विदेश मामिलामा क. पुष्पलालका योगदान

हिरण्यलाल श्रेष्ठ

१) नेपालको परराष्ट्र नीति निर्माणमा क. पुष्पलालको योगदान

१. विषय–प्रवेश
१.१ राणाशाहीको परराष्ट्र नीति
राणाकालको परराष्ट्र नीति एङ्ग्लो–अमेरिकी साम्राज्यवादपरस्त थियो । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले माक्र्स–एङ्गेल्सको विश्व प्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’ नेपालीमा अनुवाद गरी प्रकाशित गरेको पुस्तकको भूमिकामा लेख्नुभएको थियो, ‘नेपाली जनताको दुश्मन केवल नेपाली सामन्त राणा मात्र होइन, वास्तवमा यी सामन्त राणालाई भरोसा टेवा दिने भारतीय पूँजीपति र विश्व प्रतिक्रियावादीहरूको नेता एंग्लो–अमेरिकी साम्राज्यवाद पनि हो ।’ यसरी नेपाली भाषामा अनूदित यो नै पहिलो माक्र्सवादी साहित्य हो । यसको भूमिकामा देखाइएको नेपाली जनताका मूल शत्रु राणाका पृष्ठपोषक एङ्ग्लो–अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारवादी पुँजीको विस्तारवाद हो, त्यसको विरोध गरौँ भन्ने वैकल्पिक सोच हो । यो वैकल्पिक सोच प्रचार–प्रसार नभएको भए २००७ सालपछिको नेपालको परराष्ट्र नीति असंलग्न हुने थिएन ।

१.२. वैकल्पिक परराष्ट्र नीति
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि प्रकाशित २२ अप्रिल १९४९ को प्रथम पर्चामा उल्लिखित नारामा यस्तो लेखिएको थियो– ‘सामन्त शासन व्यवस्थालाई चकनाचूर गर, विदेशी साम्राज्यवाद र भारतीय पूँजीवादको घेरा र प्रभावदेखि अलग होऊ ।’ नेपाल कम्युनिस्ट पार्टीबाट सन् १९४९ सेप्टेम्बर १५ मा प्रकाशित घोषणापत्रमा परराष्ट्र नीतिसित अन्तर्सम्बन्धित हुन आउने निम्न बुँदाहरू उल्लेख गरिएका थिए–

  • १. सामन्तवादी निरङ्कुश राजा सत्ता र विदेशी शोषणको जुवालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपमा स्वतन्त्र गराउने मजदूर ।
  • २. पसिना चुहाउने किसान र शोसित तथा दलित निम्नवर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने । अंग्रेज अमेरिकन साम्राज्यवादीहरूसँग नाता तोड़ी सबै जाति (राष्ट्र) को स्वतन्त्रता र शान्तिका निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग नाता जोड्ने प्रस्तुत मागहरूमा ‘विदेशी साम्राज्यवादी देशहरूको फौजमा रहेका हाम्रा खसम र छोराहरू फिर्ता देऊ, नेपाललाई स्वतन्त्र, नेपालका जनताको प्रजातन्त्र’ भन्ने नारासमेत समावेश गरिएका थिए । नेपालका कम्युनिस्टहरूले २००७ सालको क्रान्तिमा भाग लिएका थिए । तर भारतको मध्यस्थतामा राजा, राणा र काङ्ग्रेसबीच क्रान्तिलाई बीचैमा सम्झौतामा टुङ्ग्यायो । उक्त धोखापूर्ण दिल्ली सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले ‘दिल्ली सम्झौता धोखा हो’ भनी राजनैतिक अभियान चलायो । त्यसैबेलादेखि आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्ने प्रचलन चल्यो ।

२. परराष्ट्र नीतिबारेको सोच
क. पुष्पलालले परराष्ट्र नीतिबारेको सोच विभिन्न दस्तावेजहरूमा प्रस्तुत गर्नुभएको देखिन्छ । उहाँका ती सोचहरूलाई निम्न बुँदाहरूमा प्रस्तुत गरिन्छ–

  • २.१ साम्राज्यवादको विरोध– क. पुष्पलालले एङ्ग्लो–अमेरिकी साम्राज्यवादको विरोध प्रस्ट रूपमा गर्दै आउनुभयो । उहाँले नेपाल–अङ्ग्रेज युद्धपछिको सुगौली सन्धिको समीक्षा गर्दै लेख्नुभयो– नेपालमाथि सन् १८१६ मा सुगौली सन्धि लादियो । त्यस सुगौली सन्धिको फलस्वरूप नेपालमा अङ्ग्रेजी दूतावास रहने भयो र नेपालमै अङ्ग्रेजी साम्राज्यवादको अनुमतिबिना अन्य कुनै शक्तिसँग सम्बन्ध राख्न नपाउने भयो । नेपालले आफ्नो इतिहासमा पहिलोपटक आफ्नो प्रभुसत्तामा आँच आएको देख्नुप¥यो । दरबारभित्र गुट–उपगुटबीचका विभाजन र द्वन्द्वहरूमा अङ्ग्रेज साम्राज्यवादी शक्तिले खेल्ने र खेलाउने मौका पाए । कोतपर्वपछि राणाशाहीको उदय भयो । अङ्ग्रेजको आशीर्वाद पाएको राणाशाहीले ‘अङ्ग्रेजी साम्राज्यवादको फैलावट र टिकाउमा नै आफ्नो अस्तित्व देख्दथ्यो ।’ यसरी समीक्षा गर्ने क. पुष्पलालले साम्राज्यवादविरुद्ध जीवनभर सङ्घर्ष गर्नुभयो ।
  • २.२ भारतीय एकाधिकार पुँजी विस्तारको विरोध– नेपालको अर्थतन्त्रमा राष्ट्रिय पुँजीको विकास हुन थाल्दा सन् १९०४ मा चन्द्रशमशेरले अङ्ग्रेजलाई तिब्बतमा व्यापार विस्तार गर्न नेपाल भएर जाने बाटोको बदला सिक्किमको बाटो खुलाउन योङ हस्ब्यान्ड मिसनलाई सहयोग गरेको मात्र होइन, नेपालभित्र भारतीय पुँजीपतिहरूलाई प्रवेश गर्न दिए । त्यसै बेलादेखि भारतीय एकाधिकार पुँजी विस्तारको क्रम सुरु भयो । क.पुष्पलालको शब्दमा नेपाली सामन्तको स्वार्थ अंग्रेजी साम्राज्यवादका अतिरिक्त भारतीय एकाधिकार पूँजीसँग पनि अभिन्न रूपले गाँसिन पुग्यो ।
  • २.३ गोरखा भर्तीको विरोध– नेपाल–अङ्ग्रेज युद्धको बेला नै गोरखाली युद्धबन्दीहरूलाई ब्रिटिस–भारतीय सेनामा सङ्गठित ग¥यो । पछि राणाकालमा औपचारिक रूपमा गोरखा भर्ती गर्ने सम्झौता गरे । यसरी एसियालीविरुद्ध एसियालीलाई प्रयोग गर्ने अङ्ग्रेजको नीति कार्यान्वयन भयो । प्रथम र दोस्रो विश्वयुद्धमा समेत गोरखाली सेनाको प्रयोग भयो । नेपाल अमेरिकासँग पनि युद्धहरूमा जोडिन पुग्यो । सन् १९४९ मा भारत, बेलायत र नेपालबीच त्रिपक्षीय सम्झौता गरी गोरखाली सेनाको बाँडफाँट भयो । क.पुष्पलालले गोरखा भर्तीको निरन्तर विरोध गर्नुभयो ।
  • २.४ अन्तर्राष्ट्रिय मित्रशक्तिहरूको पहिचान– क. पुष्पलाले नयाँ जनावादी कार्यक्रममा अन्तर्राष्ट्रिय मित्रशक्तिहरूको प्रस्ट उल्लेख गर्नुभएको छ । उहाँकै शब्दमा, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ जनवादी क्रान्तिका मित्रशक्तिहरू अ. विश्व समाजवादी व्यवस्था, अन्तर्राष्ट्रिय मजदुर आन्दोलन । आ.नवजात राष्ट्रका जनवादी आन्दोलन विशेषगरी भारतीय जनवादी आन्दोलन, इ. प्रवासी नेपालीहरू पनि जनवादी क्रान्तिका सहायक शक्ति हुन् ।’ यसै आधारमा उहाँले समाजवादी देशहरूसँग सम्बन्ध गाँस्न आह्वान गर्नुभयो । भारतीय जनवादी शक्तिहरूसँग सम्पर्क र सहयोग बढाउनुभयो ।
  • २.५ असमान सन्धिहरूको विरोध– क.पुष्पलालले विदेशीहरूसँग नेपालले गरेका असमान सन्धिहरूको खारेज गर्न माग गर्नुभयो ।
    सन् १९४७ को गोरखा भर्ती सन्धि, सन् १९५० को नेपाल–भारत मैत्री सन्धि, व्यापार र पारवहान सन्धिहरूको विरोध गर्नुभयो । व्यापार र पारवहन सन्धिलाई अलग गर्नुपर्ने विचार प्रकट गर्नुभयो । ‘व्यापार तथा वाणिज्य नीति अस्थायी हुन्छ, तर पारवहनको नीति स्थायी हुन्छ ।’ कसैसँग विशेष सम्बन्ध हैन सबैसित समान सम्बन्ध गाँस्नुपर्छ पनि भन्नुभएको छ ।

३. कार्यान्वयन गर्ने संयन्त्र र माध्यमहरू

  • ३.१ पार्टीको संयन्त्र– क.पुष्पलालले पार्टीका केन्द्रीय तहका बैठक, सम्मेलन, प्लेनम र अधिवेशनहरूमा प्रस्तुत दस्तावेजहरूमा सन्दर्भअनुसार परराष्ट्र नीतिबारे उल्लेख गर्नुभएको छ । कार्यान्वयन गर्दा स्थानीय तह र समितिहरूलाई परिचालन गरी सडकबाट समेत दबाब दिनुभएको छ ।
  • ३.२ संयुक्त मोर्चाबाट दबाब परिचालन– परराष्ट्र मामिलाका मुद्दाहरूलाई कार्यान्वयन गराउन बेलाबखत संयुक्त मोर्चाहरू गठन गरेका उदाहरणहरू पनि छन् । क. पुष्पलालकै पहलमा नेपाल कम्युनिस्ट पार्टी र प्रजापरिषद्बीच ‘जातीय जनतान्त्रिक संयुक्त मोर्चा’ गठन गरी त्यसमा जनवर्गीय सङ्गठनहरूलाई समेत समावेश गरी नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपविरुद्ध आन्दोलनसमेत सञ्चालन गरिएको थियो ।
  • ३.३ जनवर्गीय सङ्गठनहरूमार्फत अभियान– क.पुष्पलालको पहलमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनहरू निर्माण र सञ्चालन गरिएका थिए । अखिल नेपाल किसान सङ्घ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन, नेपाल युवा सङ्घ, अ.ने.रा.ट्रेड युनियन, नेपाल योङ कम्युनिस्ट लिगजस्ता जनवर्गीय र भ्रातृ सङ्गठनहरू गठन गरी आफ्ना भगिनी सङ्गठनहरूमार्फत विविध सवालहरू उठाउनुका साथै दिल्ली सम्झौताको र असमान सन्धिहरूको विरोध गराएको थियो ।
  • ३.४ भाइचारा पार्टीहरूमार्फत– क.पुष्पलालले भाइचारा पार्टीहरूसँग सम्बन्ध गाँसेर खासगरी कम्युनिस्ट सरकार भएका देशहरूसित ती पार्टीहरूमार्फत त्यहाँका सरकारहरूलाई नेपालसँग औपचारिक दौत्य सम्बन्ध स्थापना गर्न पहल गरेको पनि उल्लेखनीय छ । भारतका पार्टीहरूसँग सम्पर्क गरी त्यहाँको सरकारलाई नेपालमाथि अन्याय नगर्न सुभाव दिनसमेत पहल गरिएको थियो ।
  • ३.५ संसद्मार्फत– क. पुष्पलालको पहलमा २०१५ सालको आमनिर्वाचनबाट स्थापित संसद्मा आफ्नो पार्टीका सांसदहरूलाई परराष्ट्र विषयमा बोल्न लगाइएको थियो । पार्टीको संसदीय समिति बनाएर सन्दर्भ सामग्री जुटाइएको थियो । संसदीय समितिको सचिवमा क. लक्ष्मण राजवंशीलाई नियुक्त गरिएको थियो । कोसी, गण्डक सम्झौताहरूको विरोध, डाल्डा घ्यूको आयातको विरोधजस्ता धेरै राष्ट्र र जनहितका सवालहरू उठाउन लगाइएको थियो ।
  • ३.६ विशेषीकृत संस्थाहरूको स्थापना– क. पुष्पलालको पहलमा परराष्ट्र मामिलामा सघाउन कविवर सिद्धिचरण श्रेष्ठको अध्यक्षतामा नेपाल विश्वशान्ति समिति, पूर्णबहादुर एम.ए. को अध्यक्षतामा नेपाल अफ्रो–एसियाली जनएकता समितिहरू गठन गरिएका थिए । विश्व शान्तिका मुद्दाहरू उठाउने र अफ्रो–एसियाली देशहरूबीच ऐक्यबद्धता प्रकट गराउने कार्य गरिएको थियो ।
  • ३.७ प्रवासमा सङ्गठन– क. पुष्पलालको पहलमा भारतको प्रवासमा आप्रवासी नेपालीहरूका बीच सङ्गठन निर्माण गर्ने, उनीहरूको फोरमबाट जनमैत्री अभिवृद्धि गर्ने काम भएको थियो ।
  • ३.८ जनमैत्री सङ्घको निर्माण– क. पुष्पलालले भारतमा नेपालको सिमाना नजिकैका विश्वविद्यालयका प्राज्ञहरू, सार्वजनिक क्षेत्रका व्यक्तित्वहरूलाई नेपाल–भारत जनमैत्री सङ्घमा सङ्गठित गरी मित्रता प्रवद्र्धन गर्न सफ्टपावरको परिचालनसमेत गर्नुभएको थियो ।

