जनशीलताले मात्र पार्टीमा विद्यमान यथास्थिति, अन्योल र निराशालाई नयाँ आशा, विश्वास र नयाँ क्रान्तिमा बदल्न र नयाँ युगीन कार्यभार पूरा गर्न सकिन्छ ।
नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था ध्वंस गरी त्यसको खरानीमा वैज्ञानिक समाजवादको सुन्दर फूल फुलाउने ऐतिहासिक जिम्मेवारी र दायित्वबोधसहित मालेमावादको सार्वभौम सत्यलाई शीर्ष स्थानमा राखेर क्रान्तिको मार्गमा अघि बढ्न जरुरी छ । नयाँ विचार, राजनीतिक कार्यदिशा एवम् क्रान्तिको प्रारम्भ र वैज्ञानिक समाजवाद प्राप्तिका खातिर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र नयाँ क्रान्तिको स्वरूप, मार्गचित्र निर्माण, क्रान्तिका प्रेरक शक्ति, निशाना र अभिभारा ठोस गर्ने तथा विचार, सङ्गठन एवम् सङ्घर्षलाई नयाँ उचाइ प्रदान गर्ने उद्देश्यका दृष्टिले यो भेला निरन्तरतामा क्रमभङ्ग हुनेछ । यो भेला विगतका ऐतिहासिक उपलब्धिको रक्षा मात्र होइन, नयाँ इतिहास निर्माणको यो विशिष्ट घडीमा सबै न्यायपूर्ण आन्दोलन, महान् जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिमा अमूल्य जीवन बलिदान गर्ने मृत्युञ्जयी हजारौँँहजार महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । सम्पूर्ण बेपत्ता तथा घाइते योद्धाहरूलाई विशेष स्मरण एवम् उच्च सम्मान गर्दैै पुरानो समाजसँग सम्बन्धविच्छेद गर्ने, नयाँ क्रान्तिप्रति पूर्ण रूपले समर्पित हुने, आफ्नो जीवनलाई आहुती दिन तयार हुने र सबैले नयाँ युगीन क्रान्तिको सूत्रपातकर्ता बन्ने दायित्वलाई शिरोपर गर्ने सबैको एउटै प्रतिज्ञासहित अविचलित एवम् अथक रूपले निरन्तर अघि बढ्ने प्रण गर्दछ । श्रमिक कम्युनिस्ट पार्टी नेपालको राजनीतिक प्रस्ताव तथा विधान २०८१, पृ. ९, केन्द्रीय सूचना सञ्चार तथा प्रकाशन विभाग ।
…क्रान्तिकारीहरू परिस्थितिको दास हुन सक्दैनन् । त्यसको ठोस विश्लेषण एवम् संश्लेषण गरेर सचेतन पहलकदमी लिन र कुशल नेतृत्व गर्न सधैँ तयार हुनु पर्दछ । आज मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, सैन्यलगायत अवस्था कहालीलाग्दो सङ्कटमा परिरहेको छ । राष्ट्रघाती सन्धि–सम्झौता, आत्मसमर्पण र दलालीले हाम्रो राष्ट्रियतामाथि साम्राज्यवादी अतिक्रमण एवम् हस्तक्षेपको कालो बादल मडारिइरहेको छ । समग्रमा उलटपुलट र उथलपुथलको उद्देश्यमा सञ्चालित विगतका आन्दोलन र सङ्घर्षहरू विजयमा पुग्न नसक्दा, निष्कर्षविहीन ढङ्गले सम्झौतामा वा आंशिक परिवर्तनमा सीमित हुनुले न्यायपूर्ण आन्दोलन, महान् जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिमा अभिव्यक्त जनादेशको उपहास र जनअपेक्षाको तेजोबध भई जनतन्त्र धरापमा परिरहेको छ । जनतन्त्रको