लोकनारायण सुवेदी
नेपालमा माक्र्सवादको गहिरो अध्ययन, चिन्तन, मनन र अनुशीलन गर्ने र त्यसअनुसार नेपाली समाजको भावी गन्तव्यको प्रस्ट दिशाबोध गर्ने–गराउने काम नेपाली कम्युनिस्ट आन्दोलनका सूत्रधार तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले आरम्भ गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी गठन गर्नुभन्दा पहिला नै माक्र्सवादी दर्शन र साहित्यसँग परिचित भएर २००५ सालमै उनले विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद गरेका थिए । त्यस महŒवपूर्ण र ऐतिहासिक अनुवादमा नेपाली समाजको जुन वर्गीय विश्लेषण र चरित्रचित्रण पुष्पलालले गरेका छन् त्यसले नै प्रस्ट पार्दछ– कमरेड पुष्पलालमा माक्र्सवादको गहिरो छाप मात्र परेको थिएन माक्र्सवादको चुरो कुरो वर्गीय शोषण र सामाजिक उत्पीडनबाट समाज मुक्त तुल्याउन ‘वर्गीय दृष्टिकोण’ र ‘वर्ग सङ्घर्ष’ को गहिरो ज्ञान पनि उनलाई भइसकेको थियो ।
आज माक्र्स जन्मेको दुई सय ७ वर्ष नाघिसकेको छ र विश्वभरि ८ वर्षअघि माक्र्सको जन्मद्वि–शतवार्षिकी कार्यक्रमहरू विभिन्न स्तरमा व्यापक र विशद् रूपमा मनाइएको थियो । माक्र्सको जन्म ५ मे १८१८ मा भएको थियो भने देहावसान १४ मार्च १८८३ मा । जर्मनीका एक अप्रतिम तथा अतुलनीय बिश्वप्रसिद्ध दार्शनिक कार्ल माक्र्सको क्रान्तिकारी दर्शनलाई विश्वमा माक्र्सवाद भनेर चिनिन्छ । यो संसार— ‘मानव समाज र प्रकृति’ लाई सही किसिमले हेर्ने र सही किसिमले फेर्ने द्वन्द्वात्मक एवम् ऐतिहाासिक भौतिकवादी दर्शन हो । यो दर्शन त्यसअघिका अरू सबै दर्शनहरूभन्दा भिन्न, उन्नत, सुसङ्गत, वैज्ञानिक र जीवन्त तथा गतिशील दर्शन हो । त्यसैले माक्र्सवाद आज विश्वका सबै देशका शोषित–पीडित जनसमुदाय तथा उत्पीडित राष्ट्रको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । शोषणविहीन, सुन्दर, सभ्य र सुसंस्कृत एवम् उच्च मानवीय समाज निर्माणको प्रतीकका रूपमा यो दर्शन विश्वमा खडा भएको र रहेको छ । वास्तवमा यो उच्च, मानवीय जनतन्त्रका लागि एउटा प्रकाशस्तम्भ हो जसले समानता, न्याय,. स्वतन्त्रता र विश्वभाइचाराको मर्म सुनिश्चित गर्दछ तदनुरूपको उन्नत र सुसंस्कृत वातावरण कायम गर्ने र त्यसलाई निरन्तरता दिइरहने काम गर्दछ ।
माक्र्सको लेखन र जीवनयात्रा नै विश्व कम्युनिस्ट आन्दोलनका लागि मूलभूत वैचारिक आधार हो । यद्यपि माक्र्स केवल एउटा किताबी र सतही रूपमा चर्चित दार्शनिकजस्ता दार्शनिक थिएनन् । उनले आफ्नो विचारलाई स्वयम् आफ्नो जीवन व्यवहारमा उतारेका थिए । आफ्नो समयका मजदुर आन्दोलनहरू र क्रान्तिकारी आन्दोनलहरूसँग उनी निकटतम रूपमा जोडिएका थिए । हुन पनि त्यसैले शासक वर्गलाई खुलमखुल्ला र गम्भीर चुनौती दिने उनका सरल तर गहन विचारहरू यत्तिका धेरै प्रभावकारी र ‘खतरनाक’ थिए कि माक्र्सलाई कयाँै देशका सरकारहरूले एकपछि अर्को देशबाट निष्कासन नै गरेका, प्रवेश निषेध गरेका, नागरिकताबाट पनि वञ्चित गरेका थिए । अनि उनले लेखेका लेखहरू र उनले दिएका विचारहरूमाथि पनि कडा प्रतिबन्ध लगाइएको थियो । वास्तवमा ती महान् विश्व नागरिक कुनै देशका पनि नागरिक थिएनन् ।