४. द्विपक्षीय मैत्री तथा सांस्कृतिक सङ्घहरू

  • ४.१ नेपाल–चीन मैत्री सङ्घ– क. पुष्पलालको पहलमा पूर्णबहादुर एम.ए.को अध्यक्षतामा नेपाल–चीन मैत्री सङ्घ स्थापना गरी दुई देशबीच दौत्य सम्बन्ध स्थापना गर्न सरकारमाथि दबाब सिर्जना गरिएको थियो । पोलिटब्युरो सदस्य गौरीभक्त श्रेष्ठलाई मुस्ताडबाट हिमाल पार गराएर चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचाराको सम्बन्ध गाँसी द्विपक्षीय मैत्री सम्बन्ध प्रवद्र्धन गर्ने कार्य भएको थियो ।
  • ४.२ नेपाल–सोभियत मैत्री सङ्घ– क.पुष्पलालकै पहलमा प्रजापरिषद्का नेताहरू रामहरि शर्मा र हरिकृष्ण श्रेष्ठलाई अघि सारेर नेपाल–सोभियत मैत्री सङ्घ गठन गरी जनस्तरमा मित्रता प्रवद्र्धन गर्ने कार्य भएको थियो ।
  • ४.३ नेपाल–कोरिया मैत्री सङ्घ– क.पुष्पलालकै पहलमा प्रेमबहादुर कंसाकार र प्रो. माणिकलाल श्रेष्ठको नेतृत्वमा नेपाल–कोरिया मैत्री सङ्घ स्थापना गरी जनमैत्री सम्बन्ध प्रवद्र्धन गर्ने कार्य सम्पन्न भएको थियो ।
  • ४.४ नेपाल–भियतनाम मैत्री सङ्घ– क.पुष्पलालकै पहलमा निरञ्जनगोविन्द वैद्यको अध्यक्षतामा नेपाल–भियतनाम मैत्री सङ्घ स्थापना गरिएको थियो ।

५.सारांश

  • ५.१ क. पुष्पलालले राष्ट्रहितको प्रवद्र्धन र सर्वहारा अन्तर्राष्ट्रियतावादी कर्तव्य पूरा गर्न सदनदेखि सडकसम्म देशभक्तिपूर्ण जनमत निर्माण गर्नुभएको थियो ।
  • ५.२ क. पुष्पलाल परराष्ट्र मामिलामा सफ्टपावर परिचालन गर्न माहिर हुनुहुन्थ्यो । नयाँ–नयाँ संयन्त्र र माध्यमहरू निर्माण गर्न सिपालु हुनुहुन्थ्यो ।
  • ५.३ क.पुष्पलाल नेपालमा साम्राज्यवाद, प्रभुत्ववाद, वैदेशिक हस्तक्षेपको विरुद्ध लेख्ने–बोल्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । परराष्ट्र मामिलामा वर्गीय दृष्टिकोण राखेर व्याख्या गर्ने र अभियान चलाउने अग्रणी हुनुहुन्थ्यो ।
  • ५.४ राणाशाहीको एङ्ग्लो–अमेरिकी–भारतीय एकाधिकार पुँजी विस्तार गर्ने नीतिको विकल्पमा राष्ट्रिय जनमुक्ति आन्दोलनको पक्षपोषण गर्ने सिद्धान्तकार र त्यसको कार्यान्वयन गर्ने सर्वहारा अन्तर्राष्ट्रियतावादी अभियानका अगुवा हुनुहुन्थ्यो । यसरी नेपालको प्रगतिशील परराष्ट्र नीति निर्माणमा क. पुष्पलालको योगदान ठोस र दूरगामी रहेको छ ।

२) अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क. पुष्पलालको अन्तर्सम्बन्ध

१. सैद्धान्तिक अडान र व्यावहारिक सङ्घर्ष

  • १.१  नेपाल कम्युनिस्ट पार्टीको गर्भाधान वैचारिक रूपमा माक्र्सवाद–लेनिनवादमा आधारित भएर सङ्गठनात्मक रूपमा भारतीय कम्युनिस्ट पार्टीसित अन्तर्सम्बन्ध राखेर भएको थियो । सर्वहारा अन्तर्राष्ट्रियतावादप्रतिको प्रतिबद्धता गर्भाधान बेलाकै कबुल थियो । सोभियत युनियन, नवप्रजातन्त्रहरू आजाद चीन, विश्वको मजदुर वर्गको आन्दोलन र विश्वकम्युनिस्ट आन्दोलनसित एकताबद्ध हुने उद्घोषणका साथ नेकपा स्थापना भएको थियो ।
  • १.२  एङ्ग्लो–अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विस्तारको विरोधमा राष्ट्रिय मुक्ति आन्दोलनका पक्षमा उभिएको नेकपा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकै अभिन्न आन्दोलनका रूपमा स्थापनाकालदेखि नै क.पुष्पलालको नेतृत्वमा अग्रसर भयो ।
  • १.३  क. पुष्पलाल फासिवादलाई हराउने क.स्टालिनको प्रशंसक हुनुहुन्थ्यो ।
  • १.४ चीनमा जनवादी क्रान्ति सफल भएपछि माओ विचारधारालाई पनि ग्रहण गरेर अघि बढ्नुभयो ।
  • १.५  १९६० पछि जब खुस्चेभको संशोधनवाद विश्व कम्युनिस्ट आन्दोलनमा देखाप¥यो, क. पुष्पलालले त्यसको विरोधमा प्रस्ट रूपमा उभिनुभयो र स्टालिनवादीका रूपमा चिनिनुभयो ।
  • १.६ चीनमा जब लिनपियाओ र म्याडम चियाङ चिङको ‘उग्रवाद’ देखाप¥यो । क. पुष्पलाल त्यस ‘भड्काव’ को विरोधमा उभिनुभयो ।
  • १.७ यसरी दक्षिणपन्थी संशोधनवाद र उग्रवामपन्थी भड्काव दुवैको विरोध गरी माक्र्सवाद–लेलिनवाद–माओ विचारधाराका पक्षमा उभिनुभयो ।
  • १.८ भारतमा डांगेको दक्षिणपन्थी रुझान र नक्सलवादी उग्रवामपन्थी भडकाव दुवै गलत धाराको विरुद्ध क. पुष्पलाल उभिनुभयो ।
  • १.९ प्रवासी नेपालीहरूलाई पनि जनवादी क्रान्तिको सहायक शक्तिका रूपमा ग्रहण गरी सङ्गठित पार्नुभयो ।
  • १.१० क.पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनमा सर्वहारा अन्तर्राष्ट्रियतावादी भाइचाराको दायित्व पूरा गर्नुभयो । एकता र सङ्घर्षको बाटोद्वारा मतभेद सल्टाउँदै जानुभयो । ठूला पार्टीहरूसित पुच्छरवादी नभएर स्वतन्त्र भूमिका खेल्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एक गतिशील तारा भएर चम्किनुभयो ।

२. शान्ति, जनवाद र समाजवाद

  • २.१ जहाँ युद्धको खतरा छ, त्यहाँ शान्तिका लागि सङ्घर्ष गर्ने क. पुष्पलालको लाइन हो । त्यसका लागि नेपाल विश्व शान्ति समिति स्थापना गरी परिचालन गर्नुभयो ।
  • २.२ जहाँ समाजवाद प्राप्त भइसकेको छ, त्यहाँ समाजवादको सुरक्षाका लागि सङ्घर्ष गर्ने । संशोधनवादका विरुद्ध अडान राख्ने क.पुष्पलालको सोच हो ।
  • २.३ जहाँ जनवाद खोसिएको छ वा खोसिने खतरा उत्पन्न भएको छ, त्यहाँ जनवादको पुनस्र्थापना र रक्षाका लागि सङ्घर्ष गर्ने ।
  • २.४ जहाँ समाजवाद प्राप्त भइसकेको छैन, त्यहाँ समाजवाद प्राप्तिका लागि सङ्घर्ष गर्ने ।

३. सोभियत संशोधनवादसित कटु सङ्घर्ष

  • ३.१ सोभियत कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन र सन् १९५७ मा मस्कोमा सम्पन्न भएको विभिन्न कम्युनिस्ट पार्टीहरू र श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी सहभागी भएको थियो ।
    डा. रायामाझी र क. पुष्पलाल पनि उक्त प्रमण्डलमा सहभागी हुनुहुन्थ्यो ।
  • ३.२ उक्त सम्मेलनमा खुस्चेभले स्टालिनलाई ‘व्यक्तिपूजा’ गर्ने भनी आलोचना गरिएको थियो । क.पुष्पलालले भने क.स्टालिनका पक्षमा वकालत गर्नुभएको थियो । क.बलराम उपाध्यायका अनुसार क. पुष्पलालले मस्कोमा यस्तो भन्नुभयो, ‘यदि क. स्टालिनको शवले सोभियत सङ्घमा मान्यता प्राप्त गर्न सक्दैन भने उक्त शव मेरो पार्टीलाई सुम्पियोस् । म आफ्नो देशमा लगेर यसलाई सम्मानपूर्वक सुरक्षित राख्छु ।’ यसै दिनदेखि सोभियत कम्युनिस्ट पार्टीको नेतृत्वको आँखामा क.पुष्पलाल विश्व कम्युनिस्ट आन्दोलनमा घोर स्टालिनपन्थी र उग्रवादी हुन पुग्नुभयो ।
  • ३.३ वल्र्ड माक्र्ससिस्ट रिभ्युको १९६२ जुनको अङ्कमा डा. रायमाझीको राजावादी वक्तव्य छापेर पुष्पलालको जनवादी आन्दोलनको लाइनविपरीत खुलस्त रूपमा प्रचार गर्न थाल्यो ।
  • ३.४. १९७४ को मार्चमा सो.क.पा.मुखपत्र प्राब्दा र रेडियो मस्कोले क.पुष्पालाललाई स्टालिनवादी र डा. रायमाझीको विरोधमा लागेको भनी आलोचनात्मक टिप्पणी प्रसारण गरेको थियो ।
  • ३.५ क. पुष्पलालको ‘नयाँ जनवादी’ कार्यक्रम र सोभियत संशोधनवादीहरूको ‘राष्ट्रिय प्रजातन्त्र’ दुई भिन्न लाइन सार्वजनिक रूपमा आउन थाल्यो ।

४. चिनियाँ कम्युनिस्ट पार्टीसित भाइचारा सम्बन्ध

  • ४.१ अध्यक्ष माओको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सफल भएर सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापना भयो । क.पुष्पलालले सन् १९५१ मा नेकपाको राष्ट्रिय सम्मेलनबाट चिनियाँ कम्युनिस्ट पार्टीसित भाइचाराको सम्बन्ध राख्न केन्द्रीय सदस्य गौरीभक्त प्रधानलाई माओलाई लेखेको पत्र सुम्पेर हिमाल नाघेर माओलाई बुझाउनुभयो । अध्यक्ष माओको पत्र पनि नेकपालाई प्राप्त भयो । नेकपाको जनवादी कार्यक्रम र चिनियाँ कम्युनिस्ट पार्टीको क्रान्तिकालीन कार्यक्रममा समान अवधारणा भएकाले र सीमा जोडिएका मुलुकका पार्टीहरू एक–अर्कोप्रति क्रमशः नजिकिँदै आए ।
  • ४.२ सन् १९५१ मा मातृका प्र.म. भएको बेला भारतीय क्षेत्रीय प्रभुत्ववादी सरकारले नेपालमा भारतीय सैनिक मिसन भित्र्यायो । उत्तरी सिमानामा १८ वटा सैनिक चेकपोस्टहरू स्थापना गन्यो । क. पुष्पलालले जनवादी चीनविरोधी उक्त मिसन र चेकपोस्टहरूको विरोध गर्नुभयो ।
  • ४.३ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा– सन् १९५६ मा क.मनमोहन, क.पुष्पलाल र क.पी.भी. मल्लसहितको नेकपाको प्रमण्डल चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा सहभागी हुनुभयो । भाइचारा पार्टी सम्बन्ध अरू सुदृढ़ भयो ।
  • ४.४ सन् १९६२ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पठाएको २५ सूत्रीय दस्तावेजप्रति क.पुष्पलाल सहमत हुनुभयो । यस कार्यक्रममा नेकपाको तेस्रो ऐतिहासिक सम्मेलनले विद्यमान अन्तर्राष्ट्रिय भौतिक परिस्थितिअनुरूप सर्वहारा अन्तर्राट्रियतावादी नीतिको आधारभूत मार्गदर्शनका रूपमा स्वीकृत ग¥यो ।

