ऐतिहासिक कोसेढुङ्गा ः पुष्पलाल माक्र्सवादी विश्वविद्यालय

पूर्णबहादुर सिंह ‘समरजङ्ग’
प्रारम्भ 
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको पहल, बहस र सङ्घर्षको प्रारम्भ एउटा ऐतिहासिक कोसेढुङ्गा हो । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको स्थापनाको उद्देश्य माक्र्सवाद–लेनिनवाद–माओवाद र वैज्ञानिक समाजवादसम्बन्धी ज्ञान, अनुसन्धान, अध्ययन र प्रशिक्षणमार्फत वैज्ञानिक, क्रान्तिकारी चेतना र विचारको विकास गर्नु हो । आजको विश्वमा साम्राज्यवादी एवम् नवऔपनिवेशिक पुँजीवादी शोषण, उत्पीडन र दमनको व्यापक प्रभाव परिरहेको अवस्थामा वैज्ञानिक दृष्टिकोणको अपरिहार्य आवश्यकता छ । यस सन्दर्भमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय एउटा वैचारिक, सैद्धान्तिक र व्यावहारिक सङ्घर्षको शैक्षिक केन्द्र बन्नेछ ।
विषय प्रवेश
पुँजीवादका हिमायती एवम् विश्लेषकहरूले उत्तरआधुनिकतावाद, विश्वसाम्राज्यवाद, नवऔपनिवेशिक पुँजीवादले अघि सारेको विचार र दृष्टिकोण डानियल बेलबाट सुरु भएर र फ्रान्सिस फुकोयामाको ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ भन्ने थोत्रो किताबमा समाजवाद सत्ताका लागि पराजित भएको भ्रमपूर्ण एवम् हावादारी निष्कर्ष निकाल्दै ‘इतिहासको अन्त्य’, ‘विचारधारात्मक युगको अन्त्य’ र ‘संसदीय व्यवस्थाको विजय’ भएको घोषणा गरे । पुँजीवादमा विकास भएका अर्थ–राजनीतिक अन्तरविरोध एवम् सङ्कटलाई समाधान दिन नसकेपछि राज्यको क्रान्तिकारी एवम् अग्रगामी रूपान्तरणका लागि कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा वैज्ञानिक समाजवादी– साम्यवादी राजनीतिक व्यवस्थाको अनुसन्धान भएको थियो जुन अनुसन्धानले मानव जातिको इतिहासमा अभूतपूर्व प्रभाव पारेको थियो । त्यसले नै पुँजीवादको समाधान पनि दियो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनमा रूढिवादी, कट्टरतावादी, नवसंशोधनवादी, संसद्वादी धारा एकातिर र अर्कातिर क्रान्तिकारी धारा र प्रवृत्तिबीच भीषण सङ्घर्ष चलिरहेको छ । नवऔपनिवेशिक पुँजीवादले ‘कम्युनिस्टका विरुद्ध कम्युनिस्ट’, ‘रातो झन्डाका विरुद्ध रातो झन्डा’ र ‘समाजवादका विरुद्ध समाजवाद’ को नीतिमा आफ्ना दलालहरूको परिचालन र प्रयोग गरिरहेको छ । सम्पूर्ण षड्यन्त्र र घुसपैठलाई परास्त गरौँ । कम्युनिस्ट पार्टीले श्रमिक वर्ग, आम उत्पीडित जनताको नेतृत्व गर्न, विषालु हावाका विरुद्ध विपरीत धारमा खडा भएर सङ्घर्ष गर्न र विजय हासिल गर्न सक्नु पर्दछ ।
