कम्युनिस्ट पार्टीको घोषणापत्र

कार्ल माक्र्स÷फ्रेडरिक एङ्गेल्स

युरोप एउटा भूतद्वारा आतङ्कित भइरहेको छ– त्यो हो कम्युनिज्मको भूत । पोप र जार, मेटर्निक र ग्युजट, फ्रान्सेली क्रान्तिकारी र जर्मन पुलिस जासुसहरू– पुरानो युरोपका यी सबै शक्तिहरू यस भूतलाई भगाउन पवित्र साँठगाँठमा लागेका छन् ।
के कुनै त्यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनेर बदनाम गरेका छैनन् ? के त्यस्तो कुनै दल छ जसले आफ्ना प्रगतिशीलविरोधी पार्टीलाई र साथै आफ्ना प्रतिक्रियावादी प्रतिद्वन्द्वीलाई कम्युनिज्मको निन्दापूर्ण अभियोग नलगाएको होस् ?
यस तथ्यबाट दुईटा कुरा प्रमाणित हुन्छ ।
१. कम्युनिज्म स्वयम् एउटा शक्ति हो भन्ने कुरालाई सबै युरोपेली शक्तिहरूले मानेका छन् ।
२. कम्युनिस्टहरूले सारा संसारका सामु खुलमखुला आफ्ना विचार, उद्देश्य र प्रवृत्तिहरूलाई प्रकट गर्ने र पार्टीको घोषणापत्रद्वारा कम्युनिज्मको भूतसम्बन्धी दन्त्यकथालाई खतम पार्नुपर्ने बेला अब आइसकेको छ ।
उक्त उद्देश्यअनुरूप लन्डनमा भेला भै विभिन्न राष्ट्रका कम्युनिस्टहरूले तलको घोषणापत्र तयार पारेका छन् । यसलाई अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, इटली, फ्लेमिस र डेनिस भाषाहरूमा प्रकाशित गरिनेछ ।

१.
पुँजीपति र सर्वहारा
आजसम्मको विद्यमान समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।
स्वतन्त्र व्यक्ति र दास, अभिजात वर्ग र प्रजा, सामन्त र अर्धदास, शिल्प सङ्घका मालिक र दक्ष मजदुर, एक शब्दमा भन्ने हो भने थिचाहा र थिचिएकाहरूको माझमा निरन्तर रूपले कहिले गुप्त, कहिले खुला सङ्घर्ष हुँदै आएको छ । यस सङ्घर्षको फलस्वरूप प्रत्येकपल्ट कि त समाजको ढाँचामा क्रान्तिकारी हेरफेर भएको छ कि परस्पर–विरोधी वर्गहरू नष्ट भएर गएका छन् ।

पहिलेका ऐतिहासिक युगहरूमा हामी सबैजसो ठाउँहरूमा जटिल सामाजिक व्यवस्था पाउँछौँ र त्यस समाजमा विभिन्न तहहरू हुन्छन्, धेरै तहका सामाजिक दर्जाहरू हुन्छन् । प्राचीन रोममा हामी अभिजातवर्ग, सरदार, प्रजा र दासहरू पाउँछौँ । मध्ययुगमा सामन्त, ससाना सामन्त, शिल्प–सङ्घका मालिक, दक्ष मजदुर, सिकारु मजदुर, अर्धदासहरू पाइन्छन् । फेरि सबै वर्गहरूभित्र पनि धेरै तहहरू हुन्छन् । सामन्ती समाजको भग्नावशेषबाट जन्मेको आधुनिक पुँजीवादी समाजले वर्गवैरभावलाई खतम पारेको छैन । यसले पुराना वर्गहरूको ठाउँमा नयाँ वर्गहरू, थिचोमिचोको पुरानो अवस्थाको ठाउँमा नयाँ अवस्था र सङ्घर्षका पुराना रूपहरूको ठाउँमा नयाँ रूपहरू मात्र कायम गरेको छ ।
तर हाम्रो युग, पुँजीपतिवर्गको युगको विशिष्ट लक्षण के हो भने यसले वर्गवैरभावलाई सरल पारेको छ । सम्पूर्ण समाज ठाडो रूपले परस्पर–विरोधी दुई ठूला शत्रुतापूर्ण समुदायमा, दुई ठूला वर्गहरूमा झन्झन् विभाजित हुँदैछ । ती हुन् पुँजीपतिवर्ग र सर्वहारा वर्ग ।

मध्ययुगका अर्धदासहरूबाट प्रारम्भिक सहरहरूमा पट्टेदार महाजनहरूको जन्म भयो । ती महाजनहरूबाट पुँजीपतिवर्गका प्रारम्भिक तत्वहरूको विकास भयो ।
अमेरिका र केप अब् गुड होपको बाटो पत्ता लागेपछि, उदीयमान पुँजीपतिवर्गका लागि विकासको नयाँ क्षेत्र खुल्यो । पूर्वी–भारतीय र चिनियाँ बजार, अमेरिकालाई उपनिवेश बनाउने कार्य, उपनिवेशहरूसित व्यापार र विनिमयका साधन तथा वस्तुहरूको वृद्धिले गर्दा व्यापार, सामुद्रिक यातायात र उद्योगहरूको अभूतपूर्व उन्नति भयो । त्यसको फलस्वरूप ह्रासोन्मुख समाजमा क्रान्तिकारी तत्वको छिटो विकास भयो ।

सामन्ती औद्योगिक व्यवस्थाअन्तर्गत औद्योगिक उत्पादनमा शिल्प–सङ्घहरूको एकाधिकार हुन्थ्यो । अब आएर उक्त व्यवस्थाले नयाँ बजारहरूको बढ्दो खाँचो पूर्ति गर्न सकेन । त्यसको ठाउँ हस्तचालित कारखाना–व्यवस्थाले लियो । कारखाना–मालिक मध्यमवर्गले शिल्प–सङ्घका मालिकहरूलाई एकातिर हुत्याइदियो । विभिन्न शिल्प–सङ्घहरूबीचको श्रम–विभाजन बिलाएर गयो र प्रत्येक ज्यासलमा श्रम–विभाजन हुन थाल्यो ।

यसै बीचमा बजारको विस्तार हुँदै गयो र माग पनि बढ्दै गयो । हस्तचालित कारखानाको उत्पादनले मागको पूर्ति गर्न सकेन । त्यसपछि वाष्प–शक्ति र यन्त्रहरूबाट औद्योगिक उत्पादनमा क्रान्तिकारी हेरफेर भयो । हस्तचालित कारखानाको ठाउँमा विशाल आधुनिक उद्योग देखाप¥यो र औद्योगिक लखपतिहरू, ठूल्ठूला औद्योगिक सेनाका नेताहरू, आधुनिक पुँजीपतिवर्गले औद्योगिक मध्यमवर्गको ठाउँ लिए ।

अमेरिका पत्ता लागेपछि विश्वबजारको बाटो खुल्यो र आधुनिक उद्योगले विश्व बजारको स्थापना गरेको छ । यसै बजारको कारणले व्यापार र सामुद्रिक तथा स्थल यातायातको निकै विकास भएको छ । फेरि यस विकासले उद्योगको विस्तार गरेको छ । उद्योग, सामुद्रिक यातायात र रेलमार्गको विस्तारकै अनुपातमा पुँजीपतिवर्गको पनि विकास भयो । त्यसको पुँजीमा वृद्धि भयो र त्यसले मध्यमयुगका विद्यमान वर्गहरूलाई निमिट्यान्न पारिदियो ।

तसर्थ आधुनिक पुँजीपतिवर्ग लामो विकासक्रमको उपज र उत्पादन तथा विनिमयपद्धतिमा भएको क्रमिक क्रान्तिको उपज हो भन्ने कुरा हामीलाई स्पष्ट हुन्छ ।
पुँजीपतिवर्गको विकासमा जतिजति प्रगति भयो त्यतित्यति उक्त वर्गको राजनीतिक शक्ति पनि बढ्दै गयो । पहिले यो सामन्ती अभिजातवर्गको प्रभुत्वमुनि थिचिएको एउटा वर्ग थियो । मध्ययुगीन कम्युनमा त्यसको सशस्त्र र स्वशासित सङ्घ थियो । कहीँकहीँ (जस्तो कि इटली र जर्मनीमा) त्यसको स्वतन्त्र सहरी गणतन्त्र थियो भने कहीँ (जस्तो कि फ्रान्समा) राजतन्त्रअन्तर्गत कर तिर्ने ‘तेस्रो वर्ग’ थियो । पछि हस्तचालित कारखानाको जमानामा यसले अभिजातवर्गका विरुद्ध अर्धसामन्ती वा निरङ्कुश राजतन्त्रको सेवा ग¥यो र साँच्चै त यो सामान्य रूपले विशाल राजतन्त्रको आधारशिला रह्यो । आखिरमा आधुनिक उद्योग र विश्वबजारको स्थापना भएपछि पुँजीपतिवर्गले आधुनिक प्रतिनिधित्वपूर्ण राज्यमा राजनीतिक प्रभुत्व प्राप्त गरेको छ । आधुनिक राज्यको कार्यकारिणी पूरै पुँजीपतिवर्गको साझा कारोबार चलाउने कमिटी मात्र रहेको छ ।
पुँजीपतिवर्गले ऐतिहासिक रूपले निकै क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । जहाँजहाँ पुँजीपतिवर्गले शक्ति प्राप्त गरेको छ, त्यहाँ त्यसले सारा सामन्ती, पितृसत्तात्मक र भावनात्मक सम्बन्धहरूलाई ध्वस्त पारेको छ । मानिसलाई ‘जन्मदेखि ठूलाबडाहरू’ को कमारा बनाएर राख्ने नानारङ्गी सामन्ती पासोहरूलाई यसले निर्ममतापूर्वक धुजाधुजा पारिदिएको छ । यसले मानिसमा कोरा व्यक्तिगत स्वार्थ र हार्दिकताहीन ‘नगदी लेनदेन’ को व्यवहारबाहेक अरू कुनै सम्बन्ध टिक्न दिएको छैन । यसले पारलौकिक धार्मिक भावनाहरू, वीरोचित उत्साह र गँवार भावुकतावादलाई स्वार्थी हिसाबकिताबको चिसो पानीमा डुबाइदिएको छ । यसले व्यक्तिको गुणलाई विनिमय–मूल्यमा फेरिदिएको छ र अनगिन्ती अखण्डनीय पट्टेदार स्वतन्त्रताहरूको ठाउँमा एउटै विवेकशून्य स्वतन्त्रतालाई– स्वतन्त्र व्यापारलाई– स्थापित गरेको छ । सारांशमा भन्ने हो भने धार्मिक र राजनीतिक भ्रमहरूबाट अस्पष्ट पारिएको शोषणको ठाउँमा यसले नाङ्गो, निर्लज्ज, ठाडो पाशविक शोषणलाई स्थापित गरेको छ ।

आजसम्म सम्मान र श्रद्धाको दृष्टिले हेरिने गरिएका पेसाहरूलाई पुँजीपतिवर्गले फिका पारिदिएको छ । यसले वैद्य–डाक्टर, वकिल, पुरोहित, कवि, वैज्ञानिक सबैलाई आफ्नो ज्यालादारी मजदुरमा फेरेको छ ।

पँुजीपतिवर्गले परिवारबाट त्यसको भावुकतापूर्ण घुम्टोलाई च्यातेर पारिवारिक सम्बन्धलाई मात्र पैसाको सम्बन्धमा फेरेको छ ।
मध्ययुगमा प्रतिक्रियावादीहरूद्वारा प्रशंसित राक्षसी शक्ति–प्रदर्शनी पछिल्तिर सबभन्दा घिनलाग्दो अकर्मण्यताको लामो कथा लुकेको कुरा पुँजीपतिवर्गले छर्लङ्ग्याइदियो । मानिसको जाँगरले कत्रो काम गर्न सक्दो रहेछ भनी सबभन्दा पहिले देखाइदिने पँुजीपतिवर्ग नै थियो । यसले मिश्रका पिरामिड, रोमका कृत्रिम जलप्रणाली र गोथिक चर्चहरूलाई पनि माथ गर्ने आश्चर्यजनक कामहरू सम्पन्न गरेको छ । यसले त्यस्ता अभियानहरूको सञ्चालन गरेको छ जसका सामु पहिलेका जातीय र इसाई धर्मका यावत् अभियानहरू फिका पर्न गएका छन् ।

उत्पादनका औजारहरूमा लगातार क्रान्तिकारी हेरफेर नगरीकन र सोही क्रममा उत्पादन–सम्बन्धका साथै समाजको पूरै सम्बन्धमा लगातार हेरफेर नगरीकन पुँजीपतिवर्गको अस्तित्व रहन सक्दैन । पहिलेका सबै औद्योगिक वर्गहरूको सम्बन्धमा ठीक यसको उल्टो कुरा थियो किनभने बिनाहेरफेर पुरानो उत्पादनपद्धतिलाई जस्ताको तस्तै कायम राख्नु नै तिनीहरूको अस्तित्व जोगाउने पहिलो आधार थियो । उत्पादनमा लगातार क्रान्तिकारी हेरफेर, सामाजिक अवस्थाहरूमा अटुट उथलपुथल, कहिल्यै अन्त्य नहुने अस्थिरता र अनिश्चितता— यी पुँजीवादी युगका त्यस्ता विशेषता हुन् जसले त्यसलाई पहिलेका सबै युगहरूबाट छुट्ट्याउँछन् । पहिलेका सबै स्थिर, जब्बर सम्बन्धहरूका अतिरिक्त पुराना मान्यता, पूर्वाग्रह तथा मतहरू सबै छिन्नभिन्न भएका छन् जति पनि निर्मित सम्बन्धहरू राम्ररी फस्टाउन नपाउँदै पुराना भइसक्छन् । ठोस चीजहरू हावामा पग्लेर गएका छन्, पवित्र कुराहरू अपवित्र सिद्ध भएका छन् र आखिरमा आफ्नो जीवनको वास्तविक स्थिति र अरूसितको सम्बन्धको गम्भीरतापूर्वक सामना गर्न मान्छे बाध्य भएको छ ।

आफ्ना उपजहरूका लागि निरन्तर विस्तारित बजारको खाँचो टार्न पुँजीपतिवर्ग संसारको कुनाकाप्चा चहार्ने गर्छ; सर्वत्र ठाउँ ओगट्न बसोबास गर्नु र सम्बन्ध जोड्नु यसका निमित्त नितान्त आवश्यक छ ।