स्थान आश्रित नवऔपनिवेशिक पुँजीवादी दलालतन्त्रले लिएको छ । ऐतिहासिक जनआन्दोलन, न्यायपूर्ण सङ्घर्ष र महान् जनयुद्धका नगद उपलब्धिहरू आत्मसमर्पण, विचलन र प्रतिक्रान्तिका कारण गुम्न पुगेका छन् । विश्वमा असफल नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था नयाँ जलप लगाएर जनतामाथि बन्दुकको बलमा लादिएको छ । आज राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, सैन्यलगायत अवस्थामा तीव्र परिवर्तन र नयाँ अन्तरविरोधहरू देखापरिरहेका छन् । सङ्घर्ष र अन्तरविरोधहरू नयाँ ढङ्गले अभिव्यक्त भइरहेका छन् । आज राजनीति सेवा होइन, बिनालगानीमा मुनाफा आर्जन गर्ने पेसाका रूपमा बदनाम भइरहेको छ । मुलुकमा विशिष्ट सङ्क्रमणकाल प्रारम्भ भइरहेको छ । दलालहरू नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थामा शान्ति, स्थायित्व, समृद्धि र विकास मात्र होइन, कथित समाजवादको दिवासपना र भ्रमपूर्ण बकबास गरिरहेका छन् । यी सब भ्रमहरूलाई वैज्ञानिक समाजवादी जनक्रान्तिले निर्ममतापूर्वक र अन्तिम रूपमा नष्ट गरिदिनेछ । ऐ. पृ. १२–१३ ।
११.) नयाँ र विकसित कार्यदिशा
श्रमिक कम्युनिस्ट पार्टी नेपालले पुष्पलालदेखि मोहन वैद्यसम्मका कार्यदिशाहरूको अध्ययन र संश्लेषण गरी वैज्ञानिक समाजवादी जनक्रान्तिको नयाँ र विकसित कार्यदिशा प्रस्ताव गरेको छ । सम्मेलनका लागि प्रस्तुत प्रस्तावमा कार्यदिशाका सम्बन्धमा भनिएको छ ः
कुनै मुलुकको विशेषता एवम् सापेक्षतामा निर्मित र सफल क्रान्तिको कार्यदिशा अरू मुलुकको क्रान्तिमा हुबहु लागू गरेर क्रान्ति सम्भव हुँदैन । कार्यदिशा क्रान्तिको अनिवार्य सर्त हो । कार्यदिशा रणनीतिक र कार्यनीतिक, आम र विशिष्ट तथा राजनीतिक र फौजी पक्षहरूको कुल योग पनि हो । आम, विशिष्ट र असाधारण कार्यदिशाले मात्र क्रान्ति सफल हुन्छ । कार्यदिशा निर्माणको आधारका दृष्टिले पहिलो, सर्वशक्तिमान एवम् सार्वभौम मालेमावादको मार्गदर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्व हो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति अथवा सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको मान्यतालाई आत्मसात गर्नु हो । दोस्रो, सोभियत सङ्घ, पूर्वी युरोप, मध्यपूर्व र एसियामा सम्पन्न क्रान्तिहरू प्रतिक्रान्तिमा परिणत भए । माओको निधनपछि विश्वकम्युनिस्ट आन्दोलन आत्मगत र वस्तुगत दृष्टिले नयाँ मोडमा छ । क्रान्तिको मूल साधन कम्युनिस्ट पार्टीहरू टुटफुट र विभाजनको सिकार भइरहेका छन् । त्यसको कारण वैचारिक, राजनीतिक, साङ्गठनिक, आर्थिक र सम्मान–अपमान रहे तापनि वादको रङरोगन गर्नु पनि समस्या देखिन्छ । कम्युनिस्ट पार्टी र क्रान्तिलाई