५. भारतीय कम्युनिस्ट पार्टीहरूसित घनिष्ठ सम्बन्ध

  • ५.१ क.पुष्पलालले भारतीय कम्युनिस्ट पार्टीको भाइचारा सहयोगमा कलकत्तामा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो । क.नृपेन्द्र चक्रवर्तीको सहयोग विशेष उल्लेखनीय रह्यो ।
  • ५.२ क. अजय घोष महासचिव रहेसम्म भारतीय कम्युनिस्ट पार्टीसित क. पुष्पलालको राम्रो सम्बन्ध रह्यो । जब डांगे भाकपाको महासचिव भएर सोभियत कम्युनिस्ट पार्टीको लाइन अनुसरण गर्दै राजावादी रायमाझीको पक्षपोषण गर्न थाल्यो । तिनीहरूसित अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन दुवै कुरामा मतभेद उत्पन्न भयो ।
  • ५.३ भारतीय कम्युनिस्ट पार्टी विभाजित भयो । क.पुष्पलालको सम्बन्ध भाकपा (माक्र्सवादी) सँग नजिकियो । महासचिव नमुडरीपाद, ज्योति वसु र सुरजित सिंहहरूसित सुमधुर सम्बन्ध रह्यो ।
  • ५.४ जब नक्सलबाडी आन्दोलन सुरु भयो । उनीहरूमा देखापरेको ‘वामपन्थी उग्रवाद’ को विरोध क.पुष्पलालले गर्नुभयो तर सम्पर्क र सम्बन्ध छोड्नुभएन ।
  • ५.५ क. पुष्पलालले पार्टी स्थापनाकालमा एङ्ग्लो–अमेरिकन साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादको नेपालमा विस्तारको विरोध गर्नुभयो ।
  • ५.६ जब क. पुष्पलालले दिल्ली सम्झौताको विरोध, गोर्खा भर्तीको विरोध, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारत सरकारको विरोध र असमान सन्धिहरूको विरोध गर्नुभयो, भारतीय जनतामा समर्थन प्राप्त गर्न जानुपर्ने आवश्यकता महसुस गरी नेपाल–भारत जनमैत्री सङ्घ गठन गर्न थाल्नुभयो ।

६. अन्य देशका कम्युनिस्ट पार्टीहरूसित सम्बन्ध

  • ६.१ क. पुष्पलालले मस्कोमा अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरूको सम्मेलनमा र चीनमा क.पा. को महाधिवेशनमा भाग लिनुभयो । साइड लाइनमा अन्य देशका कम्युनिस्ट र श्रमिक पार्टीका प्रमण्डलहरूसित पनि सम्पर्क र परामर्श गर्नुभएको थियो ।
  • ६.२ सन् १९७२ मा नेकपाका तर्फबाट क. पुष्पलालले भियतनाम कम्युनिस्ट पार्टी र अन्य केही कम्युनिस्ट पार्टीहरूसित पत्राचार गर्नुभएको थियो । संशोधनवादी र नवसंशोधनवादी विचारका विरुद्ध गतिशील र जीवित राजनीतिक एकताको प्रस्ताव गर्नुभएको थियो ।
  • ६.३ क. पुष्पलालको पहलमा नेपाल–कोरिया मैत्री सङ्घको स्थापना र कोरियाली वर्कर्स पार्टीसित सम्बन्ध गाँस्नुभएको थियो ।
  • ६.४ क.पुष्पलालले भाकपाको महाधिवेशनमा भाग लिन आएका अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरू र श्रमिक पार्टीहरूका भाइचारा प्रतिनिधिहरूसित साइड लाइनमा सम्पर्क गर्नुहुन्थ्यो । चीनसित भूराजनीतिक कारणले गर्दा नेपाल भूमिमा चीनको विरोधमा गतिविधि गर्न नमिल्ने कुराहरू पनि बताउनुहुन्थ्यो ।
  • ६.५ क. पुष्पलालले बङ्गलादेशका भासानी समूहसित सम्पर्क राखी पछि बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामको समर्थनसमेत गर्नुभएको थियो ।
  • ६.६ पुष्पलालले सिक्किममा लोकतन्त्रका साथै राष्ट्रको स्वतन्त्र अस्तित्वका पक्षमा मत जाहेर गर्नुभएको थियो ।

 

७. विदेशी नेताहरूको नजरमा क. पुष्पलाल

  • ७.१ क. लोककृष्ण भट्टराईले ‘निर्वासन भ्हष्भि माक्र्स, लेलिन र पुष्पलाल’ पुस्तकमा भारतीय नेताहरूले पुष्पलाललाई दक्षिण एसिया र विश्वका कम्युनिस्ट आन्दोलनकै नेता भनेको कुरा सङ्कलन गर्नुभएको छ ।
  • ७.२ भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पूर्वमहासचिव तथा भारतको राज्यसभाका पूर्वसदस्य प्रकाश कराँतेको ‘क.पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन मात्र नभएर दक्षिण एसिया र पूर्वी एसियाका नेता’ भएको मूल्याङ्कन थियो ।
  • ७.३ भारतीय काङ्ग्रेसका नेता डीपी त्रिपाठीका शब्दमा, ‘कमरेड पुष्पलाल कम्युनिस्ट आन्दोलनको नेता त हुँदै हो, त्यति मात्र नभएर उहाँ लोकतान्त्रिक आन्दोलनको पनि नेता हो । उहाँ नेपालको र नेपालीको मात्र होइन, सिङ्गो दक्षिण एसियाको निरङ्कुशताविरोधी नेता हो ।’
  • ७.४ सी.पी.आई. का महासचिव सुधाकर रेड्डीका शब्दमा ‘पुष्पलाल हामी भारतीय कम्युनिस्टहरूको पनि नेता हो ।’
  • ७.५ भाकपा मालेका महासचिव दीपंकर भट्टाचार्यका शब्दमा ‘पुष्पलाल असल माक्र्सवादी–लेनिनवादी चिन्तक र नेपाल–भारत–बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बर्माका सबै श्रमिक आन्दोलनका विचारक हो भन्ने हाम्रो मूल्याङ्कन हो ।’
  • ७.६ भाकपा (माक्र्सवादी) का नेता सीताराम येचुरीका शब्दमा ‘पुष्पलाल नेपाली कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनका नेता त हुँदै हो, सारा दक्षिण एसियाकै किसान आन्दोलनको समेत नेता हो ।’
  • ७.७ डा. राजेन्द्ररामले पुष्पलाललाई दक्षिण एसियाको किसान आन्दोलनको क्रान्तिकारी नेता भन्ने शीर्षकमा अङ्ग्रेजीमा पुस्तक लेखिरहनुभएको छ । उहाँले एगकजउबबि ितजभ ायगलमभच या तजभ अयmmगलष्कत उबचतथ या ल्भउब ि(१९५२–१९७८) पनि लेखेर जनभारती प्रकाशनबाट छापेर वितरण गरिसक्नुभएको छ ।

८. सारांश
क. पुष्पलाल सर्वहारा अन्तर्राष्ट्रियतावादको ध्वजा उचाल्ने नेपालमा पहिलो नेता हुनुहुन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा उहाँ स्थापित भइसक्नुभएको छ । माक्र्स र

एङ्गेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ को नेपालीमा उल्था गर्ने र त्यसको भूमिकामा एङ्ग्लो–अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादको नेपालमा विस्तारको विरोध गर्ने पहिलो नेता पनि हुनुहुन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद र उग्रवाम भड्काउको विरोध गर्ने, आलोचना र एकता कायम गरी विश्वसमाजवादी आन्दोलन र जनवादी राष्ट्रिय मुक्ति आन्दोलन नेपाल लगायत दक्षिण एसियामै फैलाउने प्रखर कम्युनिस्ट नेता हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क. पुष्पलालको अन्तर्सम्बन्धको समीक्षा र विश्लेषण गर्दा उहाँ अब्बल दर्जाको एक सर्वहारा अन्तर्राष्ट्रियवादी नेता हुनुहुन्छ । उहाँ विश्वका र दक्षिण एसियाका ठूला कम्युनिस्ट पार्टीहरूसित सङ्घर्ष र एकता कायम गर्दै अगाडि बढ्नुभएको थियो । ठूला पार्टीहरूको पुच्छर नभई स्वतन्त्र भूमिका खेल्ने एक देशभक्त र अन्तर्राष्ट्रिय सर्वहारावादी नेता हुनुहुन्छ । क. पुष्पलालले नेपाललाई समृद्ध बनाउन आर्थिक कूटनीतिका पक्षमा पनि मत जाहेर गर्नुभएको थियो । त्यसैले क. पुष्पलाल लोकतन्त्र, राष्ट्रिता र समृद्धिलाई एकैसाथ समायोजन गर्ने विचारक हुनुहुन्थ्यो ।

३) राष्ट्रिय मुक्ति, स्वाधीनता र भूराजनीतिबारे क. पुष्पलाल

१. क. पुष्पलालको राष्ट्रियताबारे अवधारणा

क. पुष्पलालले ‘समाज विकास र शब्दार्थ’ भनी कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने पुस्तिकामा राष्ट्रियताबारे यसरी अर्थ लगाउनुभएको छ– ‘देशमा आम निवासीहरूको देशप्रेमले भरिपूर्ण भावना नै राष्ट्रियताअन्तर्गत आउँछ । राष्ट्रियता भन्नाले आम नेपाली जाति (नेपालवासी) र नेपाल देशलाई बुझाउँछ । अतः आफ्नो देशमा भएको वैदेशिक हस्तक्षेप एवं औपनिवेशिक शोषणको विरुद्ध सङ्घर्ष गर्नु राष्ट्रियताका द्योतक हुन् ।’

क. पुष्पलालले नयाँ जनवादी कार्यक्रममा नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो । सामन्तवाद, एङ्ग्लो–अमेरिकन साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवाद विस्तारको विरोध र दलाल पूँजीपति र नोकरशाहीतन्त्रको विरोध गर्नु मूल दायित्व हो भन्नुभएको छ । उहाँले नेपाललाई जनवादी चीनविरोधी अखडा बनाउने अमेरिकी साम्राज्यवादी नीति भएकाले राष्ट्रियता जोगाउन गोरखा भर्तीको विरोध गर्नुपर्छ भन्नुभएको छ ।

क. पुष्पलालले भारतीय एकाधिकार पुँजीवाद, जुन हाम्रो निकासी–पैठारी दुवै व्यापारमा कन्ट्रोल गर्नका साथै सबभन्दा बढी पुँजी लगानी गरेको हुनाले अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरूमध्ये भारतीय विस्तारवाद नेपालको दुश्मन हो भन्नुहुन्छ ।

क.पुष्पलालले नेकपाको अखिल नेपाल चतुर्थ सम्मेलनमा केन्द्रीय समितिका तर्फबाट प्रस्तुत गरी पारित राजनीतिक रिपोर्टमा भन्नुभएको थियो, ‘देशमा राष्ट्रियता र सार्वभौमिकताको प्रश्नमा हाम्रो पार्टी शाखाहरूले जनताको अघिल्लो पङ्क्तिमा बसी सङ्र्घषको नेतृत्व गर्न सक्नुपर्छ ।’

क. पुष्पलालको राष्ट्रवाद जनतामा आधारित थियो । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय चिन्तन र दृष्टिकोण बनाउनुहुन्थ्यो । राष्ट्रिय मुक्ति आन्दोलन नै मूल धार थियो ।

२. क. पुष्पलाल देशभक्त विचारक र नेता
क. पुष्पलाल कहिल्यै अन्ध राष्ट्रवादी हुनुहुन्थेन र देशभक्तिपूर्ण चिन्तनवादबाट विचलित हुनुभएन । उहाँका राष्ट्रियतासम्बन्धी दृष्टिकोणहरू स्पष्ट, वैज्ञानिक, व्यावहारिक र सन्तुलित पाइन्छ । नेपालमाथि प्रभाव र प्रभुत्व जमाउने भारतीय विस्तारवादी नीतिको मात्र विरोध गर्ने तर भारतीय जनता र राष्ट्रको विरोध नगर्ने, जनमैत्री विकास गर्ने पक्षमा हुनुहुन्थ्यो ।