विश्वबजारको उपयोगद्वारा पुँजीपतिवर्गले प्रत्येक देशको उत्पादन र उपभोगलाई सार्वदेशिक चरित्र प्रदान गरेको छ । प्रतिक्रियावादीहरूलाई औधी चोट पर्ने गरी यसले पुरानो उद्योगको राष्ट्रिय आधारलाई तहसनहस पारेको छ । पहिले स्थापना गरिएका सबै राष्ट्रिय उद्योगहरू ध्वस्त भएका छन् वा दिनप्रतिदिन ध्वस्त हुँदैछन् । तिनीहरूको ठाउँ त्यस्ता नयाँ उद्योगहरूले लिएका छन् जसको स्थापनाको सवाल सबै सभ्य राष्ट्रहरूका निम्ति जीवनमरणको सवाल बनेको छ जसले देशभित्रको कच्चा पदार्थको होइन, टाढाटाढाका ठाउँहरूबाट ल्याइने कच्चा पदार्थको प्रयोग गर्छन् र जसका उपजहरूको उपभोग देशभित्र मात्र होइन, संसारका सबै भागहरूमा गरिन्छ । पुराना चाहनाहरूको पूर्ति देशभित्रकै उत्पादनबाट हुन्थ्यो भने अब नयाँ चाहनाहरूको पूर्तिका लागि टाढाका देशहरूबाट वस्तुहरू मगाउनुपरेको छ । पुरानो स्थानीय तथा राष्ट्रिय पृथकता र आत्मनिर्भरताको ठाउँ चारै दिशामा सम्बन्ध, राष्ट्रहरूको सर्वव्यापी अन्तरनिर्भरताले लिएको छ । भौतिक संसारमा झैँ बौद्धिक संसारमा पनि यही कुरो घटेको छ । वैयक्तिक राष्ट्रहरूका बौद्धिक सिर्जनाहरू साझा सम्पत्ति बनेका छन् । राष्ट्रिय एकाङ्गीपन र सङ्कीर्णता झन्झन् बढी असम्भव भएका छन् र असङ्ख्य राष्ट्रिय तथा स्थानीय साहित्यहरूबाट एउटा विश्वसाहित्य पैदा भएको छ ।

उत्पादनका सबै औजारहरूको छिटो विकास गरेर र सञ्चारका साधनहरूमा निकै उन्नति गरेर पुँजीपतिवर्गले बर्बर राष्ट्रहरूलाई समेत सभ्यताको घेराभित्र ल्याउँछ । त्यसको वस्तुको सस्तो मोल नै त्यस्तो विशाल तोप हो जसको सघाउबाट त्यसले सारा चिनियाँ पर्खालहरूलाई भत्काइदिन्छ र विदेशीहरूदेखि निकै घिनाउने बर्बरहरूलाई घुँडा टेक्न लागाउँछ । यसले सबै राष्ट्रहरूलाई तिनीहरूको अस्तित्व नै खतम हुने डर देखाएर पुँजीवादी उत्पादनपद्धति अपनाउन बाध्य पार्छ । यसले तिनीहरूलाई करैले आफ्नो सभ्यतालाई चलनचल्तीमा ल्याउन अर्थात् पुँजीवादी बन्न लगाउँछ । छोटकरीमा भन्ने हो भने यसले संसारलाई आफ्नै साँचोमा ढाल्छ ।

पुँजीपतिवर्गले गाउँलाई सहरको शासनमुनि राखेको छ । यसले ठूल्ठूला सहरहरूको निर्माण गरेको छ । ग्रामीण जनसङ्ख्याको दाँजोमा सहरी जनसङ्ख्यालाई निकै बढाएको छ । यसरी जनसङ्ख्याको ठूलो हिस्सालाई ग्रामीण जीवनको कूपमण्डुकताबाट मुक्त पारेको छ । जसरी यसले गाउँलाई सहरमाथि आश्रित पारेको छ त्यसरी नै यसले बर्बर तथा अर्धबर्बर देशहरूलाई सभ्य देशहरूमाथि, किसानका राष्ट्रहरूलाई पुँजीवादी राष्ट्रहरूमाथि र पूर्वलाई पश्चिममाथि आश्रित पारेको छ ।

पुँजीपतिवर्गले जनसङ्ख्या, उत्पादन–साधन र सम्पत्तिको तितरबितर स्थितिलाई झन्झन् खतम पार्दै लगेको छ । यसले जनसङ्ख्यालाई एकै ठाउँमा थुपारेको छ । उत्पादनका साधनहरूलाई केन्द्रित पारेको छ । थोरै मानिसको हातमा सम्पत्ति थुपारिदिएको छ । यसले गर्दा स्वभावतः राजनीतिक केन्द्रीकरण भयो । बेग्लाबेग्लै स्वार्थ, कानुन, सरकार र करव्यवस्था भएका स्वतन्त्र अथवा खुकुलो रूपले सम्बन्धित प्रान्तहरू एउटा यस्तो राष्ट्रमा सङ्गठित भए जसको सरकार, ऐनकानुन, राष्ट्रिय वर्गस्वार्थ, सिमाना र भन्सार महसुल एउटै खालका भए ।

बितेका तमाम युगहरूले गरेको उत्पादक शक्तिहरूको विकासभन्दा बढी र शक्तिशाली उत्पादक शक्तिहरूको विकास पुँजीपतिवर्गले सय वर्षको आफ्नो छोटो शासनकालमा गरेको छ । प्राकृतिक शक्तिहरूमाथि मानिसको नियन्त्रण, यन्त्रहरू, उद्योग र कृषिमा रसायनशास्त्रको प्रयोग, वाष्पचालित जहाज, रेलमार्ग, बिजुली तार, खेतीका लागि पूरै महाद्वीपहरू सफा पार्नु, नदीको पानी लैजान ठूल्ठूला कुलोहरूको निर्माण, धेरै मानिसहरूलाई एकै ठाउँमा जम्मा पार्नु— सामाजिक श्रमको गर्भभित्र यस्ता विशाल उत्पादक शक्तिहरू लुकेका छन् भन्ने कुरालाई के पहिलेका युगहरूले अनुमान मात्र पनि गरेका थिए र ?

यसरी हामी के देख्छौँ भने जुन उत्पादन र विनिमयका साधनहरूका आधारमा पुँजीपतिवर्गको विकास भयो ती सामन्ती समाजभित्र पैदा भएका थिए । उत्पादन र विनिमयका उक्त साधनहरूको विकास कुनै निश्चित चरणमा पुगेपछि, सामन्ती समाजको उत्पादन र विनिमय व्यवस्था, कृषि र हस्तचालित उद्योगको सामन्ती सङ्गठन, एक शब्दमा भन्ने हो भने सामन्ती सम्पत्ति–सम्बन्धहरू विकसित भइसकेका उत्पादक शक्तिहरूसित मिल्दा भएनन् । उक्त सामन्ती सङ्गठन र सम्पत्ति–सम्बन्धहरू उत्पादक शक्तिहरूका लागि हथकडी र नेल बने । तिनलाई चकनाचुर पार्नुपरेको थियो, चकनाचुरै पारियो ।

त्यसको ठाउँमा मुक्त प्रतियोगिता र त्यसअनुकूलको सामाजिक र राजनीतिक विधान, पुँजीपतिवर्गको आर्थिक र राजनीतिक प्रभुत्व कायम भए ।
अहिले हाम्रै आँखाको अघिल्तिर ठीक त्यस्तै घटना भइरहेको छ । आफ्नो उत्पादन, विनिमय र सम्पत्ति–सम्बन्धहरूसहितको आधुनिक पुँजीवादी समाजले उत्पादन र विनिमयको विशाल साधनलाई पैदा गरेको छ तर त्यसलाई समाल्न यो असमर्थ छ । यस मानेमा यो समाज त्यस्तो जादुगरझैँ छ जो आफ्नो जादुको बलले आपूmले बोलाएका भूतप्रेतहरूलाई वशमा राख्न सक्दैन । बितेका धेरै दशकको उद्योग र व्यापारको इतिहास वर्तमान उत्पादन–सम्बन्धहरूका विरुद्ध, पुँजीपतिवर्ग र त्यसको शासनको आधार बनेका सम्पत्ति–सम्बन्धहरूका विरुद्ध आधुनिक उत्पादक शक्तिहरूको विद्रोहको इतिहास मात्र हो । यसका लागि ती व्यापार–सङ्कटहरूको उल्लेख गर्नु नै यथेष्ट छ जसले समयसमयमा देखापरेर पूरै पुँजीवादी समाजको अस्तित्वमा खतरा पैदा गरेका छन् । यस्ता सङ्कटहरूमा वस्तुहरू मात्र होइन, पहिले सिर्जिएका उत्पादक शक्तिहरू पनि समयसमयमा ध्वस्त पारिएका छन् । यस्ता सङ्कटहरूको बेलामा यस्तो महामारी फैलिन्छ जसलाई पहिलेका युगहरूमा भए मूर्खतापूर्ण ठानिने थियो । त्यो हो अति उत्पादनको महामारी । अचानक समाजले आपूmलाई केही समयसम्म बर्बर अवस्थामा पाउँछ । अनिकालले, सर्वव्यापी युद्धले सारा जीविकाको साधनको पूर्तिको मुखै टालिदिएको जस्तो भान हुन्छ । उद्योग र व्यापार ठप्पैजस्तो लाग्छ । यो सबै किन हुन्छ त ? चाहिनेभन्दा बढी जीविकाको साधन, चाहिनेभन्दा बढी उद्योग, चाहिनेभन्दा बढी व्यापार भएकाले यस्तो भएको हो । अब समाजको अधीनमा भएका उत्पादक शक्तिहरू पुँजीवादी सम्पत्ति–सम्बन्धको विकासमा सहायक हुँदैनन् । बरु त्यसको उल्टो ती शक्तिहरू कति शक्तिशाली भइसकेका हुन्छन् भने त्यसका लागि उक्त सम्बन्धहरू बन्धन बन्छन् र यो बन्धन टुट्नेबित्तिकै पूरै पुँजीवादी समाजमा खैलाबैला पैदा हुन्छ र पुँजीवादी सम्पत्तिको अस्तित्व खतरामा पर्छ । पुँजीवादी समाजका अवस्थाहरू कति साँगुरा छन् भने त्यसले आपूmले पैदा गरेको धनलाई आपूmभित्र अटाउन सक्दैन । पुँजीपतिवर्ग उक्त सङ्कटहरूबाट कसरी उम्कन खोज्छ त ? सङ्कटबाट उम्कनका लागि एकातिर त्यसले निकै धेरै उत्पादक शक्तिहरूलाई बलजफ्ती नष्ट पार्छ, अर्कोतिर त्यसले नयाँ बजार कब्जा गर्छ र पुराना बजारहरूको बढी शोषण गर्छ । अर्थात् त्यसबाट मुक्ति पाउन त्यसले बढी व्यापक र विनाशकारी सङ्कटलाई निम्त्याउँछ र सङ्कट रोक्ने साधनहरूलाई घटाउँछ ।

जुन हतियारको मद्दतबाट पुँजीपतिवर्गले सामन्तवादलाई ढालेको थियो त्यो हतियार अब पुँजीपतिवर्गकै विरुद्ध सोझिएको छ ।
तर पुँजीपतिवर्गले आपूmलाई खतम पार्ने हतियार मात्र तयार पारेको छैन, त्यसले त उक्त हतियार प्रयोग गर्ने मानिसहरू, आधुनिक मजदुरवर्ग, सर्वहाराहरूलाई पनि जन्माएको छ ।

जतिजति पुँजीपतिवर्ग अर्थात् पुँजीको विकास हुन्छ त्यतित्यति सर्वहारा वर्ग, आधुनिक मजदुरवर्गको पनि विकास हुन्छ । सर्वहारा वर्ग त्यस्ता ज्यामीहरूको जमात हो जो काम पाउन्जेलसम्म मात्र जीवित रहन्छ र जसले आफ्नो श्रमद्वारा पुँजीलाई बढाउन सकुन्जेलसम्म मात्र काम पाउँछ । यी ज्यामीहरूले आपूmलाई खुद्रा बिक्री गर्नुपर्छ र उनीहरू पनि अन्य खरिदबिक्रीको वस्तुझैँ एउटा वस्तु हुन् । त्यसैले उनीहरू प्रतियोगिता र बजारको उतारचढावका सिकार हुन्छन् ।

यन्त्रहरूको विस्तृत प्रयोग र श्रमविभाजनले गर्दा सर्वहाराहरूको कामले आफ्नो वैयक्तिक चरित्र गुमाइसकेको छ; फलस्वरूप कामदारले काम गर्दा पाउनुपर्ने मज्जा र आनन्द गुमेको छ । मजदुर यन्त्रको पुच्छर बन्छ र उसबाट सबभन्दा साधारण, सबभन्दा निरस र सबभन्दा सजिलोसित सिकिने कुशलताको मात्र अपेक्षा गरिन्छ । त्यसैले मजदुरको उत्पादन–लागत पूर्णतया उसको जीवन धान्न र वंश वृद्धि गर्न चाहिने साधनहरूसम्ममा सीमित रहन्छ । तर कुनै वस्तुको मोल र त्यसैले श्रमको मोल, त्यसको उत्पादन–लागतको बराबर हुन्छ । तसर्थ जतिजति काममा निरसता बढ्छ त्यति नै ज्याला कम हुन्छ । त्यति मात्र होइन, जतिजति यन्त्रको प्रयोग र श्रम विभाजन बढ्छ त्यति नै कामको घन्टा लम्ब्याएर, कुनै निर्धारित समयभित्र काम बढी गराएर वा यन्त्रको गतिलाई बढी तेज पारेर कामदारमाथि श्रमको भार पनि बढाइन्छ ।

आधुनिक उद्योगले पितृसत्तात्मक मालिकको सानो ज्यासललाई औद्योगिक पुँजीपतिको ठूलो कारखानामा फेरेको छ । कारखानाहरूमा असङ्ख्य मजदुरहरू सिपाहीहरूझैँ सङ्गठित गरिन्छन् । औद्योगिक सेनाका सिपाहीहरूका रूपमा उनीहरूलाई अफिसर र सुवेदारहरूको नेतृत्वमुनि राखिन्छ । उनीहरू पुँजीपतिवर्गका र पुँजीवादी राज्यका कमारा मात्र होइनन्, उनीहरूलाई दिन–प्रतिदिन र घन्टा–प्रतिघन्टा यन्त्रद्वारा, निरीक्षकद्वारा र मुख्य कुरा त वैयक्तिक पुँजीवादी उत्पादनकर्ताद्वारा कमारा बनाइन्छ । जति खुला रूपमा यस निरङ्कुशतन्त्रले लाभलाई आफ्नो साध्य र लक्ष्य ठान्छ त्यति नै बढी नीच, घृणित र पाखण्डी बन्छ ।

जतिजति शारीरिक श्रममा कुशलता र बलको खाँचो कम हुन्छ अर्थात् जतिजति आधुनिक उद्योगको विकास हुन्छ त्यतित्यति पुरुषको सट्टामा महिलाहरूलाई काममा लगाइन्छ । मजदुरवर्गका निम्ति उमेर र लिङ्गभेदको कुनै विशेष सामाजिक महत्व रहँदैन । सबै श्रमका औजार हुन्छन् ः उमेर र लिङ्गको दृष्टिबाट ज्याला कमबेसी हुन्छ ।
उत्पादनकर्ताबाट मजदुरको शोषणको अन्त्य हुनेबित्तिकै, मजदुरले नगदी ज्याला पाउनेबित्तिकै, पुँजीपतिवर्गका अरू सहबन्धुहरूले, घरपति, पसले, बन्धक लिने महाजन आदिले उसको शोषण गर्छन् ।