पुष्पलाल माक्र्सवादी विश्वविद्यालय एउटा विशिष्ट विश्वविद्यालय हो । यो एउटा आन्दोलन, अभियान र क्रान्ति पनि हो । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयका बारेमा बहसको प्रारम्भमा कार्ल माक्र्स र कमरेड पुष्पलालको ऐतिहासिक योगदान एवम् भूमिकालाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणद्वारा बुझ्न जरुरी छ । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको प्रस्तावना एवम् अवधारणाका बारेमा बहसको प्रारम्भ पनि कार्ल माक्र्स र कमरेड पुष्पलालको ऐतिहासिक योगदान एवम् भूमिकाबाट नै गरिनुपर्छ ।
सन् १८४४ मा महान् माक्र्सले पहिलोपटक आफ्नो विचारधारा प्रस्तुत गर्नुभयो । सन् १८४८ मा माक्र्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रले पूर्ण एवम् क्रमबद्ध विचारधारा प्रस्तुत ग¥यो । पुँजीवादी तथा साम्राज्यवादी दर्शनले शोषण–उत्पीडनको रक्षा गर्दछ भने माक्र्सवादले शोषण उत्पीडनका विरुद्ध कठोर सङ्घर्ष गरेको छ । माक्र्सको महानता नै केमा छ भने प्रगतिशील मानवतासमक्ष रहेका प्रश्नको सही उत्तर दिनुभएको छ । दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका महानतम् प्रतिभाहरूको शिक्षाको प्रत्यक्ष र सन्निकट क्रमका रूपमा उहाँको सिद्धान्तको प्रादुर्भाव भएको हो । यो सर्वशक्तिमान, सत्य, सम्पूर्ण र सुसङ्गत छ । यसले मानिसहरूलाई विचारधारा प्रदान गरेको छ । यो कुनै पनि अन्धविश्वास, प्रतिक्रियावाद र पँुजीवादी उत्पीडनको घोर विरोधी छ । माक्र्सको दर्शन–भौतिकवादले युरोपको सम्पूर्ण नवीन इतिहासको अवधि विशेषतः १८ औँ शताब्दीको अन्त्यमा फ्रान्समा मध्ययुगीन अवशेषहरू, विचारधारा र संस्थाहरूमा भूदासप्रथाविरुद्ध निर्णायक सङ्ग्राम चालु थियोे । प्राकृतिक विज्ञानको शिक्षाअनुकूल, अन्धविश्वास र अशिक्षाको प्रतिकूल दर्शन भौतिकवाद नै साबित भयो । प्रजातन्त्रका शत्रुहरूले भौतिकवादको खण्डन गर्नमा, मूलोच्छेदन गर्नमा, झूटो आरोप लगाउनमा समस्त शक्ति लगाएर दार्शनिक अध्यात्मवादका विभिन्न रूपको समर्थन गरेर धर्मको रक्षा र पुष्टि गरेका थिए । माक्र्सले विशेषतः १८ औँ शताब्दीको भौतिकवादमा सीमित नभएर दर्शनशास्त्रलाई विकसित तुल्याउनुभयो । माक्र्सले जर्मन आदर्शवादी दर्शनका उपलब्धिहरूद्वारा विशेषतः हेगेलको प्रणालीद्वारा समृद्ध तुल्याउनुभयो जसद्वारा फायरबाखको भौतिकवादको अभ्युत्थान भएको थियो । द्वन्द्ववाद अर्थात्् यथासम्भव पूर्ण, गहन र एकोहोरोपनबाट मुक्त विकाससम्बन्धी शिक्षा, मानव ज्ञानको सापेक्षतासम्बन्धी शिक्षा जसले सततः विकासवान् जड वस्तुको प्रतिबिम्बन प्रदान गर्छ । पुरानो सडिसकेको अध्यात्मवादलाई नयाँ रूप दिने बुर्जुवा दार्शनिकहरूको शिक्षाका विरुद्ध रेडियम, इलेक्ट्रोन तŒवहरूको रूपान्तरणजस्ता विज्ञानका नवीन आविष्कारहरूले माक्र्सको द्वन्द्वात्मक भौतिकवादको दृढतापूर्वक पुष्टि गरे । माक्र्सले भौतिकवादी दर्शनलाई गहन र विकसित तुल्याउँदै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रकृति विज्ञानलाई मानव समाजको ज्ञानमा पनि प्रयोग गर्नुभयो ।