कसरी पुनर्सङ्गठित गर्ने ? प्रश्न मुख्य बनिरहेको छ । तेस्रो, विश्वसाम्राज्यवादी सङ्कट र वैज्ञानिक समाजवादी जनक्रान्तिको वर्तमान युग । माक्र्स–एङ्गेल्सको समयमा पँुजीवाद थियो । सन् १९१६ को वसन्तमा लेनिनले जुरिचमा ‘साम्राज्यवाद ः पँुजीवादको चरम अवस्था’ लेखेर त्यसको सविस्तार विश्लेषण र संश्लेषण गर्दै ‘यसको अध्ययनबिना वर्तमान युद्ध, राजनीति र त्यसको उचित मूल्याङ्कन असम्भव हुन जान्छ । साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला हो, सामाजिक अन्धराष्ट्रवाद समाजवादप्रति पूर्ण विश्वासघात हो’ भनेर पेत्रोग्रादबाट २६ अप्र्रिल, १९१७ मा उद्घोष गर्नुभएको थियो । क्रान्तिको नयाँ कार्यदिशाद्वारा विश्वसाम्राज्यवाद र नवऔपनिवेशिक पुँजीवादको समाधान र वैज्ञानिक समाजवादको अपरिहार्य आवश्यकता हो । चौथो, बर्नस्टिन, ख्रुस्चोभ, तेङहरूको शास्त्रीय, आधुनिक र अत्याधुनिक संशोधनवाद अहिले नवसंशोधनवादबाट संसदीय संशोधनवादमा महापतन भएको छ, त्यसविरुद्धको सङ्घर्षमा विजय हासिल गर्ने हो । पाँचौँ, वैज्ञानिक समाजवादको सफलता, लोकप्रियता, असफलताका कारणहरू, असल पक्षहरू, शिक्षा, अनिवार्यता र प्राप्तिको मार्ग हो । विश्व र नेपालका नयाँ अन्तरविरेधहरूको समाधान गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । छैटौँ, विज्ञान तथा प्रविधिको अभूतपूर्व विकास भइरहेको छ । यसमा विश्वसाम्राज्यवादको जति पहुँच, प्रचार र प्रभाव देखिन्छ त्यसको सार चरित्र, विशेषता र बदनामीको श्रमिक वर्ग एवम् उत्पीडित जनताले बुझ्ने र बदल्ने मार्ग पनि प्रशस्त गरिनु पर्दछ ।
आज नवऔपनिवेशिक पुँजीवादी, दलाल, नोकरशाही पुँजीपति वर्ग र श्रमिक एवम् मजदुर, किसान, श्रमजीवी जनताबीच, नवऔपनिवेशिक पुँजीवादी व्यवस्था र जनताबीच, नवऔपनिवेशिकता र राष्ट्रिय स्वाधीनताबीच, नवऔपनिवेशिक पुँजीवादी अर्थ उत्पादन सम्बन्ध र राष्ट्रिय अर्थ उत्पादन सम्बन्धबीच र क्रान्ति र प्रतिक्रान्तिबीचको अन्तरविरोध तीव्र बनिरहेको छ । आज नेपालमा दलाल, नोकरशाही, भूमण्डलीकृत, निगम, नवउदारवाद मूलतः नवऔपनिवेशिक पुँजीवाद हाबी रहेको छ । वर्तमान अवस्थामा कार्यदिशा निर्माण गर्दा माथि विश्लेषण गरिएका वस्तुगत एवम् आत्मगत पक्ष, नेपालको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सैन्य, प्राविधिकलगायत विशेषताहरू र वर्तमान परिस्थितिका पक्षमा ध्यान दिनु पर्दछ । आज विश्वसाम्राज्यवाद र उत्पीडित श्रमिक जनताका बीचको अन्तरविरोध, अन्तरसाम्राज्यवादी अन्तरविरोध, साम्राज्यवादी देशहरू र उत्पीडित राष्ट्रहरूबीचको अन्तरविरोध, साम्राज्यवादी देशहरूमा एकाधिकार पुँजीपति र सर्वहारा एवम् श्रमिक वर्गबीचको अन्तरविरोध र