हेमन्तप्रकाश ओली ‘सुदर्शन’
(१)
आजभन्दा १ सय ७७ वर्षपहिले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले साम्यवादी दलको घोषणापत्र प्रकाशन गर्नुभएको थियो । यो घोषणापत्र ती लाखौँ मजदुर, किसान आन्दोलन, हजारौँको बलिदान, साम्यवादी चिन्तकहरूको योगदान, न्यायप्रिय सङ्घ र कम्युनिस्ट लिगका नेता तथा कार्यकर्ताहरूको कठोर त्याग, तपस्या, यातना र बलिदानको संश्लेषण हो । यही कारणले गर्दा माक्र्स–एङ्गेल्सले श्रमजीवी तथा सर्वहारा वर्गमा भौतिक हतियार भेट्टाउनुभयो भने श्रमजीवी तथा सर्वहारा वर्गले उहाँहरूको दर्शनशास्त्रमा बौद्धिक हतियार भेट्टायो । उहाँहरूले आफ्नो समयसम्म मानव जातिले हासिल गरेको ज्ञानको समग्र विश्लेषण गरेर बौद्धिक सारतŒव निकाल्नुभयो । त्यसैले उहाँहरूको दर्शन सर्वशक्तिमान र सार्वभौम भएको छ ।
हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरबाखको अधिभूतवादी भौतिकवाद, कान्टको अज्ञेयवादी आदर्शवाद र प्रँुधो–बाकुनिनको अराजकतावादी व्यक्तिवादविरुद्ध भीषण सङ्घर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेपछि मात्र उहाँहरूले यसलाई जीवन–व्यवहारमा लैजान विश्व–साम्यवादी दलको घोषणापत्र जारी गर्नुभएको थियो । यहाँ भन्न खोजिएको के हो भने विश्वदृष्टिकोणमा स्पष्ट भएपछि मात्र उहाँहरूले कम्युनिस्ट लिगका तर्पmबाट उक्त घोषणापत्र लेख्नुभएको थियो । माक्र्सले आफ्नो विद्यावारिधि नै ‘एपिक्युरियन र डेमोक्रिटियन दर्शनबीच भिन्नता’ लेखेर गर्नुभएको थियो । त्यसपछि धर्म र दर्शनबारे बहस चलाउनुभएको थियो । १८४४ मा उहाँले हेगेलको कानुन दर्शनमा आलोचनामा योगदान शीर्षकको प्रसिद्ध आलेखमा धर्मको आलोचना गर्दै संश्लेषण गर्नुभएको छ, ‘धर्म जनताका लागि अफिम नै हो ।’ उक्त आलेखमा के पनि भनिएको छ भने ईश्वरले मानिसको सृष्टि गरेको होइन, बरु मानिसले ईश्वरको सृष्टि गरेको हो । त्यसरी नै उक्त कृतिमा उहाँले धर्म भनेको भ्रम भएकाले भ्रमको आवश्यकता पर्ने राज्यकै अन्त्य गर्ने घोषणा गर्नुभएको थियो । धर्मको आलोचना गर्दै उहाँ यस्तो निष्कर्षमा पुग्नुभयो, ‘निश्चय नै आलोचनाको हतियारले हतियारको आलोचनालाई ढाल्न सक्दैन । भौतिक शक्तिलाई ढाल्न भौतिक शक्ति नै चाहिन्छ । तर विचारले पनि जति छिटो जनताको हृदयमा ठाउँ लिन्छ, त्यति छिटो यो भौतिक शक्तिमा रूपान्तरण हुन्छ ।’ यसको अर्थ धर्मको सहारासहित बन्दुकको आडमा बाँचेको पुरानो राज्यसत्ताको धर्मप्रति आलोचना गरेर मात्र त्यो ढल्दैन । यसका लागि वैज्ञानिक विचारधारालाई जनबलमा रूपान्तरण गर्नुपर्दछ ।
कार्ल माक्र्सका सर्वश्रेष्ठ उत्तराधिकारी लेनिनले धर्मलाई ‘फलहीन फूल’ भन्नुभएको छ तर उहाँकै भनाइअनुसार यो फलहीन फूलका जराहरू उर्वर धर्तीमा गाडिएकाले शक्तिशाली छ । यसलाई सजिलै ढाल्न सकिँदैन । यो वास्तवमा अधिभूतवादी आदर्शवाद एवम् अध्यात्मवादको आधार बनेको छ । उहाँले के पनि भन्नुभएको छ भने साम्यवादी दलमा धार्मिक सदस्य हुन सक्दैन । द्वन्द्वात्मक भौतिकवादी मात्र त्यसका सदस्य हुन्छन् । साम्यवादी दललाई समर्थन गर्ने जनता विभिन्न धर्ममा आस्थावान् हुनसक्छन् । ती जनता वैज्ञानिक समाजवादी क्रान्तिको प्रक्रियामा धार्मिक रूढिवादबाट मुक्त हँुदै जानेछन् । उहाँका अनुसार विज्ञानको ज्ञानले धार्मिक रूढिवादको वादल हट्दै जानेछ । जब अधिभूतवादी आदर्शवादका आचार्यहरू विज्ञानको विकास र आविष्कारलाई नै भ्रमित पार्न पैतालादेखि टुप्पीसम्मको बल लगाउन थाले तब लेनिनले सन् १९०८ मा ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ नामक प्रसिद्ध कृति रचना गर्नुभयो । अस्ट्रियाली आदर्शवादी दार्शनिक अर्नेस्ट्रो माख र रुसी माखवादीहरूले आधुनिक विज्ञानको बढाइचढाइ चर्चा गर्दै ‘पदार्थ लोप भएको’ भन्दै घुमाएर भौतिकवादमाथि प्रहार गरे र आदर्शवादको रक्षा गरे । अणु र परमाणु मात्र होइन, बरु इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनलगायत सूक्ष्म वस्तुहरू पत्ता लागे । यसका साथै पछि प्रतिइलेक्ट्रोन, प्रतिप्रोटोन र प्रतिन्युटनको आविष्कारले द्वन्द्ववादको नियमलाई नै सिद्ध गरेका थिए । माख र माखवादीहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई गलत साबित गर्न ‘पदार्थ लोप भएको’ घोषणा गरे । उनीहरू त फेरि १७ औँ शताब्दीका ह्युम र वर्कले अनि कान्टकै ‘वस्तु–आफैँ–भित्र’ को पश्चगमनमा पुगे । यो संसार जान्न सकिँदैन भन्दै अज्ञेयवादको अन्धकारमा पुगे । देख्न, सुन्न र अनुभूति गर्न नसकिने पदार्थ हुँदैन भन्न थाले उनीहरूले । लेनिनले उनीहरू ‘आनुभविक आलोचनावादी’ हुन् भनी न्वारान गर्नुभयो भने ‘पदार्थ लोप भयो’ भन्नेहरूलाई ‘पदार्थ लोप भएको होइन, हाम्रो ज्ञानको सीमा लोप भएको हो’ भनी जबाफ दिनुभएको थियो । दर्शनशास्त्र निष्पक्ष हुन्छ भन्नेहरूलाई मुखभरिको जबाफ दिँदै उहाँले भन्नुभएको छ, ‘दुई हजार वर्षपूर्व जसरी दर्शनशास्त्र पक्षधर थियो, आज पनि उत्तिकै पक्षधर छ ।’