इतिहाससम्बन्धी दृष्टिकोणहरूमा अहिलेसम्म रहेको अराजकता र स्वेच्छाचारिता आश्चर्यजनक रूपले सामञ्जस्यपूर्ण र वैज्ञानिक सिद्धान्तमा बदलिए । सामाजिक जीवनको कुनै एक व्यवस्था उत्पादनमा वृद्धिको फलस्वरूप अर्को, अझ उच्चस्तरको व्यवस्थामा विकसित हुन्छ भन्ने सिद्ध भयो । जस्तै सामन्तवादबाट पुँजीवादको जन्म भयो । मानवज्ञानले उसबाट स्वतन्त्र रहेको प्रकृतिको अस्तित्वलाई अर्थात् विकसित वस्तुलाई प्रतिबिम्बित गर्छ, ठीक त्यस्तै विभिन्न विचारधारा, दार्शनिक, धार्मिक, राजनीतिक शिक्षा इत्यादि सामाजिक ज्ञानले समाजको आर्थिक ज्ञानलाई प्रतिबिम्बित गर्छ ।
माक्र्सको राजनीतिक अर्थशास्त्रले आर्थिक व्यवस्था त्यो जग हो जसमा राजनीतिक व्यवस्था आधारित हुन्छ । माक्र्सभन्दा पहिला राजनीतिक अर्थशास्त्रको अभ्युदय सबभन्दा पुँजीवादी राष्ट्र बेलायतमा भएको थियोे । एडमस्मिथ र डेभिड रिकार्डोले आर्थिक प्रणालीको अनुसन्धान गर्दै मूल्यसम्बन्धी श्रम सिद्धान्तको प्रतिपादन गरेका थिए । माक्र्सले प्रत्येक वस्तुको मूल्य त्यस वस्तुको उत्पादनमा खर्च गरिने आवश्यक सामाजिक श्रम अवधिको परिणामबराबर हुन्छ भन्ने प्रमाणित गर्नुभयो । बुर्जुवा अर्थशास्त्रीहरूले पदार्थहरूको सम्बन्ध (वस्तु विनिमय) मात्र देखेका थिए । मानिसहरूबीचको सम्बन्धको रहस्योद्घाटन गर्नुभयो । वस्तु विनिमयद्वारा बजारको माध्यमबाट विभिन्न उत्पादकहरूको सम्बन्ध अभिव्यक्त हुन्छ । मुद्राको अर्थ यो सम्बन्ध झन् दृढतर हुँदैछ । विभिन्न उत्पादकहरूको समस्त आर्थिक जीवन अटुट रूपले एक पूर्णत्वमा सुगठित हुँदैछ ।
मानवको श्रमशक्ति पनि वस्तुमा परिणत हुन जान्छ । मजदुरले भूमि, कलकारखाना तथा श्रम साधनको मालिकलाई आफ्नो श्रम शक्ति बेच्छ । मजदुरले श्रमदिनको एक भाग ज्याला आफू र आफ्नो परिवारको भरणपोषणमा खर्च गर्छ र अर्कोचाहिँ भाग सित्तैँमा काम गर्नुपर्ने हुन्छ जसद्वारा नै पँुजीपतिको निमित्त अतिरिक्त मूल्यको सिर्जना हुन्छ जुन नाफा र पँुजीपतिको सम्पन्नताको स्रोत हो । अतिरिक्त मूल्यको सिद्धान्त नै माक्र्सको आर्थिक सिद्धान्तको आधारशिला हो । मजदुरको श्रमद्वारा सिर्जित पुँजीले मजदुरलाई नै दबाउँछ र मध्यम वर्गलाई दरिद्र तुल्याउँदै बेकारीहरूको जमात खडा गर्छ । उद्योग, कृषिमा बृहत् उत्पादन तत्कालै देखिन्छ । विशालतम् पँुजीवादी कृषि व्यवस्थाको महŒव, मेसिनको प्रयोग, किसानको खेत पुँजीको पासोमा अल्झँदै र पिछडिएको प्रविधिले उसको टाट उल्टिँदै जान्छ । लघु उत्पादनलाई ढालेर पुँजीले श्रमको उत्पादकत्व बढाउन थाल्छ र ठूल्ठूला पुँजीपतिहरूको सङ्घको एकाधिकार स्थापना गर्छ । उत्पादनले बढीभन्दा बढी सामाजिक रूप लिँदै जान्छ । लाखौँ–करोडौँ मजदुरहरू सुनियोजित आर्थिक अङ्गमा एकत्रित हुँदै जान्छन् । सामूहिक श्रमद्वारा वस्तुमा मुठीभर पुँजीपतिहरूको आधिपत्य कायम रहन जान्छ । उत्पादनमा अराजकता, आर्थिक सङ्कट, बजारका निमित्त होडबाजी बढ्दै जान्छ र आम श्रमिक जनसमुदायको अस्तित्व नै साधनहीन बन्न जान्छ । मजदुरहरूलाई पुँजीमाथि बढी निर्भर तुल्याएर पँुजीवादी व्यवस्थाले सम्मिलित श्रमको महान्् शक्ति निर्माण गर्छ । माक्र्सले वस्तु उत्पादनको प्रारम्भिक लक्षण साधारण वस्तु विनिमयदेखि पँुजीवादी विकासको उच्चतम रूप बृहत् उत्पादनसम्मको विश्लेषण र संश्लेषण गर्नुभयो । पँुजीवादले विश्वमा सबै कब्जा गरेको छ । यो पँुजीमाथि श्रमको विजयको सङ्घार मात्र हो ।
माक्र्सको वैज्ञानिक समाजवादले सामन्तवादको मूलोच्छेदन ग¥यो र कथित स्वतन्त्र पुँजीवादी समाजको जन्म भयो । यसको अर्थ पनि श्रमिकहरूको शोषण–उत्पीडनको नयाँ तरिका मात्र हो । यो शोषण उत्पीडन र विरोधको प्रतिबिम्बका रूपमा विभिन्न प्रकारका समाजवादी सिद्धान्तहरूको प्रादुर्भाव भएको थियोे । काल्पनिक समाजवादले पुँजीवादी समाजको आलोचना, विरोध, भत्र्सना गरेको थियो र शोषण गर्नु अनैतिक कार्य हो भन्ने कुरामाथि धनीहरूलाई विश्वास दिलाउने प्रयास गरेको थियो । यसले वास्तविक मार्गनिर्देशन, श्रमिक दासत्वको सार बताउन, विकासको नियम बुझाउन र सामाजिक शक्तिको रहस्य एवम् भेदको अवगत गर्न सकेन ।
माक्र्सको वर्गसङ्घर्षको सिद्धान्तले वर्गसङ्घर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो । माक्र्सले जबसम्म मानिसहरूले हरप्रकारका नैतिक, धार्मिक, राजनीतिक, सामाजिक प्रचार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजीनीति गर्न जान्ने छैनन् तबसम्म उनीहरूले राजनीतिमा सधैँ नै धोकाबाजीको सिकार बनिरहनु पर्नेछ । हरेक प्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतीत भए पनि, कुनै न कुनै सत्तारूढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका सुधारवादीहरूलाई मूर्ख बनाइरहेकै हुन्छन् भन्नुभयो । माक्र्सले यी वर्गहरूको प्रतिरोध गर्ने एउटा मात्र साधन समाजभित्र त्यस्ता शक्तिहरूको खोजी गर्नु, सङ्घर्षका निमित्त तिनलाई शिक्षित गर्नु, सङ्गठित पार्दै लैजानु र जसले पुरानोको मूलोच्छेदन गरेर नयाँको निर्माण गर्नसक्ने शक्तिको विकास हुन्छ भन्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलालको ऐतिहासिक, क्रान्तिकारी र मार्गदर्शक महŒवपूर्ण भूमिका रहेको छ । कमरेड पुष्पलालले माक्र्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद र नेकपाको घोषणापत्र लेखन गर्नुभयो । कमरेड पुष्पलालले कम्युनिस्ट विचारधारालाई संस्थागत गर्दै वैज्ञानिक समाजवादको बीउ रोप्ने, त्यसको सङ्गठनात्मक रूप दिने र त्यसलाई आम जनतासम्म पु¥याउने अविस्मरणीय योगदान गर्नुभयो । कमरेड पुष्पलाल नेकपाको संस्थापक, मालेमाको प्रचारक, सङ्गठन एवम् कार्यदिशा निर्माण, राजनीतिक जागरण र राष्ट्रिय आन्दोलनमा सहभागी चिन्तक, लेखक र नेता हुनुहुन्थ्यो । कमरेड पुष्पलालको बहुआयामिक व्यक्तित्वका बारेमा न कुनै अतिरञ्जना, न कुनै न्यूनीकरण वाञ्छित छैन । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको मूल लक्ष्य मालेमाको अध्ययन, अनुसन्धान, सही प्रयोग र विकास तथा आम श्रमिक जनतालाई उच्चस्तरको वैज्ञानिक, प्राविधिक र व्यावहारिक ज्ञान प्रदान गर्ने हो ।
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयका आधारहरू
  • पहिलो, वैज्ञानिक दृष्टिकोण निर्माण– माक्र्सवाद इतिहासको वैज्ञानिक व्याख्या हो जसले वर्गसङ्घर्ष र भौतिक उत्पादन सम्बन्धमा आधारित समाज विकासको नियमलाई प्रस्तुत गर्छ । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले वैज्ञानिक पद्धति, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित शिक्षण–अध्ययन गर्नेछ ।
  • दोस्रो, वर्गदृष्टिकोण निर्माण– शिक्षा वर्गनिरपेक्ष हुँदैन । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले श्रमिक, किसान र श्रमजीवी वर्गका पक्षको शिक्षा प्रदान गर्नेछ । वर्गचरित्रअनुसार ज्ञानको मूल्याङ्कन र उत्पादन गरिनेछ ।
  • तेस्रो, क्रान्तिकारी आलोचनात्मक–सिर्जनात्मक अध्ययन– माक्र्सवाद स्थिर सैद्धान्तिक ढाँचा होइन, यो निरन्तर आलोचना र व्यावहारिक प्रयोग एवम् परीक्षणको प्रक्रिया हो । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयमा सबै ज्ञान, प्रविधि र विचारहरूको क्रान्तिकारी आलोचनात्मक मूल्याङ्कन र त्यसको सिर्जनात्मक विकास गरिनेछ ।
  • चौथो, क्रान्तिकारी एवम् वैज्ञानिक चेतनाको विकास– शिक्षाको लक्ष्य केवल ज्ञान हस्तान्तरण होइन, समाज रूपान्तरण हो । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले आम श्रमिक जनता, विद्यार्थी, शिक्षक र शोधकर्तालाई क्रान्तिकारी चरित्र र सामाजिक रूपान्तरणमा सक्रिय सहभागी हुन प्रेरित गर्नेछ ।
  • पाँचौँ, उत्पादनसँग जोडिएको शिक्षा– मालेमावादी अवधारणामा शिक्षा र श्रम छुट्टाछुट्टै हुँदैन । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले ज्ञान र उत्पादनलाई सामाजिक उत्पादनसँग जोड्ने र श्रमसँग शिक्षालाई संयोजन गर्ने कार्यदिशा अवलम्बन गर्नेछ ।
  • छैटौँ, जनमुखी संरचना– पुष्पलाल माक्र्सवादी विश्वविद्यालय आम श्रमिक जनताको पहुँचमा हुने गरी सञ्चालन हुनेछ । वर्गीय, लैङ्गिक, जातीय, भाषिक र क्षेत्रीय रूपमा उत्पीडित समुदायको सहयोग, सहभागिता र प्रतिनिधित्व गरेर सङ्गठनात्मक संरचना निर्माण गरिनुपर्छ । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको संरचना, पाठ्यक्रम, सङ्गठनात्मक स्वरूप तथा कार्यगत योजनाहरू निम्नानुसार हुनुपर्छ ः