ससाना व्यापारी, पसले, अवकाशप्राप्त व्यापारी, दस्तकार र किसानहरू— यी सबै निम्नमध्यमवर्गीय मानिसहरू बिस्तारबिस्तार सर्वहाराको स्थितितिर ओर्लन्छन् । त्यसको कारण एक त उनीहरूसित भएको थोरै पुँजी आधुनिक उद्योग चलाउन यथेष्ट हुँदैन र उनीहरू ठूला पुँजीपतिहरूसितको होडबाजीमा टिक्न सक्दैनन् । फेरि अर्को कारण के भने उत्पादनको नयाँ तरिकाले गर्दा उनीहरूको विशिष्ट दक्षता बिनामूल्यको हुन्छ । यसरी जनताका सबै वर्गहरूबाट सर्वहारा वर्गमा भर्ती हुन आउँछ ।
सर्वहारा वर्ग विकासका विभिन्न चरणहरूबाट गुज्रन्छ । जन्मैदेखि पुँजीपतिवर्गसित त्यसको सङ्घर्ष सुरु हुन्छ । सुरुसुरुमा एक्लै मजदुरहरूले सङ्घर्ष चलाउँछन् । पछि एउटा कारखानामा सबै मजदुरहरू मिलेर सङ्घर्ष चलाउँछन् । त्यसपछि एकै ठाउँका एउटै व्यवसायमा काम गर्ने सबै मजदुरहरू मिली खुलमखुला आफ्नो शोषण गर्ने खास पुँजीपतिका विरुद्ध सङ्घर्ष गर्छन् । पुँजीवादी व्यवस्थाका विरुद्ध होइन, बरु उत्पादनका औजारहरूका विरुद्ध उनीहरू आफ्नो हमलालाई निर्देशित गर्छन् । उनीहरू आफ्नो श्रमसित होड गर्ने विदेशी वस्तुहरूलाई नष्ट पार्छन् । यन्त्रलाई ध्वस्त पार्छन् । कारखानामा आगो लगाइदिन्छन्; लोप भइसकेको मध्ययुगीन कामदारको स्थितिलाई जबर्जस्ती कायम गर्न खोज्छन् ।

यस चरणसम्ममा मजदुरहरू देशभरि छरिएर रहेका, एकता नभएका जनसमुदाय रहन्छन् र होडबाजीले गर्दा उनीहरू आपसमा विभाजित रहेका हुन्छन् । कहीँ उनीहरू बढी सङ्गठित संस्थाहरूमा एकताबद्ध रहेका भए पनि त्यसको कारण उनीहरूको आफ्नै सक्रिय एकता होइन, बरु पुँजीपतिवर्गको एकता हो किनभने पुँजीपतिवर्गले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिका लागि पूरै सर्वहारा वर्गलाई आन्दोलनमा सक्रिय पार्नुपरेको हुन्छ र केही समयका लागि त्यसले यसो गर्न सक्छ पनि । तसर्थ यस चरणमा सर्वहाराहरू आफ्नो शत्रुसित लड्दैनन् तर आफ्नो शत्रुको शत्रु निरङ्कुश राजतन्त्रका अवशेषहरू, जमिनदारहरू, गैरऔद्योगिक पुँजीपतिहरू र निम्नपुँजीपतिवर्गसित लड्छन् । यसरी पूरै ऐतिहासिक आन्दोलनको लगाम पुँजीपतिवर्गको हातमा रहन्छ ः प्राप्त गरिएको प्रत्येक विजय पुँजीपतिवर्गका लागि विजय बन्छ ।
तर उद्योगको विकाससँगसँगै सर्वहारा वर्गको सङ्ख्यामा मात्र वृद्धि हुने होइन, त्यो झन्झन् ठूलो सङ्ख्यामा एकत्रित हुन्छ, त्यसको तागत बढ्छ र त्यसले उक्त तागतको बढी अनुभव गर्छ । जतिजति यन्त्रले श्रमका सबै भेदहरूलाई मेटाउँछ र सबै ठाउँमा ज्यालालाई निम्न स्तरमा पु¥याएर एउटै दरको बनाउँछ त्यति नै सर्वहारा वर्गका पङ्क्तिहरूभित्रका विभिन्न स्वार्थ र जीवनावस्थाहरू एउटै हुन्छन् । पुँजीपतिहरूको माझमा बढ्दो होडबाजी र त्यसबाट उत्पन्न हुने व्यापारसङ्कटले गर्दा मजदुरहरूको ज्याला झन्झन् बढी अनियमित बन्न जान्छ । झन्झन् छिटोसित यन्त्रमा हुने लगातार उन्नतिले गर्दा उनीहरूको जीवन झन्झन् अनिश्चित बन्छ । वैयक्तिक मजदुर र वैयक्तिक पुँजीपतिहरूबीचको सङ्घर्षले झन्झन् वर्गसङ्घर्षको रूप लिन्छ । त्यसपछि मजदुरहरू पँुजीपतिका विरुद्ध सङ्घ (मजदुर सङ्घहरू) बनाउन थाल्छन्, ज्यालाको दर बढाउनका लागि उनीहरू सङ्गठित हुन्छन्; समयसमयमा विद्रोहका निम्ति तयार पार्न उनीहरू स्थायी सङ्घहरू बनाउँछन् । जहाँतहीँ सङ्घर्षले विद्रोहको रूप लिन्छ ।
यदाकदा मजदुरहरू विजयी बन्छन् तर त्यो क्षणिक हुन्छ । उनीहरूको सङ्घर्षको सच्चा फल तत्कालीन परिणाममा रहँदैन, बरु उनीहरूको झन्झन् विस्तृत एकतामा रहन्छ । आधुनिक उद्योगले सिर्जना गरेका उन्नत सञ्चारसाधनहरू उक्त एकतामा सहायक हुन्छन् किनभने त्यसले विभिन्न ठाउँका मजदुरहरूलाई आपसमा सम्पर्क गराउँछ । यस सम्पर्कले गर्दा एउटै चरित्रका असङ्ख्य स्थानीय सङ्घर्षहरू एउटै राष्ट्रिय वर्गसङ्घर्षमा केन्द्रित हुन्छन् । तर प्रत्येक वर्गसङ्घर्ष राजनीतिक सङ्घर्ष हो । मध्ययुगका व्यापारीहरूलाई बाटोघाटोको कमीले गर्दा यस्तो एकता प्राप्त गर्न सयौँ वर्ष लागेको थियो भने रेलमार्गले गर्दा आधुनिक सर्वहाराहरूले त्यसलाई केही वर्षमा नै प्राप्त गर्छन् ।
वर्गको हैसियतबाट र फेरि राजनीतिक पार्टीको हैसियतबाट हुने मजदुरहरूको सङ्गठन मजदुरहरूकै बीचको होडबाजीले गर्दा बराबर भङ्ग हुन्छ । तर झन् बलियो, झन् दरो, झन् शक्तिशाली रूपमा त्यस्तो सङ्गठनको फेरि जन्म हुन्छ । पुँजीपतिहरूबीचको विभाजनबाट फाइदा उठाएर त्यस सङ्गठनले मजदुरहरूको खास स्वार्थमा ऐनकानुन बनाउन बाध्य पार्छ । यसरी बेलायतमा दसघन्टे कानुन बन्छ ।

पुरानो समाजका वर्गहरूबीच हुने सङ्घर्षले धेरै तरिकाबाट सर्वहारा वर्गको विकासलाई बढाउँछ । पुँजीपतिवर्ग निरन्तर सङ्घर्षमा फसेको हुन्छ । पहिले सामन्तवर्गसित यसको सङ्घर्ष चल्छ । पछि उद्योगको प्रगतिको विपरीत स्वार्थ राख्ने पुँजीपतिवर्गसित यसको सङ्घर्ष चल्छ र विदेशी पुँजीपतिवर्गसित त यसको जहिले पनि सङ्घर्ष चलेकै हुन्छ । यी सबै सङ्घर्षहरूमा यसलाई सर्वहारा वर्गको मद्दत लिन र त्यसलाई राजनीतिक रङ्गमञ्चमा उतार्न कर लाग्छ । तसर्थ पुँजीपतिवर्गले नै सर्वहारा वर्गलाई राजनीतिक र सामान्य शिक्षा दिने काम गर्छ अर्थात् सर्वहारा वर्गलाई पुँजीपतिवर्गका विरुद्ध लड्न त्यसले नै हतियार दिन्छ ।

फेरि माथि भनिएझैँ उद्योगको प्रगतिले गर्दा शासकवर्गका सारा अङ्गहरू सर्वहारा वर्गतिर ओरालो लाग्छन् अथवा कमसेकम उनीहरूको जीविका खतरामा पर्छ । उनीहरूले पनि सर्वहारा वर्गलाई ज्ञान र प्रगतिका नयाँ तत्वहरू प्रदान गर्छन् ।

अन्त्यमा वर्गसङ्घर्ष निर्णायक अवस्थामा पुग्दा, शासकवर्गभित्र र वास्तवमा पूरै पुरानो समाजभित्र चलिरहेको विघटनप्रक्रियाले कस्तो उग्र, भयानक रूप लिन्छ भने शासकवर्गको एउटा सानो अङ्ग त्यसबाट छुट्टिएर क्रान्तिकारी वर्गसित, भविष्य हातमा लिएको वर्गसित मिल्न आउँछ । तसर्थ जसरी पहिलेको युगका सामन्तवर्गको एउटा अङ्ग पुँजीपतिवर्गसित मिल्न गयो त्यसरी नै अहिले पुँजीपतिवर्गको एउटा अङ्ग सर्वहारा वर्गसित मिल्न आउँछ र खासगरी पुँजीवादी सिद्धान्तकारहरूको त्यस्तो डफ्फा मिल्न आउँछ जो पूरै ऐतिहासिक आन्दोलनलाई सैद्धान्तिक रूपले बुझ्नसक्ने स्तरसम्म उठिसकेको हुन्छ ।

आज पुँजीपतिवर्गको विरोधमा जति पनि वर्गहरू छन् ती सबमा सर्वहारा वर्ग मात्र साँच्चिकै क्रान्तिकारी वर्ग हो । आधुनिक उद्योगको मारमा परेर अरू वर्गहरू क्षीण हुँदै अन्त्यमा बिलाएर जान्छन्; सर्वहारा वर्ग त्यसको खास र आवश्यक उपज हो ।

निम्नमध्यमवर्ग, सानो उत्पादनकर्ता, पसले, कालीगढ, किसान– यी सबै मध्यमवर्गको हैसियतले आफ्नो अस्तित्व जोगाउन पुँजीपतिका विरुद्ध लड्छन् । त्यसैले उनीहरू क्रान्तिकारी होइनन्, बरु रूढिवादी हुन् । त्यति मात्र होइन, उनीहरू प्रतिक्रियावादी पनि हुन् किनभने उनीहरू इतिहासको पाङ्ग्रालाई पछिल्तिर फर्काउन खोज्छन् । संयोगवश उनीहरू क्रान्तिकारी भए पनि आपूm चाँडै नै सर्वहारा वर्गको स्थितिमा खस्ने हुनाले मात्र उनीहरू क्रान्तिकारी बनेका हुन्छन् । यसैले उनीहरू आफ्नो वर्तमान स्वार्थको होइन, बरु भविष्यको स्वार्थको रक्षा गर्छन्, आफ्नो दृष्टिकोणलाई छाडेर सर्वहारा वर्गको दृष्टिकोणलाई ग्रहण गर्छन् ।

अनि अर्को एउटा ‘खतरनाक वर्ग’, ‘सामाजिक फोहोर’ छ जुन पुरानो समाजको निम्नतम तहद्वारा फालिएका सडेगलेका तत्वहरूबाट बनेको हुन्छ । यी तत्वहरू पनि विभिन्न ठाउँमा सर्वहारा क्रान्तिले गर्दा आन्दोलनमा सरिक हुन सक्छन् तर आर्थिक अवस्थाले गर्दा यिनीहरू धेरैजसो पैसामा बिकेर प्रतिक्रियावादी षड्यन्त्रका ज्यावल बन्ने हुन्छन् ।
सर्वहारा वर्गको स्थितिमा पुरानो सामाजिक स्थितिको कुनै नामोनिशान वास्तवमा बाँकी रहेको हुँदैन । सर्वहाराको कुनै सम्पत्ति हुँदैन; आफ्ना स्वास्नी र केटाकेटीहरूसितको उसको सम्बन्धमा पुँजीवादी पारिवारिक सम्बन्धसित मिल्दो कुनै चीज पाइँदैन । फ्रान्समा झैँ बेलायतमा, जर्मनीमा झैँ अमेरिकामा पनि आधुनिक औद्योगिक श्रमले, आधुनिक पुँजीको शासनले उसमा राष्ट्रिय चरित्रको कुनै चिह्न रहन दिएको छैन । उसका लागि कानुन, नैतिकता, धर्म आदि सब त्यस्ता पुँजीवादी पूर्वाग्रह हुन् जसको पर्दापछाडि पुँजीवादी स्वार्थहरू लुकेका हुन्छन् ।

राज्यको बागडोर हातमा लिएका पहिलेका सबै वर्गहरूले पूरै समाजलाई आफ्नो शोषणको चक्कीमा पिसेर आफ्नो स्थितिलाई जब्बर पार्न खोजेका छन् । आफ्नो पहिलेको शोषणपद्धतिलाई र यसरी पहिलेका सारा शोषणपद्धतिहरूलाई खतम नपारीकन सर्वहाराहरू समाजका उत्पादक शक्तिहरूको मालिक बन्न सक्दैनन् । जोगाउनुपर्ने भन्ने कुनै चीज उनीहरूसित छैन, उनीहरूको मूल उद्देश्य निजी सम्पत्तिसित सम्बन्धित पहिलेका सबै संरक्षण र ग्यारेन्टीहरूलाई ध्वस्त पार्नु हो ।
पहिलेका सबै ऐतिहासिक आन्दोलनहरू अल्पसङ्ख्यक मानिसहरूका आन्दोलन, अल्पसङ्ख्यकको स्वार्थमा भएका आन्दोलन थिए । सर्वहारा आन्दोलन विशाल बहुसङ्ख्यकको स्वार्थमा हुने विशाल बहुसङ्ख्यकको आत्मसचेत, स्वतन्त्र आन्दोलन हो । अधिकृत समाजको तमाम माथिल्लो ढाँचालाई ध्वस्त नपारीकन, हाम्रो वर्तमान समाजको सबभन्दा तल्लो स्तरमा रहेको सर्वहारा वर्गले उन्नति गर्न सक्दैन, यसले आपूmलाई माथि उठाउन सक्दैन ।
पँुजीपतिवर्गका विरुद्ध सर्वहारा वर्गको सङ्घर्ष सारतत्वको दृष्टिले राष्ट्रिय नभए पनि यो सुरुमा रूपको दृष्टिले राष्ट्रिय सङ्घर्ष रहन्छ । अवश्य नै प्रत्येक देशको सर्वहारा वर्गले सर्वप्रथम आफ्नै पँुजीपतिवर्गलाई खतम पार्नुपर्छ ।