१. राष्ट्रिय एकताको चौखम्बा
चार वर्ण ३६ जातको फूलबारी भन्ने सामन्ती एकताको आधार थियो भने क. पुष्पलालले ‘नयाँ जनवादी एकताको नयाँ आधार नेपालका मजदुर वर्गको नेतृत्वमा देशका श्रमजीवी जनता, किसान मजदूर वर्गको तथा साम्राज्यवाद र विदेशी पूँजीवाद विरोधी राष्ट्रिय पूँजीपतिहरूको साझा फूलबारी हुनेछ । नयाँ जनवादी राजनीतिक नीति, नयाँ जनवादी आर्थिक नीति, नयाँ जनवादी सांस्कृतिक नीति र नयाँ जनवादी धार्मिक नीति हाम्रो राष्ट्रिय एकताका चौखम्बा हुन्’ भन्नुहुन्थ्यो । उहाँले नयाँ जनवादी कार्यक्रममा राष्ट्रिय एकताको चौखम्बाको विस्तृत विवेचना र व्याख्या गर्नुभएको छ ।

३. राष्ट्रियता र स्वाधीनताको आन्दोलन

  • ३.१ ‘कम्युनिस्ट घोषणापत्र’ को नेपाली भाषामा अनुवाद गर्ने क. पुष्पलालले त्यसको भूमिकामा राणाकालमा परराष्ट्र नीति एङ्ग्लो–अमेरिकी साम्राज्यवादपरस्त रहेकाले, भारत साना छिमेकीप्रति एकाधिकार पूँजीको विस्तार गर्ने र आफ्नो प्रभाव प्रभुत्वको विस्तार गर्ने भएकाले त्यसको प्रतिकार गरी स्वाधीनता, स्वाभिमान र स्वतन्त्रता जोगाउनुपर्छ भन्नुभएको थियो ।
  • ३.२ सात सालको प्रजातान्त्रिक क्रान्तिलाई सम्झौतामा टुङ्ग्याउने सन् १९५० को असमान सन्धि गराउने र राजदरबारमा भारतीय दूतलाई राख्ने तथा श्री ३ मोहनशमशेरलाई प्र.म. बनाउने र बी.पी. कोइरालालाई गृहमन्त्री बनाउने भारतको मध्यस्थतामा गरिएको दिल्ली सम्झौतालाई क. पुष्पलालको नेकपाले घोर विरोध गरेको थियो ।
  • ३.३ डा. के.आई सिंहले पनि दिल्ली सम्झौताका विरुद्ध विद्रोह गर्नुभएको थियो । सिंहदरबार कब्जा गुर्नभएको थियो । नेकपाका पोलिटब्युरो सदस्य गौरीभक्त के.आई. सिंहलाई भेट्न जानुभएको थियो । डा. के.आई. सिंह सिंहदरबारबाट निस्केर चीनमा शरण लिन गएपछि मातृका सरकारले नेकपालाई प्रतिबन्ध लगायो । नेपाल–चीन सीमामा भारतीय चेकपोस्टहरू तैनाथ ग¥यो, भारतीय मिलिटरी मिसन भित्र्यायो, असमान कोसी सम्झौता ग¥यो । क. पुष्पलालले प्रजापरिषद्सित जातीय जनतान्त्रिक मोर्चा कायम गरी पार्टी भूमिगत भएको बेला जनवर्गीय सङ्गठनहरूमार्फत विस्तारवादविरुद्ध राष्ट्रिय आन्दोलन जारी राख्नुभयो ।
  • ३.४ पार्टीलाई भूमिगतबाट खुला गर्न त्यसबेलाका क. महासचिव मनमोहन अधिकारीले शान्तिपूर्ण रूपमा समाजवादतर्फ सङ्क्रमण सम्भव छ भनी वैधानिक राजतन्त्रमा पनि खुला गतिविधि गर्न तयार भएपछि र दोस्रो महाधिवेशनमा क. पुष्पलालको गणतन्त्रात्मक लाइन पारित भए पनि राजावादी डा. केशरजङ्ग रायमाझीलाई महासचिव पदमा बहुमतबाट निर्वाचित गरेपछि संशोधनवादी र राजावादीविरुद्ध क. पुष्पलालले पार्टीभित्रै सङ्घर्ष जारी राख्नुभयो र संविधानसभाका लागि निर्वाचन गर्न दबाब सिर्जना गर्नुभयो अनि हस्तक्षेपका विरुद्ध आवाज उठाउँदै आउनुभयो ।
  • ३.५ पहिलो आम चुनाव २०१५ सालमा क. पुष्पलाल काठमाडौँबाट चुनाव लड़ेर हार्नुभयो । ४ सिटमा मात्र नेकपाका उम्मेदवारहरूले जिते । क. पुष्पलालले संसद्भित्र र सड़कबाट डाल्डा घ्यू आयात गरेको विरोधमा, असमान गण्डक सम्झौता गरेको विरोधमा देशभक्तिपूर्ण आवाज उठाउनुभयो, सङ्घर्ष गर्दै रहनुभयो ।
  • ३.६ २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद् विघटन गरी पार्टीहरूमाथि प्रतिबन्ध लगाएपछि क.पुष्पलाल नेपालमा भूमिगत हुनुभयो । पछि भारतमा निर्वासित हुनुभयो । दरभङ्गा प्लेनममा संसद्को पुनस्र्थापन पक्षमा मत जाहेर गर्नुभयो । बहुमतबाट संविधानसभाका पक्षमा प्रस्ताव पारित भयो । नेकपाको क. तुलसीलाल अमात्य महासचिव चुनिनुभयो र सोभियत मोडलको ‘राष्ट्रिय प्रजातन्त्र’ को कार्यदिशा पारित भयो । क. पुष्पलालले ‘नयाँ जनवाद’ का पक्षमा आन्तरिक सङ्घर्ष जारी राख्नुभयो । गोरखपुरमा चौथो सम्मेलन बेग्लै गरेर पुनः नौलो जनवादी कार्यक्रम पारित गरी काङ्ग्रेस–कम्युनिस्ट संयुक्त मोर्चा गठन गरेर निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा सङ्घर्ष गर्ने कार्यमा लाग्नुभयो । राष्ट्रियता र जनवादलाई सँगै लाने विचार प्रस्तुत गर्नुभयो ।

४. क.पुष्पलाल बाह्य हस्तक्षेपको विरोधमा
ब्रिटिस भारतको शासनकालमा नेपाल र भारतीय जनताको उपनिवेशवाद र साम्राज्यवादको विरोधमा राष्ट्रिय मुक्ति मोर्चाका लागि साझा सङ्घर्ष हुन्थ्यो । सन् १९४९ मा चीनमा जनवादी सत्ता स्थापना भएपछि एङ्ग्लो–अमेरिकन साम्राज्यवादले खासगरी तिब्बत जनमुक्ति सेनाबाट मुक्त गरेपछि नयाँ चीनविरोधी नीति अपनाउन थाल्यो । चीनलाई नजर लगाउन र उत्तरतर्फ जाने सड़क निर्माण गर्न च्त्इ सम्झौता ग¥यो । भारतका प्रधानमन्त्री नेहरूले हिमालयसम्म भारतको सीमा पुग्छ भनी प्रभाव र प्रभुत्व नेपालीमाथि कायम गर्न खोजेपछि क. पुष्पलालले त्यसको प्रतिकार गर्नुभयो । क. पुष्पलालले ‘खुलापत्र’ मा यसरी लेख्नुभयो, ‘हाम्रो जनताले यसलाई कहिल्यै मान्दैनन् । यसमा हामी घोर विरोध गर्दछौँ । हाम्रो स्वतन्त्रता खोस्ने, सबैका विरुद्ध चाहे उनीहरू काला हुन् वा गोरा हुन् विरोधमा मात्र ! उत्रने छौँ ।

४.१ क. पुष्पलालले २०११ फागुन १४ मा पी.बी.का तर्फबाट जारी गरेको वक्तव्यमा परराष्ट्र क्षेत्रको कार्यक्रममा यसरी भनिएको थियो ः

  • (क) भारतसँग भएका असमान सन्धि– वाणिज्य तथा मैत्री सन्धि, २००७ सालको कोसी सम्झौता, फौजी मिसनसम्बन्धी सम्झौता, उत्तरी सिमानामा चेकपोस्टमा भारतीय पुलिस अफिसर राख्ने सम्झौता, बडाहाकिम र भारतीय मेजिस्ट्रेट सम्मेलनले पास गरेको गुप्त सन्धि जुन सन्धिअनुसार भारतीय फौज हाम्रो देशको सीमाभित्र ३० माइलसम्म ल्याउन पाउने आदि खारेज गरी पञ्चशीलका आधारमा भारतसित नयाँ सन्धि गरियोस् ।
  • (ख) ब्रिटेनसँगको गोरखा भर्ती सन्धि खारेज गरियोस् ।
  • (ग) तिब्बतसितको असमान सन्धिलाई रद्द गरियोस् ।
  • (घ) भारत र चीनसित अनाक्रमण सन्धि गरियोस् ।
  • (ङ) विश्वका सबै राष्ट्रहरूसँग परस्पर समानता, सार्वभौमिकताका आधारमा र लाभका आधारमा जुन–जुन मुलुकसँग जरुरतअनुसार वाणिज्य र व्यापार सम्बन्ध स्थापित गरियोस् तथा दौत्य सम्बन्ध स्थापित गरियोस् । विशेषगरी जनवादी चीनसँग यथाशीघ्र सम्बन्ध
    कायम गरियोस् ।
  • (च) अन्तर्राष्ट्रिय सङ्घ (ग्ल्इ) मा सदस्यताका लागि आवश्यकीय कदमउठाइयोस् र विश्वशान्ति कायम गर्नमा आफ्नो कर्तव्य पूरा गरियोस् ।’

५. उपसंहार
क. पुष्पलाल एक राष्ट्रवादी, स्वाधीनता र स्वन्त्रताका पक्षपाती देशभक्त चिन्तक र आन्दोलनकारी हुनुहुन्थ्यो । उहाँले साम्राज्यवाद र विस्तारवादविरुद्ध राष्ट्रिय मुक्तिका लागि जीवनपर्यन्त सङ्घर्ष गर्नुभयो । नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको वैचारिक जग हाल्नुभयो ।

४) पुष्पलालले स्थापना गरेको भारत–नेपाल जनमैत्री सङ्घ

१. जनमैत्री सङ्घ
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल लामो समय भारतमा निर्वासित हुनुभयो । उहाँले त्यहाँको सरकार र पार्टीहरूसित सम्बन्ध राख्नुहुन्थ्यो । त्यसका अतिरिक्त जनवादी क्रान्तिका सहायक शक्तिका रूपमा प्रवासी नेपालीहरूलाई सङ्गठित गर्नुहुन्थ्यो । भारतमा रहेका गैरकम्युनिस्ट बुद्धिजीवी र प्राज्ञहरूको नेपालको जनवादी आन्दोलनप्रति समर्थन प्राप्त गर्न भारत–नेपाल जनमैत्री सङ्घको स्थापना गर्नुभयो । क. पुष्पलालका अनन्य मित्र प्रा. चन्द्रबली सिंह भारत–नेपाल जनमैत्री सङ्घका संस्थापक अध्यक्ष हुनुभयो ।

क. पुष्पलालसित नजिकको सम्बन्ध भएका क. गोविन्द ज्ञवालीले ‘समकालीन इतिहासमा पुष्पलाल’ पुस्तकमा भारत–नेपाल जनमैत्री सङ्घबारे यसरी लेख्नुभएको छ– ‘भारतको जुनसुकै ठाउँमा जाँदा पनि पुष्पलालले त्यहाँका बुद्धिजीवीहरूसँग मित्रवत् सम्बन्ध कायम गर्नुहुन्थ्यो र नेपालप्रतिका उनीहरूको गलत दृष्टिकोणमा परिवर्तन ल्याउनुहुन्थ्यो । पुष्पलालले यस्ता आफ्ना भारतीय बुद्धिजीवीहरूको बीचमा ‘भारत–नेपाल जनमैत्री सङ्घ’ को सङ्गठन निर्माण र त्यसको माध्यमबाट भारत र नेपाली जनताबीचमा पुरानो मित्रवत् सम्बधलाई पुनर्जागृत गर्न प्रेरणा दिनुभएको थियो । त्यसैको परिणामस्वरूप भारतीय बुद्धिजीवीहरूको बीचमा ‘भारत–नेपाल जनमैत्री सङ्घ’ नामक संस्थाको जन्म भएको थियो ।’