यसरी लेनिनले द्वन्द्वात्मक भौतिकवादको विकास गर्नुभयो र नयाँ रूपमा देखापरेको अधिभूतवादी आदर्शवादको भण्डाफोर गर्नुभयो । लेनिनले भौतिकवादलाई अझ बढी जुझारु र धारिलो बनाउनुभयो । भँडुवा विकासवादको धज्जी उडाउनुभयो उहाँले । उहाँले द्वन्द्ववादको विकास गर्ने समय नै पाउनुभएन । तथापि उहाँले यसको विकासका लागि दार्शनिक नोटबुक तयार पार्नुभएको थियो । दार्शनिक नोटबुकमा नोट गर्दै उहाँले भन्नुभएको छ, ‘विपरीतहरूको एकता र सङ्घर्ष नै द्वन्द्ववादको सारतŒव हो…तर यसको व्याख्या र विकासको आवश्यकता छ ।’
उक्त व्याख्या र विकासको कार्यभार माओले आफ्नो काँधमा लिनुभयो । द्वन्द्वात्मक भौतिकवादमा रहने यान्त्रिक भौतिकवादी र अधिभूतवादी समस्या समाधान गर्न उहाँले ‘व्यवहारबारे’ लेख्नुभयो भने भौतिकवादी द्वन्द्ववादको विकास गर्न ‘अन्तरविरोधबारे’ जस्ता प्रसिद्ध रचना गर्नुभयो । माक्र्स–एङ्गेल्सले द्वन्द्ववादका तीन नियम ः विपरीतहरूको एकता र सङ्घर्ष, मात्राको गुणमा परिवर्तन र गुणको मात्रामा परिवर्तन अनि निषेधको निषेधको व्याख्या र विकास गर्नुभएको थियो । माओले लेनिनकै निष्कर्षअनुसार विपरीतहरूको एकता र सङ्घर्षलाई मुख्य नियम बताउँदै मात्रा र गुण यही नियमअन्तर्गतका विपरीतहरू हुन् भनी संश्लेषण गर्नुभयो भने निषेधको निषेधलाई सच्याउँदै विकासप्रक्रिया सकार–नकार–सकारबाट अघि बढ्ने बताउनुभएको छ । हामीले यी तीन नियमलाई समानान्तरमा आमनेसामने राख्यौँ भने अद्वैतवाद होइन, बरु त्रैतवाद हुन्छ भन्ने संश्लेषण उहाँले गर्नुभएको छ । उहाँले यी तीनै नियमलाई एउटै ‘अन्तरविरोध’ को नियममा संश्लेषण गर्नुभएको छ । प्रकृति, समाज र मानवचिन्तनमा रहेका हजारौँ अन्तरविरोधमा प्रधान अन्तरविरोध पत्ता लगाउने, प्रधान र सहायक अन्तरविरोधको द्वन्द्वात्मक सम्बन्ध तथा प्रधान पहलु पत्ता लगाउने, अन्तरविरोधको मैत्रीपूर्ण र शत्रुतापूर्ण स्थितिको पहिचान गर्ने द्वन्द्ववादको विकास उहाँले गर्नुभयो । यही सिद्धान्तअन्तर्गत ‘एक दुईमा विभाजन’ को विकास पनि उहाँले गर्नुभयो । यसले गर्दा ‘कालो बिरालो होस् वा सेतो, बिरालोको काम मुसा मार्ने हो’ भन्ने वर्गसमन्वयवादी सिद्धान्त ध्वस्त भयो । उहाँले धर्मका सम्बन्धमा पनि आफ्नो कृति ‘द्वन्द्वात्मक भौतिकवाद’ मा विश्लेषण गर्नुभएको छ । धर्म र देवताहरूको उत्पत्ति मानिसको प्रकृति र मानव समाजसम्बन्धी अज्ञानताबाट भएको हो । अध्यात्मवाद र भौतिकवादको लडाइँमा अन्ततः भौतिकवादकै विजय हुनेछ किनभने विज्ञान र सत्यको जित हुनैपर्दछ । त्यसकारण वस्तुगत संसारको विकाससँगै विचारधाराको द्रुत विकास गर्न आवश्यक छ । माओले एक ठाउँमा धर्मबारे कार्यकर्ता र नेतालाई भन्नुभएको छ, ‘धनुषलाई तानेर खिच तर नहान ।’ नेता र कार्यकर्ताहरूले धार्मिक रूढिवादबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणले जनतालाई सचेत बनाउनुपर्दछ । उनीहरू सचेत र विश्वस्त भइसकेपछि धार्मिक रूढिवादका विरुद्धको कार्यक्रममा स्वयम् जनता उत्रिन्छन् । यसले गर्दा जनताको दिलदिमागमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद बलियो भौतिक शक्तिमा रूपान्तरण हुनेछ । यसले उनीहरूको विचारधारात्मक शक्तिको विकास गर्दछ । आजका पुँजीवादी साम्राज्यवादका शासकहरूले आफ्नो शोषण, दमन र उत्पीडन गर्ने माध्यम धर्मलाई बनाएका छन् । धर्मको मुकुन्डो लगाएर उनीहरूले संसारमा हत्या, आतङ्क र प्रभुत्व जमाएर प्राकृतिक साधन–स्रोतको दोहन गरिरहेका छन् ।
त्यसकारण साम्यवादको दोसल्ला ओढेर धार्मिक रूढिवादको पक्षपोषण गर्र्दै जनताको शोषण, दमन, लुट–खसौट मच्चाउनेहरूलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका शत्रु घोषणा गर्नुपर्दछ । उनीहरू साधारण गोलीभन्दा दस गुणा विध्वंसक चिनीले बेरिएका गोलीहरू; साधारण ब्वाँसोभन्दा दस गुणा खतरनाक भेडाको छाला ओढेका ब्वाँसाहरू; दारा र नङ्ग्रा देखाएका बाघभन्दा दस गुणा डरलाग्दा बाघहरू; सेतो झन्डा बोकेका दुस्मनभन्दा दस गुणा षड्यन्त्रकारी रातो झन्डा बोकेका दुस्मनहरू; सामान्य सर्पभन्दा दस गुणा विषालु हरियो घाँसभित्र लुकेको हरियो सर्प; चर्च, मस्जिद, मन्दिर र गुम्बामा बसेका धर्मभीरुहरूभन्दा दस गुणा भ्रान्तिकारी घोषणा गर्नुपर्दछ । आज हामीले यो खुसी पनि व्यक्त गर्नुपर्दछ– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दोसल्ला ओढेका धार्मिक रूढिवादीहरूको जनताका बीचमा शीघ्रतापूर्वक भण्डाफोर भएको छ । उनीहरूको धार्मिक खोल नराम्रोसँग च्यातिएको छ ।
(२)
विश्व साम्यवादी आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत सङ्घ, पूर्वीयुरोप र पूर्वीएसियामा प्रतिक्रान्ति भएको हो । यही कारणले गर्दा नै टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा, पेरू र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरू असफल भएका हुन् । माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, बरु यो परिस्थितिको विकाससहित जीवनशैलीमा जीवन्त ढङ्गले अभिव्यक्त हुने दर्शन हो । सिद्धान्तमाा भौतिकवादको वकालत र जीवनशैलीमा अध्यात्मवाद माक्र्सवाद होइन । यही समस्याको समाधान गर्न माओले चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो । दर्शनलाई जीवनमा लागू नगर्नु र जीवनमा आएको निरन्तर विकासको गतिलाई दर्शनमा नसमेट्नु नै प्रतिक्रान्तिको कारक हो ।
साम्यवादी समाज व्यवस्था एकैपटक आकाशबाट खस्ने अथवा धर्तीबाट उम्रने कुरा होइन । म साम्यवादी दलको सदस्य भैसकेको छु भने मैले आजै र अहिल्यैदेखि त्यस व्यवस्थाका लागि न्यूनतम् आचरणको नमुना बन्दै जानुपर्दछ । परिवारलाई समाजवाद र साम्यवादको एकाइमा विकास गर्ने कोसिस गर्नुपर्दछ । प्रथमतः मभित्र र द्वितीयतः परिवारभित्र प्रतिक्रान्तिका बीजहरू रहने भएकाले त्यहाँबाटै सांस्कृतिक क्रान्ति चलाउनु पर्दछ । विश्वदृष्टिकोणसम्बन्धी स्कुलिङ चलाउनुपर्दछ । हाम्रा भूतपूर्व कमरेडहरूले सधँैभरि बत्तीमुनि अँध्यारो पारिराख्नुभयो । जीवनसाथीले जीवनसंगिनीलाई र जीवनसंगिनीले जीवनसाथीलाई सचेत बनाउने, दर्शनशास्त्र सिकाउने काम भएन । आमाबाबाले छोराछोरीलाई र छोराछोरीले आमाबाबालाई विश्वदृष्टिकोणमा पढाउने काम भएन । हामी बसेको घर र हाम्रो खेतबारी सामूहिक श्रमको उत्पादन हो भन्नेतिर हामीले कुरै गरेनौँ । पहिले जनवादी क्रान्ति गर्नुपर्दछ र यसलाई वैज्ञानिक समाजवादमा विकास गर्नुपर्दछ । संसारका अधिकांश देशहरूमा वैज्ञानिक समाजवाद आएपछि साम्यवाद आउँछ भनेर ठूलाठूला कुरा त हामीले ग¥यौँ तर समाजवाद र साम्यवाद मबाट र हाम्रै परिवारबाट लागू गर्नुपर्दछ भन्ने कुरा हामीले बुझेनौँ र अरूलाई बुझाएनौँ । अरूलाई माक्र्सवाद पढायौँ तर आफूले पढेनौँ । अरूका छोराछोरीलाई त हामीले माक्र्सवाद पढायौँ तर आफ्नै छोराछोरीलाई पढाएनौँ । अरूका छोराछोरीलाई बलिदान गर्न सिकायौँ भने आफ्नै छोराछोरीलाई सिकाएनौँ । हामीले द्वन्द्ववादका कुरा ग¥यौँ तर स्वयम् द्वन्द्ववादी भएनौँ । यही कारणले गर्दा हामीले जितिसकेको संसार गुमायौँ । यही कारणले गर्दा हामीले नेपालमा जितिसकेको क्रान्ति गुमायौँ । माक्र्सले निजी सम्पत्तिको अन्त्य गरेर सामूहिक सम्पत्ति बनाउनु नै साम्यवाद हो भन्नुभयो । हामी निजी सम्पत्ति जोड्दै गयाँै । हाम्रा भूतपूर्व कमरेडहरू त जनताको रगतपसिनाबाट अर्बपति भइसकेका छन् । उनीहरूले त विकल्पमा प्रस्तुत भएको कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आफ्नै सती लैजाने षड्यन्त्र गरिरहेका छन् । यसमा क्रान्तिकारीहरू सतर्क हुुनुपर्दछ । अहिलेसम्म प्रतिक्रान्ति नेताहरूबाट भएको छ, कार्यकर्ता र जनताबाट होइन ।
विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा प्रतिक्रान्ति नेताहरूका जीवनसाथी तथा जीवनसँगिनी र परिवारका अन्य सदस्यहरूबाट घुस्ने कोसिस गर्दछ । हाम्रो क्रान्तिको जीवनले पनि यही पुष्टि गरेको छ । इतिहासको समीक्षा गरेर हामी सचेत हुन जरुरी छ । रुसमा पहिलो समाजवादी क्रान्ति गर्ने लेनिन र स्टालिन महान् हुनुहुन्थ्यो । रुसमा क्रान्ति भएको एक वर्षपछि आफूलाई समाजवादी भन्ने एसेर सङ्गठनकी काप्लान नामकी महिलाले लेनिनमाथि गोली हानी । उहाँ झन्डैले बच्नुभयो तर गम्भीर घाइते हुुनुभयो । उपचारपछि पनि गम्भीर असर हुँदाहुँदै १९२२ सम्म सोभियत सङ्घ कम्युनिस्ट पार्टी (बोल्सेभिक) को महासचिव र सोभियत समाजवादी गणतन्त्र सङ्घको राष्ट्रप्रमुख भएर काम गर्नुभयो । उहाँको स्वास्थ्य खराब हुँदै गएपछि पार्टीको महासचिव र सत्ता प्रमुख स्टालिन हुुनुभयो । लेनिनकी जीवनसंगिनी क्रुप्सकाया केन्द्रीय नेता नै हुनुहुन्थ्यो । स्टालिन सो.सं.क.