पुँजीवादी र समाजवादी व्यवस्थाका बीचको अन्तरविरोध देखिन्छन् । आज नेपालमा नवऔपनिवेशिक पुँजीवादी उत्पादन सम्बन्धले नयाँ अन्तरविरोधहरू पैदा भइरहेका छन् । गरिब किसान र भूमाफिया एवम् बिचौलियाका बीचको अन्तरविरोध, श्रमिक एवम् मजदुर र नवऔपनिवेशिक पुँजीवादका बीचको अन्तरविरोध, वैदेशिक व्यापारी र स्थानीय व्यापारीहरूबीचको अन्तरविरोध, नवऔपनिवेशिक पुँजी र राष्ट्रिय पुँजीबीचको अन्तरविरोध र समग्र उत्पीडित श्रमिक जनता र नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था बीचको अन्तरविरोध रहेका छन् । वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशाले मात्र नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था र अहिलेको विश्वसाम्राज्यवादको समाधान दिन सक्छ ।
यो समग्र प्रस्तावमा उल्लिखित अन्तरविरोध, आधार, विशेषता र पक्षहरूको कुल योगमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सैन्य, प्राविधिक, मनोवैज्ञानिकलगायत सारतत्वलाई व्यक्त गर्दा वैज्ञानिक समाजवादी जनक्रान्ति नै नयाँ क्रान्तिको मूल कार्यदिशा हो । यसका समग्र रणनीति, कार्यनीति र कार्यक्रमहरूको विश्लेषण र संश्लेषण आगामी दस्ताबेजमा गरिनेछ । ऐ. पृ. ६१–६४ ।
१२) निष्कर्ष
कमरेड पुष्पलालको जन्मशताब्दी मनाउनुको अर्थ उहाँले पु¥याएका योगदानहरूको कदर गर्नु, उहाँको माक्र्सवादी–लेनिनवादी अर्थात् द्वन्द्वात्मकतथा ऐतिहासिक भौतिकवादी कोणबाट मूल्याङ्कन, संश्लेषण गर्नु र सकारात्मक योगदानहरूलाई व्यवहारमा उतारेर विकसित÷परिवर्तित अन्तरविरोधहरू पहिचान गरी वर्गसङ्घर्ष तीव्र बनाएर वैज्ञानिक समाजवादी जनक्रान्ति सम्पन्न गरीवैज्ञानिक समाजवादी समाजव्यवस्था स्थापनाका साथै साम्यवादवादी समाजतर्फ अघि बढ्नु हो । उहाँको क्रान्तिकारी विचारलाई भुत्ते बनाएर संशोधनवादी–अवसरवादी–संसद्वादी दलालहरूले रूप पक्षमा मात्र जोड दिने, विचारलाई तोडमोड गर्ने र संशोधनवादका प्रवर्तकहरूलाई काखी च्यापेर उहाँलाई कथित वाम–लोकतान्त्रिक आन्दोलनका अगुवा मात्र बनाउने अर्थात् मालेमाको विकास, नयाँ जनवादी क्रान्तिको कार्यदिशाको निर्माण, बल प्रयोगको सिद्धान्तलाई परित्याग गरेर सुधारवादका सूत्रधारजस्तो बनाएर अधिमूल्याङ्कन र कपटपूण–कूट मूल्याङ्कन गर्ने योजनाबद्ध अभियान सञ्चालन गरिएको छ र जन्मशताब्दी वर्ष मनाउने क्रममा पनि कतिपय अवस्थामा विचारभन्दा रूप पक्षलाई बढी जोड दिइएको पाइएको छ, त्यो अत्यन्त खतरनाक छ । नेपालका मालेमावादीहरू यसमा सदैव चनाखो हुनुपर्छ ।
