पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको आवश्यकता

लोककृष्ण भट्टराई

पुुष्पलाल नेपालका श्रमजीवी वर्ग, किसान, मजदुर, बुद्धिजीवी, महिला जति पनि शोषितपीडित वर्ग छन् तिनको मुक्तिका लागि जीवन अर्पण गर्ने नाम हो । उहाँ सहिद गङ्गालाल जसले जहानियाँ निरङ्कुश राणा शासनका विरुद्ध धावा बोलेर सहिद हुनुभयो, उहाँका माइला भाइ हुनुहुन्छ । उहाँले गङ्गालालको स्पिरिटलाई अगाडि बढाउन सबभन्दा पहिला प्रजातान्त्रिक महासभा गठन गरेर राणाविरोधी आन्दोलन सुरु गर्नुभयो ।

कलकत्तामा पढ्न गएपछि उहाँ २००५ सालमा गठन भएको नेपाली राष्ट्रिय काङ्ग्रेसको केन्द्रीय सम्पादन समितिको सदस्य हुनुभयो र पार्टीले केन्द्रीय कार्यालय सचिव तोक्यो । राणाविरोधी आन्दोलनलाई अगाडि बढाउने सिलसिलामा पार्टीका का.वा. अध्यक्ष बी.पी. कोइराला र सहअध्यक्ष डा. डिल्लीरमण रेग्मीबीच नेतृत्वका सवालमा विशाल गुटबन्दी भयो । यो गुटको अन्त्य र पार्टीमा एकताका लागि पुष्पलाल अनसनसमेत बस्नुभयो । तर पनि यी दुई नेताबीच सुलह हुन सकेन । उहाँ उक्त पार्टी छोडी माक्र्सवादतर्फ आकर्षित हुनुभयो र माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा उल्था गर्नुभयो ।

यसका साथै क. पुष्पलालले क. रत्नलाल ब्राह्मण र नृपेन्द्र चक्रवर्तीको सुझावअनुसार नेपाल कम्युनिस्ट पार्टी गठन गर्नुभयो र त्यसको पर्चा तथा घोषणापत्र लेखेर जारीसमेत गर्नुभयो । २००७ सालको क्रान्तिमा सानै समूह भए पनि भाग लिनुभयो र नयाँ जनवादी क्रान्तितर्फ देशलाई लैजान देशव्यापी सङ्गठन गर्नुभयो । ००७ सालपछि सङ्गठित शक्ति काङ्ग्रेसले राजा र राणासँग सम्झौता ग¥यो । त्यसको विरोधमा अग्र भागमा उभिई किसान, मजदुरलाई सङ्गठन गर्न लाग्नुभयो । पार्टीभित्र दक्षिणपन्थी धारको प्रवेशले उहाँलाई केही पछि पा¥यो । यही मेसोमा राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाए । त्यसको प्रतिवाद गर्दै सबै दल मिलेर पुनः लोकतन्त्र बहाली गर्ने आन्दोलनमा भाग लिन दलहरू र नेपाली जनतालाई अपिल गर्नुभयो ।

यसरी पार्टीलाई पुनः गठन गर्दै क्रान्तिकारी धारलाई अघि बढाउँदै गर्दा २०३५ साल साउन ७ गते उहाँको ५४ वर्षको उमेरमा मृत्यु भयो । उहाँको लास नेपाल ल्याउन राजा वीरेन्द्रको सत्ताले दिएन र दिल्लीमा नै उहाँको दाहसंस्कार गरियो । उहाँको संयुक्त जनआन्दोलनको नीतिले शाह वंशको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

नेपालका सबै वाम–लोकतान्त्रिक दल मिलेर राज्यले नै पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापना गर्नुपर्ने हो । त्यो स्खलित दलले गरेनन् । यसको पहल अशोक सुवेदीजीले गर्नुभएको छ । पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दीका सन्दर्भमा ‘पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समिति’ र ‘हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान’ को संयुक्त आयोजनामा ‘नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल गङ्गालाल पुष्पलालका योगदानहरू’ विषयक बृहत् विचारगोष्ठी सम्पन्न भयो । रामेछापमा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, समाजवादी कम्युनिस्ट पार्टी नेपालसहित ११ वामपन्थी दल, पुष्पलाल अध्ययन समाज, पुष्पलाल स्मृति प्रतिष्ठान, स्वतन्त्र वामपन्थी बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसमेत सहभागी भए । आयोजक संस्थाले पुष्पलाल अध्ययन समाजका तर्फबाट उक्त विचारगोष्ठीको अध्यक्षता गर्न मलाई प्रस्ताव ग¥यो । सोही अवसरमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय खोल्न माग गरिएको हो ।

कमरेड अशोक सुवेदी सिर्जनशील, क्रान्तिकारी वामपन्थी तथा देशभक्त योद्धा हुनुहुन्छ । पुष्पलाल–गङ्गालाल–कृष्णलालको जन्मथलो र उहाँहरूका विचार स्थापित गर्न उहाँ चार दशकदेखि लागिपर्नुभएको छ । पुष्पलाल–गङ्गालाल जन्मथलोमा बाबा–आमाको प्रतिष्ठानका तर्फबाट आफ्नै लगानी र मेहनतमा उहाँले दुई लालको सालिक पनि बनाउनुभएको छ । उहाँले सर्वाधिक नयाँ र महŒवपूर्ण काम पुष्पलाल माक्र्सवादी विश्वविद्यालय स्थापनाका लागि पहल गर्नुभएको छ । उहाँ बधाईका पात्र हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनमा कतिपय काम एक्लै सुरु गर्ने परम्परा पनि छ । यो अभियान सञ्चालन र गठनको आन्दोलन अघि बढाउन एमालेदेखि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी हुँदै समाजवादी कम्युनिस्ट पार्टी नेपालसम्मका २३ वटा कम्युनिस्ट पार्टी राखेर समिति गठन गर्नु आवश्यक छ । यसले आन्दोलनलाई बलशाली बनाउँछ । यो सुझाव ग्रहण गर्न अशोकजीलाई मेरो अनुरोध छ । उहाँले आरम्भ गरेको पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको अभियानले अवश्य सफलता प्राप्त गर्नेछ । हार्दिक शुभकामना !

(लेखक पुष्पलाल अध्ययन समाजका अध्यक्ष हुनुहुन्छ ।)