सर्वहारा वर्गको विकासका सामान्य चरणहरूको मोटामोटी वर्णन गर्दा हामीले विद्यमान समाजभित्र थोरबहुत गुप्त ढङ्गले चलिरहेको गृहयुद्धको त्यस बिन्दुसम्म वर्णन गरेका छौँ जहाँ पुगेपछि उक्त युद्धले खुला क्रान्तिको रूप लिन्छ र पुँजीपतिवर्गलाई हिंसात्मक ढङ्गले उखेलेर फाली सर्वहारा वर्गको शासनको जग बसाल्छ ।
आजसम्मको विद्यमान सामाजिक व्यवस्था थिच्ने र थिचिएका वर्गहरूको शत्रुतामा आधारित रहेको छ । तर जुनसुकै वर्गलाई दबाएर राख्नका लागि, त्यसलाई यस्तो सुविधासम्म त दिनैपर्छ जसको अन्तर्गत रहेर त्यसले कमसेकम आफ्नो कमारा स्थितिलाई जारी राख्न सकोस् । जसरी सामन्ती निरङ्कुश शासनअन्तर्गत निम्नपुँजीपतिवर्गले आपूmलाई पुँजीपतिमा विकसित गर्ने चाँजोपाँजो मिलायो त्यसरी नै अर्धदास प्रथाको युगमा अर्धदासले आपूmलाई कम्युनको सदस्यमा उठायो । त्यसको उल्टो, उद्योगको प्रगतिको सँगसँगै उकालो लाग्नुको सट्टामा आधुनिक मजदुर आफ्नो वर्गीय स्थितिभन्दा झन्झन् उँधो लाग्दैछ । ऊ गरिब बन्छ र जनसङ्ख्या र धनदौलतभन्दा पनि छिटोसित गरिबीको वृद्धि हुन्छ । यसबाट कुन कुरा प्रष्ट हुन्छ भने समाजमा शासकवर्ग बन्नका लागि र समाजमाथि आफ्नो व्यवस्था थोपार्नका लागि पुँजीपतिवर्ग नालायक भैसकेको छ । यो वर्ग शासन गर्नलाई नालायक भएको छ किनभने कमारागिरीभित्र आफ्नो कमारालाई बाँच्न दिने व्यवस्थासमेत मिलाउन यसले सकेको छैन किनभने यसले आफ्नो कमारालाई कस्तो स्थितिमा पु¥याएको छ भने उसको कमाइ खानुको सट्टामा उसले ख्वाउनुपरेको छ । यस पुँजीपतिवर्गको अधीनमा अब समाज रहन सक्दैन अर्थात् अब समाजसित त्यसको अस्तित्वको मेल खाँदैन ।

पुँजीपतिवर्गको अस्तित्व र आधिपत्यका लागि चाहिने प्रमुख सर्त पुँजीको निर्माण र वृद्धि हो; पुँजीका लागि आवश्यक सर्त ज्यालादारी श्रम हो । ज्यालादारी श्रम मजदुरहरूबीचको होडबाजीमा निर्भर गर्छ । पुँजीपतिवर्गले अनिच्छापूर्वक गरेको उद्योगको प्रगतिको फलस्वरूप, होडबाजीको कारणले छरिएर बसेका मजदुरहरू आपसी सम्पर्कमा आई क्रान्तिकारी सङ्गठनहरू बनाउँछन् । तसर्थ आधुनिक उद्योगको विकासले पुँजीवादी उत्पादन र शोषणको आधारलाई नै तहसनहस पारिदिन्छ । त्यसैले मुख्य कुरा के भने पुँजीपतिवर्गले आफ्नो चिहान खन्नेहरूलाई जन्माउँछ । त्यसको पतन र सर्वहारा वर्गको विजय त्यत्तिकै अनिवार्य छन् ।


सर्वहारा र कम्युनिस्ट
कम्युनिस्टहरू र सर्वहाराहरूको माझ कस्तो सम्बन्ध रहन्छ ?
अरू मजदुर पार्टीहरूका विरुद्ध कम्युनिस्टहरू एउटा छुट्टै पार्टी बनाउँदैनन् ।
सर्वहारा वर्गको स्वार्थभन्दा छुट्टै र भिन्नै कम्युनिस्टहरूको अर्को कुनै स्वार्थ छैन ।
सर्वहारा आन्दोलनलाई कुनै खास साँचोमा ढाल्ने कम्युनिस्टहरूको उद्देश्य छैन र त्यसका लागि उनीहरू आफ्नो सङ्कीर्ण सिद्धान्त स्थापना गर्दैनन् ।
अरू मजदुर पार्टीहरूबाट कम्युनिस्टहरूलाई दुईटा कुराले छुट्ट्याउँछन्

(१ ) विभिन्न मुलुकहरूका सर्वहाराहरूका राष्ट्रिय सङ्घर्षहरूमा उनीहरू जातीयताको भेदभाव नगरीकन पूरै सर्वहारा वर्गको साझा स्वार्थतर्फ औँल्याउँछन् र त्यसलाई अघि सार्छन् ।
(२ ) पुँजीपतिवर्गका विरुद्ध मजदुरवर्गको सङ्घर्षको विकासका विभिन्न चरणहरूमा उनीहरू सदा र सर्वत्र पूरै आन्दोलनको स्वार्थको प्रतिनिधित्व गर्छन् ।
तसर्थ एकातिर कम्युनिस्टहरू व्यावहारिक दृष्टिले प्रत्येक देशका मजदुरवर्गीय पार्टीहरूमा सबभन्दा अघि बढेका र दरिला अङ्ग हुन् र उनीहरूले अरू सबैलाई अघि बढाउँछन्; अर्कोतिर सैद्धान्तिक दृष्टिबाट उनीहरूले सर्वहारा आन्दोलनको दिशा, अवस्था र अन्तिम सामान्य परिणामबारे विशाल सर्वहारा जनसाधारणले भन्दा बढी बुझेका हुन्छन् ।

अरू सबै सर्वहारा पार्टीहरूको जुन उद्देश्य छ कम्युनिस्टहरूको तत्कालीन उद्देश्य पनि त्यही रहन्छ ः वर्गको हैसियतले सर्वहारा वर्गको सङ्गठन गर्नु, पुँजीवादी शासनलाई उखेलेर फाल्नु, सर्वहारा वर्गद्वारा राजनीतिक सत्ता प्राप्त गर्नु ।
कम्युनिस्टहरूका सैद्धान्तिक निष्कर्षहरू कुनै विश्वसुधारकद्वारा बनाइएका विचार वा सिद्धान्तहरूमा कदापि आधारित छैनन् ।
सामान्यतः उनीहरू विद्यमान वर्गसङ्घर्षबाट, हाम्रै आँखाअघिल्तिर चलिरहेको ऐतिहासिक आन्दोलनबाट उत्पन्न वास्तविक सम्बन्धहरूलाई मात्र व्यक्त गर्छन् । विद्यमान सम्पत्ति–सम्बन्धको उन्मूलन गर्नु कम्युनिज्मको एउटा विशिष्ट लक्षण कदापि होइन ।

पहिले पनि ऐतिहासिक अवस्थाहरूमा भएको हेरफेरका कारणले गर्दा सबै सम्पत्ति–सम्बन्धहरूमा लगातार ऐतिहासिक हेरफेरहरू भएका छन् ।
उदाहरणका लागि फ्रान्सेली क्रान्तिले पुँजीवादी सम्पत्तिका पक्षमा सामन्ती सम्पत्तिको उन्मूलन ग¥यो ।
कम्युनिज्मको विशिष्ट लक्षण सामान्यतः सम्पत्तिको अन्मूलन गर्नु होइन, बरु पुँजीवादी सम्पत्तिको उन्मूलन गर्नु हो । तर आधुनिक पुँजीवादी निजी सम्पत्ति वर्गशत्रुतामा, थोरै व्यक्तिद्वारा धेरैको शोषणमा आधारित उत्पादन तथा शोषण व्यवस्थाको अन्तिम र सबभन्दा पूर्ण अभिव्यक्ति हो ।
यस अर्थमा कम्युनिस्टहरूको सिद्धान्तलाई एउटै वाक्यमा यसरी राख्न सकिन्छ ः निजी सम्पत्तिको उन्मूलन ।
मानिसले आफ्नै पसिनाले कमाएको व्यक्तिगत सम्पत्ति राख्न पाउने अधिकार नै खतम गर्न चाहने भनी कम्युनिस्टहरूमाथि आक्षेप लगाइएको छ । यस्तो आक्षेप लगाउनेहरूको भनाइअनुसार यो सम्पत्ति सारा व्यक्तिगत स्वतन्त्रता, क्रियाशीलता र स्वाधीनताको आधार हो ।
खुब मेहनत गरी हासिल गरेको, आफैँले पाएको, आफैँले कमाएको सम्पत्ति ! के तिमीहरूको भनाइको अर्थ सानो दस्तकार र सानो किसानको सम्पत्ति हो जुन पुँजीवादी सम्पत्तिभन्दा पहिले रहेको थियो ? त्यसको उन्मूलन गर्नुपर्ने कुनै खाँचो छैन; उद्योगको विकासले त्यसलाई धेरै हदसम्म खतम पारिसकेको छ र अहिले पनि दिन–प्रतिदिन खतम पार्दैछ ।

अथवा तिमीहरूको मतलब आधुनिक पुँजीवादी निजी सम्पत्तिसित हो ?
तर के ज्यालादारी श्रमले मजदुरका लागि कुनै सम्पत्ति पैदा गर्छ ? कदापि गर्दैन । त्यसले त पुँजी पैदा गर्छ अर्थात् त्यस्तो खालको सम्पत्ति पैदा गर्छ जसले ज्यालादारी श्रमको शोषण गर्छ र जुन नयाँ शोषणका लागि चाहिने ज्यालादारी श्रमको नयाँ आपूर्ति नभएमा बढ्न सक्दैन । अचेलको सम्पत्ति पँुजी र ज्यालादारी श्रमबीच शत्रुतामा आधारित रहेको छ । हामी यस शत्रुताको जाँच दुवै पक्षबाट गरौँ ।

पुँजीपति बन्नुको अर्थ उत्पादनमा चोखो व्यक्तिगत स्थिति प्राप्त गर्नु मात्र होइन, सामाजिक स्थिति प्राप्त गर्नु पनि हो । पुँजी एउटा सामूहिक उपज हो र समाजका धेरै सदस्यहरूको संयुक्त कारबाहीबाट मात्र, अझ भन्ने हो भने अन्तिम रूपमा समाजका सबै सदस्यहरूको संयुक्त कारबाहीबाट मात्र त्यसलाई गतिशील पार्न सकिन्छ ।
तसर्थ पुँजी व्यक्तिगत शक्ति होइन, बरु सामाजिक शक्ति हो ।
त्यसैले पुँजीलाई साझा सम्पत्तिमा, समाजका सारा सदस्यहरूको सम्पत्तिमा फेरिँदा व्यक्तिगत सम्पत्ति सामाजिक सम्पत्तिमा फेरिने होइन, सम्पत्तिको सामाजिक चरित्र मात्र फेरिन्छ । सम्पत्तिको वर्गचरित्र खतम हुन्छ ।
अब हामी ज्यालादारी श्रमबारे विचार गरौँ ।

ज्यालादारी श्रमको सरदर मोल न्यूनतम ज्याला हो अर्थात् मजदुरलाई मजदुरको हैसियतले जीवन धान्न पुग्ने जीविकाका साधनहरूको परिमाण हो । तसर्थ ज्यालादारी मजदुरले आफ्नो श्रमबाट जति पाउँछ त्यसबाट उसको गुजारा चलाउन मात्र पुग्ने हुन्छ । मजदुरले आफ्नो श्रमबाट गर्ने यस कमाइलाई खतम गर्न हामी कदापि चाहन्नौँ; मानवजीवन कायम राख्न र त्यसको पुनरुत्पादनका लागि गरिने र अरूको श्रमको शोषण नगर्ने कमाइलाई खतम गर्ने हाम्रो इरादा होइन । हामीले खतम गर्न चाहेको कुरा त उक्त कमाइको त्यस्तो शोचनीय रूप हो जुनअन्तर्गत मजदुर पुँजी बढाउनका लागि मात्र बाँचेको हुन्छ र शासकवर्गको स्वार्थपूर्तिका लागि चाहिएसम्म मात्र उसलाई बाँच्न दिइन्छ ।
पुँजीवादी समाजमा जीवित श्रम सञ्चित श्रमलाई बढाउने साधन मात्र रहन्छ । कम्युनिस्ट समाजमा सञ्चित श्रम मजदुरको जीवनलाई फराकिलो, सुखी र उन्नत पार्ने साधन मात्र रहन्छ ।

तसर्थ पुँजीवादी समाजमा भूतले वर्तमानमाथि शासन चलाउँछ, कम्युनिस्ट समाजमा वर्तमानले भूतमाथि शासन चलाउँछ । पुँजीवादी समाजमा पुँजी स्वतन्त्र छ र त्यसको निजी व्यक्तित्व छ तर जिउँदो मान्छे परतन्त्र छ र उसको कुनै व्यक्तित्व छैन ।
पुँजीपतिहरू के भन्छन् भने यस्तो स्थितिको उन्मूलन गर्नु व्यक्तित्व र स्वतन्त्रताको उन्मूलन गर्नु हो । कुरा ठीकै पनि हो । पुँजीवादी व्यक्तित्व, पुँजीवादी स्वाधीनता र पुँजीवादी स्वतन्त्रताको उन्मूलन गर्नु अवश्य पनि हाम्रो उद्देश्य हो ।

वर्तमान पुँजीवादी उत्पादन–व्यवस्थाअन्तर्गत स्वतन्त्रताको अर्थ हो स्वतन्त्र व्यापार, स्वतन्त्र खरिद–बिक्री ।
तर पुँजीपतिवर्ग के भन्छ भने खरिद–बिक्री खतम भयो भने स्वतन्त्र खरिद–बिक्री पनि खतम हुन्छ । मध्ययुगमा सीमित खरिद–बिक्री र बन्धनमा परेका व्यापारीहरूको विरोधमा मात्र हाम्रो पुँजीपतिवर्गले स्वतन्त्र खरिद–बिक्रीबारे र सामान्य रूपमा स्वतन्त्रताबारे ‘दिल्ली हाँक्ने कुरा’ अघि सारेको भए त्यसको केही अर्थ हुन्थ्यो होला तर खरिद–बिक्री, पुँजीवादी उत्पादन व्यवस्था र पुँजीपतिवर्गको उन्मूलन गर्ने कम्युनिस्ट इरादाका विरुद्ध त्यसलाई अघि सार्दा त्यसको कुनै महत्व रहँदैन ।
तिमीहरू निजी सम्पत्ति खतम पार्ने हाम्रो इरादा सुनेर थर्कमान भएका छौ तर तिमीहरूको विद्यमान समाजमा दसजनामा नौजनाको निजी सम्पत्ति त खतमै भइसकेको छ । दसजनामा नौजनासित सम्पत्ति नरहनाले मात्र थोरै मान्छेको हातमा निजी सम्पत्ति रहन गएको हो । त्यसैले जुन सम्पत्तिको अस्तित्वका लागि समाजका विशाल बहुसङ्ख्यक जनताले सम्पत्तिबाट हात धुनुपर्छ त्यस सम्पत्तिको उन्मूलन गर्ने इरादा राख्ने भनी तिमीहरू हामीमाथि आक्षेप लगाउँछौ ।