क) संरचना– पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको संरचना वैज्ञानिक समाजवाद, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा र वर्गसङ्घर्षको सिद्धान्तमा आधारित हुन्छ । यस विश्वविद्यालयको संरचना मुख्यतया चार तहमा विभाजित हुन सक्छ ः
  • अ) केन्द्रीय निर्देशन समिति– पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको नीतिगत, वैचारिक तथा रणनीतिक नेतृत्व गर्ने निकाय केन्द्रीय निर्देशक समिति हुनेछ । यसमा उच्च तहका क्रान्तिकारी बुद्धिजीवी, पार्टी प्रशिक्षक तथा नेताहरू रहने व्यवस्था गरिनुपर्छ ।
  • आ) शैक्षिक परिषद्– शैक्षिक परिषद्ले पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको समग्र पाठ्यक्रम निर्माण, संशोधन र मूल्याङ्कनको जिम्मा लिनेछ । शैक्षिक परिषद्ले विभिन्न विभाग (दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, वर्गसङ्घर्ष, इतिहास आदि) समेट्नेछ ।
  • इ) प्रशासनिक विभाग– यसले पुष्पलाल माक्र्सवादी विश्वविद्यालय सञ्चालन, विद्यार्थी व्यवस्थापन, स्रोतसाधन व्यवस्थापन, पुस्तकालय, आवास आदि जिम्मेवारी एवम् भूमिका निर्वाह गर्नेछ ।
  • ई) विद्यार्थी सङ्गठन एकाइहरू– विद्यार्थीहरूका विचार विमर्श, अध्ययन मञ्च, समूह तथा प्रक्षेपण केन्द्र हुनेछन् ।
  • सातौँ, पाठ्यक्रम– पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको पाठ्यक्रम एवम् विषयवस्तुहरू ः
    • क) माक्र्सवाद–लेनिनवाद–माओवाद– सिद्धान्त, इतिहास, व्याख्या र आधुनिक सन्दर्भ, दास समाजदेखि समकालीन विश्वसाम्राज्यवादसम्मको विकासको अध्ययन एवम् अनुसन्धान गर्ने ।
    • ख) वर्गसङ्घर्षको इतिहास– विश्वका वर्गसङ्घर्षका अनुभव र शिक्षा तथा नेपाललगायत दक्षिणएसियाली सन्दर्भमा वर्गसङ्घर्ष र जनक्रान्तिका विषयमा अध्ययन एवम् अनुसन्धान गर्ने ।
    • ग) राजनीतिक अर्थशास्त्र– विश्वसाम्राज्यवाद एवम् नवऔपनिवेशिक पुँजीवादको क्रान्तिकारी आलोचना, विरोध एवम् प्रतिरोध, श्रमसिद्धान्त, शोषणको चरित्र र समाजवादी उत्पादन सम्बन्धहरूको स्वरूपको अध्ययन एवम् अनुसन्धान गर्ने ।
    • घ) दर्शन ः द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, ज्ञान र चेतनाको विकासको अध्ययन एवम् अनुसन्धान गर्ने ।
    • ङ) क्रान्तिकारी रणनीति र कार्यनीति– वैज्ञानिक समाजवाद प्राप्तिका खातिर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र नयाँ क्रान्तिको स्वरूप, मार्गचित्र निर्माण, क्रान्तिका प्रेरक शक्ति, निशाना र अभिभाराको अध्ययन एवम् अनुसन्धान गर्ने ।