क्रान्तिकारी नेतृत्व, क्रान्तिकारी विचार, क्रान्तिकारी नीति–कार्यक्रमका सच्चा उत्तराधिकारी क्रान्तिकारी मालेमावादहिरू मात्र हुन सक्छन्, हुन्छन् र हुनुपर्छ । अवसरवादी, संशोधनवादी, नवऔपनिवेशिक दलाल संसदीय पुँजीवादी व्यवस्थाका मतियार–सञ्चालक होइन, असली मालेमावादी । उहाँको सही मूल्याङ्कन र पथावलम्बन जनगणतन्त्र नेपालका पक्षधरहरूबाट मात्र हुन सक्छ । तसर्थ उहाँका विचार–कार्यक्रम र नामलाई अवसरवादी, उपभोक्तवादीहरूको कब्जा र पन्जाबाट मुक्त गरी क्रान्तिकारीहरूले आफ्नो आदर्श बनाउनुपर्छ । क. पुष्पलाललाई मागी–ठगी–शोषण गरी खाने भाँडो बनाउनु र बन्न दिनु हँुदैन । सामन्तवाद, साम्राज्यवाद, विस्तारवादका विरोधी, जनवादी–समाजवादी क्रान्तिका पक्षधर पुष्पलाल आज संशोधनवादी, अवसरवादी, संसद्वादी, मुखुन्डोधारी ‘वाम’ वा कथित कम्युनिस्टको कब्जामा पारिनुभएको छ, दुरूपयोगको सिकार हुनुभएको छ । यो अत्यन्तै खतरनाक छ । उहाँको मालेमावादप्रतिको निष्ठा, त्याग, समर्पण, सादा जीवन, सरल व्यवहार, किसान–मजदुर र जनक्रान्तिप्रतिको लगाव, स्वाभिमान, इमान र क्रियाशीलता, बौद्धिकता र कौशल सच्चा र इमानदार कम्युनिस्टका लागि अनुकरणीय छन् । उहाँ कम्युनिस्टहरूका एक असल र सच्चा गुरु हुनुहुन्छ ।
नेपालमा विद्यमान तत्कालीन निरङ्कुश, सामन्ती अधिनायकवादी राणा–राजा शासनका विरुद्ध पुष्पलालले स्पष्ट माक्र्सवादी विश्वदृष्टिकोणसहित प्रस्तुत गर्नुभएको वर्गविश्लेषण, क्रान्तिको खाका, योजना र कार्यक्रम समाजमा शोषण, दमन, विभेद, असमानता जारी रहेसम्म र अमेरिकी–भारतीय–अङ्ग्रेज (सबैखाले) साम्राज्यवादी षड्यन्त्र, विभिन्न किसिमका देशी–विदेशी प्रतिक्रियावाद, संशोधनवाद, अवसरवाद कायम रहेसम्म उत्तिकै सान्दर्भिक, अझै महत्वपूर्ण र आवश्यक छ, रहिरहनेछ । मालेम ाझेँ नेपालको कम्युनिस्ट आन्दोलनमा क. पुष्पलालका विचारहरूको औचित्य, ावश्यकता र महत्व अझै बढिरहेको छ । नवमाक्र्सवादी, उत्तरमाक्र्सवादी, संशोधनवादी, नव–छद्म संशोधनवादीहरूले विभिन्न कोणबाट पुष्पलालको युग समाप्त भएको भन्दै माक्र्सवादमाथि नै जुन ढङ्गले प्रहार गरिरहेका छन्, क्रान्तिकारीहरूले माक्र्सवाद अवलम्बन गरेर त्यो षड्यन्त्रलाई बकबास र षड्यन्त्र साबित गरिदिनुपरेको छ । पुष्पलालका विचारहरूलाई माक्र्सवादी ढङ्गले अध्ययन, संश्लेषण गर्ने, लागू गर्ने र विकास गर्ने जिम्मेवारी क्रान्तिकारी, इमानदार मालेमावादी कम्युनिस्ट पार्टीको हो र त्यो दायित्व अब श्रमिक कम्युनिस्ट पार्टी नेपालको अभिभारा बनेको छ ।