सारांशमा तिमीहरूको सम्पत्ति खतम पार्न चाहने भनी हामीमाथि आक्षेप लागउँछौ । यो ठीक कुरा हो, हामीले चाहेको कुरा पनि त्यही हो ।
तिमीहरू के भन्छौ भने जुन दिनदेखि श्रमलाई पुँजी, द्रव्य वा लगानमा, एकाधिकार प्राप्त गर्नसकिने सामाजिक शक्तिमा फेर्न सकिनेछैन अर्थात् जुन दिनदेखि वैयक्तिक सम्पत्तिलाई पुँजीवादी सम्पत्तिमा, पुँजीमा फेर्न सकिनेछैन त्यस दिनदेखि व्यक्तित्व भन्ने कुरा बिलाएर जान्छ ।
त्यसैले तिमीहरूले कुन कुरा स्वीकार्नैपर्छ भने तिमीहरूको दृष्टिमा, ‘व्यक्ति’ को अर्थ पुँजीपतिबाहेक, सम्पत्तिको मध्यमवर्गीय मालिकबाहेक अरू कोही होइन । साँचो कुरा के भने यस व्यक्तिलाई खतमै पार्नुपरेको छ, त्यसको अस्तित्वलाई असम्भव बनाइदिनुपरेको छ ।

कम्युनिज्मले कसैलाई पनि समाजका उपजहरूको उपभोग गर्नबाट वञ्चित गर्दैन; त्यसले उसलाई अर्काको श्रमको शोषण गर्ने शक्तिबाट मात्र वञ्चित गर्छ ।
हाम्रो विरोधमा कस्तो तर्क दिइन्छ भने निजी सम्पत्तिको उन्मूलन भएमा सारा काम ठप्प हुनेछ र संसारमा आलस्यको रजाइँ चल्छ ।
यस तर्कअनुसार त पुँजीवादी समाजलाई आलस्यले धेरै पहिले नै खतम पारिसक्नुपर्ने थियो किनभने यसका सदस्यहरूमा जो काम गर्छन् उनीहरू केही पाउँदैनन् र जो सबथोक पाउँछन् उनीहरू काम गर्दैनन् । यो विरोध तलको भनाइको अर्को अभिव्यक्ति हो ः पुँजी नरहेको खण्डमा ज्यालादारी श्रम रहन सक्दैन ।
भौतिक उपजहरूको उत्पादन र उपभोगसम्बन्धी कम्युनिस्ट पद्धतिका विरुद्ध जुन आक्षेपहरू लगाइएका छन् तिनै आक्षेपहरू बौद्धिक उपजहरूको उत्पादन र उपभोगसम्बन्धी कम्युनिस्ट पद्धतिका विरुद्ध पनि लगाइएका छन् । जसरी पुँजीपतिका दृष्टिमा वर्गसम्पत्ति खतम हुनुको अर्थ उत्पादन नै खतम हुनु हो; त्यसरी नै उसको दृष्टिमा वर्गसंस्कृति खतम हुनुको अर्थ सारा संस्कृति खतम हुनु हो ।

जुन संस्कृतिको विनाशलाई लिएर पुँजीपति बिलौना गर्छ त्यो बहुसङ्ख्यक जनताका निम्ति यन्त्रले जस्तै काम गर्न सिकाउने शिक्षा मात्र हो ।
तर पुँजीवादी सम्पत्तिको उन्मूलन गर्ने हाम्रो इरादालाई तिमी स्वतन्त्रता संस्कृति, कानुन आदिसम्बन्धी आफ्नो पँुजीवादी घारणाको कसीमा राखी परख गर्छौ त्यसैले यस विषयमा हामीसित तर्क गर्नु व्यर्थ छ । तिम्रा विचारहरू पुँजीवादी उत्पादन र पुँजीवादी सम्पत्ति–व्यवस्थाका उपज मात्र हुन् जस्तो कि तिम्रो न्याय–विधान सबैका लागि ऐन बनाइएको तिम्रो वर्गको त्यस्तो इच्छा हो जसको आवश्यक चरित्र र दिशालाई तिम्रो वर्गको आर्थिक अवस्थाले निर्धारित गर्छ ।
स्वार्थपूर्ण भ्रममा परी तिमी आफ्नो वर्तमान उत्पादनपद्धति र सम्पत्तिको रूपबाट उत्पन्न सामाजिक सम्बन्धहरूलाई— उत्पादनको प्रगतिका क्रममा जन्मने र बिलाउने ऐतिहासिक सम्बन्धहरूलाई— प्रकृति र विवेकको शाश्वत् नियममा फेरिदिन्छौ तर यो भ्रम तिम्रो मात्र होइन, तिमीभन्दा पहिलेका सबै शासकवर्गहरूमा पनि यस्तै भ्रम रहेको थियो । प्राचीन सम्पत्तिका सम्बन्धमा तिमी जुन कुरा प्रस्टसित देख्छौ, सामन्ती सम्पत्तिका सम्बन्धमा तिमी जुन कुरालाई मान्छौ त्यस कुरालाई अब तिमी सम्पत्तिको आफ्नो पुँजीवादी स्वरूपको सम्बन्धमा मान्न तयार छैनौ ।

परिवारको उन्मूलन ! कम्युनिस्टहरूको यस्तो कुख्यात प्रस्ताव सुनेर कट्टर क्रान्तिकारीहरू पनि रिसले आगो हुन्छन् ।
कुन आधारमा वर्तमान परिवार, पुँजीवादी परिवार अडेको छ ? पुँजीका आधारमा, निजी लाभको आधारमा । आफ्नो पूर्ण विकसित रूपमा यो परिवार पुँजीपतिवर्गको बीचमा मात्र विद्यमान छ तर त्यसको पूरकका रूपमा के पाइन्छ भने सर्वहाराहरूका बीचमा परिवार भन्ने कुनै चीज छैन र सार्वजनिक वेश्यावृत्ति विद्यमान छ ।
आफ्नो पूरक बिलाएपछि पुँजीवादी परिवार पनि स्वभावतः बिलाउनेछ र पुँजीको अन्त्य भएपछि दुवै बिलाउनेछन् ।
केटाकेटीहरूलाई आमाबुबाको शोषणबाट मुक्त गर्न चाहने भनी के तिमी हामीमाथि आक्षेप लगाउँछौ ? यो अपराधलाई हामी स्वीकार गर्छौं ।
तर तिमी भन्लाऊ हामी घरेलु शिक्षा खतम गरी सामाजिक शिक्षा कायम गर्न खोज्छौँ जसले गर्दा सबभन्दा पवित्र सम्बन्ध खतम हुन्छ ।
अनि तिम्रो शिक्षा के हो ? के त्यो पनि सामाजिक शिक्षा होइन ? के त्यसलाई सामाजिक अवस्थाहरूद्वारा, स्कुलमार्फत समाजको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपद्वारा निर्धारित गरिँदैन ? शिक्षामाथि समाजको हस्तक्षेपलाई कम्युनिस्टहरूले सिर्जेका होइनन् । उनीहरू उक्त हस्तक्षेपको चरित्रलाई फेर्न र शिक्षालाई शासकवर्गको प्रभावबाट मुक्त पार्न मात्र चाहन्छन् ।

परिवार र शिक्षा, आमाबाबु र केटाकेटीको पवित्र सहसम्बन्ध आदिबारे पुँजीवादी शब्दजाल त्यति नै बढी वाक्कलाग्दो हुन्छ जति आधुनिक उद्योगको प्रभावले गर्दा सर्वहाराहरूका सारा पारिवारिक सम्बन्धहरू चकनाचुर भएका हुन्छन् र उनीहरूका केटाकेटीहरू खरिदबिक्रीको वस्तु र श्रमको साधनमा फेरिएका हुन्छन् ।
तर सारा पुँजीपतिहरू एकै स्वरले चिच्याएर के भन्छन् भने तिमी कम्युनिस्टहरू आइमाईहरूलाई साझा सम्पत्ति बनाउन चाहन्छौँ ।
पुँजीपति आफ्नी स्वास्नीलाई उत्पादनको एउटा साधन मात्र ठान्छ । उसले के सुनेको छ भने उत्पादनका साधनहरूलाई सामूहिक रूपले उपयोग गरिनेछ र स्वाभाविक रूपमा ऊ कस्तो निष्कर्ष निकाल्छ भने त्यसरी नै महिलाहरूलाई पनि सामूहिक सम्पत्ति बनाइनेछ ।
उसले कुन कुरा सोच्नै सक्दैन भने हाम्रो मुख्य उद्देश्य उत्पादनको साधन मात्र बनेका महिलाहरूलाई त्यस्तो स्थितिबाट मुक्त पार्नु हो ।
महिलाहरूलाई खुला र अधिकृत रूपमा सामूहिक सम्पत्ति बनाउन खोज्छन् भनेर कम्युनिस्टहरूमाथि आक्षेप गरी हाम्रो पुँजीपति बडो सदाचारी बनेर त्यसप्रति क्रोध प्रकट गर्छन् । यो जतिको हाँसो उठ्ने कुरा अरू केही छैन । महिलाहरूलाई सामूहिक सम्पत्ति बनाउनुपर्ने कम्युनिस्टहरूका लागि कुनै खाँचो छैन, त्यो त सनातन कालदेखि रहिआएको छ ।

हाम्रा पुँजीपतिहरू रन्डीबाजीबाट अघाउने त कुरै छाडौँ, आफ्नो अधीनमा भएका सर्वहाराहरूका स्वास्नी र छोरीहरूको सतीत्व लुटेर पनि नअघाई एकअर्काका स्वास्नी उडाउनमा निकै आनन्द लिन्छन् ।
वास्तवमा पँुजीवादी विवाह सामूहिक पत्नीहरूको व्यवस्था हो र कम्युनिस्टहरूमाथि आक्षेपै लगाउने हो भने कति मात्र लगाउन सकिन्छ भने उनीहरू सामूहिक पत्नीत्वको गुप्त र ढोङ्गी व्यवस्थाको ठाउँमा खुला र कानुनी व्यवस्था स्थापना गर्न चाहन्छन् । तर स्वतः प्रस्ट कुरा के भने वर्तमान उत्पादन–व्यवस्था खतम भएपछि त्यस व्यवस्थाबाट उत्पन्न भएको सामूहिक पत्नीत्वको प्रथा अर्थात् सार्वजनिक र गुप्त दुवै खालको वेश्यावृत्ति पनि खतम भएर जान्छ ।
फेरि कम्युनिस्टहरू देश र जातीयता मोउन चाहन्छन् भनेर पनि आक्षेप लगाइन्छ ।
मजदुरहरूको कुनै देश छैन । उनीहरूसँग नभएको कुरालाई हामी लिन सक्दैनौँ । सर्वहारा वर्गले सर्वप्रथम राजनीतिक सत्ता प्राप्त गर्नुपरेको छ । राष्ट्रको नेतृत्वकारी वर्ग बन्नुपरेको छ । आपूmलाई राष्ट्रका रूपमा स्थापित गर्नुपरेको छ; पुँजीवादी अर्थमा नभए पनि यस अर्थमा यो आफँै राष्ट्रवादी छ ।
पुँजीपतिवर्गको विकास, व्यापारको स्वतन्त्रता, विश्वबजार, उत्पादनपद्धतिमा र त्यसअनुरूपको जीवनावस्थामा एकरूपता— यी सबले गर्दा जनताबीचका राष्ट्रिय भेद र वैरभावहरू दिनदिनै झन्झन् बिलाउँदै गइरहेका छन् ।
सर्वहारा वर्गको शासन कायम भएपछि यस्ता भेद र वैरभावहरू झन् छिटोसित बिलाएर जानेछन् । कमसेकम प्रमुख सभ्य देशहरूको संयुक्त कारबाही सर्वहारा वर्गको मुक्तिका निम्ति एउटा प्रमुख सर्त हो ।
जसै मानिसद्वारा मानिसको शोषणको अन्त्य हुन्छ एक राष्ट्रद्वारा अर्को राष्ट्रको शोषण पनि खतम हुनेछ । जसै राष्ट्रभित्रका वर्गहरूबीचको शत्रुता खतम हुनेछ राष्ट्र राष्ट्रबीचको शत्रुता पनि खतम हुनेछ ।

धार्मिक, दार्शनिक र सामान्य रूपले विचारधारात्मक दृष्टिकोणबाट कम्युनिज्मका विरुद्ध लगाइएका आक्षेपहरू गम्भीर ध्यान दिन योग्य छैनन् ।
मानिसको भौतिक जीवनका अवस्थाहरूमा, उसका सामाजिक सम्बन्धहरूमा र उसको सामाजिक जीवनमा हेरफेर भएपछि उसका विचार, दृष्टिकोण र धारणाहरू अर्थात् एक शब्दमा भन्ने हो भने उसको चेतना पनि फेरिन्छ भन्ने कुरा बुझ्नका निम्ति के कुनै प्रतिभाको खाँचो पर्छ र ?
जसै भौतिक उत्पादनमा हेरफेर हुन्छ बौद्धिक उत्पादनको चरित्रमा पनि हेरफेर हुन्छ भन्ने कुरालाई के विचारहरूको इतिहासले प्रमाणित गर्दैन र ? प्रत्येक युगको प्रभुत्वशाली विचार सदा शासकवर्गको विचार रहेको छ ।
जब मानिसहरू समाजमा क्रान्तिकारी हेरफेर ल्याउने विचारहरूका बारेमा कुरा गर्छन् त्यसको अर्थ के मात्र हुन्छ भने पुरानो समाजभित्र नयाँ समाजका तत्वहरूको सिर्जना भइसकेको छ र जीवनको पुरानो अवस्थाको विनाशसँगसँगै पुराना विचारहरूको विनाश पनि हुन्छ ।
प्राचीन जगत्ले आफ्नो आखिरी सास फेरिरहँदा इसाई धर्मले प्राचीन धर्महरूलाई खतम पारिदियो । अठाह्रौँ शताब्दीमा बुद्धिवादी विचारहरूका सामु इसाई विचारले आत्मसमर्पण गर्दा सामन्ती समाजले क्रान्तिकारी पुँजीपतिवर्गसितको सङ्घर्षमा अन्तिम सास फेर्दै थियो । धार्मिक स्वतन्त्रता र विवेक स्वतन्त्रताको विचारले कुन कुरा व्यक्त गर्छ भने ज्ञानको क्षेत्रभित्र मुक्त प्रतियोगिताको बोलवाला चलेको छ ।
यस्तो भनिन्छ ः ‘ऐतिहासिक विकासका क्रममा धार्मिक, नैतिक, दार्शनिक र कानुनविषयक विचारहरू फेरिँदै आएका छन् भन्ने कुरामा शङ्का छैन । तर धर्म, नैतिकता, दर्शन, राजनीतिक विज्ञान र कानुन सदा कायमै रहेका छन् ।’