२. ऐतिहासिक पृष्ठभूमि
१९७० फेब्रुअरी ७ मा कलकत्ताबाट निस्कने ँचयलतष्भच साप्ताहिकमा क. पुष्पलालले लेख्नुभएको क्ष्ल्म्क्ष्ब् ७ ल्भ्एब्ी लेख प्रकाशित भएको थियो । त्यसमा उहाँले यसरी दुई देशबीचको सम्बन्धको पृष्ठभूमि प्रस्तुत गर्नुभएको थियो ः सन् १९४७ अगाडि भारत र नेपाली जनताबीचको सम्बन्ध सौहार्दपूर्ण र क्रान्तिकारी उद्देश्यमा आधारित थियो । नेपालले विशेषगरी सन् १९४२ को आन्दोलनकालमा कैयौँ क्रान्तिकारी भारतीयहरूलाई आश्रय दिएको थियो । तिनमा श्री जयप्रकाश नारायण र डा. लोहिया प्रमुख थिए । साथै नेपाली जनताले पनि राणाशाही विरोधी आन्दोलनताका भारतबाट मैत्रीपूर्ण मद्दत प्राप्त गरेको कहिल्यै बिर्सन सकिँदैन । भारतीय राष्ट्रिय आन्दोलनले वास्तवमा नेपाली जनतालाई प्रजातन्त्रको लडाइँ लड्न उत्साहित गरेको थियो । तर स्वतन्त्रतापश्चात् यस सुमधुर सम्बन्धले आशाविपरीतको मोड लियो र धेरै कुरामा विरोधाभास पैदा ग¥यो ।

उहाँले थप लेख्नुभएको छ, ‘केही हदसम्म भारतमा ब्रिटिश सरकारको नीतिले गर्दा पनि दुई देशबीचको सम्बन्धमा खलल पैदा भएको हो । ब्रिटिशहरूले नेपाललाई संरक्षित राज्यको रूपमा लिएका थिए । तर भारतेली नेता नेहरूले यसको अझ एकदम पर पुगे । तिनीहरूको नजरमा नेपाल भारतको एक मात्र स्वतन्त्र सार्वभौम सत्तायुक्त देश नभई मात्र भारतको एक राज्य थियो । नेहरूले आफ्नो ‘भारतको खोज’ नामक पुस्तकमा लेखेका छन्– ‘उत्तर–पूर्वी सिमानामा रहेको नेपाल भारतको एक मात्र सच्चा स्वतन्त्र राज्य हो । निःसन्देह यो उनको गजबको खोज थियो । उनको नजरमा नेपाल एक स्वतन्त्र सार्वभौम सत्तायुक्त देश नभई, मात्र भारतको एक राज्य थियो । त्यस्तो उच्चस्तरका राजनीतिज्ञहरूको त यस्तो गलत दृष्टिकोण हुन सक्छ भने आजसम्म भारतीय जनता यस्तो गलत सोचाइबाट वशीभूत हुनु कुनै आश्चर्यको कुरा होइन । त्यस गलत सोचाइको प्रतिबिम्ब नेहरू स्वयम्ले नेतृत्व गरेको भारत सरकारको वैदेशिक नीतिमा प्रस्ट झल्केको थियो । उहाँले हमेसा संसद्भित्र होस् वा बाहिर पटकैपिच्छे भारतको सिमाना हिमालयसम्म फैलिएको छ भनी पुष्टि गर्न खोज्नुहुन्थ्यो । सन् १९५१ मा राणाशाहीको अन्त्य हुनेबित्तिकै नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप भएको सर्वविदित छ ।’

क. पुष्पलालले भारतीय शासक वर्गको उपर्युक्त गलत रवैयाका विरुद्ध भारतका कम्युनिस्टहरू र बुद्धिजीवीहरूको समर्थन प्राप्त गर्न भाइचारा पार्टीगत रूपमा र बुद्धिजीवीहरूबाट जनमैत्रीपूर्ण समर्थन गर्न जोड दिँदै आउनुभएको थियो ।

३. पारस्परिक समर्थन
भारतीय एकाधिकारी पुँजी विस्तार गर्न चाहनेहरूले नेपाली काङ्ग्रेस भारतको मित्र र नेपालका कम्युनिस्टहरू भारतविरोधी हुन् भनी सुनियोजित प्रचार गरेका थिए । क. पुष्पलालले मलाई भन्नुभएको थियो– ‘हामी भारतीय राष्ट्र र जनताको विरोधी होइनौँ, भारतीय सत्ताधारीहरूको विस्तारवादी नीति र व्यवहारको मात्र विरोधी हौँ । त्यस विस्तारवादी नीति र व्यवहारको विरोधमा भारतका बुद्धिजीवी र प्राज्ञहरूको समर्थन प्राप्त गर्न क. पुष्पलालले भारत–नेपाल जनमैत्री सङ्घ स्थापना गर्नुभएको हो ।

भारत–नेपाल जनमैत्री सङ्घका संस्थापक अध्यक्ष प्रा. चन्द्रबली सिंहले काठमाडौँमा आयोजित विचारगोष्ठीमा भन्नुभयो– ‘यो कुरा तपाईंलाई थाहा छ र मलाई पनि थाहा छ कि मेरो देशमा यस किसिमका शक्तिहरू जसको इरादा विस्तारवादी हुन सक्छन् तर सम्पूर्ण भारतीय जनता विस्तारवादी छैनन् । तपाईंहरूको लडाइँमा हामी तपाईंहरूको साथमा छौँ । भारतीय विस्तारवादले तपाईंहरूको विरोधमा शिर उठाउने कोसिस ग¥यो भने हामी त्यसको विरोधमा लड्नेछौँ ।’ त्यसबेला प्रा. चन्द्रबली सिंहले यस्तो पनि भन्नुभएको थियो– ‘क. पुष्पलालले नेपाली जनताको सङ्घर्षको कुरा मात्र सोच्नुहुन्नथ्यो । उहाँले भारतीय जनताको सङ्घर्षको कुरा पनि सोच्नुहुन्थ्यो, यो उहाँको अन्तर्राष्ट्रियता थियो ।’ वास्तवमा, क.पुष्पलाल र प्रा.चन्द्रबली सिंह दुवै अन्तर्राष्ट्रियतावादी, परस्पर सहयोगका हात बढाउने मित्रहरू हुनुहुन्थ्यो ।

४. जनमैत्री सङ्घको सङ्गठन विस्तार
वाराणसी कलकत्ताबाट सङ्गठन सुरु गरेको भारत–नेपाल जनमैत्री सङ्घ, इलाहाबाद, पटना, दरभङ्गा, आसाम आदि ठाउँहरूमा विस्तार भयो । पटना विश्वविद्यालयका इतिहास विभागका प्रा.डा. राजेन्द्रराम जनमैत्री सङ्घका उल्लेखनीय खम्बा हुनुहुन्थ्यो । वाराणसीमा प्रा.चन्द्रबली सिंहका अलावा बी.एच.यू. का प्रा. डा. जी.वी. मोहन थम्पी, अयोध्या सिंह आदि प्रमुख पात्रहरू हुनुहुन्थ्यो । लखनउमा त्यहाँका भूतपूर्व मेयर तथा साहित्यकार डा. दाउजी गुप्त पनि जनमैत्री अगुवा हुनुहुन्थ्यो । इलाहाबादमा प्रा.डा. दूधनाथ सिंह अर्को खम्बा हुनुहुन्थ्यो । मैत्री सङ्घहरूले क. पुष्पलाल त्यहाँ पुग्दा सभा, गोष्ठीको आयोजना गर्थे । उहाँको देहावसान हुँदा शोकसभाहरू गरेका थिए । शोक सन्देशहरूमा नेपाली जनताका प्रिय नेता अब रहनुभएन भने अर्कोतिर भारत–नेपाल जनमैत्री सङ्घलाई गहिरो धक्का पुणेको छ ।

५ उपसंहार
क. पुष्पलाल जहाँ पुग्नुहुन्थ्यो र जुन घरमा बस्नुहुन्थ्यो त्यहाँ पारिवारिक र आत्मीय सम्बन्ध विकास गर्नुहुन्थ्यो । जनमैत्री सङ्घलाई भारतका ठूला केन्द्रहरूबाहेक नेपालको सीमा नजिकैका विश्वविद्यालयहरूमा विशेष रूपमा ध्यान केन्द्रित (ँयअगक) गर्नुभएको थियो । दुई देशका जनताबीच सतही सम्बोधन होइन, गहिरो, फराकिलो र आत्मीय सम्बन्ध विकास गर्नुहुन्थ्यो, गलत धारणालाई चिर्नुहुन्थ्यो । नेपालको जनवादी आन्दोलनका पक्षमा भारतीय बौद्धिक÷प्राज्ञिक र राजनीतिक समर्थन जुटाउनुहुन्थ्यो । भारतीय सत्ताको विस्तारवादी सोच र व्यवहारविरुद्ध जनस्तरमा ऐक्यबद्धता, समर्थन र सहयोग आर्जन गर्नुहुन्थ्यो ।

५) प्रवासी नेपालीबारे क. पुष्पलाल

१. अवधारणा
प्रवासीहरूलाई सङ्गठित बानाउने पहिलो अगुवा क. पुष्पलाल हुनुहुन्थ्यो । क. पुष्पलालद्वारा प्रतिपादित नयाँ जनवादमा सरकारको वैदेशिक नीतिमा प्रवासी नेपालीबारे यसरी उल्लेख छ ः

‘नेपालको वैदेशिक नीतिअन्तर्गत प्रवासमा बसोबास गर्न गएका लाखौँ नेपाली दाजुभाइ–दिदीबहिनीहरूको प्रवासमा उनीहरूको हक र हित, मुख्य गरी दिदीबहिनीको प्रवासमा उनीहरूको सुरक्षाको कुरा पनि पर्न आउँदछ । आज प्रवासी नेपालीहरू भारत, सिक्किम, भुटान तथा बर्मामा छन् । नेपालको जनवादी सरकारले तत्तत् देशीय सकारहरूसँग घनिष्ठ सम्पर्क स्थापित गरी प्रवासी नेपालीहरूको हक र हितलाई तत्तत् देशीय राष्ट्रिय स्वार्थको विपरीत नजाने गरी रक्षा गर्न हरसम्भव कोसिस गर्नेछ ।’

यसरी क.पुष्पलालले प्रवासमा त्यहाँका सरकारहरूबाट प्रवासी नेपालीहरूको हक–हित संरक्षण गराउन प्रयास गर्ने कुरा सर्वप्रथम सार्वजनिक रूपमा उठाउनुभयो । क.पुष्पलालले नयाँ जनवादी कार्यक्रममा नयाँ जनवादी क्रान्तिका मित्रशक्तिहरूमा ‘प्रवासी नेपालीलाई जनवादी क्रान्तिको सहायक शक्ति’ मान्नुभएको छ । उहाँकै शब्दमा कुनै पनि देशका प्रवासीहरूले देशको जनवादी आन्दोलनलाई समर्थन गर्दछ । आजको देशको उन्नतिमा विना प्रवासमा नेपालीको स्थान कहिले पनि उठ्न सक्दै सक्दैन । प्रवासी नेपालीहरू विदेशमा आवत–जावत गर्दछ र बसोबासको प्रबन्ध भएका मातृभूमिमा फर्केर आउन पनि चाहन्छन् भने कैयौँले विदेशमा कमाएको पूँजी देशभित्र ल्याउँदै उद्योगधन्दामा लगानी गरी विकास गर्न चाहन्छ । केही प्रवासी नेपालीहरू प्रवासमा नै बसी आफ्नो इज्जत र सम्मान चाहन्छन् । नयाँ जनवादी सरकारले देशभित्र फर्केका प्रवासीहरूलाई बसोवासको प्रबन्ध र नफर्केकालाई तत्सम्बन्धी सरकारसित सम्बन्ध राखी उनीहरूको सम्मान र इज्जतका लागि कदम चाल्ने भएको र हाल उनीहरूको सम्मान प्रवासमा नभएको हुँदा प्रवासी नेपालीहरू खास गरेर तल्लो स्तरका प्रवासी नेपालीहरू हाम्रो नयाँ जनवादी क्रान्तिका मित्र हुन्छ । यसरी क. पुष्पलालले प्रवासी नेपालीहरूलाई जनवादी क्रान्तिको मित्रशक्ति भनी प्रस्ट रूपमा किटान गर्नुभएको छ ।