पुष्पलाल सामन्तवाद–विस्तारवाद–साम्राज्यवादविरुद्ध नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अग्रज विचार, सङ्गठक र योद्धा हुनुहुन्थ्यो । त्यतिबेला उहाँले बाह्य रूपमा निरङ्कुश राणाशासन, राजाशाही, भारतीय एकाधिकार पुँजीवाद –विस्तारवाद), अमेरिकी–अङ्ग्रेजलगायत साम्राज्यवादविरुद्ध लड्ने सिद्धान्त, नीति र कार्यक्रमहरू प्रस्तुत गर्नुभयो भने देशभित्रका सामन्तवादका पृष्ठपोषक, विस्तारवाद र साम्राज्यवादका पक्षधर, एक समयसम्म निरङ्कुश राणाशासन र राजतन्त्रविरुद्ध लडेर पनि त्यही वर्गाको सेवा गरिरहेका नेपाली काङ्ग्रेसका साथै पार्टीभित्रैका मनमोहन, रायमाझी, तुल्सीलालदेखि क्रान्तिकारी आवरणमा आएका छद्म संशोधनवादी मोहनविक्रम–निर्मल लामालगायत कयौँ पात्रहरूका गलत विचार, नीति र कार्यक्रमका विरुद्ध निर्ममतापूर्वक लड्नुभयो । जसरी आज सच्चा मालेमावादी क्रान्तिकारीहरूले जनताको बहुदलीय जनवाद, नेपाली मौलिकताको समाजवाद, एक्काईसौँ शताब्दीको जनवादजस्ता नौटङ्की र जामा पहिरेका साम्राज्यवादका पिछलग्गु संसद्वादी–संशोधनवादी–अवसरवादी एमाले, एस, माके, विप्लव समूहलगायत झुण्ड र क्रान्तिकारी आवरणमा छद्म संशोधनवाद र अकर्मण्यतावादको गोलचक्करमा कुहिरोको कागजस्तै बनिरहेका विभिन्न समूहहरूका अवसरवादका विरुद्ध लडिरहनुपरेको छ, त्यसरी नै क. पुष्पलालले हिजो पनि विकृति र विसंगतिका विरुद्ध निर्ममतापूर्वक लडेर मालेमाको क्रान्तिकारी झन्डा र विचारको रक्षा गर्नुभयो । मरणोन्मुख साम्राज्यवाद आज नेपाललाई नवऔपनिवेशिता लादिरहेको छ र अमेरिकी साम्राज्यवादले नेपाली संसद्वादी दलालहरूलाई उपयोग गरेर एमसीसीलगायत राष्ट्रघाती योजना कार्यान्वयन गराउन वर्ष–वर्षमा सरकारमा समीकरण फेरबदल गराइरहेको छ । महान् जनयुद्धबाट आएको एउटा तप्का विभिन्न बहाना बनाउँदै कांगैस–राप्रपा–एमाले वा एसको लहरमा नवऔपनिवेशिक पुाजीवादी दलाल संसदीय व्यवस्थाको रक्षाका लागि मरिहत्ते गरिरहेको छ भने श्रमिक कम्युनिस्ट पार्टी नेपालबाहेक जनयुद्धको विरासत बोकेका अन्य कयौँ समूहहरू पेन्डुलमजस्तो किंकर्तव्यविमूढ बनेर अकर्मण्यतामा फसी यता र उता हल्लिइरहेका छन् । मालेमाको पथप्रदर्शन र आलोकमा पुष्पलालका शिक्षाहरू ग्रहण गर्दै निरन्तर जनताको सेवा गर्नु, श्रमिक सर्वहारा वर्गका पक्षमा लडिरहनु, क्रान्तिकारी उद्देश्य पूर्ति गर्न विचार र कार्यक्रम मिल्नेहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता र क्रान्तिकारी ध्रुवीकरणको माध्यमबाट निरन्तर विद्रोह गर्नु, हतियारले रक्षा गरेको दलाल पुँजीवादी वर्गको सत्तालाई जनताको बलपूर्वक क्रान्तिबाटै ध्वस्त पारी वैज्ञानिक समाजवादी जनक्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादी समाज निर्माणको बाटोमा लाग्नु नै पुष्पलालको सच्चा उत्तराधिकारी बन्नु हो ।
सन्दर्भस्रोतहरू
१) पुष्पलाल, नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, पुष्पलाल स्मृति प्रतिष्ठान, २०५३ ।