‘यसबाहेक, स्वतन्त्रता, न्याय आदिजस्ता शाश्वत् सत्यहरू सबै समाज–व्यवस्थाहरूमा पाइन्छन् । तर यी चीजहरूलाई नयाँ आधारमा स्थापित गर्नुको सट्टामा कम्युनिज्मले शाश्वत् सत्यहरूलाई खतम पार्छ । सबै धर्म र सबै नैतिकतालाई खतम पार्छ । तसर्थ यसले सारा विगत ऐतिहासिक अनुभवको विपरीत काम गर्छ ।’
यो आक्षेपको मतलब के हो ? पहिलेका सारा समाजको इतिहास वर्ग– वैरभावहरूको विकासको इतिहास हो र यस वैरभावले बेग्लाबेग्लै युगहरूमा बेग्लाबेग्लै रूप लिएको छ ।
तर उक्त वैरभावले जस्तोसुकै रूप लिए पनि बितेका सबै युगहरूमा एउटा साझा कुरा पाइन्छ— त्यो हो समाजको एक भागद्वारा अर्को भागको शोषण । त्यसैले कुन कुरामा आश्चर्य लाग्दैन भने बितेका युगहरूको सामाजिक चेतनामा विभिन्नता र विविधता भए पनि त्यसले कुनै साझा रूपहरू, वा सामान्य विचारहरूभित्रै फन्को मार्छ र वर्ग–वैरभाव पूरा खतम नभएसम्म त्यो पनि पूरा रूपमा खतम हुन सक्दैन ।
कम्युनिस्ट क्रान्ति भन्नु नै परम्परागत सम्पत्ति–सम्बन्धसित सबभन्दा आधारभूत रूपले नाता तोड्नु हो । त्यसैले त्यसको विकासले परम्परागत विचारहरूसित पूर्ण रूपमा नाता तोडेको कुरामा कुनै आश्चर्य छैन ।

माथि हामीले के भनिसकेका छौँ भने मजदुरवर्गको क्रान्तिमा पहिलो पाइलो सर्वहारा वर्गलाई शासकवर्गको स्थितिमा उठाउनु, जनवादको सङ्ग्राम जित्नु हो ।
सर्वहारा वर्गले आफ्नो राजनीतिक प्रभुत्व प्रयोग गरी पँुजीपतिवर्गबाट बिस्तार–बिस्तार सबै पुँजी खोस्नेछ । राज्यको हातमा अर्थात् शासकवर्गका रूपमा सङ्गठित सर्वहारा वर्गको हातमा उत्पादनका सारा साधनहरूलाई केन्द्रित पार्नेछ र सकेसम्म तीव्र गतिले कुल उत्पादक शक्तिहरूलाई बढाउनेछ ।
अवश्य पनि सुरुमा सम्पत्तिको अधिकारमाथि र पुँजीवादी उत्पादनप्रणालीमाथि निर्मम रूपले हमला नगरीकन त्यसलाई पूरा गर्न सकिन्न । यी उपायहरू आर्थिक दृष्टिबाट हानिकारक र नराम्रा देखिन सक्छन् तर आन्दोलनका क्रममा त्यसले आपूmले गरेको नोक्सानभन्दा बढी लाभ गराउँछ र पुरानो समाज–व्यवस्थामाथि अरू हमला गर्न आवश्यक पार्छ । उत्पादनपद्धतिलाई पूरैसित फेर्ने साधनका रूपमा उक्त उपायहरू अपरिहार्य छन् ।
यी उपायहरू अवश्य पनि बेग्लाबेग्लै देशहरूमा बेग्लाबेग्लै खालका हुनेछन् ।
तथापि सबभन्दा समुन्नत देशहरूमा तलको कार्यक्रमलाई सामान्यतः लागू गर्न सकिनेछ ः

ज्१ . जमिनदारी सम्पत्तिको उन्मूलन र सार्वजनिक काममा सबै मालपोत लगाउनु ।
२ . आम्दानी हेरी बढेर जाने प्रगतिशील आयकर ।
३ . उत्तराधिकारीको प्रथा खारेज गर्नु ।
४ . देश छाडी जानेहरूको र विद्रोहीहरूको सम्पत्ति जफत गर्नु ।
५ . राजकीय पुँजीबाट राष्ट्रिय बैङ्क खोलेर र राज्यको एकाधिकार कायम गरेर राज्यको हातमा साखलाई (ऋचभमष्त) केन्द्रित पार्नु ।
६ . राज्यको हातमा सञ्चार र यातायातका साधनहरूलाई केन्द्रित पार्नु ।
७ . राज्यको मातहतमा रहेका कारखानाहरू र उत्पादनका औजारहरूको विस्तार; योजनाबद्ध ढङ्गले पर्ती जग्गालाई आवाद गर्नु र माटोमा सुधार गर्नु ।
८ . सबैले काम गर्नुपर्ने बाध्यता । खासगरी कृषिका निम्ति औद्योगिक सेनाको स्थापना ।
९ . उद्योगसित कृषिलाई एकजुट पार्नु । देशभरमा जनसङ्ख्याको राम्रो वितरण गरेर सहर र गाउँबीचको भेदलाई बिस्तार–बिस्तार खतम पार्नु ।
१ ० . सार्वजनिक स्कुलहरूमा सबै केटाकेटीका लागि निःशुल्क शिक्षा । कारखानामा केटाकेटीलाई काम गराउने व्यवस्था खतम पार्नु । औद्योगिक उत्पादनसित शिक्षालाई एकजुट पार्नु ।

विकासका क्रममा वर्गभेदहरू बिलाइसकेपछि, पूरै राष्ट्रको एउटा विशाल सङ्घको हातमा सारा उत्पादन केन्द्रित भइसकेपछि, राज्यसत्ताको राजनीतिक चरित्र पनि बिलाएर जानेछ । राजनीतिक सत्ता भनेको एक वर्गले अर्को वर्गलाई दबाउने सङ्गठित शक्ति मात्र हो । पुँजीपतिवर्गका विरुद्ध आफ्नो सङ्घर्षमा सर्वहारा वर्गले परिस्थितिको बाध्यताले गर्दा आपूmलाई वर्गका रूपमा सङ्गठित गर्छ, यसले क्रान्तिद्वारा आपूmलाई शासकवर्ग बनाउँछ र बलको प्रयोगद्वारा पुरानो उत्पादन–व्यवस्थालाई खतम पार्छ । यसरी त्यसले पुरानो व्यवस्थासँगसँगै वर्ग–वैरभाव र सामान्यतः वर्गहरूको अस्तित्वको आधारलाई र वर्गको हैसियतले आफ्नो प्रभुत्वलाई पनि खतम पारेको हुन्छ ।
वर्ग र वर्ग–वैरभावहरूले युक्त भएको पुरानो पुँजीवादी समाजको ठाउँमा एउटा यस्तो सङ्घको जन्म हुनेछ जसमा प्रत्येकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासका लागि सर्त रहन्छ ।

३.
समाजवादी र कम्युनिस्ट साहित्य
१. प्रतिक्रियावादी समाजवाद
(क) सामन्ती समाजवाद
आफ्नो ऐतिहासिक स्थितिको कारणले गर्दा आधुनिक पुँजीवादी समाजका विरुद्ध पर्चा र पुस्तिकाहरू लेख्नु फ्रान्स र बेलायतका सामन्तहरूको पेसा नै भएको छ । जुलाई १८३० को फ्रान्सेली क्रान्तिमा र बेलायतको सुधार आन्दोलनमा यी सामन्तहरूले फेरि पुँजीपतिवर्गका सामु घुँडा टेके । त्यसपछि ती दुईका बीचमा गम्भीर राजनीतिक सङ्घर्षको सवालै रहेन । साहित्यिक सङ्घर्ष मात्र सम्भव रह्यो । तर साहित्यका क्षेत्रमा पनि पुनरुत्थानकालका पुराना नाराहरू बेकार भैसकेका थिए ।
जनसहानुभूति प्राप्त गर्नका लागि सामन्तवर्गले करैले आफ्नो स्वार्थलाई बाहिर नदेखिने गरी लुकाएर शोषित मजदुरवर्गको स्वार्थलाई अघि सारेर पुँजीपतिवर्गको विरोध गर्नुपरेको थियो । यसरी सामन्तवर्गले आफ्नो नयाँ मालिकका विरुद्ध व्यङ्ग्य–काव्यहरू रचेर र उसको कानमा आउँदो सर्वनाशको अशुभ भविष्यवाणी सुनाएर बदला लिने काम ग¥यो ।

यस ढङ्गबाट सामन्ती समाजवादको उत्पत्ति भयो । आधा बिलौना, आधा व्यङ्ग्य, आधा भूतको प्रतिध्वनि, आधा भविष्यको खतरा; कहिलेकहीँ कटु र व्यङ्ग्यात्मक तथा तीखो आलोचनाद्वारा पुँजीपतिवर्गको मर्मस्थलमै प्रहार गरियो तर आधुनिक इतिहासको लम्काइलाई बुझ्न नसक्नाको कारणले गर्दा त्यसको प्रभाव हमेसा हास्यास्पद रह्यो ।
जनतालाई आफ्नो वरिपरि सङ्गठित पार्नका लागि सामन्तवर्गले झन्डाका लागि सर्वहारा झुत्रो झोली हल्लाए । तर उनीहरूको साथ दिने जनताले त्यसको पछिल्तिर पुरानो सामन्ती पोसाक देखेर तिरस्कारपूर्ण स्वरले हाँस्दै छाडेर हिँडे ।
फ्रान्सेली लेजिटिमिस्टहरूको एउटा अङ्ग र ‘तरुण बेलायत’ ले यस्तो तमासा देखाए ।
आफ्नो शोषण गर्ने तरिका पुँजीपतिवर्गको तरिकाबाट बेग्लै छ भन्ने कुरातर्फ औँल्याउँदा सामन्तहरू के बिर्सन्छन् भने उनीहरूले एकदम बेग्लै र अहिले पुरानो भैसकेको परिस्थिति र अवस्थाअन्तर्गत शोषण गरेका थिए । आफ्नो शासनअन्तर्गत आधुनिक सर्वहारा वर्ग थिएन भन्ने कुरा देखाउँदा उनीहरू कुन कुरा बिर्सन्छन् भने आधुनिक पँुजीपतिवर्ग उनीहरूकै समाज–व्यवस्थाको आवश्यक सन्तान हो ।

उनीहरू आफ्नो आलोचनाको प्रतिक्रियावादी चरित्रलाई लुकाउने कम मात्र कोसिस गर्छन् । पुँजीपतिवर्गका विरुद्ध उनीहरूको मुख्य आक्षेप के हुन आउँछ भने पुँजीवादी शासनमुनि यस्तो एउटा वर्गको विकास हुँदैछ जसले पुरानो समाज–व्यवस्थालाई जगैदेखि उखेलेर फाल्नेछ ।
पुँजीपतिवर्गले सर्वहारा वर्ग जन्माएकोमा उनीहरू त्यसलाई त्यति निन्दा गर्दैनन् जति त्यसले क्रान्तिकारी सर्वहारा वर्ग जन्माएकोमा निन्दा गर्छन् ।
त्यसैले राजनीतिक व्यवहारमा उनीहरू मजदुरवर्गका विरुद्ध बनाइने सारा दमनकारी उपायहरूमा साथ दिन्छन् र साधारण जीवनमा, उनीहरू ठूल्ठूला डिङ हाँक्ने गर्दागर्दै उद्योगको रूखबाट झरेका सुनका स्याउहरू टिप्न र सत्य, प्रेम र इज्जत बेचेर ऊन, चिनी र रक्सीको व्यापार गर्न तयार हुन्छन् ।
जसरी पुरेत र सामन्तहरूका बीचमा साँठगाँठ रहिआएको छ त्यसरी नै पुरेतीय समाजवाद र सामन्ती समाजवादका बीचमा पनि साँठगाँठ रहेको छ ।
इसाईहरूको वैराग्यवादलाई समाजवादी रङ दिनुजस्तो सजिलो काम अर्को केही छैन । के इसाई धर्मले निजी सम्पत्तिका विरुद्ध, विवाहका विरुद्ध, राज्यका विरुद्ध हमला गरेको छैन ? के त्यसले तिनको साटो दान र गरिबी, ब्रह्मचर्य, मोहको त्याग, मठ–वास र गिर्जाघरको प्रशंसा गरेको छैन ? इसाई समाजवाद त्यस्तो चोखो पानी मात्र हो जसलाई छर्केर पुरेतले सामन्तको दिलको जलनलाई शान्त पार्छ ।

(ख) निम्न–पुँजीवादी समाजवाद
पुँजीपतिवर्गद्वारा सर्वनाश पारिने वर्ग, आधुनिक पुँजीवादी समाजको वातावरणमा परी छट्पटाएर नष्ट हुने वर्ग सामन्तवर्ग मात्र थिएन । मध्ययुगका व्यापारी र सानो सम्पत्ति भएका किसानहरू आधुनिक पुँजीपतिवर्गका पुर्खा थिए । औद्योगिक र व्यापारिक दृष्टिले पछौटे देशहरूमा अहिले पनि यी दुई वर्गहरू उदीयमान पुँजीपतिवर्गसँगसँगै घस्रँदै–पस्रँदै अघि बढिरहेका छन् ।