पा. (बोल्सेभिक) को महासचिव भएकोमा पार्टीभित्रै रहेका केही मानिसलाई मन परेको थिएन । ती थिए जिनोवेभ र कामेनेभ । उनीहरूले स्टालिनप्रति लेनिनको मनोविज्ञान बिगार्न क्रुप्सकायालाई प्रभावित पार्न थाले । लेनिन बिरामी हुनुहुन्थ्यो तर समाजवादको रक्षा र विकासका लागि चिन्तित पनि । क्रुप्सकायाको लाइँनी सुनेर लेनिनले बोल्सेभिक केन्द्रीय समितिलाई चिठी लेख्नुभयो । लेनिनले स्टालिन धेरै रुखो भएकाले महासचिव परिवर्तन गर्नुपर्ने कुरा चिठीमा लेख्नुभयो । १९१७ को अक्टोबर क्रान्तिको पोल खोलेकाले जिनोवेभ र कामेनेभलाई बारम्बार फाँसीमा झुन्ड्याउनुपर्ने भनी लेनिनले नै भन्नुभएको थियो । स्टालिनबिना अक्टोबर क्रान्ति सम्भव थिएन । फाँसीमा लड्काउनुपर्ने गद्दारहरू लेनिनका प्रियपात्र र ज्यानलाई जोखिममा राखेर लेनिनवाद लागू गर्ने अनन्य कमरेड कसरी रुखो पात्र भए ? प्रतिक्रान्तिकारीहरूले कसरी प्रतिक्रान्तिकारी उद्देश्य पूरा गर्न परिवारभित्र पनि षड्यन्त्र गर्दछन् भन्ने कुराको उदाहरण हो यो । बिरामी लेनिनलाई आफ्नो उद्देश्यमा प्रयोग गर्न उनीहरू क्रुप्सकायाको भावना जित्न सफल भए । तर यस्तो समस्या समाल्न सक्ने पनि स्टालिन नै हुनुहुन्थ्यो । षड्यन्त्रबारे लेनिनलाई र केन्द्रीय समितिलाई बुझाउनुभयो । अरू ३० वर्षसम्म सो.सं.क.पा.(बोल्सेभिक) र सोभियत समाजवादी गणतन्त्र सङ्घलाई कुशलतपूर्वक सञ्चालन मात्र गर्नुभएन, बरु ३०० वर्ष लगाएर अमेरिकामा भएका विकास र समृद्धिलाई ३० वर्षमै उछिन्नुभयो ।
यहाँ लेनिनलाई उहाँको महान् उचाइबाट कहीँ पनि होच्याउन खोजिएको होइन तर पार्टीभित्रका अवसरवादी र घुसपैठियाहरूले कति खतरनाक भूमिका निर्वाह गर्छन् भनी इतिहासबाट शिक्षा लिइएको हो । आज कतिपय नेपाली कम्युनिस्ट आन्दोलनका गद्दारहरूले हचुवा तरिकाले स्टालिनमाथि एकमनावादी र अधिभूतवादीको आरोप लगाउँदा भष्मास्त्र नै उठाऊँजस्तो लाग्छ । स्टालिनबारे अनुसन्धान नगरी बोल्ने तिनको अधिकार छैन । माओले उहाँको मुख्यतः रक्षा गर्नुभएको थियो भने काम गर्दा कमजोरी पनि हुन्छन्, त्यसको आलोचना गर्नुभएको थियो ।
माओले यही विश्वदृष्टिकोणको समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो भन्ने कुरा माथि पनि उल्लेख गरिएको छ । यसलाई सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति पनि भनिन्छ । वैज्ञानिक समाजवादी क्रान्तिलाई माक्र्सले स्थायी क्रान्तिको उद्घोष भन्नुभएको थियो । सांस्कृतिक क्रान्ति भनेको हजारौँ वर्ष पुराना र विषालु विचारधारा, संस्कृति, विरासत, चालचलन, रीतिरिवाजको विस्थापन गरी क्रान्तिकारी विचारधारा, संस्कृति, विरासत, चालचलन र रीतिरिवाजको स्थापना गर्नु हो । माओले ऐतिहासिक सांस्कृतिक क्रान्तिमा दर्शनशास्त्रलाई कक्षाकोठाबाट र दार्शनिकहरूबाट जनताहरूको बीचमा लैजानुभएको थियो । हजाराँै वर्षसम्म जनताको दिमागमा घर गरी बसेको पुरानो विचारधारालाई विस्थापन गर्न दस वर्ष पर्याप्त थिएन । त्यो सांस्कृतिक क्रान्ति स्थगित भएको छ । त्यसको समीक्षा र विकाससहित हामीले अहिलेदेखि राजनीतिक क्रान्तिसँगै एकीकृत गरेर अघि बढाउनुपर्छ । माओले १९४९ मा राजनीतिक क्रान्ति गर्नुभयो र १९६६ देखि सांस्कृतिक क्रान्ति गर्नुभएकाले हामी पनि त्यसै गरौँला भनी पर्खनु हुँदैन । १९६६ मा त यो क्रान्तिको विधि पत्ता लाग्यो । माक्र्सले वैज्ञानिक समाजवादको चरण नै स्थायी क्रान्तिको उद्घोष हो भनेर १८५१ तिरै भनिसक्नुभएको छ । माओले यही क्रान्तिलाई कार्यरूप दिनुभएको थियो ।
यहाँ के कुरा राम्रोसँग बुझ्नुपर्दछ भने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विश्वदृष्टिकोण विज्ञान हो । यसलाई लागू गर्ने माओको कला पनि हुुनुपर्दछ । चीनमा अघि बढिरहेको सांस्कृतिक क्रान्तिमा माओले मुठीभर प्रतिक्रान्तिकारीहरूलाई निशानामा राख्दै पार्टीभित्र क्रान्तिकारीहरू र मध्यमार्गीहरूलाई सँगै लिन सफल हुनुभएको थियो । जीवनको अन्तिम समयमा उहाँले मध्यमार्गी हुआको फेङलाई नेतृत्व दिनुभयो । यहाँनेर सांस्कृतिक क्रान्तिमा माओका क्रान्तिकारी उत्तराधिकारीहरूको पार्टी सञ्चालनको कला र धैर्य पुगेन । चाङ चुङ चियाओ, चियाङ चिङ, वाङ हुङ वेन र याओ वेन युआन दुई लाइन सङ्घर्षमा मध्यमार्गीमाथि पनि दक्षिणपन्थीलाई जस्तै प्रहार गरे । उनीहरूले माओवाद बुझेनन् । परिणामस्वरूप प्रतिक्रान्ति भयो र उहाँहरूलाई प्रतिक्रान्तिकारीहरूले जेलमा सडाएर मारे । सांस्कृतिक क्रान्ति अधुरै रह्यो । त्यो क्रान्ति आजका क्रान्तिकारीहरूले पूरा गर्नुपर्दछ । यसलाई आफ्नै जीवन, परिवार र पार्टीमा सुरु गर्नुपर्दछ ।