हुन पनि माक्र्स कम्युनिस्ट आन्दोलनमा लाग्दा अत्यन्तै गरिबीमा आफ्नो जीवन बिताए । एकपटक माक्र्सकी आमा जेनिएटले माक्र्सका बारेमा भनेकी पनि थिइन्— ‘जुन मानिसले पुँजीका बारेमा यत्तिका धेरै लेख्यो उही पुँजीबाट लाभ उठाउनमा भने सबैभन्दा पछि प¥यो ।’ माक्र्स र उनकी जीवनपर्यन्तकी सहधर्मिणी जेनी वन वेस्टफेलनका सातवटा बच्चा जन्मेका थिए । तीमध्ये तीनजना बच्चा मात्र वयस्क उमेरसम्म बाँच्न पाए भने अरूले सानैमा जीवन गुमाए । वास्तवमा अत्यन्तै अर्थ अभावमा कष्टप्रद जीवन गुजारा गर्ने माक्र्सले कतिपय बालबच्चाहरू सानै उमेरमा उचित औषधोपचारको सुविधा नपाएर अमूल्य जीवन गुमाउन बाध्य भएका थिए । यद्यपि उनका अनन्य सहयात्री मित्र कमरेड फ्रेडरिक एङ्गेल्सले सकेसम्म उनलाई हरेक किसिमले मद्दत गरेका थिए । हुन पनि एङ्गेल्स वास्तवमा माक्र्सको जीवन तथा लेखन दुवै कुराका अभिन्न तथा आजीवन सहयात्री थिए र रहे । माक्र्स र एङ्गेल्सको मित्रतालाई जसले देखे, सुने, जाने तिनले त्यसप्रति लोभलाग्दो ईष्र्या नै गर्ने गर्दथे र अहिले पनि गर्दछन् । एउटा अत्यन्तै समर्पित मित्रता तिनका बीचमा थियो । विश्वका श्रमजीवी जनताप्रति समर्पित मित्रताको त्यस्तो उदाहरण अर्काे विरलै पाइन्छ र दुर्लभ छ ।
आजभन्दा दुई सय ७ वर्ष पहिला जन्मेका माक्र्सले जे देखेका थिए र लेखेका थिए त्यो आजको २१ औँ शताब्दीको विश्व र त्यसको एउटा अङ्ग नेपाली समाजका लागि पनि कत्तिको सार्थक छ ? यो कुरा हामीले गम्भीर र राम्रोसँग हेर्नु, बुझ्नु र पुनर्पुष्टि गर्न सक्नु र त्यसो गर्न सिक्नु पर्दछ । यद्यपि कतिपय स्वनामधन्य विद्वान्हरू, इतिहासकारहरू र समाजशास्त्रीहरूले आजको २१ औँ शताब्दीमा माक्र्सवादलाई पुरानो र सन्दर्भहीन भएको र त्यसको आवश्यकता पनि नरहेको सतही र हल्काफुल्का व्याख्या र टीकाटिप्पणी गर्ने गरेका छन् । माक्र्सवाद पराजित भइसकेको दर्शन भन्ने गलत धारणा पनि व्यक्त गर्ने तथा दोहो¥याउने गरेका छन् । अरू त अरू पुँजीवादी भासमा चुर्लुम्म डुबेका कम्युनिस्ट नामधारी संसद्वादीहरूले पनि बेलाकुबेला तिनीहरूकै राग अलाप्ने र स्वरमा स्वर मिलाउने गरेको पनि वर्तमान नेपालमा छ्यास्छ्यास्ती देखिन थालेको छ । तिनीहरू बडो जान्नेजस्तो भएर माक्र्सवाद भनेको जडसूत्रवाद होइन भन्दै माक्र्सवादका मूलभूत कुराहरू त्यागेर माक्र्सवादप्रति बडो साखिलो र क्रान्तिकारी भएको पाखण्ड पनि प्रदर्शन गर्ने गर्दै आएका छन् ।