२. प्रवासी नेपालीहरूसित व्यापक सम्पर्क
क. पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको भारतको कलकत्तामा हो । कलकत्तास्थित प्रवासीले नै उहाँलाई आश्रय र सहयोग प्रदान गरेका थिए । राणाशाहीविरोधी आन्दोलनमा प्रवासी नेपालीहरूको सक्रियतामा जनमुक्ति सेनामा बर्मा र भारतका प्रवासी नेपालीहरू मूल रूपमा सङ्गठित भए । २००७ सालको क्रान्ति दिल्ली सम्झौता भै अधूरो भएपछि डा. के.आई. सिंहको विद्रोहमा सरिक हुनेमा पनि प्रवासबाट आएका सैनिक थिए । चित्रबहादुर गुरुङलगायत भू.पू. मुक्तिसेनाका जवानहरूलाई पुष्पलालले नेकपामा सङ्गठित गर्नुभयो । क. पुष्पलालले दार्जिलिङ सिलाङ, बनारस, अहमदबाद, गोरखपुर, पटना, बरेली, बम्बई आदि स्थानमा रहेका प्रवासी नेपाली र यहाँ अध्ययनरत नेपाली विद्यार्थीसित व्यापक सम्पर्क गर्ने कार्य गर्नुभएको थियो । क. पुष्पलालले प्रवासी नेपाली विद्यार्थीबीच जातीय, भाषिक, प्राज्ञिक, सांस्कृतिक सङ्गठनहरू बनाउन प्रोत्साहित गर्नुभएको थियो । विद्यार्थीहरूलाई सङ्गठित गर्नुभएको थियो । उत्तर र दक्षिण भारतका प्रवासी नेपालीहरूलाई सङ्गठित गर्न सघाउ पु¥याउनुभएको थियो ।

  • २.१ प्रवासी नेपाली कल्याणकारी सङ्घको स्थापना– पुष्पलालको पहलमा सन् १९१६ मई ५ मा गोरखपुरमा सम्मेलन गरी क. एकदेव आलेको अध्यक्षतामा प्रवासी नेपाली कल्याणकारी सङ्घ स्थापना भयो । यसलाई सामाजिक जनसङ्गठन भनिएको थियो ।
  • २.२ प्रवासी नेपालीहरूका एक नेताले यस सङ्घलाई भाँड्न त्यसबेला भारतीय राजदूतावास, दिल्लीले साम, दाम, दण्ड, भेद प्रयोग गरेको थियो । तर पुष्पलालबाट प्रशिक्षितहरूले प्रतिकारबाट असफल पारे । प्रवासी नेपाली कल्याणकारी सङ्घले प्रस्ताव पारित गरेको थियो ः

(१) जुन प्रवासी नेपालीहरूको नेपालमा जग्गाजमिन केही छैन, कर तिर्न समेत पैसा छैन, त्यस्ता प्रवासी नेपालीका लागि नेपाल–भारत सरकारलाई निश्चित सहयोग गर्न, कलाकौशल नेपाल प्रवेश गर्दा साथै ल्याउँछन् ।

(२) साथै उनीहरूलाई स्वदेशमा लगानी गर्न उचित प्रबन्ध गर्नु

(३) जसको नेपालमा घर छैन तिनीहरूलाई भारतमा कमाएको सम्पत्ति बेचबिखन गरी नेपाल फर्कन दिनु, जुन नेपालीको नेपालमा जमिन केही छैन, लामो समयदेखि भारतमा निश्चित ठाउँमा बसोबास गर्दै आएका छन्, तिनलाई भारतीयसरह सुविधा दिनुपर्दछ ।

  • २.३ नेपालको प्रजातान्त्रिक आन्दोलनमा क.पुष्पलाल प्रवासी नेपालीहरू मात्र सहयोगी नभएर नेपालका शोषित, पीडि़त जनतालाई सघाउने क्रान्तिकारी शक्ति हो जुन शक्तिले हजारौँ कार्यकर्ताहरू तयार गरी देशभित्र पठाएको छ ।

३. योगदान

प्रवासी नेपालीहरूले नेपाल देशका लागि पनि अनेकौँ योगदानहरू गरेका छन् । नेपालमा प्रथम प्रधानन्यायाधीश भएका मा.हरिप्रसाद प्रधान प्रवासबाट आएका हुन् । नेपाल आएर आधुनिक ढङ्गले नेपालको इतिहास लेख्ने सूर्यविक्रम ज्ञवाली हुन् । भारतबाट नेपाल फर्केर लैनसिंह वाङ्देलले चित्रकला क्षेत्रमा विशिष्ट योगदान गरेको स्तुतिलायक छ । साहित्यिक क्षेत्रमा योगदान गर्ने अब्बल दर्जाकी लेखिका सुश्री पारिजात हुन् । यस्तै भारतमा नेपालबाट गएर योगदान गर्नेहरू पनि अनगन्ती छन्, खासगरी साहित्यिक, भाषिक र सांस्कृतिक क्षेत्रमा प्रवासको योगदान स्तुतिलायक छ । भानुभक्तको सालिक भारत प्रवासमा नै उभ्याइएको उल्लेखनीय छ । नेपालीहरू मिलेर सङ्घर्ष गरी भारतको संविधानमा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको उल्लेखनीय छ ।

४. क. पुष्पलालको देहावसान

सन् १९७७ मा हुँदा कलकत्तामा प्रस्तुत शोक प्रस्तावमा भनिएको छ– नेपाली प्रवासीहरूलाई सङ्गठित गर्न २९ वर्षअगडि क. पुष्पलालले मेघालयमा नेतृत्व गर्नुभएको थियो । प्रवास कलकत्तामा नेकपा जन्माउनुभएको थियो । सो दिन अत्यन्त उल्लासको दिन थियो । आज यसै शहरमा आँसु र मुटुभित्र वेदना लिएर हामी यहाँ जम्मा भएका छौँ । हम्रो आजको दिन साह्रै दुःखको दिन हो । हाम्रा महान् नेता क.पुष्पलाल हाम्रो बीच हुनुहुन्न । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्छौं ।’

५.  उपसंहार
प्रवासी नेपालीहरूको सङ्गठनभित्र खोतलेर हेर्दा ती सबै सङ्गठनहरूको पूर्वाधार खडा गर्न क. पुष्पलालको अतुलनीय योगदान रहेको छ । उहाँले प्रस्तुत गर्नुभएको प्रवासी नेपालीबारेको अवधारणा वैज्ञानिक र वस्तुनिष्ठ छ ।

६) क. पुष्पलालको सांस्कृतिक कूटनीति

१. विषय–प्रवेश
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले मौजूदा अर्धसामन्ती र अर्धऔपनिवेशक नेपालको संस्कृतिविरुद्ध राष्ट्रिय स्वाभिमानी जनवादी संस्कृति निर्माण र विकास गर्न आह्वान गर्नुभयो । साम्राज्यवादी र क्षेत्रीय प्रभुत्ववादी सांस्कृतिक अतिक्रमणको विरोध गर्नुभयो । हिन्दु प्रभुत्ववाद र विस्तारविरुद्ध धर्मनिरपेक्षतालाई जोड दिनुभयो । उहाँकै शब्दमा ‘आजको हाम्रो संस्कृतिको सार राष्ट्रिय तथा जनवादी गुदी भएको हुनुपर्छ ।’

२. राष्ट्रिय जनवादी सांस्कृतिक नीति
क. पुष्पलालले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको एक मात्र सही मूल बाटो, नयाँ जनवादी कार्यक्रममा जनवादी सरकारको सांस्कृतिक नीतिका १० बुँदाहरू प्रस्तुत गर्नुभएको छ जुन निम्नानुसार छन ः

  • १. नेपालको राष्ट्रिय तथा क्रान्तिकारी जीवनको चेतनालाई विषाक्त पार्ने सामन्ती पूँजीपति तथा साम्राज्यवादी संस्कृतिको अन्त्य गर्नेछ ।
    २. समाज विकास र एकीकरणका दौरानमा विभिन्न जातिको मिश्रणबाट उत्पन्न भएको नेपाली संस्कृतिलाई राष्ट्रिय र क्रान्तिकारी भावनाका आधारमा विकास गराउनेछ ।
    ३. सबै जातिबाट आआफ्नो तरिकाको जीवनयापन गर्न दिनुका साथै उनीहरूलाई परम्परागत प्रतिक्रियावादी संस्कृति र रूढिबूढ़ीबाट मुक्त गर्नेछ ।
    ४. सबै जातिहरूको कलाकौशल तथा साहित्यलाई राष्ट्रियता र क्रान्तिकारी जनवादी भावनाका आधारमा विकास गराउनेछ ।
    ५. सबै जातिहरूको भाषा, बोली, लोकगीत, नाचगान, बजान आदिको विकास गर्न सबैलाई समान अवसर प्रदान गर्नेछ र लिपिको पनि विकास गर्नेछ ।
    ६. जनतालाई अन्धविश्वास रूढिवादी तथा जनवादीविरोधी भावनाबाट मुक्त गरी सबै जातिहरूका बीचमा सामञ्जस्य स्थापित गराउनेछ ।
    ७. कुनै पनि जाति वा व्यक्तिलाई कुनै पनि प्रकारको विशेष सुविधा प्रदान गर्नेछैन, छुवाछुत प्रथा खतम गर्नका साथै पछौटे तथा कथित अछूत जातिहरूको विकासका निम्ति विशेष प्रयत्न गर्नेछ ।
    ८. शिक्षाको उद्देश्य एक शिक्षित सुविधासम्पन्न समुदायको जमात तयार गर्ने नभै नयाँ– नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउने सामाजिक उत्पादनमा सहायक र उपयोगी बनाउनु भएको हुँदा यसका निम्ति आवश्यकताअनुसार कला विज्ञान तथा टेक्निकल शिक्षण संस्थाहरूको व्यवस्था गर्ने, देशको कलाकौशल र वैदङ्गी शास्त्रलाई रूढिबूढीबाट मुक्त गर्ने तथा कालिगड, सिकर्मी, डकर्मी, सुनार, सुँडेनी, वैद्य आदिको कौशललाई विशेष उन्नति गराउन उनीहरूलाई विशेष शिक्षा प्रदान गर्ने प्रबन्ध गर्नेछ ।
    ९. हाईस्कूलसम्म निःशुल्क र अनिवार्य शिक्षाको प्रबन्ध गर्नेछ ।
    १०. शान्ति, जनवाद र समाजवादको विकासमा सहायक बन्ने संस्कृतिको विकास गर्ने, सामन्ती प्रतिक्रियावादी तथा साम्राज्यवादी संस्कृतिको दमन गरी यिनीहरूका स्मारकहरूलाई म्युजियममा पु¥याउने र क्रान्तिकारी जनवादी सरकारलाई मान्यता दिने । विश्वका सबै राष्ट्रसँग सांस्कृतिक प्रतिनिधिमण्डलको आदान–प्रदान गराउनेछ ।

३. जनवादी धार्मिक नीति
क. पुष्पलालले मूलतः धर्मनिरपेक्षताको नीति अवलम्बन गर्नुभएको छ ः

  • १. कुनै पनि धर्मलाई राजकीय धर्मको स्थान दिनेछैन र नेपालको क्रान्तिकारी जनवादी राज्यसत्ता धर्मनिरपेक्ष राज्यसत्ता भनी घोषणा गर्नेछ ।
  • २. धर्मलाई व्यक्तिगत विश्वासको कुरा मानी कुनै पनि व्यक्तिलाई आफूले चाहेको धर्म अवलम्बन गर्न दिनेछ ।
  • ३. धर्मको पक्ष र विपक्षमा प्रचार गर्न सबै नागरिकलाई समान रूपले अधिकार दिनेछ ।
  • ४. धर्मका नाममा गुरुपुरोहित, साधुसन्त, महन्त, लामा, मुल्ला, मौलवी, भन्ते तथा पादरीबाट हुने सम्पूर्ण शोषण जस्तै देवप्रथा, जमीनसँग सम्बन्धित गुठी प्रथा, भण्डारा प्रथा आदिलाई खतम गर्नेछ ।
  • ५. धर्मलाई सम्पूर्ण शिक्षण संस्थाबाट अलग्याउने छ ।
  • ६. मठमन्दिर, मस्जिद, गुम्बा आदिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नेछ र तिनको धार्मिक कामको आवश्यक खर्च सरकारले व्यहोरी उनीहरूको संहारको काम पनि सरकारले गर्नेछ ।
  • ७ साम्प्रदायिक भावना फैलाउने खालको गतिविधिलाई गैरकानूनी गर्नेछ ।
  • ८. विदेशी धार्मिक मिशन आदिलाई देशबाट निष्कासन गर्नेछ ।

४. कविला जाति र अछुतप्रतिको नीति

क. पुष्पलालले जनजातिहरूलाई ‘कविला’ भन्नुहुन्थ्यो र जातिहरू समानता हुनुपर्छ र समावेश हुनुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो । छुवाछुत प्रथाको विरोध गर्नुहुन्थ्यो । हिन्दु वर्णाश्रम व्यवस्थाले गर्दा तल्लो तहका लागि अछुत भनी भेदभाव गर्ने भएकाले त्यसको अन्त्य गर्न जोड दिनुभयो ।