अतः आज हामीले यो दार्शनिक घोषणा गर्नुपर्दछ– महान् सर्वहारा सांस्कृतिक क्रान्ति अथवा सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति अस्वीकार गर्नेहरू द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी होइनन्, बरु आजको अधिभूतवादी आदर्शवाद नवउदारवादका हिमायतीहरू हुन् । नवउदारवादलाई साम्यवादको विकल्पका रूपमा अमेरिकालगायत पश्चिमाहरूले पेस गरेका छन् । प्रजातन्त्र एवम् लोकतन्त्र, मानवअधिकार र खुला बजार यसका विशेषताहरू हुन् । नवउदारवाद कति फासिस्ट, तानाशाही र मानवअधिकारवादविरोधी छ भन्ने कुरा अमेरिकाको व्यवहारलाई हेरे हुन्छ । आफूले चिनियाँ सामानमा चर्को कर लगाउँदा न्यायोचित र चीनले अमेरिकाको सामानमा कर लगाउँदा अनुचित, अमेरिकाले नेटो र हिन्द प्रशान्त रणनीति बनाउँदा ठीक र चीन तथा अरू देशले ब्रिक्स र बीआरआई परियोजना बनाउँदा ‘ऋणको पासो’ इत्यादि । अमेरिकाली नवउदारवादका प्रवक्ता एवम् ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ का लेखक फ्रान्सिस फुकुयामा साम्यवादीहरूलाई सर्वसत्तावादी र तानाशाहीको आरोप लगाउँछन् तर आफ्नो ‘अन्तिम मान्छे’ नवउदारवादी प्रजातन्त्रको प्रयोगकर्ता अमेरिकाले रुवान्डामा हुतु र तुत्सीको झगडा पारेर आफ्नो कारखानाका हतियार बेच्दै नरसंहार गर्दा, सिरियामा ६ लाखभन्दा बढी मानिसहरूको हत्या गर्दा, प्यालेस्टाइनको भूभाग जेरुसेलमलाई जबर्जस्ती इजरायलको राजधानी बनाइदिँदा, अर्काको देशको राष्ट्रपति सद्दाम हुसेनलाई लखेटीलखेटी झुन्ड्याउँदा, लिबियाका नेता कर्णेल गद्दाफीलाई हत्या गर्दा, अफगानिस्तानमा तालिवान नेता ओसामा बिन लादेनलाई खोजीखाजी मारेर लासै अमेरिका पु¥याउँदा, ट्रम्पले आफ्नै देशबाट आप्रवासीहरूलाई धपाउँदा आफ्नो छिमेकी मेक्सिकोलाई उसकै बजेट खर्च गरी सिमानामा पर्खाल हाल भनी आदेश गर्दाचाहिँ के भयो महाशय फुकुयामा ? यही हो असली प्रजातन्त्र र मानवअधिकार ? नेपालमा पनि नवउदारवादका दलालहरूले साम्यवादी क्रान्तिकारीहरूलाई ‘लुटेरा समूह’, ‘आतङ्ककारी’ र ‘अपराधी’ भनिरहेका छन् भने तीर्थराज घिमिरे, कुमार पौडेललगायत युवाहरूलाई हत्या गरिरहेका छन् र सयौँ नेता तथा कार्यकर्ताहरूलाई काराबासमा जाकिरहेका छन् । खुला बजार अर्थतन्त्रले गरिबको ढाड सेकिरहेको छ र जसको लाठी उसको भैँसी साबित भएको छ । फेरि पनि साम्यवादको विकल्प छैन ।
त्यसकारण विश्वदृष्टिकोणको समस्या समाधान गर्न र विश्वदृष्टिकोणको रूपान्तरण गर्न हामीले माक्र्सवादको मूल पाठ अध्ययन गर्ने र माक्र्सवादको विकास गर्ने ठोस योजना बनाउनु पर्दछ । अध्ययन साम्यवादी पार्टीका सदस्यहरूको अनिवार्य कार्यभार बन्नुपर्दछ । साम्यवादी संस्कृतिको विकासलाई पनि सँगसँगै लैजानुपर्दछ ।
(३)
विज्ञान र प्रविधिको विकासले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद समृद्ध हुँदै जान्छ । डार्बिनको जीव विकासको सिद्धान्त र अन्य कैयौँ आविष्कारहरूले माक्र्सको दर्शनलाई पुष्टि गरेका थिए । ‘जर्मनेली विचारधारा’, ‘प्रकृतिको द्वन्द्ववाद’, ‘ड्युहरिङ मतखण्डन’ र ‘लुडबिक फायरबाख ः जर्मनेली शास्त्रीय दर्शनको अन्त्य’ मा माक्र्स र एङ्गेल्सले प्रकृति विज्ञानमा भएका खोज, अनुुसन्धान र आविष्कारको सही विश्लेषण र संश्लेषण गर्नुभएको थियो । आफ्नो समयका वैज्ञानिक आविष्कारहरू, खासगरी आइन्सटाइनको सापेक्षताको सिद्धान्तले लेनिनलाई भौतिकवादको थप विकास गर्न महŒवपूर्ण मद्दत पु¥याएको थियो । परिणामस्वरूप उहाँले १९०८ मै ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ जस्तो प्रसिद्ध कृति रचना गर्नुभएको थियो । विज्ञान र प्रविधिको विकासले माक्र्सवादी दर्शनलाई पुनर्पुष्टि र समृद्ध गर्दै लगेकाले नै अध्यात्मवादीहरूले आफूलाई द्वैतवादी स्वरूपमा प्रदर्शन गर्न थालेका छन् । विज्ञानको विरोध गरौँ भने आदर्शवादी तरिकाले पुँजीपतिहरूलाई आतिरिक्त नाफा कमाउन गाह्रो छ । पूरै र खुल्लै आदर्शवादी बनौँ भने पनि फेरि सामन्तवादी युगमा पुग्नुपर्ने हुन्छ । त्यसकारण आज पुँजीवादी–साम्राज्यवादीहरूलाई द्वैतवादी खोल ओढेर भौतिकवादमाथि प्रहार गर्नुपरेको छ । जब विज्ञानको विकास हुँदै जाँदा उनीहरूको अलौकिक स्वर्ग र नर्क ध्वस्त भयो तब उनीहरूले ‘पदार्थको लोप भएको’, ‘साम्यवादको इतिहास अन्त्य भएको’ आरोप लगाए ।
हाम्रो जमानामा स्टेफन हकिङ नामका वैज्ञानिकले नयाँ विकास गरे भौतिक विज्ञानमा । गत वर्ष उनको मृत्यु भएको थियो । उनले हामीलाई एकीकृत भौतिकशास्त्र दिएर गएका छन् । उनले यस सिद्धान्तमा अल्बर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्त र उनले नै सुरु गरेर म्याक्स प्लाङ्कदेखि स्वयम् हकिङले समेत अघि बढाएको क्वान्टम यान्त्रिकीको अनिश्चयताको सिद्धान्तलाई एकीकृत गरेका छन् । अरू विभिन्न आंशिक सिद्धान्त पनि यसैमा पर्दछन् । बालुवाको कणदेखि ब्रह्माण्डका वस्तुहरूलाई हेर्ने विज्ञानलाई सापेक्षताको सिद्धान्त भनिन्छ । यसका लागि उनले एउटा उदाहरण पेस गरेका छन्, ‘तपाईंले बलिरहेको आगोमाथि १ मिनेट हात अचल रूपमा राख्नुभयो भने त्यो १ मिनेट १ घन्टाजत्तिकै पट्ट्यारलाग्दो हुन्छ जब कि तपाईंले आफ्नी प्रेमिकासँग १ घन्टा कुराकानी गर्नुभयो भने पनि १ मिनेट पनि गएको छैन कि जस्तो लाग्छ ।’ यही नै सापेक्षताको सिद्धान्त हो । आँखाले देख्न नसकिने कणिकाहरूको अध्ययन गर्ने शास्त्र क्वान्टम यान्त्रिकी हो । पहिले प्रकाशलाई कसैले तरङ्ग र कसैले कणिका भन्दथे । हकिङले यी दुवैलाई एकीकृत गर्नुभयो । क्वान्टम यान्त्रिकीमा हामीले जुन खाली स्थान भनेर देख्दछौँ त्यो असङ्ख्य कणिका र प्रतिकणिकाले भरिपूर्ण छ । यहाँ म हकिङको जुन सिद्धान्तका बारेमा लेख्दैछु, यसलाई विचार गर्दा द्वन्द्वात्मक भौतिकवादको विकास देखिन्छ । विशाल पिण्डहरूको अध्ययन गर्ने सापेक्षताको सिद्धान्त र सूक्ष्म कणिकाहरूको अध्ययन गर्ने क्वान्टम यान्त्रिकी अथवा अनिश्चयताको सिद्धान्तलाई एकीकृत गर्ने भौतिकशास्त्र विपरीतहरूको एकता हो । प्रकाश पनि तरङ्ग र कणिकाको एकता हो । खाली ठाउँसमेत कणिका र प्रतिकणिकाको एकता हो ।
आज एकीकृत भौतिकशास्त्र कम्प्युटर प्रविधिमा अभिव्यक्त भएको छ । आजको कम्प्युटर प्रविधिले द्वन्द्वात्मक भौतिकवादलाई नयाँ उचाइमा पु¥याएको छ ।
क्वान्टम यान्त्रिकीमा आएको अनिश्चयताको सिद्धान्त आविष्कार र कम्प्युटर प्रविधिको विकासलाई धार्मिक रूढिवादी एवम् दार्शनिक आदर्शवादीहरूले बङ्ग्याउन खोजेका छन् । यसबाट उनीहरूले अर्को भाषामा ‘मानवमतिष्क र सफ्टवेयरबीचको भेद लोप भएको’ निष्कर्षतिर लग्न खोजेका छन् । यो पनि द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादमाथिको प्रहार हो । आखिर सफ्टवेयर भनेको त मानवमस्तिष्कको आविष्कार हो । कतिपय आफूलाई साम्यवादी भन्न रुचाउनेहरूले उत्पादक शक्तिमा मानव श्रमलाई विस्थापन गरेर विज्ञान–प्रविधिलाई उत्पादक शक्ति मान्न थालेका छन् । अब उत्पादनप्रणाली कम्प्युटर स्वचालीकरणको प्रक्रियामा गएकाले मानवीय श्रमको भूमिका लोप हुने तर्क उनीहरूको छ । मानवमस्तिष्क र सफ्टवेयरको भेद लोप भएको घोणणा गर्ने र उत्पादक शक्तिमा मानवश्रमलाई विस्थापन गर्ने गैरमाक्र्सवादी हुन् । उनीहरू कहीँ न कहीँ अधिभूतवादी आदर्शवादको सिकार भएका छन् । उनीहरूले माक्र्सवादको मूल पाठ पढेका छैनन् । माक्र्सले आफ्नो कृति ‘राजनीतिक अर्थशास्त्रको रूपरेखा’ मा आफ्नो समयको औद्योगिक यान्त्रिकीकरणको प्रक्रियालाई अध्ययन गरेर ‘यान्त्रिक स्वचालीकरणको व्यवस्था’ बारे भविष्यवाणी गर्नुभएको थियो । आजको कम्प्युटर त्यसैको विकास प्रक्रिया हो ।
त्यसकारण विज्ञानको विकासलाई बङ्ग्याउनेहरू द्वैतवादी आदर्शवादका पृष्ठपोषकहरू हुन् । हाम्रो जमानाका सबभन्दा ठूला भौतिकशास्त्री हकिङले भनेझैँ हामीले विज्ञानको विकाससँगै कदममा कदम मिलाएर जान सकेका छैनौँ र यो विकासलाई दार्शनिकीकरण गर्न सकेका छैनौँ । यो कार्यभार पनि हामी मालेमावादी क्रान्तिकारीहरूको काँधमा आएको छ ।
हामीले विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै रूपमा माक्र्सवादी र सारमा अधिभूतवादी आदर्शवादको भण्डाफोर गर्नुपर्दछ । माक्र्सवादका नाममा माक्र्सवादको मर्ममाथि प्रहार गर्न एउटा प्राज्ञिक समूहलाई नै यसमा खटाइएको हुन्छ । रुसमा बोल्सेभिक समाजवादी क्रान्ति भइसकेपछि र वैज्ञानिक समाजवादले विकास गर्दै गएपछि जर्मनीमा ‘फ्राङ्कफर्ट स्कुल’ स्थापना भयो । एकातिर वैज्ञानिक समाजवादी सोभियत समाजवादी गणतन्त्र सङ्घलाई निशाना बनाउँदै हिटलरको उदय भयो भने अर्कोतिर फ्राङ्कफर्ट स्कुलको निशाना पनि स्टालिनको समाजवाद नै भयो । फ्राङ्कफर्ट स्कुलका महाआचार्यहरूले माक्र्सको प्रसिद्ध संश्लेषण ‘द्वन्द्ववादमाथि कुनै पनि चीज हाबी हुन सक्तैन किनभने यो आलोचनात्मक क्रान्तिकारी छ’ बाट ‘आलोचना’ लिएका थिए र ‘क्रान्तिकारी’ छोडिदिएका थिए । तिनलाई हिटलरको आलोचना गरेर समाजवादी क्रान्ति गर्नु थिएन । यसको विपरीत स्टालिनलाई बदनाम गरेर प्रतिक्रान्ति गर्नु थियो । यतिले नपुगेर अस्ट्रियामा पनि यस्तै आलोचनावादी स्कुल जन्मिएको थियो ।
उत्तरआधुनिकतावाद फ्राङ्कफर्ट स्कुलको दार्शनिक आदर्शवादमा पतन थियो । दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घ र अमेरिकाबीच शीतयुद्ध चलिरहेको थियो । सन् १९५३ मा स्टालिनको मृत्यु भयो र १९५६ मा सोभियत सङ्घ कम्युनिस्ट पार्टी (बोल्सेभिक) को बीसौँ महाधिवेशन भयो । त्यसमा निकिता ख्रुस्चेभले एउटा राजनीतिक दस्ताबेज प्रस्तुत गरे र त्यसमा शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाको नारा दिएर प्रतिक्रान्तिको दिशा पकडे । गोर्भाचोभले यसलाई ग्लास्नोस्त र प्रेस्त्रोइकामा पु¥याइदिए । १९९० मा सोभियत सङ्घको विघटन भयो । डानियल बेलबाट सुरु भएको ‘इतिहासको अन्त्य’ भूतपूर्व माक्र्सवादी ज्याक डेरिडामा गएर पूरै ‘इतिहासको अन्त्य’ र ‘महावृत्तान्तको अन्त्य’ भयो । माक्र्सवादको मुकुन्डो फ्याँके उनीहरूले । उनीहरू आदर्शवादी उत्तरआधुनिकतावादमा पुगे । अर्कोतिर अमेरिकाले यसै दर्शनका आधारमा एकध्रुवीय विश्वव्यवस्थाको घोषणा ग¥यो । ११ सेप्टेम्बर २००१ मा अमेरिकाको जुम्ल्याहा घर गल्र्यामगुर्लुम भएसँगै उत्तरआधुनिकतावाद र एकध्रुवीय विश्वव्यवस्था पनि गल्र्यामगुर्लुम भएर ढल्यो । विश्व बहुध्रुवीय भएको प्रमाणित भयो । आज चीनको बीआरआई र अमेरिकाको हिन्द–प्रशान्त रणनीतिका बीच शीतयुद्ध प्रकट भएको छ ।