आधुनिक सभ्यताको पूरा विकास भइसकेका देशहरूमा निम्नपुँजीपतिहरूको एउटा नौलो वर्ग जन्मेको छ र यो सर्वहारा वर्ग र पुँजीपतिवर्गको बीचबाट घडीको लङ्गुरझैँ हल्लिरहन्छ र पुँजीवादी समाजको एउटा पूरक अंशको हैसियतले यसले आपूmलाई सदा पुनर्नवीकरण गर्दैछ । तर यस वर्गका विभिन्न सदस्यहरू होडबाजीले गर्दा निरन्तर रूपले सर्वहारा वर्गमा खस्कँदैछन् र आधुनिक उद्योगको विकास हुँदै जाँदा उनीहरू त्यस्तो समय नजिक आउँदै गरेको देख्छन् जब आधुनिक समाजको स्वतन्त्र अङ्गका रूपमा उनीहरू पूरैसित बिलाएर जानेछन् जब कारखाना, कृषि र व्यापारमा उनीहरूको ठाउँ निरीक्षक, साना अफिसर र पसलेहरूले लिनेछन् ।
फ्रान्सजस्ता देशहरूमा जहाँ आधाभन्दा बढी जनता किसानहरू छन् त्यहाँ पुँजीपतिवर्गका विरुद्ध सर्वहारा वर्गको पक्ष लिने लेखकहरूले पुँजीवादी शासनको आलोचना गर्दा किसान र निम्नपुँजीपतिको दृष्टिकोण लिनु र तिनीहरूकै दृष्टिकोणबाट मजदुरवर्गको पक्ष लिएर लड्नु स्वाभाविक थियो । यसरी निम्नपुँजीवादी समाजवादको उत्पत्ति भयो । फ्रान्समा मात्र होइन, बेलायतमा पनि यस सम्प्रदायका नेता सिस्मन्दी थिए ।
यो समाजवादी सम्प्रदायले आधुनिक उत्पादनपद्धतिका अन्तर्विरोधहरूको बडो गहन विश्लेषण ग¥यो । यसले अर्थशास्त्रीहरूको छलकपटपूर्ण व्याख्याको पोल खोलिदियो । यन्त्र र श्रम–विभाजनका घातक परिणामहरू हुन्छन्, पुँजी र जमिन थोरै मानिसको हातमा केन्द्रित हुन्छ, अति–उत्पादन र सङ्कटहरू बराबर हुन्छन् भन्ने कुरालाई यसले अकाट्य रूपमा प्रमाणित गरेर देखायो । यसले कुन कुरा देखाइदियो भने निम्नपुँजीपति र किसानहरूको अनिवार्य रूपले टाट पल्टनेछ, सर्वहारा वर्गको खराब हालत हुनेछ, उत्पादनमा अराजकता फैलिनेछ, धनको वितरणमा ठूलो असमानता आउनेछ, राष्ट्रराष्ट्रका बीचमा एकले अर्कोलाई खतम पार्ने औद्योगिक युद्ध चल्नेछ, पुराना नैतिक बन्धन, पुराना पारिवारिक सम्बन्ध, पुराना जातिहरू सब खतम हुनेछन् ।
तर यस समाजवादी सम्प्रदायको मुख्य उद्देश्य उत्पादन र विनिमयका पुराना साधनहरूलाई र त्यसका साथै पुरानो सम्पत्ति–सम्बन्ध र पुरानो समाजलाई पुनस्र्थापित गर्नु वा उत्पादन र विनिमयका आधुनिक साधनहरूलाई त्यही पुरानो सम्पत्ति–सम्बन्धको ढाँचाभित्र— जुन ढाँचालाई उक्त साधनले ध्वस्त पारेको थियो—कोचेर राख्नु हो । यस मामिलामा यो प्रतिक्रियावादी र काल्पनिक दुवै हो ।
यसको मूल नारा छ ः उद्योगधन्धाका लागि कर्पोरेट शिल्प सङ्घ, कृषिमा पितृसत्तात्मक सम्बन्ध ।
आखिरमा, कठोर ऐतिहासिक तथ्यहरूले आत्म–धोखागिरीका सारा नशालु प्रभावलाई खतम पारेपछि यसखाले समाजवादको सोचनीय ढङ्गले अन्त्य भयो ।

(ग) जर्मन वा ‘सच्चा’ समाजवाद
फ्रान्सको समाजवादी र कम्युनिस्ट साहित्य सत्ताधारी पुँजीपतिवर्गको दबाबअन्तर्गत उत्पन्न भयो र त्यो उक्त पुँजीवादी सत्ताविरोधी सङ्घर्षको अभिव्यक्ति थियो । तर यस साहित्यलाई जर्मनीमा त्यस्तो समयमा ल्याइयो जब त्यहाँको पुँजीपतिवर्गले सामन्ती निरङ्कुशताका विरुद्ध आफ्नो सङ्घर्ष थालेको मात्र थियो ।
जर्मन दार्शनिकहरू, दार्शनिक बन्न चाहनेहरू र साहित्यिकहरूले उत्सुकतापूर्वक उक्त साहित्यलाई अपनाए तर उनीहरूले कुन कुरा बिर्से भने उक्त लेखहरूलाई फ्रान्सबाट जर्मनीमा भित्र्याइँदा त्यसको साथमा फ्रान्सेली सामाजिक स्थिति पनि जर्मनीमा भित्रिएको थिएन । जर्मन सामाजिक अवस्थामा उक्त फ्रान्सेली साहित्यको कुनै तात्कालिक व्यावहारिक महत्व रहेन तर त्यसको शुद्ध साहित्यिक महत्व मात्र रह्यो । यसैले अठाह्रौँ शताब्दीमा जर्मन दार्शनिकहरूका निम्ति पहिलो फ्रान्सेली क्रान्तिका मागहरू सामान्य रूपमा ‘व्यावहारिक वृद्धि’ को मागबाहेक केही बनेनन् र क्रान्तिकारी फ्रान्सेली पुँजीपतिवर्गको सङ्कल्पको अभिव्यक्ति, उनीहरूको दृष्टिमा शुद्ध सङ्कल्प, सामान्य रूपमा सच्चा मानवीय सङ्कल्पको नियम मात्र बन्यो ।
नयाँ फ्रान्सेली विचारहरूलाई आफ्नो प्राचीन दार्शनिक धारासित मिल्दो पारिदिनु वा आफ्नो दार्शनिक दृष्टिकोणलाई नछाडीकन फ्रान्सेली विचारहरूलाई ग्रहण गर्नु— यो नै जर्मन साहित्यिकहरूको एक मात्र काम बन्यो ।
उक्त विचारहरूलाई त्यसरी नै अपनाइयो जसरी कुनै विदेशी भाषालाई अपनाइन्छ अर्थात् अनुवादद्वारा अपनाइयो ।
इसाई महन्तहरूले कसरी प्राचीन असभ्य जातिका उत्कृष्ट धार्मिक ग्रन्थका पाण्डुलिपिहरूमाथि इसाई महात्माहरूका मूर्खतापूर्ण जीवनीहरू लेख्ने गर्दथे भन्ने सुविदित कुरा हो । जर्मन साहित्यकारहरूले अपवित्र फ्रान्सेली साहित्यका सम्बन्धमा उल्टो रूपमा त्यस्तै गरे । उनीहरू मूल फ्रान्सेली ग्रन्थहरूमुनि आफ्नो दार्शनिक बकबास लेख्ने गर्थे । उदाहरणका लागि द्रव्यका आर्थिक कार्यहरूलाई लिएर गरिएको फ्रान्सेली आलोचनामुनि उनीहरूले ‘मानवताको विजातीयकरण’ भनी लेखे र पुँजीवादी राज्यसम्बन्धी फ्रान्सेली आलोचनामुनि उनीहरूले लेखे ः ‘निराकार सामान्यलाई सिंहासनबाट निकालियो ।’
फ्रान्सेली ऐतिहासिक आलोचनाको पछिल्तिर लेखिएका यस्ता दार्शनिक शब्दजाललाई उनीहरूले ‘कार्यको दर्शन’, ‘सच्चा समाजवाद’, ‘समाजवादसम्बन्धी जर्मन विज्ञान’, ‘समाजवादको दार्शनिक आधार’ आदि नाउँ दिए ।
यसरी फ्रान्सेली समाजवादी र कम्युनिस्ट साहित्यलाई पूरैसित नपुंसक बनाइयो । जर्मनको हातमा परेपछि त्यो एक वर्गद्वारा अर्को वर्गका विरुद्ध सङ्घर्षको अभिव्यक्ति बन्न छाड्यो र यसैले उसले के ठान्यो भने उसले फ्रान्सेली एकाङ्गीपनलाई हटाएको छ । उसले सच्चा खाँचोहरूको होइन, सत्यका खाँचोहरूको प्रतिनिधित्व गरेको छ । सर्वहारा वर्गका हितहरूको होइन, मानवस्वभावका, सामान्य रूपमा मानिसका, कुनै वर्गमा नपर्ने, यथार्थमा नपाइने र दार्शनिक कल्पनाको रहस्यमय क्षेत्रमा मात्र रहने मानिसका हितहरूको प्रतिनिधित्व गरेको छ ।
यस जर्मन समाजवादले आफ्नो स्कुले ठिटाको कामलाई बडो श्रद्धा र गम्भीरताका साथ ग्रहण गरी आफ्नो खोक्रो ज्ञानको प्रशंसामा पुल बाँध्यो तर यसै बीचमा बिस्तार–बिस्तार त्यसको बालपण्डित्याई खतम भयो ।
सामन्ती कुलीनतन्त्र र निरङ्कुश राजतन्त्रका विरुद्ध जर्मन र खासगरी प्रसियाली पुँजीपतिवर्गको सङ्घर्ष अर्थात् उदारवादी आन्दोलन झन्झन् बढ्यो ।
त्यसबाट प्राप्त हुन आएको चिरआकाङ्क्षित मौकाको उपयोग गरी ‘सच्चा’ समाजवादले राजनीतिक आन्दोलनको विरोधमा समाजवादी मागहरू अघि सा¥यो, उदारतावादका विरुद्ध, प्रतिनिधित्वपूर्ण सरकारका विरुद्ध, पुँजीवादी प्रतियोगिता, पुँजीवादी प्रेसस्वतन्त्रता, पुँजीवादी कानुनी व्यवस्था, पुँजीवादी स्वतन्त्रता र समानताका विरुद्ध परम्परागत निन्दाहरू ग¥यो र उक्त पुँजीवादी आन्दोलनबाट कुनै लाभ छैन, बरु नोक्सान मात्र छ भनी जनतामा प्रचार ग¥यो । त्यसबेला फ्रान्सेली आलोचनाको नक्कल गर्ने जर्मन समाजवादले कुन कुरा बिस्¥यो भने उक्त आलोचना आधुनिक पुँजीवादी समाज, त्यसअनुरूपको आर्थिक जीवनपद्धति तथा राजनीतिक ढाँचाको उत्पत्ति हो र यिनै चीजहरूलाई प्राप्त गर्नु जर्मनीको पुँजीवादी आन्दोलनको उद्देश्य रहेको छ ।
जर्मन समाजवादको यो भनाइ निरङ्कुश सरकारहरू, त्यसका अनुयायीहरू, पुरेत, प्रोफेसर, देहातका ठूला ठालू, अधिकारीहरूका लागि खुँखार पुँजीपतिवर्गका विरुद्ध जनतालाई भड्काउने साधन बन्यो ।
ती निरङ्कुश सरकारहरूले त्यस बेलासम्म जर्मन मजदुरवर्गका विद्रोहहरू दबाउन कोर्रा र बन्दुकका तीता गोलीहरू दिएका थिए, अब आएर जर्मन समाजवादमा उनीहरूले त्यसलाई दबाउनका निम्ति प्रयोग गर्ने गुलियो कुरा पाए ।
एकातिर यसरी यस ‘सच्चा’ समाजवादले जर्मन पुँजीपतिवर्गका विरुद्ध लड्ने एउटा हतियार बनेर सरकारहरूको सेवा ग¥यो भने अर्कोतिर यसले प्रतिक्रियावादी स्वार्थको, गँवारहरूको स्वार्थको सोझै प्रतिनिधित्व ग¥यो । जर्मनीमा १६ औँ शताब्दीको अवशेष रहेको निम्नपुँजीपतिवर्गले हमेसा विभिन्न रूपमा आपूmलाई बचाइआएको छ र यो वर्ग विद्यमान स्थितिको वास्तविक सामाजिक आधार बनेको छ ।
यस वर्गलाई जोगाउनुको अर्थ जर्मनीको यथास्थितिलाई जोगाउनु हो । पुँजीपतिवर्गको औद्योगिक र राजनीतिक प्रभुत्वले यसलाई आफ्नो निश्चित विनाशतिर लैजान्छ— एकातिर पुँजीको एकत्रीकरणबाट र अर्कोतिर क्रान्तिकारी सर्वहारा वर्गको उत्थानबाट त्यसको अस्तित्व खतरामा पर्छ । ‘सच्चा’ समाजवादले एउटै गोलीले दुईटा चरा मार्ने कोसिस ग¥यो । यो महामारीझैँ फैलियो ।
जर्मन समाजवादीहरूले हाड र छाला मात्र बाँकी रहेका आफ्ना ‘शाश्वत् सत्यहरू’ लाई शब्दहरूको अलङ्कारले सजाएको र अस्वस्थकर भावुकताको सित्रा भरेको पातलो दार्शनिक जामा पहिराइदिए । त्यसले गर्दा निम्नपुँजीवादी तत्वहरूका बीचमा उनीहरूका मालसामानहरू गजब ढङ्गले बिके ।
आफ्नातर्फबाट जर्मन समाजवादले झन्झन्् बढी आफ्नो आवाजलाई निम्नपुँजीवादी गँवारको प्रतिनिधित्व गर्ने आवाज भनी मान्यो ।
यसले जर्मन जातिलाई आदर्श जाति र जर्मन क्षुद्र गँवारलाई आदर्श मानिस भनी घोषणा ग¥यो । यस आदर्श मानिसको प्रत्येक बदमाशी र निच कामलाई त्यसले रहस्यमय, उच्च र समाजवादी संज्ञा दिई उसको सच्चा चरित्रको ठीक उल्टो चित्रण ग¥यो । यसले कम्युनिज्मलाई ‘पाशविक विनाशकारी’ प्रवृत्ति भनी ठाडो विरोधसम्म पनि ग¥यो र सबै वर्गसङ्घर्षहरूप्रति औधी भत्र्सना र निष्पक्ष घृणा प्रकट ग¥यो । आज (१८४७) जर्मनीमा जति पनि समाजवादी र कम्युनिस्ट साहित्यको नाउँको प्रचार भइरहेको छ त्यसमा एकाधलाई छाडेर, अरू सबै फोहोर र शक्तिहीन पार्ने साहित्यको क्षेत्रभित्र पर्छन् ।