  • (अ) कविला जातिप्रतिको नीति
    हाम्रो पार्टीले कविला जातिको आर्थिक, राजनैतिक र संस्कृति आन्दोलनलाई देशको किसान र जनवादी आन्दोलनसँग तालमेल बैठाई संयुक्त रूपले अगाडि बढ़ाउने नीति लिनुपर्दछ । यो नीति देशको राष्ट्रियतालाई खँदिलो र दरिलो पार्ने एकमात्र नीति हो ।
  • (आ) अछुत जातिप्रतिको नीति
    ‘राणाशाहीको अन्तपछि हाम्रो पार्टीले अछुत जातप्रति आफ्नो नीति तयार गरी उनीहरूलाई सङ्गठित गरी सङ्घर्षमा उतार्ने नीति लिएको हो ।’ उनीहरूमा उत्पन्न भएको जागृतिले गर्दा सरकारले कानूनबाट छुवाछुत हटाउन बाध्य भए तापनि समाजमा यो आजसम्म पनि ठूलो अभिश्रापको रूपमा मौजूद छ ।

५. सांस्कृतिक क्षेत्रमा बाह्य हस्तक्षेपका शृङ्खला
क.पुष्पलाल ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने अध्ययन र अनुसन्धानकर्ता भएकाले नेपालमा मातृसत्तात्मक समाजदेखिको निश्चित रचनाहरू लेख्नुभएको छ । इतिहासका विविध मोडहरूमा भएका बाह्य सांस्कृतिक हस्तक्षेपका शृङ्खलाहरूको उदाहरण प्रस्तुत गर्नुभएको छ । केही प्रमुख उदाहरण यसप्रकार छन् ः

  • १. जनजाति प्रथा र व्यवस्थाको विरोध गर्ने चिन्तक गौतम बुद्ध र त्यस अगाडि आदि बुद्ध मान्ने महाज्ञानी बज्रयाणीहरू बौद्धहरूले जब स्वयम्भू पुराण लेखी प्रचार गर्न थाले हिन्दु राजावादी सामन्तहरूले पशुपति महात्म्य लेखाई प्रचार गर्ने र शंकराचार्य जस्ता बुद्धविरोधी विद्वान्हरू बोलाई प्रवचन आदि गराउन थाले ।
  • २. कविला जनयुद्धहरूमाथि प्रहार गर्न नेपालका सामन्ती राज्यका वाहकहरूले भारतीय सामन्ती साहित्यमा नाम चलेका रामायण, महाभारत, श्रीमद्भगवद्गीता, चण्डी, देवीभागवत, गरुड पुराणजस्ता किताबहरू भारतबाट मगाई नेपालमा प्रचार गर्न थाले । सांस्कृतिक अतिक्रमण तीव्र भयो । स्थानीय सामन्त र बाह्य हिन्दुतन्त्रको साँठगाँठ सांस्कृतिक क्षेत्रमा समेत हुन थाल्यो ।
  • ३. इस्लामिक अतिक्रमणबाट सिम्रौनगढ़ ध्वस्त भई तलेजु बोकेर तत्कालीन राजा हरिसिंहदेव चारकोसे झाडी छिचोलेर काठमाडौँ उपत्यकामा शरण लिन आएका थिए । समसुद्दीनले काठमाडौँ उपत्यकामा आक्रमण गरी धेरै हिन्दु र बौद्ध मन्दिर, मूर्तिहरू बिगार्ने र ग्रन्थहरू जलाउने काम भएको थियो ।
  • ४. नेपाल–अङ्ग्रेज युद्ध सुगौली सन्धिबाट टुङ्गिएपछि युद्धबन्दीहरू समावेश गरी गोरखा भर्ती अङ्ग्रेजले सुरु गरे । आन्तरिक मामिलामा पनि अङ्ग्रेजको हस्तक्षेप बढ्न थाल्यो ।
  • ५. कोतपर्व गरी राणाले शक्ति हत्याएपछि भारतको सिपाही विद्रोह दमन गर्न जङ्गबहादुरले फौज लिएर लखनौ चढाइ गरेपछि अङ्ग्रेजको प्रभाव र प्रभुत्व नेपालभित्र बढ्दै गयो । गोरखा भर्ती खुल्ला र औपचारिक रूपमा छुट भएको मात्र होइन, नेपाली सेना पनि अङ्ग्रेजका पक्षमा लड्न पठाइयो ।
  • ६. द्वितीय विश्वयुद्धपछि अमेरिकाको नेपालमा प्रभाव भित्रियो । सन् १९४९ मा चीनमा जनवादी सत्ता कायम भएपछि र तिब्बतलाई जनमुक्ति सेनाले मुक्त गरेपछि एङ्ग्लो–अमेरिकी गुटले नेपालमा चीनविरोधी गतिविधि बढाउन थाल्यो । आर.टी.ओ. जस्ता सम्झौता गरी उत्तरतर्फ रेखदेख गर्ने काम थाल्यो ।
  • ७. भारत स्वतन्त्र भै पं. जवाहरलालको सरकार गठन भएपछि त्रिपक्षीय सम्झौता गरी गोरखा फौज भारत र अङ्ग्रेजले बाँडफाँट गरे । सन् १९५० को असमान सन्धि गरी गोप्य पत्राचारमा हिमालयको दक्षिणलाई भारतको प्रभाव क्षेत्र बढाउने प्रख्यात क्षेत्र भनियो ।
  • ८. राजनीतिक रूपमा प्रभाव विस्तारका साथै सांस्कृतिक रूपमा पनि साम्राज्यवाद र विस्तारवादी साहित्य ओइरिन थाल्यो । पिसकोर आउने, तिब्बती शरणार्थीहरूबीच लभतधयचप तयार गरी चीनविरुद्ध अभियान चलाउन थाल्यो । ःऋऋ सम्झौता पछिल्लो अमेरिकासितको सम्झौता हो ।
  • ९. सोभियत सङ्घमा खुस्चेवको उदय भएपछि संशोधनवाद सुरु भयो । र नेपालमा डा. केशरजङ्ग रायमाझी गुटमार्फत उनीहरूको प्रकाशन र प्रचार सामग्री आउन थाल्यो ।
  • १०. नेपाली संस्कृतिमा पुँजीवादी विकृति र संशोधनवादको प्रवेश भएको व्याख्या क. पुष्पलालले विस्तृत रूपमा गर्नुभएको छ । त्यसको प्रतिरोध र प्रतिकार गर्न प्रोत्साहित गर्नुभएको छ ।

६. अन्धराष्ट्रवाद र समर्पणवादको विरोधमा अन्तर्राष्ट्रियतावाद
क. पुष्पलालले अन्धराष्ट्रबाद र आत्मसमर्पणवादको विरोध गर्नुहुन्थ्यो । समाजवादी, जनवादी देशका संस्कृतिसित आदान–प्रदान बढ़ाउन जोड दिनुहुन्थ्यो । शरीरलाई सफा राखेजस्तै देशभित्रको संस्कृतिलाई खारेर स्वच्छ र अग्रगामी दिशा प्रदान गर्न जोड दिनुहुन्थ्यो । उहाँले भारत प्रवासमा बसेर लामो समय काम गर्दा भारतीय कम्युनिस्टहरू र वाम बुद्धिजीवीहरूसित सहकार्य गर्नुभएको थियो । भारतका प्रसिद्ध वाम बुद्धिजीवी के. चन्द्रबली सिंहले काठमाडौँमा आयोजित अन्तरक्रियामा भन्नुभएको छ– ‘यो कुरा तपाईंहरूलाई थाहा छ र मलाई पनि थाहा छ कि मेरो देशमा यस किसिमका शक्तिहरू छन् जसको इरादा विस्तारवाद हुन सक्छ, तर सम्पूर्ण भारतीय जनता विस्तारवादी छैनन् । तपाईंहरूको लड़ाईंमा हामी तपाईंहरूको साथमा छौँ । भारतीय विस्तारवादले तपाईंहरूको विरोधमा शिर उठाउने कोशिश ग¥यो भने हामी त्यसको विरोधमा लड्ने छौँ ।’ आज हामी पनि जनवादको रक्षा र विकासका निम्ति सङ्घर्ष गरिरहेका छौँ । क. पुष्पलालले नेपाली जनताको सङ्घर्षको कुरा मात्र सोच्नुहुन्नथ्यो । उहाँ भारतीय जनताको सङ्घर्षको कुरा पनि सोच्नुहुन्थ्यो । यो उहाँको अन्तर्राष्ट्रियता थियो ।’

७. उपसंहार
निरन्तर अध्ययन लेखनमा लागेका क. पुष्पलालले नेपालमा मातृसत्तात्मक समाजदेखि नेपालको इतिहासको पुनव्र्याख्या गर्ने ‘ऐतिहासिक नोट्स’ तयार गरेर छोड्नुभएको छ । समाजमा परिवर्तन ल्याउन सांस्कृतिक क्षेत्रलाई आलोचनात्मक अग्रगामी दिशा प्रदान गर्न जोड दिनुभएको छ । बाह्य सांस्कृतिक हस्तक्षेपको दृढताका साथ प्रतिवाद गर्नुभएको छ । वास्तवमा क. पुष्पलालको सांस्कृतिक मोर्चा राष्ट्रिय स्वाभिमानको भावनाबाट ओतप्रोत र अग्रगामी सोचबाट समृद्ध देखिन्छ ।

७) क. पुष्पलालको आर्थिक कूटनीति

१. विषय–प्रवेश
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले कुनै एउटा देशप्रति मात्र आश्रित हुनुपर्ने आर्थिक सम्बन्धको बदला आर्थिक, व्यापारिक सम्बन्धलाई विविधीकरण गर्ने, एकपक्षीय साझा बजारको बदला जनवादी र समाजवादी देशहरूसित आर्थिक व्यापारिक सम्बन्ध बढाउने, असमान आर्थिक सम्बन्धको बदला समानता र पारस्परिक हितमा आधारित धेरै मुलुकहरूसित आर्थिक सम्बन्ध बढाउनेतर्फ अग्रसर हुनुपर्ने आर्थिक कूटनीतिका महŒवपूर्ण विचार व्यक्त गर्नुभएको छ । ‘एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र, नेपालले पाउनुपर्ने व्यापार वाणिज्य र पारवहन सुविधा छुट्टै सन्धि गर्न अनिवार्य रूपले चाल्नुपर्ने मौलिक स्वाधीन जनवादी आर्थिक नीतिका’ निम्ति अभियान चलाउन जोड दिनुभयो ।

२. राष्ट्रिय जनवादी आर्थिक नीति
क.पुष्पलालले नयाँ जनवादी कार्यक्रममा राष्ट्रिय पुँजीलाई नियन्त्रित तथा नियोजित रूपमा विकास गर्न दिई समाजको सङ्क्रमणको पृष्ठभूमि तयार गर्न निम्न ९ बुँदे नीति प्रस्तुत गर्नुभएको छ ः

  • १. विभिन्न उद्योगधन्दा, बन्द–व्यापार, बैङ्क, यातायात, कोसी–गण्डक योजना आदिमा लगानी नगरिएका विदेशी पुँजीलाई बिनामुआब्जा जफत गरी राष्ट्रियकरण गर्नेछ ।
  • २. देशमा आधारभूत उद्योगहरू– यातायात, सञ्चार, ऋण संस्था, बैङ्क आदिमा राजकीय क्षेत्रमा सरकारले चलाउनेछ ।
  • ३. देशको आर्थिक व्यवस्थामा राजकीय उद्योगधन्दाको प्रभुत्व कायम गर्नेछ ।
  • ४. देशको आर्थिक व्यवस्थामा हानि नहुने गरी राष्ट्रिय पुँजीलाई नियोजित तथा नियन्त्रित रूपले विकास गर्नेछ ।
  • ५. विदेशमा लगानी गरिएको नेपाली पुँजीलाई देशमा फर्काई यस्ता उद्योगमा लगानी गराउन प्रोत्साहित गर्नेछ ।
  • ६. जमीनबाट वञ्चित गरिएका भूमिपतिहरूलाई यस्ता उद्योगमा उनीहरूको पुँजी लगानी गर्नेमा विशेष सुविधा प्रदान गरी प्रोत्साहित गर्नेछ र यस्ता उद्योगहरूको विकास गराउनका निम्ति आवश्यक परेमा सरकारले कच्चा माल, पुँजी तथा बजारको पनि बन्दोबस्त गर्नेछ ।
  • ७. शहरी तथा ग्रामीण दुवै क्षेत्रमा कुटीर उद्योग, राष्ट्रिय कला, शिल्प दस्तकारी आदिको विकासमा प्रोत्साहन र सहायता प्रदान गर्नेछ ।
  • ८. यिनीहरूलाई विभिन्न पेशाको साझा संस्थामा सङ्गठित गरी सस्ती ब्याजमा दीर्घकालीन सरकारी ऋणको व्यवस्था गर्नका साथै उत्पादनको खपतका निम्ति बजारको पनि व्यवस्था गर्नेछ, शहर र ग्रामीण दुवै क्षेत्रमा निम्न व्यापारीहरूको साझा सङ्गठन गराई उनीहरूलाई होडबाट बचाउने र उनीहरूको अधिकार सुरक्षित गर्नेछ ।
  • ९. मजदूर, किसान तथा मध्यम वर्गलाई भार नपर्ने कर नीति सरकारको हुनेछ ।