नेपालको एउटा प्राज्ञिक समूह हँसिया–हथौडा अङ्कित झन्डाकै मुन्तिर बसेर वैज्ञानिक समाजवादका विरुद्ध निरन्तर लागिरहेको छ । यो वर्गलाई आलोचना मन पर्दछ तर क्रान्ति मन पर्दैन । त्यस्ता मूर्धन्य विद्वान्हरूले क्रान्तिका लागि परिस्थिति पाकेको छैन भन्दै रुसमा बोल्सेभिक क्रान्तिका लागि समय नपाकेकाले असफल भयो भन्ने निष्कर्ष निकाल्दछन् । ती आदर्शवादी स्वतस्फूर्ततावाद र आलोचनावादका भक्तहरू हुन् । एकथरी विज्ञान र प्रविधिको विकासलाई उत्पादक शक्तिमा जोडेर वालछ्याल उत्पादन गरेपछि समाजवाद आइहाल्छ भन्ने तर्क गर्दछन् तर पुरानो राज्यसत्ता पल्टाउने कुरै गर्दैनन् । आफूलाई जतिसुकै अग्रगामी ठाने पनि ती ओवेनवादसम्म मात्र पुगेका छन् ।
त्यसकारण यो छद्म अवसरवाद, स्वतस्फूर्ततावाद, विलम्बवाद र मूलतः विसर्जनवादका विरुद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मूल पाठ नेता र कार्यकर्तामा मात्र होइन, बरु जनताका बीचमा स्थापित गर्ने र यसलाई जीवन र जगत्मा उत्पन्न नयाँ सामग्रीका आधारमा विकास गर्ने दार्शनिक घोषणा गर्नुपर्दछ ।
(५)
वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा अधिनायकत्व माक्र्सवादको आत्म हो । यो पृथ्वीमा शोषणकारी व्यवस्था रहेसम्म क्रान्तिको अर्को विकल्प छैन । परिस्थितिको विकाससँगै नयाँ वर्गविश्लेषण त गर्नैपर्छ । आजको परिस्थितिमा वर्गसङ्घर्ष हुन सक्दैन भन्नु द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादविरोधी कुरा हो ।
माक्र्स, लेनिन र माओको समयभन्दा आजको समाजमा धनी र गरिबको दूरी कैयौँ गुणा बढेको छ । भनिएको छ– १ प्रतिशत र ९९ प्रतिशतको सम्पत्ति बराबर छ । यसको मतलब विश्वको सात अर्ब जनसङ्ख्यामा सात करोडको सम्पत्ति ६ अर्ब ९३ करोडको सम्पत्तिसँग बराबर छ । त्यसकारण आजको अर्थतन्त्रको विशेषता भनेको केही मुठीभर मानिसको हातमा अति केन्द्रीकरण र अति एकाधिकार कायम हुनु हो । यसले गर्दा गरिब र धनीको विभेद आकाश–पाताल भएको छ । वर्तमान विश्वका प्रथम धनी जेफ विजोसले समेत वर्गसङ्घर्षलाई स्वीकार गर्दै आफूले यो वर्गसङ्घर्षमा जितिरहेको घोषणा एउटा पत्रकारको प्रश्नको जबाफमा गरेका छन् । तर आफूलाई गरिबका पक्षमा लडिरहेको साम्यवादी भनाउँदाहरूले भने आज वर्गसङ्घर्ष छैन, कसका विरुद्ध लड्ने भनिरहेको सुन्दा अचम्म लाग्दछ । नेपालमा दस–पन्ध्रजना दलाल पुँजीपतिहरूले देशको सम्पत्ति कब्जा गरिसकेका छन् । ‘समाजवादोन्मुख’ व्यवस्था चलाइरहेका कथित साम्यवादीहरू वर्गसङ्घर्षका विरुद्ध वर्गसमन्वयको कुरा उठाइरहेका छन् ।
आजको अर्थतन्त्रको दोस्रो विशेषता भनेको विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण हो । पुँजीपतिहरूले केन्द्रीकृत उत्पादन गर्दा लाखौँ मजदुरहरू कारखानामा सङ्गठित हुने र पुँजीपतिहरूविरुद्ध छिटो क्रान्ति हुने भएकाले विकेन्द्रित उत्पादन र मुठीभर पुँजीपतिहरूले लुट्नका लागि केन्द्रीकृत वितरण गरेका छन् । फेरि पनि उनीहरूको एकाधिकारवादी र केन्द्रीकृत वितरणप्रक्रियाले मध्यमवर्ग मजदुर, किसान र सिपाहीको पङ्क्तिमा धकेलिएको छ । यसबाट पनि उनीहरूको दुर्भाग्य दूर भएको छैन ।
आजको अर्थतन्त्रको तेस्रो विशेषता भनेको अर्थतन्त्र राजनीतिमाथि हावी हुनु हो । जसको हातमा ठूल्ठूला निगमहरू छन्, सिन्डिकेट, कार्टेल र ट्रस्ट छन्, तिनकै हातमा राज्यसत्ता रहेको छ । त्यसकारण राज्यसत्ता गरिबमारा भएको छ । जोसँग धन छैन ऊसँग राज्यसत्ता छैन । अमेरिकाको राज्यसत्ता हिलारी क्लिन्टनकहाँ पनि पुग्न पाएन । जग्गा दलाल एवम् निगम मालिकसँग पुग्यो । नेपालको सङ्घीय सरकार अर्बपति, प्रदेश सरकार र नगरपालिका करोडपति तथा अरू स्थानीय तहहरू लखपतिहरूका हातमा पुगे । अब नेपालको संसदीय निर्वाचनमा दलाल पुँजीपति र ठेकेदारहरूबाहेक अरू आउन सक्दैनन् । कथित साम्यवादीहरूले भन्ने गरेको गरिबको सरकार दलाल पुँजीपतिहरूको सरकार बन्न पुगेको छ । आजको अर्थतन्त्रको चौथो विशेषता भनेको उत्पादक शक्तिमा विज्ञान र प्रविधि जोडिनु हो । यसले गर्दा उत्पादन व्यापक हुन्छ तर उत्पादन सम्बन्ध निजी स्वामित्वको छ । सामाजिक उत्पादन र निजी स्वामित्वको अन्तरविरोधले गर्दा समान वितरण हुन सक्दैन । परिणामस्वरूप अमेरिकाले वालछ्याल गहुँ उत्पादन गरी मूल्य राम्रो नपाएर समुद्रमा फ्याँक्छ र सोमालियाका जनता भोकमरीले मृत्युको मुखमा जान्छन् ।