२. अनुदारवादी वा पुँजीवादी समाजवाद
पुँजीपतिवर्गको एउटा अङ्ग, पुँजीवादी समाजलाई कायम राख्ने उद्देश्यले सामाजिक खराबीहरूलाई हटाउन इच्छुक छ ।
अर्थशास्त्री, परोपकारी, मानवतावादी, मजदुरवर्गको अवस्था सुधार्न चाहने सुधारक, परोपकारी कार्यका सङ्गठनकर्ता, पशुरक्षा समाजका सदस्य, मद्यपान निरोधक, सबै किसिमका गुप्त सुधारकहरू सबै यही समूहमा पर्छन् । अझ अर्को कुरा, यस रूपको समाजवादलाई पूर्ण व्यवस्थामा विकसित गरिएको छ ।
प्रुधोँको गरिबीको दर्शन यसको एउटा दृष्टान्त हो ।
समाजवादी पुँजीपतिहरू आधुनिक समाजव्यवस्थाका सबै फाइदाहरू लिन चाहन्छन् तर त्यस व्यवस्थाबाट आवश्यकीय रूपले उत्पन्न हुने सङ्घर्ष र खतराहरू चाहँदैनन् । उनीहरू वर्तमान समाजव्यवस्थाका क्रान्तिकारी र विध्वंसक तत्वहरूलाई पन्छाएर त्यस व्यवस्थालाई चाहन्छन् । उनीहरू सर्वहारा वर्गबिनाको पुँजीपतिवर्ग होस् भन्ने चाहन्छन् । पुँजीपतिवर्ग स्वभावतः आपूm सर्वश्रेष्ठ रहेको जगत्लाई सर्वोत्तम जगत् ठान्छ र पुँजीवादी समाजवादले पुँजीपतिवर्गको यही धारणालाई विभिन्न थोरबहुत व्यवस्थित प्रणालीमा विकसित गर्छ । त्यसले कुन कुराको अपेक्षा राख्छ भने सर्वहारा वर्गले यस्तो प्रणालीलाई कार्यान्वित् गरोस् र यसरी सामाजिक नौलो जेरुसेलम (स्वर्ग– अनुवादक) तर्फ सरासर लम्कून् तर वास्तविक अर्थमा त्यसले के माग गर्छ भने सर्वहारा वर्ग विद्यमान समाजको सीमाभित्र रहोस् र त्यसले पुँजीपतिवर्गको सम्बन्धमा आफ्ना सारा घिनलाग्दा विचारहरू फालेर पठाओस् ।
यस समाजवादको अर्को एउटा यस्तो रूप छ जुन बढी व्यावहारिक तर कम व्यवस्थित छ । यसले के देखाउँछ भने मात्र राजनीतिक सुधार मजदुरहरूका निम्ति फाइदाजनक छैन तर जीवनका भौतिक अवस्थाहरूमा र आर्थिक सम्बन्धहरूमा हुने हेरफेर मात्र उनीहरूका निम्ति फाइदाजनक हुनसक्छ । यसरी यसले प्रत्येक क्रान्तिकारी आन्दोलनलाई मजदुरवर्गको दृष्टिबाट गिराउन खोज्छ । तर त्यसको समझअनुसार जीवनका भौतिक अवस्थाहरूमा हेरफेरको मतलब कदापि पनि पुँजीवादी उत्पादन–सम्बन्धको उन्मूलन होइन किनभने यस्तो उन्मूलन त क्रान्तिले मात्र गर्न सक्छ तर त्यसको मतलब उक्त सम्बन्धहरूको अविच्छिन्न अस्तित्वमाथि आधारित प्रशासनिक सुधार हो जुन सुधारले पुँजी र श्रमबीचको सम्बन्धमाथि कुनै रूपमा पनि प्रभाव पार्दैन तर हद ग¥यो भने पुँजीवादी सरकारको खर्चलाई कम पार्नेछ र त्यसको प्रशासनिक कार्यलाई सरल पार्नेछ ।
पँुजीवादी समाजवाद खालि अलङ्कारमात्रै हो र यही अर्थमा मात्र यसको सच्चा अभिव्यञ्जना झल्किन्छ ।
मुक्त व्यापार ः मजदुरवर्गको फाइदाका लागि । सुरक्षात्मक कर ः मजदुरवर्गको अन्तिम उद्गार र एक मात्र गम्भीर अर्थ राख्ने उद्गार हुन् ।
त्यसलाई यस रूपमा राखे हुन्छ ः पुँजीपति मजदुरवर्गकै हितको खातिर पुँजीपति रहेको हुन्छ ।

३. आलोचनात्मक–काल्पनिक समाजवाद र कम्युनिज्म
यहाँ हामी बाबेफ र अरूहरूको त्यस्तो साहित्यको चर्चा गर्दैनौँ जसले प्रत्येक ठूलो आधुनिक क्रान्तिमा हमेसा सर्वहारा वर्गको मागलाई समर्थन गरेको छ ।
जुन बेला सर्वत्र हलचल थियो, जुन बेला सामन्ती समाजलाई खतम पार्दै लगिएको थियो त्यसबेला आफ्नो उद्देश्य प्राप्तिका लागि सर्वहारा वर्गले पहिला ठाडो प्रयास गरेका थिए । तर त्यस बेलाको सर्वहारा वर्गको अविकसित स्थितिले गर्दा र साथै त्यसको मुक्तिका लागि चाहिने आर्थिक अवस्थाको अभावले गर्दा ती प्रयासहरू अनिवार्यतः असफल भए किनभने आसन्न पुँजीवादी युगले नै त्यसको मुक्तिका लागि चाहिने आर्थिक अवस्थाहरूको सिर्जना गर्नुपरेको थियो र गर्न सक्थ्यो । सर्वहारा वर्गका ती पहिला आन्दोलनहरूसँगसँगै निस्केको क्रान्तिकारी साहित्यमा अनिवार्य रूपले प्रतिक्रियावादी चरित्र थियो । त्यसले सर्वव्यापी वैराग्यवाद र सबभन्दा भद्दा रूपको सामाजिक समानताको वकालत ग¥यो ।
सेन्ट साइमन, फ्युरेर, ओवेन र अरूहरूका समाजवादी र कम्युनिस्ट विचारपद्धतिहरू सर्वहारा वर्ग र पुँजीपतिवर्गबीच सङ्घर्षको प्रारम्भिक अविकसित अवधिमा पैदा भएका हुन् । (हेर्नुहोस् भाग १, पुँजीपति र मजदुर)

साँचो भन्ने हो भने यस प्रणालीका संस्थापकहरूले प्रचलित समाजव्यवस्थामा वर्ग–वैरभाव र साथै विध्वंसक तत्वहरूको कारबाही देखेका छन् । तर बाल्यावस्थामा रहेको सर्वहारा वर्ग, उनीहरूको दृष्टिमा कुनै ऐतिहासिक तत्परता वा कुनै स्वतन्त्र राजनीतिक आन्दोलन नभएका रूपमा देखापर्छ ।
वर्ग–वैरभावको विकास उद्योगको विकाससँगसँगै हुने हुनाले त्यसबेलाको आर्थिक परिस्थितिमा उनीहरूले सर्वहारा वर्गको मुक्तिका लागि चाहिने भौतिक आवस्थाहरू पाउँदैनन् । तसर्थ उनीहरू यस्तो एउटा नयाँ सामाजिक विज्ञान र यस्ता नयाँ सामाजिक नियमहरूको खोज गर्छन् जसले उक्त अवस्थाहरूको सिर्जना गर्न सकोस् ।
आपूmले आविष्कार गरेको कारबाहीले ऐतिहासिक कारबाहीको स्थान लेऊन्, ऐतिहासिक रूपले मुक्तिका अवस्थाहरूको ठाउँ काल्पनिक अवस्थाहरूले लेऊन् र सर्वहारा वर्गको क्रमिक, स्वयम्स्पूmर्त वर्गसङ्गठनको ठाउँ आपूmले आविष्कार गरेको खास सामाजिक सङ्गठनले लेऊन् भन्ने उनीहरूको विचार थियो । उनीहरूको विचारमा भाबी इतिहासको अभिभारा उनीहरूको सामाजिक योजनाको प्रचार गर्नु र त्यसलाई व्यवहारमा उतार्नु थियो ।
आफ्नो योजनाको निर्माण गर्दा उनीहरू मजदुरवर्गका हितहरूमा मुख्य ध्यान दिन्छन् किनभने त्यो नै सबभन्दा दुःखी वर्ग रहेको छ । सबभन्दा दुःखी वर्ग हुनाको नाताले मात्र सर्वहारा वर्गको अस्तित्व उनीहरूका निम्ति रहेको हुन्छ ।
वर्गसङ्घर्षको अविकसित अवस्था र साथै उनीहरूको आफ्नै परिवेशको कारणले गर्दा यसखालका समाजवादीहरू आपूmलाई सारा वर्ग–वैरभावभन्दा माथि ठान्छन् । उनीहरू समाजका हरेक सदस्यको, सबभन्दा राम्रो स्थिति भएकाहरूसमेतको अवस्था सुधार्न चाहन्छन् । त्यसैले उनीहरू स्वभावतः वर्गको भेदभाव नगरीकन पूरै समाजलाई, अझ प्राथमिक रूपमा शासकवर्गलाई अनुरोध गर्छन् किनभने उनीहरूको प्रणालीलाई बुझिसकेका मानिसहरूले कसरी त्यसमा सर्वोत्तम सामाजिक व्यवस्थाको सर्वोत्तम योजना नभेट्टाइरहन सक्लान् ?

त्यसैले उनीहरू सारा राजनीतिक र खासगरी सारा क्रान्तिकारी कारबाहीलाई अस्वीकार गर्छन् । उनीहरू शान्तिपूर्ण उपायद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न चाहन्छन् र अनिवार्यतः असफल हुने ससाना प्रयोगहरूद्वारा र दृष्टान्तको बलद्वारा नौलो सामाजिक सिद्धान्त (न्यकउभ)ि का लागि बाटो बनाउन खोज्छन् ।
सर्वहारा वर्ग ज्यादै अविकसित अवस्थामा रहँदा बनाइएको भाबी समाजको त्यस्तो काल्पनिक चित्रमा उक्त वर्गको स्थितिबारे एउटा काल्पनिक धारणा पाइन्छ र त्यो धारणा समाजको सामान्य पुनर्निर्माणका लागि त्यस वर्गको प्रारम्भिक भावनात्मक आकाङ्क्षाको अनुरूप छ ।
तर यस समाजवादी र कम्युनिस्ट साहित्यमा एउटा आलोचनात्मक तत्व पनि छ । त्यसले विद्यमान समाजको प्रत्येक सिद्धान्तमाथि हमला गरेको छ । त्यसैले त्यसमा मजदुरवर्गलाई प्रबुद्ध पार्नका लागि असाध्य बहुमूल्य सामग्रीहरू छन् । सहर र गाउँबीचको भेदलाई खतम पार्नु, परिवारको उन्मूलन गर्नु, व्यक्तिगत फाइदाका लागि उद्योग चलाउने प्रथा हटाउनु, ज्यालादारी श्रमको उन्मूलन गर्नु, राज्यको कामलाई उत्पादनको रेखदेख गर्ने काममा फेर्नु– यी व्यावहारिक उपायहरू त्यस साहित्यमा प्रस्तावित गरिएका छन् । यी सबै प्रस्तावहरूले त्यस वर्ग–वैरभावलाई हटाउनेतर्फ औँल्याएका छन् जसले त्यस बेलामा भरखर टाउको उठाउँदै थियो र जसलाई उक्त साहित्यमा त्यसको प्रारम्भिक, अस्पष्ट र अविकसित रूपमा मात्र मान्यता दिइएको थियो । तसर्थ ती प्रस्तावहरू शुद्ध काल्पनिक चरित्रका थिए ।

आलोचनात्मक–काल्पनिक समाजवाद र कम्युनिज्मको महत्व र ऐतिहासिक विकासबीच विपरीत सम्बन्ध रहेको छ । जतिजति आधुनिक वर्गसङ्घर्षको विकास भई त्यसले निश्चित रूप लिन्छ त्यति नै सङ्घर्षबाट छुट्टै रहने काल्पनिक धारणा र त्यसमाथि गरिएका काल्पनिक हमलाहरूको सारा व्यावहारिक महत्व र सारा सैद्धान्तिक न्यायोचितता खतम हुन्छन् । त्यसैले यी प्रणालीहरूका संस्थापकहरू धेरै दृष्टिबाट क्रान्तिकारी भए तापनि उनीहरूका चेलाहरूले प्रतिक्रियावादी मण्डली मात्र बनाएका छन् । यी चेलाहरू सर्वहारा वर्गको प्रगतिशील ऐतिहासिक विकासका विरुद्ध आफ्ना गुरुका मूल विचारहरूमा टाँसिएर रहन्छन् । तसर्थ उनीहरू वर्गसङ्घर्षलाई हटाउन र वर्ग–वैरभावलाई साम्य पार्न जोडतोडले प्रयास गर्छन् । उनीहरू अहिले पनि प्रयोगद्वारा आफ्नो सामाजिक कल्पनालाई सिद्ध गर्ने, अलगअलग ‘कल्पना–नगरहरू’ बसाल्ने, ‘गृहउपनिवेशहरू’ को स्थापना गर्ने, सानो ‘इकारिया’— नयाँ जेरुसलमको सानो संस्करण— कायम गर्ने सपना देख्छन् । अनि हावामा खडा गर्ने आफ्नो योजना पूरा गर्न उनीहरू पँुजीपतिहरूसित समर्थन र धन माग्न बाध्य हुन्छन् । बिस्तार–बिस्तार उनीहरू उल्लिखित प्रतिक्रियावादी वा अनुदारवादी समाजवादीको श्रेणीमा झर्छन् । यी दुईमा फरक कति मात्र रहन्छ भने यिनीहरूमा त्यसमा भन्दा बढी व्यवस्थित पण्डित्याइँ छ र यिनीहरूमा आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण प्रभावमाथि उन्मादपूर्ण अन्धविश्वास छ ।
तसर्थ उनीहरू मजदुरवर्गका तर्फबाट हुने सारा राजनीतिक कारबाहीको घोर विरोध गर्छन् । उनीहरूको कस्तो भनाइ छ भने त्यस्तो कारबाही हुनाको कारण नयाँ दिव्य सन्देशमा अविश्वास मात्र हुनसक्छ ।
बेलायतमा ओवेनपन्थीहरू चार्टिस्टहरूको विरोध गर्छन् र फ्रान्समा फ्युरेरपन्थीहरू सुधारपन्थीहरूको विरोध गर्छन् ।

४.
विभिन्न विद्यमान विरोधी पार्टीहरूका सम्बन्धमा
कम्युनिस्टहरूको स्थिति
बेलायतमा चार्टिस्टहरू र अमेरिकामा भूमिसुधारकहरूजस्ता विद्यमान मजदुर पार्टीहरूसित कम्युनिस्टहरूको सम्बन्धबारे भाग २ मा प्रस्ट गरिएको छ ।
कम्युनिस्टहरू मजदुरवर्गका तात्कालिक लक्ष्यहरूको प्राप्तिका लागि, त्यसका सामयिक हितहरूको सुरक्षाका लागि लड्छन् तर वर्तमान आन्दोलनमा उनीहरू उक्त आन्दोलनको भविष्यको प्रतिनिधित्व गर्छन् र त्यसप्रति ध्यान दिन्छन् । फ्रान्समा कम्युनिस्टहरू अनुदार र क्रान्तिकारी पुँजीपतिवर्गका विरुद्ध सामाजिक–जनवादीहरू लाई साथ दिन्छन् तर फ्रान्सेली क्रान्तिको यी सबै आन्दोलनहरूमा कम्युनिस्टहरूले सम्पत्ति–सवाललाई प्रमुख सवालका रूपमा अधि सार्छन्, चाहे त्यस बेलासम्ममा त्यसको विकास धेरै भएको होस् वा थोरै भएको होस् ।
अन्त्यमा, उनीहरू सर्वत्र सबै मुलुकहरूका जनवादी पार्टीहरूको मेल र एकताका लागि प्रयास गर्छन् ।
कम्युनिस्टहरू आफ्ना विचार र उद्देश्यहरू लुकाउन खोज्दैनन् । उनीहरू खुलमखुला के घोषणा गर्छन् भने सारा विद्यमान समाजव्यवस्थालाई जबर्जस्त खतम पारेर मात्र उनीहरूको लक्ष्य प्राप्त गर्न सकिनेछ । शासकवर्गहरूलाई कम्युनिस्ट क्रान्तिको डरले थर्कमान हुन दिइयोस् । सर्वहाराहरूको आफ्नो सिक्रीबाहेक गुम्ने भन्ने कुरा केही पनि छैन । जित्नका लागि उनीहरूका सामु संसार छ ।

सबै देशहरूका मजदुरहरू हो, एक होऊ !

अनु– कृष्णदास श्रेष्ठ