३. मजदुर (ट्रेड युनियन) नीति
सरकारको उद्योग नीतिलाई मजदुर नीतिबाट अलग गरी हेर्न सकिन्न । नयाँ जनवादी आर्थिक व्यवस्थामा उद्योगधन्दाको सञ्चालनमा मजदुर वर्गको अति नै महŒवपूर्ण भूमिका हुन्छ । क्रान्तिकारी जनवादी सरकारको ९ बुँदे मजदुर (ट्रेड युनियन) नीति यसप्रकार छ ः

  • १. जीवन लायक ज्यालाको निर्धारण गर्ने,
  • २. कामको घण्टा क्रमिक रूपले घटाउँदै लैजाने,
  • ३. अङ्ग–भङ्ग भएका मजदुरको उपचार तथा जीवनयापनको व्यवस्था उद्योगपतिहरूको खर्चमा गराउने,
  • ४. मजदुरहरूको बसोवासको प्रबन्ध गर्ने,
  • ५. बुढ्यौली भत्ताको व्यवस्था गर्ने,
  • ६. मजदुरलाई युनियन गठन गर्ने र हडताल गर्ने तथा सामूहिक रूपले उनीहरूको ज्यालामा मोलमोलाइ गर्ने अधिकार दिने,
  • ७. उनका केटाकेटीहरूको शिक्षा–दीक्षाको प्रबन्ध गर्ने र नाबालकलाई काममा लगाउने कार्यमा प्रतिबन्ध लगाउने,
  • ८. स्त्री–मजदुरलाई बराबर कामको बराबर ज्याला दिने र सुत्केरी हुनुभन्दा एक महिना पहिले र पछि दुई महिनासम्म तलबसहित बिदा दिने तथा
  • ९. सानाठूला सबै औद्योगिक केन्द्रहरूमा शिशु गृहको निर्माण गर्नेछ ।

४. राष्ट्रिय हितका लागि चाल्नुपर्ने आर्थिक कदमहरू
क. पुष्पलालले नेपाल–भारत व्यापार समस्याका बारेमा समीक्षा गर्दा विशुद्ध राष्ट्रिय स्वार्थका लागि चालिनुपर्ने ९ बुँदे आर्थिक कदमहरूको सिफारिस गर्नुभएको छ ः

  • १. सर्वप्रथम नेपालबाट विदेशी पूँजीलाई निष्कासित गर्नुपर्छ ।
  • २. विदेशी सहायताको आधारमा आफ्नो योजना नबनाई आफ्नै राष्ट्रिय पूँजीको स्रोत र विदेशी सहायताको आधारमा योजना बनाउनुपर्छ ।
  • ३. मोही र तल्सिङमा आधारित सामन्ती भूमि व्यवस्थापनलाई नष्ट गरीराष्ट्रिय बजार तयार गर्नुपर्छ ।
  • ४. समाजवादी चीनसँग उत्तरोत्तर घनिष्ठ रूपले नेपालको उद्योग, वाणिज्य र व्यापार सम्बन्ध बढ़ाएर लैजानुपर्छ ।
  • ५. अन्तर्राष्ट्रिय मान्यताको आधारमा एक प्रभुसत्तासम्पन्न भूपरिवेष्ठित राष्ट्रले पाउनुपर्ने अकुण्ठित पारवहन सुविधाको माग भारतसँग प्राप्त गर्नुपर्छ ।
  • ६. हालै सम्पन्न भएको काबुल सम्मेलनअनुसार दुई राष्ट्रको बीचमा मनोमालिन्यको बाबजूद (भारत–चीन र पाकिस्तान) नेपालले पाकिस्तानसँग आफ्नो व्यापारको वृद्धि गर्न राधिकापुरको सुविधा र समुद्रपारका राष्ट्रसँग आफ्नो व्यापारको वृद्धि गर्न कलकत्ता बन्दरगाहको सुविधा लिनुपर्छ ।
  • ७. भारत र नेपालको विकासको स्तरको तुलनात्मक अध्ययनको आधारमा एक देशले अर्को देशको बजारको उपयोग गर्न पाउने अधिकार नेपालले भारतलाई दिनु र भारतसँग नेपालले लिनुपर्छ ।
  • ८. नेपालको राष्ट्रिय एकतालाई खँदिलो गर्न र राष्ट्रिय बजार तयार गर्नका निम्ति मध्य नेपालको हाम्रो परम्परागत पूर्व–पश्चिमको मूल बाटोको आधुनिकीकरण गर्नुपर्छ ।
  • ९. विदेशी बैङ्कमा शाही परिवारसम्मको सम्पत्ति जम्मा गर्ने चलनलाई गैरकानूनी गरी आजसम्म विदेशी बैङ्कमा जम्मा गरिएको ‘सम्पूर्ण नेपाली’ को पूँजीलाई देशमा ल्याउनु आदिका आधारमा जनमत तयार गर्नुपर्दछ ।

५. एकाधिकारवाद, विशेष सम्बन्ध वा साझा बजार होइन, व्यापार विविधीकरण गर्नुपर्ने
क. पुष्पलालले नेपाल र भारत वाणिज्य वार्ता असफलताका कारणहरूको विवेचना गर्नुभएको छ । कलकत्ताबाट निस्कने ँचयलतष्भच नामक पत्रिकाको फरवरी १९७० अङ्कमा क्ष्लमष्ब बलम ल्भउब िशीर्षकमा लेख छापिएको छ जसमा भारतीय एकाधिकारवाद विशेष आर्थिक सम्बन्ध र भारतसित साझा बजारको भारतीय हैकमवादी आर्थिक सोचलाई प्रतिवाद गर्दै धेरै देशहरूसित व्यापार विविधीकरण गर्नुपर्ने, उत्तरी छिमेकी जनवादी चीनसित व्यापार र आर्थिक सम्बन्ध बढाउनुपर्ने, समाजवादी देशहरूसित औद्योगिकीकरणका लागि सहायता लिनुपर्ने, नेपालले विदेशी व्यापार, रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा भारतको बैङ्किङ नियन्त्रणमा राख्नु नहुने, सारमा भन्ने हो भने परनिर्भरता होइन आत्मनिर्भरता र सबैसित अन्तनिर्भरतामा जोड दिनुपर्ने कूटनीतिक पहललाई प्रोत्साहित गर्नुभएको छ ।

६.उपसंहार
क. पुष्पलालको आर्थिक सोच साम्राज्यवादी र क्षेत्रीय हैकमवादी आर्थिक प्रभुत्वको बदला राष्ट्रिय स्वाभिमानी जनवादी अर्थतन्त्रलाई विकल्पको रूपमा प्रस्तुत गर्ने प्रगतिशील सोच हो । भूपरिवेष्ठित मुलुकहरूले पाउनुपर्ने समुद्रसम्म जान र आउने अकुण्ठित पारवहन हक सुविधालई प्राप्त गर्ने अडान हो । मुलुकलाई औद्योगिकीकरण गर्ने, आन्तरिक बजारलाई एकीकृत गर्न राजमार्ग फैलाउने र ट्रेड युनियन हक सुनिश्चित गरी मजदुरलगायत राष्ट्रिय पुँजीपतिलाई हुर्काएर समाजवादतर्फ सङ्क्रमणको तयारी गर्ने अग्रगामी आर्थिक दृष्टिकोणको सशक्त प्रक्षेपण हो ।

(पुष्पलालको ४७ औँ स्मृति दिवसमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय, हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित ‘पुष्पलाल माक्र्सवादी विश्वविद्यालय ः सम्भावना र चुनौती’ विषयक बृहत् विचारगोष्ठीका क्रममा हिरण्यलाल श्रेष्ठद्वारा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयका लागि प्रदान गर्नुभएको ‘विदेश मामिलामा क. पुष्पलाल’ पुस्तकबाट साभार)

क.पुष्पलाल, ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’ पृष्ठ २९
क.पुष्पलाल, ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’ पृष्ठ ३९
क.पुष्पलाल, ‘छानिएका रचनाहरू’ भाग १ पृष्ठ ४१–४६
क. पुष्पलाल, ‘नेपाली जनआन्दोलन– १ समीक्षा’ पृष्ठ ९
क.पुष्पलाल, ‘नेपाली जनआन्दोलन–१ समीक्षा’ पृष्ठ १३
क.पुष्पलाल, ‘नेपाली जनआन्दोलन–१ समीक्षा’ पृष्ठ १७
हिरण्यलाल श्रेष्ठ, ‘शान्ति सेना र विदेशी सेनाहरूमा नेपाली÷गोरखाली’ २०७३ साल पृष्ठ ५८
क.पुष्पलाल, ‘नयाँ जनवादी कार्यक्रम’
क.पुष्पलाल, ‘नेपाल–भारत सम्बन्धमा क.पुष्पलालका लेख रचनाहरू’ पृष्ठ १५
अरविन्द रिमाल, ‘१९९७ सालदेखि २०१७ साल ः एक अवलोकन’ पृष्ठ १७७–१८०
क. पुष्पलाल, ‘छानिएका रचना’ भाग ४, पुष्पलाल स्मृति प्रतिष्ठान, पृष्ठ– १७०
क.पुष्पलाल ‘नयाँ जनवादी कार्यक्रम (पाण्डुलिपिसहित)’, पृष्ठ– २९०
क.पुष्पलाल, राजनैतिक रिपोर्ट, नेकपा, के. स. वाराणसी १९८६ जनवरी २६, पृष्ठ– १५
ऐजन, पृष्ठ २८१
क. पुष्पलाल, ‘छानिएका रचनाहरू’, भाग– ४, पुष्पलाल स्मृति प्रतिष्ठान पृष्ठ, ९५
क. पुष्पलालका छानिएका रचनाहरू, भाग–४, पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौँ, पृष्ठ १०१–१०२
गोविन्द ज्ञवाली, ‘समकालीन इतिहासमा पुष्पलाल’ पृष्ठ १०८
एगकउबबि,ि ुक्ष्ल्म्क्ष्ब्–ल्भ्एब्ीु, ँचयलतष्भच, ँभदचगबचथ ठ, ज्ञढठण्
नेपालपत्र, पुष्पलाल स्मृति अङ्क, २०४७ साल, पृष्ठ १९
नयाँ जनवाद, पुष्पलाल श्रद्धाञ्जली विशेषाङ्क, अङ्क १२, पृष्ठ २३
क. पुष्पलाल, नयाँ जनवादी कार्यक्रम, २०४८ सालमा पाण्डुलिपि साथ प्रकाशित, पृष्ठ २८६
क.पुष्पलालद्वारा लिखित नयाँ जनवादी कार्यक्रम (पाण्डुलिपि), मधुवन प्रकाशन, काठमाडौँ, २०८०, पृष्ठ २८६
क. पुष्पलाल, पार्टी ः दस्तावेज सङ्ग्रह, भाग–२, पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौँ, २०७२, सङ्कलन तथा सम्पादन बेदुराम भुसाल, पृष्ठ. ३
ऐजन, पृष्ठ ७५
श्रद्धाञ्जली विशेषाङ्क, नेकपा
नयाँ जनवाद– नेपाल कम्युनिस्ट पार्टीको बुलेटिन नं. ५, माघ–फागुन २०२८, नयाँ जनवादी संस्कृति खण्ड हेर्नुहोस् ।
नेपालको कम्युनिस्ट पार्टी दस्तावेज सङ्ग्रह भाग–३, पुष्पलाल स्मृति प्रतिष्ठान–२०७२ साल, पृष्ठ ७६
ऐजन, पृष्ठ ७७, ७८
नयाँ जनवाद, नेपाल कम्युनिस्ट पार्टीको बुलेटिन नं. ५, माघ–फागुन २०२८–०४–०१
नेपालपत्र, पुष्पलाल स्मृति अङ्क, साउन १५, २०४४ साल, पृष्ठ १९
नेपाल–भारत सम्बन्ध– क. पुष्पलालका लेखरचनाहरू, पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडाँै, १९७०, पृष्ठ १८
नेपाल कम्युनिस्ट पार्टी दस्तावेज सङ्ग्रह भाग–२, पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौँ, २०७२ साल, पृष्ठ ७३–७४
ऐजन, पृष्ठ ७४)
पुष्पलाल, ‘नेपाल–भारत’ सम्बन्धमा क.पुष्पलालका लेखरचनाहरू, पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौँ– १९७०, पृष्ठ– १७–१८