त्यसकारण आज मुठीभर धनीहरू र मजदुर, किसान, सिपाही, मध्यमवर्गका बीचको अन्तरविरोध झन् तीव्र हुँदै गएको छ । यसले गर्दा साम्यवादलाई नजिक ल्याइदिएको छ ।
वर्गसङ्घर्षको स्वरूप मूलतः सशस्त्र नै हुन्छ । गरिबले धनीको राज्यसत्ता पल्टाउने र आफ्नो सत्ता स्थापना गर्ने कार्य शान्तिप्रक्रियाबाट अपवादका रूपमा मात्र होला । सशस्त्र बलले टिकेको राज्यसत्ताले मजदुर, किसान, सिपाही, सुकुमबासी र राष्ट्रिय पुँजीपतिहरूलाई शान्तिपूर्ण आन्दोलनबाट आफ्नो राज्यसत्ता चलाउन दिएको इतिहास दुनियाँमा कहीँ छैन । पुरानो सशस्त्र राज्यसत्ताले पुरानै शासन व्यवस्थामा नै रहने सर्तमा र त्यसलाई केही सुधार गर्ने भनेर किसान, मजदुर, सिपाही र मध्यम वर्गका प्रतिनिधिलाई सहवरण भने गर्नसक्छ । यसले गर्दा एकातिर क्रान्तिकारी आन्दोलन शिथिल हुन्छ भने अर्कोतिर पुरानो राज्यसत्ताको आयु लम्बिन्छ । यसको ज्वलन्त उदाहरण नेपालमा माओवादी जनयुद्धको विसर्जन र त्यसका मुख्य नेताहरूको दलाल पुँजीवादी संसदीय व्यवस्थामा पतन हो ।
अन्तर्राष्ट्रिय स्तरमा हामी पढिरहेका छौँ– अमेरिकाले निःशस्त्रीकरण, प्रजातन्त्र र मानवअधिकारको कोकोहोलो मच्चाइरहेको छ । कुरा सुन्दा त ऊ सबैप्रकारका उत्पीडन र शोषणको मुक्तिदाताजस्तो बुझिन्छ तर व्यवहारमा त ऊ आफैँ हतियार कारखानाको सबभन्दा ठूलो उत्पादक हो । हतियार बेच्न हरेक देशमा आपसमै जनतालाई कसरी लडाउने भन्ने अन्तरविरोध सुँघ्दै जान्छ । प्राकृतिक साधनस्रोत लुट्न विभिन्न देशमा सेना पठाउँछ । राष्ट्रिय र क्रान्तिकारी आन्दोलन दबाउन गुप्तचरहरूको प्रयोग गर्दछ । धर्मका नाममा गुप्तचरी गर्दछ । अरू साम्राज्यवादीहरूले यसै गर्ने गरेका छन् । त्यसकारण युद्धको कारक शोषित–उत्पीडित जनता होइनन् । यसको कारक शासक र साम्राज्यवादीहरू हुन् । यी सारा तथ्यहरूबाट निस्कने सत्य भनेको उत्पीडित वर्ग मानसिक र भौतिक रूपमा सशस्त्र नभईकन उसले वैज्ञानिक समाजवाद प्राप्त गर्न सक्तैन । नवउदारवादले उनीहरूको हत्या, दमन र शोषण गरिरहेकै छ र गरिरहनेछ ।
साम्यवादीहरूले सशस्त्र सङ्घर्षबाट वैज्ञानिक समाजवाद प्राप्त गरिसकेपछि त्यसको रक्षा, विकास र विलोपीकरण गर्न सर्वहारा अधिनायकत्व अथवा पीडित वर्गको अधिनायकत्व लागू गर्नैपर्दछ । ७ करोड निगम पुँजीपतिहरूमाथि ६ अर्ब ९३ करोडको अधिनायकत्व लागू गर्नैपर्दछ । यो ऐतिहासिक भौतिकवादको नियम हो । यो सर्वहारा अधिनायकत्व अथवा बहुसङ्ख्यक श्रमजीवी तथा उत्पीडित जनताको अधिनायकत्व पुँजीवादबाट साम्यवादमा पुग्ने सङ्क्रमणकालीन वैज्ञानिक समाजवादमा लागू हुन्छ । यसले वर्गविभेद अन्त्य गर्ने, त्यो वर्गविभेद उत्पन्न गर्ने स्रोतका रूपमा रहेको उत्पादन सम्बन्ध अन्त्य गर्ने, त्यो उत्पादन सम्बन्धबाट बनेको सामाजिक सम्बन्ध अन्त्य गर्ने र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न विचारहरूलाई क्रान्तिकारीकरण गर्ने काम गर्दछ । यस प्रक्रियाबाट राज्यसत्ता विलोप हुनेछ । यसपछि मात्र सुन्दर साम्यवाद आउनेछ । यो नै पूर्ण प्रजातान्त्रिक र पूर्ण मानवतावादी व्यवस्था हुनेछ । मानव श्रमको मुक्ति हुनेछ जसले गर्दा प्रचुर उत्पादन हुनेछ । गरिबी र अभावको अन्त्य हुनेछ जसले गर्दा वर्गभेद पनि अन्त्य हुनेछ ।
अतः द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुयायीहरूले वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्व नमान्नेहरूलाई साम्यवादविरोधी भएको घोषणा गर्नुपर्दछ ।
माथिको समग्र विश्लेषणबाट के निष्कर्षमा पुग्न सकिन्छ भने दार्शनिक अध्यात्मवादी विश्वदृष्टिकोणको समस्या समाधान गर्ने विधिशास्त्र सांस्कृतिक क्रान्ति नमान्ने, विज्ञान र प्रविधिको विकासलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास गर्न होइन, बरु यसलाई गलत साबित गर्न दुस्साहस गर्ने, माक्र्सवादका नाममा माक्र्सवादको आत्ममा छुरी धस्ने, माक्र्सवादको प्राण वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा अधिनायकत्व अथवा श्रमिक–उत्पीडित वर्गको अधिनायकत्व अस्वीकार गर्नेहरूलाई अधिभूतवादी अध्यात्मवादका पुजारी घोषणा गर्नुपर्दछ । यसका साथै मालेमावादी दर्शनको विकास गर्दै दर्शनलाई जनताका बीच लैजानु पर्दछ । आजको सञ्चारप्रविधि र सामाजिक सञ्जाल जनताका बीच लैजाने माध्यम हुन् ।
(नौलो बिहानी, वर्ष २३, अङ्क २ बाट उद्धृत)
(लेखक हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हुनुहुन्छ ।)