तर आज हामी सबैले देखिरहेका छौँ– जति–जति पुँजीवादी सङ्कट गहिरिँदै जान्छ ठूला पुँजीवादी देहरूमा समेत मानिसहरू सङ्घर्षको मैदानमा सडकमा उत्रिन थाल्दछन् र ती माक्र्सले लेखेका कुराहरू जान्न, बुझ्न र त्यसको खोज गर्न अझ बढी जिज्ञासु र उत्सुक देखिन्छन् । त्यसैले हामीले यति बेला सामाजिक क्रान्तिका अतुलनीय द्रष्टा, व्याख्याता र मार्गदर्शक माक्र्सले समाजको विकास र प्रगतिका बारेमा के भनेका थिए ती कुराहरूलाई कमरेड पुष्पलालले जस्तै गम्भीरतम रूपमा हेरौँ र बुझौँ ! अनि आजको बिश्वसमाज र यसमा चलिरहेको वर्गसङ्घर्षलाई सही किसिमले जान्न, बुझ्न माक्र्सवाद कत्तिको सामयिक र सान्दर्भिक छ, सही र गम्भीर किसिमले चिन्तन, मनन र आत्मसात गरौँ ! अनि अजेय माक्र्सवादी दर्शनको महान् झन्डाको आलोकमा सही किसिमले अगाडि बढ्न र यसको अजेयतालाई आत्मसात गर्दै देश र जनतालई युगौँदेखिका दुःखकष्टबाट मुक्त गर्न सकिन्छ । यसलाई सही दिशा र गतिका आधारमा अगाडि उन्नत स्तरतर्फ गतिमान गराउन सकिन्छ । लेनिनले रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेपछि के स्पष्ट भनेका थिए भने यो त केवल प्रस्थानबिन्दु मात्र हो । अब समाजवादीहरूले दसै दिशामा यसको खोज, अध्ययन, अनुसन्धानका आधारमा उच्च विज्ञता हासिल गर्न सक्नु र सिक्नु पर्दछ । श्रेष्ठता अन्धानुकरण गरेर, भावनामा बगेर वा रट लगाएर कदापि हासिल हुँदैन । चरण–चरणका समाज परिवर्तनका नियमहरू पत्ता लगाएर चल्न सिक्नु र सक्नु पर्दछ । मानव आर्जित सबै ज्ञानभण्डारले सुसज्जित विश्वलाई उच्च, मानवीय, सुसंस्कृत दिशा प्रदान गर्न निरन्तर क्रियाशील र गतिमान प्रयत्न, पहल र परिमार्जन अत्याबश्यक छ । त्यसैले माक्र्सवादी ज्ञान भण्डारको आवश्यकता पर्न जाने हो र त्यसले निरन्तर अग्रगामी परिवर्तनको मूलबाटो देखाइरहने हो । ज्ञान र व्यवहारको द्वन्द्वात्मक निरन्तरता र निरन्तर अग्रगामी, उन्नत परिवर्तनका लागि ।
यस अर्थमा पुष्पलाल जन्मशताब्दीका अवसरमा कमरेड अशोक सुवेदीले गर्नुभएको पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापनाको प्रयत्न सार्थक र परिणामदायी हुनसक्छ । विगतमा कतिपय पक्षबाट जेजस्ता यससम्बन्धी प्रयत्न र प्रसारप्रसार तथा कोष सङ्कलन गर्ने र कतै बुझाउनेसम्मका अभियान पनि चलाइयो, कार्यपत्र पनि प्रस्तुत गरियो । ती सबै कुरा सामसुम भए वा विस्मृतिको गर्भमा धकेलिए । त्यसबाट हामीले आज के अनुभव लिने ? कस्तो समीक्षा गर्ने र आगामी दिनमा हुनसक्ने गम्भीर गल्तीबाट जोगिने भन्ने प्रश्नहरू अनुत्तरित छन् । अजेय माक्र्सवाद र कार्ल माक्र्स अमर छन् र निरन्तर रहिरहनेछन् ! यस अमरत्वलाई चिरकालपर्यन्त अक्षुण्ण राख्न दार्शनिक, वैचारिक, सैद्धान्तिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक किसिमले के–के गर्न सकिन्छ, त्यो महŒवपूर्ण र विचारणीय छ भन्ने लाग्दछ । यस सम्बन्धमा कमरेड पुष्पलालले जुन बाटो अवलम्बन गर्न नेपालमा सुरु गर्नुभयो त्यसलाई अहिलेसम्मको अनुभवका आधारमा हामीले कमरेड पुष्पलालबाट सिक्ने र अनुसरण गर्ने मूलभूत कुरा पनि यही नै हो । कमरेड पुष्पलालको जन्मशतवार्षिकीका सन्दर्भमा माक्र्सवादका एक अविच्छिन्न अनुयायी कमरेड पुष्पलालप्रति उच्च सम्मान र स्मरण !
(लेखक नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुहुन्छ ।)