२) पुष्पलाल छानिएका रचनाहरू, भाग– १, २, ३ र ४, पुष्पलाल स्मृति प्रतिष्ठान ।
३) नेपाल रत्न पुष्पलाल, पुष्पलाल स्मृति प्रतिष्ठान, २०७८ ।
४) क्रान्तिवीर शहीद गङ्गालाल श्रेष्ठ, शहिद गङ्गालाल श्रेष्ठ जन्मशताब्दी आयोजक समिति, २०७५ ।
५) क. पुष्पलाल स्मृति अंक, २०५२, पुष्पलाल स्मृति प्रतिष्ठान ।
६) प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती, सं. अशोक सुवेदी, हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, २०६७ ।
७) पूर्णबहादुर सिंह, वैज्ञानिक समाजवादका आधारहरू, सं. अशोक सुवेदी, जनशिक्षा मासिक, २०७८ ।
८) प्रा. डा. सुरेन्द्र केसी, नेपाल कम्युनिस्ट पार्टीको इतिहास ।
९) एकीकृत जनक्रान्ति, सं. अशोक सुवेदी, प्रकाशक हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान र जनशिक्षा मासिक, २०७२–२०७३ ।
१०) विजयलाल श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, लोककृष्ण भट्टराई, नारायण शर्मा, ऋषि कट्टेल, गोपीरमण उपाध्यायका लेख, टिप्पणी, भनाइ, कार्यपत्र र विभिन्न पुस्तकहरू ।
११) श्रमिक कम्युनिस्ट नेपाल, राजनीतिक प्रस्ताव तथा विधान, केन्द्रीय सूचना सञ्चार तथा प्रकाशन विभाग, २०८१ ।
१२) पुष्पलालसम्बन्धी अध्येताका लेखरचनाहरू ।
नोट
यस अवधारणापत्रमा विभिन्न स्रोतहरूबाट उद्धृत क. पुष्पलालका विचार–कार्यक्रममा प्रयोग गरिएको भाषा–व्याकरण तत्तत् पुस्तकबाट जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास गरिएको छ । – प्रस्तोता
(पार्टीको केन्द्रीय केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन विभागको प्रमुखका हैसियतले २०८१ साल साउन १५ गते बुटवलमा प्रस्तुत गरेको विचारगोष्ठीको आयोजना पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिले गरेको थियो । यो श्रमिक कम्युनिस्ट पार्टी नेपालको पहिलो केन्द्रीय स्तरको विचारगोष्ठी थियो । कमरेड अवशेषको अध्यक्षता, कमरेड दिग्दर्शनको सञ्चालन, कमरेड विनयराजको स्वागतमा सम्पन्न कार्यक्रममा प्रस्तुत अवधारणापत्रमाथि दिल साहनी (माक्र्सवादी सौन्दर्यचिन्तक), ऋषिराम भुसाल (उपप्राध्यापक), तेजप्रसाद कँडेल (वरिष्ठ अधिवक्ता), चित्र कार्की (एमाले जिल्ला सचिव, गोष्ठी सामना नगरी बाहिरिएको) वामदेव क्षेत्री नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज), मानध्वज श्रेष्ठ ‘रिम’ (पार्टी सल्लाहकार समिति संयोजक), डा. बालकृष्ण चापागाईं (स्थापित पत्रकार), ऋषि आजाद (अध्यक्ष, लुम्बिनी वाङ्मय प्रतिष्ठान) र बिनबहादुर कुँवर (वामपन्थी विश्लेषक) ले टिप्पणी गर्नुभएको थियो । सुझावहरू पर्याप्त प्राप्त भए पनि अवधारपत्रको वैचारिकतामाथि प्रश्न नउठेकाले यहाँ सुझावहरू समावेश गरिएको छैन– लेखक ।)