    • च) आधुनिक चुनौतीहरू– विश्वसाम्राज्यवाद एवम् नवऔपनिवेशिक पुँजीवादको, सूचनाप्रविधिको विकास एवम् प्रभाव, जलवायु सङ्कट, पहिचानको राजनीति आदिमा माक्र्सवादी विश्लेषण, अध्ययन एवम् अनुसन्धान गर्ने ।
आठौँ, सङ्गठनात्मक स्वरूप– पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्वायत्त, सामूहिक र केन्द्रित जनवादका आधारमा सञ्चालित हुन्छ । प्रत्येक तहमा सामूहिक निर्णय प्रक्रिया अपनाइन्छ । सङ्गठनात्मक अनुशासन, क्रान्तिकारी आलोचना–आत्मालोचना अनिवार्य हुन्छ ।
नवौँ, विभागीय एकाइहरू– वर्गीय अध्ययन विभाग, कला–साहित्य विभाग, वैचारिक एवम् राजनीतिक प्रशिक्षण विभाग र अनुसन्धान तथा दस्तावेजीकरण विभाग आदि हुनेछन् ।
दसौँ, कार्यगत योजनाहरू
  • क) सैद्धान्तिक प्रशिक्षण कार्यक्रमहरू– प्राथमिक, माध्यमिक र उच्च (आधारभूत, मध्यम र उच्च) तहका प्रशिक्षण, अध्ययन र अनुसन्धान तथा नेता–कार्यकर्ताहरूका लागि विशेष पाठ्यक्रम हुनेछ ।
  • ख) शोध र अध्ययन कार्य– समाज, वर्गीय संरचना र उत्पादन सम्बन्धको अध्ययन । विश्वसाम्राज्यवाद, नवऔपनिवेशिक पुँजीवादी सङ्कट आदिमा अध्ययन र अनुसन्धान गर्ने ।
  • ग) प्रचार–प्रशिक्षण सामग्री निर्माण– पुस्तिका, म्यागजिन, डिजिटल भिडियो सामग्री निर्माण गर्ने । विचारगोष्ठी र कार्यशाला आदि गर्ने ।
  • घ) जनसम्बन्ध विस्तार– स्थानीय जनसमुदायमा विचार फैलाउने, मजदुर, किसान, महिला, युवामाझ राजनीतिक शिक्षा प्रदान गर्ने ।
  • ङ) अन्तरक्रियात्मक कार्यक्रमहरू– अन्तर्राष्ट्रिय स्तरमा क्रान्तिकारी सहकार्य एवम् ऐक्यबद्धता गर्ने, गोष्ठी, सेमिनार, विचारगोष्ठी आयोजना गर्ने ।
निष्कर्ष
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको आवश्यकता, सम्भावना र चुनौतीका विषयमा गम्भीर बहस, अवधारणा निर्माण, पाठ्यक्रम निर्माण र कार्यान्वयन जरुरी छ । मालेमावादका सङ्घटक अङ्गहरू दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यस विश्वविद्यालयको मुख्य खोज, अध्ययन, अनुसन्धान र प्रयोगका विषय हुन् । यो विश्वविद्यालयको मुल लक्ष्य मालेमाको अध्ययन, अनुसन्धान, सही प्रयोग र विकास तथा आम श्रमिक जनतालाई उच्चस्तरको वैज्ञानिक, प्राविधिक र व्यावहारिक ज्ञान प्रदान गर्ने हो । आजको विश्वमा साम्राज्यवादी एवम् नवऔपनिवेशिक पुँजीवादी शोषण, उत्पीडन र दमनको व्यापक प्रभाव परिरहेको वर्तमान परिस्थितिमा वैज्ञानिक दृष्टिकोणको अपरिहार्य आवश्यकता छ । यस सन्दर्भमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय एउटा वैचारिक, सैद्धान्तिक र व्यावहारिक सङ्घर्षको शैक्षिक केन्द्र एवम् ऐतिहासिक कोसेढुङ्गा हुनेछ ।
३२ असार, २०८२
(लेखक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव हुनुहुन्छ ।)